Comments Add Comment

हेलिकोप्टरबाट जाजरकोटमा स्वास्थ्यकर्मी पठाऊ : एमाओवादी

UCPN-Maoist-Pressmeet-about

  • एमाओवादीको पत्रकार सम्मेलनमा शक्ति बस्नेत, गिरिराजमणि पोख्रेल र अन्जना विशंखे (वायाँबाट क्रमशः) ।

८ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीले महामारीग्रस्त जाजरकोटमा हवाइ स्वास्थ्य टोली परिचालन गर्न र थप मानवीय क्षति हुन नदिन सरकारसँग माग गरेको छ ।

भौगोलिक विकटताका कारण स्वास्थ्यकर्मी पुग्न ढिला हुने र पीडितले समयमा उपचार पनि नपाउने भएकाले ठाउँ ठाउँमा हेलिकोप्टरबाट स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था मिलाउन एमाओवादीले माग गरेको हो ।

संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार पत्रकार सम्मेलन गरी एमाओवादी स्वास्थ्य विभाग प्रमुख गिरिराजमणि पोख्रेलले भने, ‘नागरिकको जीवनप्रति संवेदनशील हुँदै घुम्ती स्वास्थ्य टोली तत्काल खटाउन आग्रह गर्छौं ।’

स्वाइनफ्लुको जोखिममा रहेका जाजरकोटका सबै ठाउँमा स्वास्थ्यकर्मीको टोली पुग्न सकेका छैनन् । १५ स्थानमा स्वाइनफ्लुको जोखिम भए पनि पजारु, गर्खाकोट, जुंगाथापाचौर र स्याउली गरी ४ स्थानमा स्वास्थ्यकर्मी अझै पुगेका छैनन् । रामीडाँडा र सकलामा मंगलबार मात्रै स्वास्थ्यकर्मी पुगेका छन् ।

जाजरकोटमै ल्याब बनाउन माग

जाजरकोटका बिरामीहरुको नमुना संकलन गरी काठमाडौंमा ल्याइन्छ । तर, दिसा, पिसाब, खकार, रगत परीक्षण हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको ल्याब २४ सै घण्टा खुल्दैन । सार्बजनिक विदाको दिन ल्याब बन्द हुन्छ । त्यसबाट रिपोर्ट ढिला आउँदा उपचारमा पनि ढिलाइ हुने गरेको एमाओवादी नेताले बताए । त्यसैले प्रभावित क्षेत्रमै अस्थायी ल्याब स्थापनाको व्यवस्था मिलाउनुपर्ने एमाओवादीको माग छ ।

‘काठमाडौंकै ल्याब २४ सै घण्टा खुल्दैन । अँस्ती सूर्यबहादुर थापा जीको निधन भएकोबेला ल्याब बन्द भयो,’ पोख्रेलले भने, ‘ल्याब २४ सै घण्टा खुल्ने वातावरण सरकारले बनाउनु पर्छ र फिल्डमै अस्थायी प्रकारको प्रयोगशाला स्थापना गर्नुपर्छ ।’

एमाओवादीको १५ टोली

स्वाइनफ्लु प्रभावित क्षेत्रमा खटाउन एमाओवादीले १५ वटा टोली तयार पारेको छ । आफूहरुको टोलीले सरकारसँग मिलेर काम गर्ने एमाओवादी प्रमुख सचेतक समेत रहेका पोख्रेलले बताए । उनले भने, ‘अहिले रोग अघि-अघि र स्वास्थ्यकर्मीको टोली पछि-पछि भएको अवस्था छ, गाउँ गाउँमा स्वास्थ्यकर्मी पुग्नुपर्छ । तर, पनि सरकार गम्भीर देखिएको छैन । हामी सरकारसँग मिलेर काम गर्न चाहान्छौं ।’

एमाओवादीले आफ्ना कार्यकर्ताहरुलाई प्रभावित क्षेत्रमा परिचालन हुन निर्देशन पनि दिएको छ ।

जाजरकोटका सभासद तथा एमाओवादी स्थायी समिति सदस्य शक्ति बस्नेतले सरकारले जाजरकोटको समस्यालाई न्यूनीकरण गरेको आरोप लगाए ।

‘सुरुदेखि नै महामारी नियन्त्रण उन्मुख छ भनेर सरकारले भन्यो तर मृतकको संख्या बढेको बढ्यै छ,’ बस्नेतले भने, ‘स्वाइन फ्लु पुष्टि भैसकेपछि पनि सरकारले समस्यालाई आत्मसाथ गर्न सकिरहेको छैन, यो दुःखको कुरा हो ।’

सभासद बस्नेतले नयाँ-नयाँ ठाउँमा रोग फैलिएको भन्दै त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘जाजरकोटमा महामारी फैलिएको कुरा कि गलत भनेर पुष्टि गर्न सक्नुपर्‍यो, कि सर्वसाधारणको जीवन रक्षाका लागि गम्भीर हुनुपर्‍यो ।’

दीर्घकालीन समाधान

एकीकृत माओवादीले जाजरकोटमा पटक पटक देखिने महामारीको समस्याको दीर्घकालीन योजना बनाउन सरकारलाई सुझाव समेत दिएको छ ।

गरिवी, कुपोषण, खानेपानी, सरसफाई जस्ता विषयलाई सम्वोधन गर्ने गरी कार्यक्रम बनाइ कार्यान्वयन गर्न स्वास्थ्यमन्त्रीको नेतृत्वमा सरोकारवाला र मन्त्रालयसमेत समावेस गरी एकीकृत जनस्वास्थ्य अभियान सन्चालन गर्न माग गरेको छ ।

त्यसका लागि रोग विरुद्ध लड्ने क्षमताको विकास गर्ने खोप लगाउने, जनचेतना जगाउने र अस्पतालहरुको स्तरबृद्धि गर्नुपर्ने एमाओवादीको माग छ ।

पत्रकार सम्मेलनमा पूर्वस्वास्थ्यमन्त्री समेत रहेका एमाओवादी नेता पोख्रेलले भने, ‘जिल्ला अस्पतालहरुको स्तरवृद्धि गरी ५० शैयाको बनाउन र भौगोलिक विकटतालाई समेत ध्यान दिई निर्वाचन क्षेत्रस्तरमा १५ शैयाका अस्पतालहरु बनाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment