Comments Add Comment

हरेक १५ वर्षमा नयाँ शक्ति जन्मन्छ

एमाओवादी नेता राम कार्की उर्फ पार्थ क्षेत्री वौद्धिक नेता मानिन्छन् । ‘करेन्ट पोलिटिक्स’मा कार्कीको विश्लेषण निकै ‘सार्प’ हुने गर्छ । यसै सन्दर्भमा ०६२/०६३ को जनआन्दोलन सफल भएको ९ वर्ष बितिसक्दा पनि किन नेपाली राजनीतिले गति लिन सकेन र अब के हुन्छ भन्नेबारे अनलाइनखबरले कार्कीसँग कुराकानी गरेको छ ।

वाम विश्लेषक कार्कीले नेपाली राजनीतिमा हरेक १५ वर्षमा नयाँ शक्ति जन्मिने बताए । र, यही नियमअनुसार अबको केही वर्षमा नयाँ शक्ति उदाउने संकेत देखिन थालेको उनले विश्लेषण सुनाए । पुराना पार्टीहरु ‘प्रजापरिषद’ र ‘प्रचण्ड गोरखा’ जस्तै बन्न सक्ने भए पनि उनीहरुको योगदानलाई पनि बिर्सन नहुने कार्कीको आग्रह छ ।

ram-karkiदोस्रो जनआन्दोलन सफल भएपछिको ९ वर्षलाई कसरी हेर्न सकिन्छ ?

– संसारको जुनसुकै देशमा पनि सामन्तवादबाट पुँजीवादमा प्रवेश गर्दा अथवा प्रजातान्त्रिक चरणमा प्रवेश गर्दा थुप्रै अप्ठ्याराहरु असजिलाहरु उत्पन्न हुन्छन् । ‘सम टोटलिज्म टु क्यापिटलिज्म’ ट्रान्जिसन हो, त्यो युरोपमा धेरै कष्टकर भयो । युरोपका बाँधहरु रगतले रंगिए । ठूला ठूला संहारहरु भए । हामी यस्तो फ्रान्समा हेर्छौं, अरु देशमा हेर्छौं । तर, त्यसको तुलनामा पूर्वी देशहरुमा कम कष्टदायक बनाउने प्रयासहरु भएको छ ।

चीनको पनि कष्टदायक नै रह्यो । साह्रै ठूलो भीषण संघर्ष भयो । भारतमा देशै विभाजन भयो, लाखौं लाख मानिसहरु धर्मका नाममा मारिए । त्यो पनि कष्टकर नै रह्यो ।

नेपालमा चाँही समस्या के भएको छ भने परिवर्तनलाई संस्थागत गर्न सकिएको छैन । जनआन्दोलनबाट उपलब्ध चिजहरु छन्, त्यसलाई संस्थागत गर्ने प्रयासहरु भएका छन् ।

राजतन्त्रबाट गणतन्त्रमा आउन त सहजै आयो तर….? 

– केही दिनको आन्दोलन भनेको त पूरक मात्रै भयो । नेपाली जनताले अनवरतरुपमा संघर्ष गरिरहेका थिए । सबैको योगफलका रुपमा देख्नुपर्‍यो यो परिवर्तन । गणतन्त्र आइसकेपछि गणतन्त्र नै यहाँ के भइदियो भने दुईटा बेग्लाबेग्लै विचार दिने पक्षहरुको संयुक्त मोर्चाबाट गणतन्त्र आयो । कम्युनिष्ट र प्रजातान्त्रिक समाजवादलाई मान्ने ।

कम्युनिष्ट भन्नेहरुले पनि मार्क्सिज्मको जो व्याख्या हो, त्यसलाई नसमातेजस्तो देखिने र प्रजातान्त्रिक समाजवादीहरुले पनि आफ्नो प्रजातान्त्रिक समाजवादी आदर्शलाई छाडेर आजको पुँजीवादको जो विश्वव्यापीकरण छ, त्यो पुँजीवादसँग सरेन्डर गरेको अवस्था रह्यो । पुँजीवादको जो ग्लोबलाइजेशन छ, ग्लोबलाइजेशनले जे माग गर्छ, त्यही बनाइदिने नीतिमा पुग्यो नेपाली कांग्रेस ।

यो ९ वर्षको संक्रमणकाल लामो भएन र ?

– स्वभाविकरुपमा यस्तो ब्यग्रता हुनु देशको अलिकति बुझ्ने, जान्नेहरुको बीचमा बेचैनी पैदा हुनु, ब्यग्रताहरु आउनु राम्रो कुरा हो । त्यसले स्वभाविक रुपमा सक्षम नेतृत्वलाई पैदा गर्छ । त्यसले नयाँ नीति र नयाँ नेतृत्वको माग गर्छ । तर, अहिले के देखिन्छ भने परम्परागत रुपमा जुन वर्गलाई जुन पार्टीले प्रतिनिधित्व गर्दथ्यो, त्यो पार्टीले त्यो वर्गको इन्ट्रेष्टलाई गर्न छोडेको जस्तो, प्रतिनिधित्व गर्न छोडेजस्तो । त्यो पार्टीसँग जोडिएको सामाजिक वर्ग र पार्टीको बीचको सम्बन्ध कमजोर भएजस्तो देखिँदैछ । त्यसले स्वभाविक रुपमा नयाँ राजनीतिको शक्ति सन्तुलनको माग गर्दछ ।

नयाँ शक्तिको सम्भावना त्यस्तो देखिन्छ र ?

– त्यो विस्फोटक तरिकाले आइदिँदा त त्यसले परिणाम देखाइहाल्छ । तर, आज नागरिक समाजका मान्छेहरु विभिन्न पेशाका, चिकित्सक पेशाका मान्छेहरु, कलाकार क्षेत्रका मान्छेहरुमा त्यो प्रकारको बेचैनी देखिन थालेको छ । राजनीतिक नेतृत्वले गर्न सकिराखेको छैन भनेर वैचिनी देखिन थालेको छ । यी सम्पूर्णलाई संरक्षित गर्ने त राजनीतिक क्षेत्र हो । तर, त्यसले सकेन भन्ने ब्यग्रता देखिरहेको छ । त्यसले स्वभाविकरुपमा नयाँ राजनीति, नयाँ नेतृत्व पैदा गराउँछ ।

तर, नेतृत्वले नसकेको पनि त हो नि ?

– स्वभाविक हो, सन्तुष्ट हुने ठाउँ नै छैन । इतिहासमा कसैको पनि मूल्यांकन गर्दा यिनै राजनीतिक दलहरुले त्यहाँसम्म त भूमिका खेलेकै हुन् ।

प्रजा परिषद आज छैन । असान्दर्भिक भएर गयो । तर, राणा शासन फ्याँक्नका निम्ति प्रजापरिषदले गरेको, प्रचण्ड गोर्खाले खेलेको भूमिकालाई त बिर्सिन भएन नि त । यसको मूल्यांकन त्यसरी नै गर्नुपर्‍यो नि त ।

परिवर्तनका लागि अमूक राजनीतिक दल संगठनको भूमिका होला, तर लोकतन्त्रमा आम जनताले परिवर्तनको प्रत्याभूति गर्ने कुरा केही छ त ? संविधानबाट जनताले प्रत्यक्ष लाभ के पाउलान् र ?

– हामीले पनि आफ्नो पार्टी, आफ्नो फोरममा ती कुराहरु उठाइरहेका छौं । तर, अहिले ती कुराहरु सुनिएको छैन । विभिन्न पार्टीभित्र यो आवाजहरु उठिरहेको छ । मैले पनि बारबार भन्ने गरेको छु, लेख्ने गरेको छु, विगत ९/१० वर्षमा हामीले जुन सामाजिक वर्गको प्रतिनिधित्व गर्छौं, त्यो सामाजिक वर्गको पक्षमा एक दिन पनि हामीले गम्भीरतापूर्वक कुरा गरेनौं ।

जुन प्रकारले बेरोजगारी, महंगी, ठगी, भ्रष्टाचार बढेको छ, त्यसको विरुद्ध सामाजिक वर्गलाई जोगाउन हामीले संघर्ष नै गरेनौं । संघर्ष नगरेपछि सामाजिक वर्गसँगको सम्बन्ध त फाट्ने भयो नि त । जस्तो, अहिले काठमाडौमा जसरी माओवादीलाई पछारिदिए, त्यसले के देखियो भने हामीले हाम्रो सामाजिक वर्गको प्रतिनिधित्व गरिरहेका छैनौं । यो कुरा हामी कम्युनिष्टभित्र गरिरहेका छौं । कांग्रेसभित्र पनि हल्कारुपमा आवाज उठिरहेको छ । कांग्रेसमा सिद्धान्तहीनता बढिरहेको भन्ने कुरा त कांग्रेसभित्रै आइरहेको छ । त्यो अहिले प्रभावि बन्न सकेको छैन ।

तपाईँले भनेका कुराहरुलाई प्रतिनिधित्व गर्नुपर्छ, त्यस ढंगले राजनीतिलाई समुचित गर्नुपर्छ भन्ने आवाज चाँही उठिरहेको छ । प्रयत्नहरु भइराखेका छन् । त्यो जसरी सतहमा देखिने गरी बलशाली हुनु पर्दथ्यो, बलशाली बनेर अर्को प्रवृत्तिलाई दबाउन सक्नुपथ्र्यो । तर त्यो सकेको छैन ।

तपाईँहरु आवाज उठाउने भन्दा पनि प्रमुख भूमिकामा हुनेहरुमा सीमा देखिएको हो ?

– कुनै पनि क्रान्ति हुँदा, परिर्वन हुँदा त्यसले संगठन बनाउँछ, ढाँचा बनाउँछ । एउटा संस्कृति निर्माण गर्छ । र कालान्तरमा गएर त्यो नै बाधक बनिदिन्छ । त्यो ढाँचा, त्यो संगठन नै फेरि …। संगठन त निरन्तर परिवर्तनमा हुन्छ । त्यो परिवर्तनको बाटोमा त्यो नै बाधक बनिदिन्छ । जस्तोः फ्रेन्च क्रान्तिमा तपाईँले देख्नुहुन्छ नि एकपछि अर्को, एउटा क्रान्तिकारी बनेर आउँछ, त्यसैलाई प्रतिक्रान्तिकारी भनेर हत्या गरिन्छ, फेरि अर्को क्रान्तिकारी देखापर्छ । त्यसको पटाक्षेप नेपोलियनभन्दा अगाडि आएर भयो ।

नेपालमा हामीले के देख्छौं त भन्दा जसले हिजो परिवर्तनको अगुवाइ गरे, नेतृत्व गरे, जुन प्रकारका नीतिहरु बनाए, ती व्यक्ति अपग्रेड हुन सकेन । त्यो व्यक्तिलाई आजको सन्दर्भसँग जोडेर, जस्तोः जुनवर्गको अहिले हामीले प्रतिनिधित्व गछौं, नेपाललाई आज हामीले नेतृत्व गर्न खोजिरहेका छौं, नेपालको आकांक्षालाई प्रतिनिधित्व हुने गरी नीतिहरु बनाउन, नेतृत्वको शैली विकास गर्न, नेतृत्वको संस्कृति विकास गर्न नसकेकै हो नि अब त ।

तपाईँको पार्टी एमाओवादीका नेता कार्यकर्ता तथा अमूक ब्यक्तिहरु पनि परिवर्तनलाई भ्रष्टीकरणसँग तुलना गर्न थालेका छन्, युद्ध लडेका अधिकांश युवा पंक्तिमा फ्रष्टेशन देखिन्छ होइन ?

– राजनीतिक वृत्तका मान्छेहरु भन्दा पनि कतिपय बाहिरका मान्छेहरु पार्टी बनाउने, शक्ति बनाउने भन्ने कुरा सँगसँगै आएका हुन्छन् । राजनीति राजनीतिक मान्छेहरुले नै गर्ने हो ।

राजनीतिज्ञ कहिल्यै पनि त्यसबाट निराश हुँदैन, फ्रष्टेशन हुँदैन । एउटा नेतृत्वले धोका दिन्छ, एउटाले ऊ गर्छ, हामीले देखिरहेका छौं नि जिन्दगीमा । म आफै पनि भोगिरहेको छु, ४०/५० वर्ष भयो जिन्दगीमा । पहिला मैले नेपाली कांग्रेसबाट राजनीति शुरु गरेँ । त्यसपछि रामराजाको पार्टी नेतृत्वमा काम गरेँ । मोहनविक्रमलाई नेता मानेर काम गरेँ ।

अहिले प्रचण्ड-बाबुरामजीहरुसँग आएर काम गरिरहेको छु । यो बीचमा फ्रष्टेशन भन्ने आउँदैन । केही ठूला ठूला परिवर्तनहरु भएका छन् । जुन किसिमको अनुभूति जनतालाई दिनु पर्दथ्यो, त्यो दिन सकिएको छैन । राजतन्त्रको उम्मूलन गर्ने चानचुने कुरा होइन । जुन किसिमको जागरण आएको छ, त्यो मिडियामा आएको देखिन्छ । जुन आक्रोश देखिन्छ, लेखाइ देखिन्छ ।

हिजो अक्षरमाथि शहरका ठालुहरुका सन्तानहरुको मनोपोली थियो, एकाधिकार थियो । आज चाँही भोजपुरकी मगरकी छोरीले समाचार भनिराखेकी छन् । बर्दियाको थारुको छोरो रिपोर्टिङ गरिराखेको छ । जुम्लाको किसानको छोरो आएर फोटो पत्रकार बनिरहेछ । यसरी वौद्धिक सम्पत्तिमा आम मान्छे, तलका मान्छेहरुको जुन पहुँच भइराखेको छ, यो चानचुने कुरा होइन ।

मिडियाको भूमिका कस्तो देख्नुहुन्छ, यवधिमा ?

– खासगरी मिडियामा पनि नेगेटिभ कुराहरुलाई पस्किनेहरु कामहरु पनि भएका छन् । निराशाका कुराहरु पनि भैदिए भने समाजले आफ्नो मनोबल कमजोर बनाउँछ । त्यसैले पोजेटिभ पनि गर्नुपर्‍यो । समाजमा पोजेटिभ कुराहरु पनि भइराखेको छ । मलाई लागिरहेको छ, मिडियामा एक दिन पोजेटिभ कुराहरु लेख्ने हो कि । अखबारमा आउने समाचारका चित्रहरु हेर्दा सबै नेगेटिभ नै लाग्छन् । एकदमै पोजेटिभ कुराहरु पनि छन्, समाजभित्र गएर खोतल्यो भने पाउन सकिन्छ ।

समाजभित्र खोतल्यो भने केही सकारात्मक कुराहरु त पाइएला, तर देखिने गरी सकारात्मक कुरा हुनु पर्‍यो नि ?

– जनताको जुन प्रकारको आकांक्षा र आवश्यकता छ, त्यो पूर्ति भएको छैन । यसो भएर अगाडि बढ्न सक्दैनौं त ? सक्छौं । हिजोसम्म राजनीतिमा आउनेहरुमा योग्यताको खोजी हुँदैनथ्यो । राजनीति बाध्यताको कुरा थियो । तपाईँको काका कांग्रेस पार्टीमा लाग्या छन् भने तपाईँलाई वारेन्ट हुन सक्थ्यो । कसैको हजुरबुवा कांग्रेस थियो भने नाति चाँही स्कुलमा अखिल बन्थ्यो । किनभने त्यतिबेला राजनीतिमा लाग्नु भनेको आन्दोलनमा लाग्नु थियो । हाम्रै माओवादीमा पनि योग्यता कहिल्यै हेरेनौं । आऊ, समावेश होउ भन्यौं क्या । किनकि त्यो आन्दोलन थियो ।

आज हामीले निशस्त्र ढंगले बन्दुक नबोकिकन नेपाली समाजलाई डोर्‍याउने ठाउँमा आउँदा त राजनीतिक योग्यता त चाहियो अब त । अब प्रोफेसनल छनोट गरेजस्तो गरी आउनु पर्‍यो राजनीति गर्नलाई ।

हिजोजस्तो वारेन्ट काटेपछि कांग्रेस बन्ने, कम्युनिष्टलाई भात खुवाएको भरमा सरकारले उसलाई कम्युनिष्ट बन्न बाध्य पारिदिनजस्तोे । अहिले चाँही स्थिति छैन । यो स्थितिमा एउटा युवाले, एउटी युवतीले चुनाव गर्न पाउँछन् । तर, अहिले आएको यो परिवर्तनलाई धान्ने, थाम्नेखालको राजनीतिक कार्यसूचि तयार गर्न सक्ने नीति र नेतृत्वको नेपालमा आवश्यकता खड्केको छ ।

अहिलेको नेतृत्वले अब योभन्दा अगाडि लैजान सक्दैन भन्ने हो तपाईको निश्कर्ष ?

यही पाराले, यही नीतिअनुसार यही नेतृत्वले लैजाने भए त लगिहाल्थ्यो नि त अगाडि । एउटा पोलराइजेशन हुन्छ । तपाईँले देख्नुभएको छ, नेपालको राजनीतिमा हरेक १५ वर्षमा राजनीतिक पोलराइजेशन हुन्छ । हिजो पुष्पलाल मनमोहनहरुको भग्नावशेषमा एमाले भन्ने बन्यो । मोहनविक्रम, निर्मल लामाहरुको भग्नावशेषमा माओवादी छरियो । त्यसैले जहिले पनि नयाँ पालुवाहरु पुरानैको भग्नावशेषबाट त आएका छन् ।

अब कसको भग्नावशेषमा नयाँ पार्टी आउला त ?

– तपाईँ पत्रकारहरु यस विषयमा स्वतन्त्र हुनुहुन्छ, लेख्नलाई । म त राजनीतिक पार्टीको मान्छे हो । मैले आफ्नो सीमासम्म तपाईँलाई यो कुराहरु भनेँ । अब अगाडि लैजानका लागि नयाँ चाहिन्छ भन्ने निश्चित हो । अब नयाँ नीति र नयाँ नेतृत्वको जरुरी छ । पुरानो नीति र नेतृत्वको समीक्षा गर्दै अब नयाँ नीति निर्माण गरेर नयाँ नेतृत्व जानुपर्छ । मान्छे को हुन्छ म भन्न सक्दिँन । तर, निश्चित रुपमा त्यो नयाँ हुन्छ ।

त्यो नयाँ नेतृत्वले पनि उही जनतालाई भुलभुलैयामा मात्रै नपार्ला भन्ने के ग्यारेन्टी छ त ?

– तर, त्यतिबेला राजा थियो । राजतन्त्रविरुद्ध नेताहरु जेल गएका थिए भनेर पेन्सनको सुविधा दियो, जनताले छुट दिए । अब त्यो दिनेवाला छैन । अब त परफरमेन्स चाहियो । अब आउने फोर्सले त्यो सुविधा पाउँदैन । उनीहरुले आफ्नो परफरमेन्स देखाउनैपर्छ ।

अब बन्ने नयाँ राजनीतिमा जस्तो प्रकारको समीकरण बन्ला, त्यो राजनीतिक नेतृत्वले त्यसले बनाउने नीतिले प्रत्यक्ष हिसाबमा देखाइदिनुपर्छ उसले । यति ठाउँमा सिँचाइको डेभलपमेन्ट भयो, पहिला रोड यति किलोमिटर बन्थ्यो, अहिले हाम्रा पालामा आइसकेपछि रोड प्रतिवर्ष यति किलोमीटर बढ्यो, हामीले यातायातको क्षेत्रमा यी नयाँ कुराहरु गर्‍यौं भनेर रेखाचित्रमा प्रष्ट देखाउनुपर्‍यो ।

१५ वर्षकै हिसाब गर्दा त्यो नयाँ शक्ति पनि अबको दुई/तीन वर्षमा आउँछ त ?

– आउँछ, आउँछ । त्यसका लक्षणहरु देखिन थालेका छन् । हरेक पार्टीभित्र आन्दोलनभित्र चल्ने छलफल हो । तिनीहरुले नयाँ पिँढीलाई तान्न सकिरहेको छैन, आकषिर्त गर्न सकिरहेको छैन । त्यो क्राइसिसले नै देखाउँछ । जस्तो, नेपाली कांग्रेसभित्र पनि भइराखेको छ, हाम्रोभित्र भइराखेको छ । मधेसवादी दलहरुभित्र पनि भइराखेको छ । मधेसको पनि मिडियामा लेख्ने मान्छेहरु, नागरिक समाजका मान्छेहरु जुन मधेसी समाज छ, त्यहाँभित्र ठूलो सल्बलाहट देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment