Comments Add Comment

जाजरकोटको चिन्ताले ३ किलो घटिसकेँ

जाजरकोटमा महामारी फैलिइरहेका बेला स्वास्थ्यमन्त्री खगराज अधिकारीको अन्तर्वार्ताका लागि रामशाहपथस्थित स्वास्थ्य मन्त्रालय पुग्दा उनी विश्व स्वास्थ्य संगठनका विशेषज्ञहरुसँग कुराकानी गरिरहेका थिए ।

मन्त्रीको कार्यकक्षमा स्वाइन फ्लू महामारी रोक्ने उपायबारे कुरा गर्न अन्य धेरै विशेषज्ञ डाक्टर पनि पुगेका रहेछन् । मन्त्रालयमै बसेर जीपीआरएस प्रणाली मार्फत कसरी महामारी ग्रस्त गाउँहरुको अवस्था अनुगमन गर्ने भन्ने बारेमा पनि उनी विज्ञ र प्राविधिकको प्रदर्शनी हेर्ने तयारीमा थिए आफ्नै कार्यकक्षमा ।

त्यो उपायबारे बुझ्नुअघि उनी अनलाइनखबरसँग अन्तर्वार्ताका लागि तयार भए । सोसल मिडियामा जाजरकोट महामारीलाई लिएर आफू र सरकार विरुद्ध भइरहेका गालीगलौज तथा आलोचनाको बारेमा भलिभाँती जानकार भएर पनि उनले ‘यो प्रतिवाद गर्ने बेला होइन’ भन्दै त्यो प्रसंगमा प्रवेश गर्न चाहनेन् । बरु पटक-पटक फिल्डमा खटिएका स्वास्थ्यकर्मीको मनोबल घट्न खालका टिप्पणी नगर्न आग्रह गरे । जाजरकोटको पछिल्लो अवस्था र उनले गरेका प्रयासबारे अनलाइनखबरकर्मी मात्रिका पौडेलसँग गरेको कुराकानी यस्तो छ :

Khag Raj Adhikari, Minister of Health

जाजरकोटमा महामारीले जनता मरिरहँदा सरकार कहाँ छ ?

सरकार जहाँ हुनुपर्ने हो त्यहीँ छ । सरकार सक्रियतापूर्वक आफ्नो काममा लागेको छ । जाजरकोटमात्र होइन, कालिकोट, जुम्ला लगायत अन्य रिस्कमा रहेका जिल्लामा पनि महामारी फैलिन नदिन र जाजरकोटमा नियन्त्रण गर्न सरकारले आफ्नो सबै शक्ति लगाएको छ । स्वास्थ्यकर्मी विरामीको उपचारका तल्लीन छन् । सरकारले आफ्नोतर्फबाट समन्वय र परिचालनको काम गरिरहेको छ ।

तपाईले आलोचना सुन्नुभएको छ ? सोसल मिडियामा तपाईलाई मान्छेहरुले के भन्दैछन् ? हेर्नु भएको छ ?

मैले सुनेको पनि छु र हेरेको पनि छु । तर, अहिले मेरो प्राथमिकता मलाई कसले के भनेर आलोचना गरे भन्नेतिर भन्दा पनि जाजरकोट, कालिकोट, जुम्ला लगायतका जिल्लाका जनतालाई स्वाइन फ्लू र मौसमी महामारीबाट कसरी जोगाउने भन्नेमा बढी केन्द्रित छ । यो प्रकोप यस्तो निर्दयी हुँदो रहेछ, जाजरकोट जस्ता दुर्गममा मात्र होइन, काठमाडौंमै पनि यसले ज्यान लिइसक्यो । त्यसैले म के भन्छु भने, यस्तोबेला सकिन्छ सबैले सघाउँ, सकिँदैन भने पनि मेरो जति आलोचना गरे पनि गर्नुस, तर फिल्डमा खटिएका स्वास्थ्यकर्मीको मनोबल गिराउने ढंगले उत्तेजक प्रचारबाजी नगरौं ।

जनताले सोधिरहेका छन् कि तपाईले यो महामारी रोक्न र थप जनताको ज्यान जान नदिन के-के गर्नुभयो ?

यो फ्लूको आशंका हुनासाथ अर्थात मान्छे हताहत हुनुभन्दा अघि नै चैत १६ देखिनै मैले मन्त्रालयबाट ती ठाउँमा स्वास्थ्यकर्मी पठाउन समन्वय गरेँ । सरकारले अहिले पनि हेलिकोप्टर स्टाण्डबाई राखेकेा छ । कुनै पनि ठाउँमा आपकालीन अवस्थामा स्वास्थ्यकर्मी र औषधी पुर्‍याउन यो व्यवस्था गरिएको हो ।

आज (मंगलवार)मात्रै पनि १४ जना विशेषज्ञ डाक्टरसहितको स्वास्थ्यकर्मीको टोली जाजरकोट गएको छ । सोमवार १८ जनाको टोली पठाइएको थियो । जाजरकोटमा १५ ठाउँमा करीव ७० जना विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मी टोली नियमितरुपमै खटिएको छ । आलोपालो गर्ने टेाली पनि तैनाथ छ । कृष्णगोपाल महर्जन डाक्टरसाबको टोली त्यहीँ छ ।

सोसल मिडिया र सञ्चारमाध्यममा योगदानको कुरै हुँदैन, एकोहोरो सरकारले केही गरेन मात्रै भन्दा मनोबल खस्किँदो रहेछ

नेपालगञ्ज मेडिकल कलेज, मनमोहन अस्पताल, नर्भिक अस्पतालको टोली पनि जान खोज्नुभएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशकको टोली कालिकोटमा खटिएको छ । गर्न सम्भव भएसम्म र गर्नुपर्ने सबै उपाय अबलम्बन गरिएको छ ।

यति गरिरहँदा पनि जनताले गाली गरिरहेका छन् त ? मन्त्री भएबापतको अतिरिक्त आलोचनामात्रै हो त यो ?

गाली र ताली दुबै खाएर पचाउँदै आएको मान्छे हुँ । सबैथोक त्यागेर राजनीतिमा लागियो । गाली ताली, जेलनेल, कुटाइ पिटाइ सबै भोगियो । चुनावको जितहार सबैको अनुभव लिइयो । त्यसैले म मन्त्री भएका बेला महामारीले जनताको ज्यान जाँदा अतिरिक्त अपेक्षा कसैले गर्छ भने त्यो अस्वाभाविक होइन । आलोचनाले हामीलाई थप काम गर्न दबाब पनि पुगेको हुन्छ । सकेसम्म राम्रो काम गरौं भन्ने लोभ मलाई पनि छ ।

म पटक-पटक मृत्युको मुखमा पुगेर बाँचेको मान्छे, जीवनको महत्व पनि मलाई थाहा छ । तर, मेरो यतिमात्र आग्रह छ, स्वास्थ्यकर्मीको मनोबल उच्च राखौं । उनीहरु धेरै जोखिम मोलेर कार्यक्षेत्रमा खटिएका छन्, जनताका नाममा इमोशनल ब्ल्याकमेलिङ नगरौं । काम गर्नेलाई दबाव दिउँ तर खेद्ने काम नगरौं ।

भनेपछि धेरै खेदाइमा परेको अनुभव भइरहेको छ होइन ?

मैले यस्ता कुरालाई मार्गदर्शनकै रुपमा लिएको छु । जाजरकोटमा जनता महामारीले मरुन् भनेर कुनै मन्त्रीले सोच्दैन । तर, पनि यस्ता प्रकोप निर्दयी हुन्छन् । हामीले हाम्रो साधन स्रोत परिचालन गरेर क्षति हुन नदिने हो ।

मलाई विगत तीन सातायता राम्रोसँग निद्रा परेको छैन । मेरो कारणले अर्थात मैले सक्रियता नदेखाएकै कारणले कुनै निर्दोष जनताको ज्यान जान्छ कि भनेर साँच्चिकै चिन्तित छु । आफ्नो क्षमता र योग्यताले भ्याएसम्म सबै उपाय खोजिरहेको छु । पत्याउने नपत्याउने मान्छेको सोचाइ हो, तर यो महामारीपछिको चिन्ताले एक सातामा मेरो तौल ३ केजी घटेछ ।

यदि म जाजरकोटमै गएर बस्दा समाधान हुने हो भने एक दिन होइन, महिनौंसम्म जाजरकोटमै बस्न तयार छु

म उसै पनि सानातिना कुरामा पनि चिन्ता गर्ने र अलि भावुक स्वभावको मान्छे हुँ । कतै मेरो गल्तीले केही हुने हो कि भनेर सधैं चिन्तामा हुन्छु ।

महामारी नियन्त्रणका लागि समन्वय गरिरहेको बताउनुभयो, अहिले यो प्रकोप घट्दो छ कि बढ्दैछ ?

यो घटेको छ । तर, नियन्त्रणमा आइसकेको छैन । विरामीहरु आएका पनि छन् । तर, यो संख्या निकै घटेको छ । अस्तिसम्म दिनमा चार/पाँचसय बिरामी स्वास्थ्यकर्मी भएका ठाउँमा आउँथे । अहिले दिनमा चार/पाँच जनामात्र पनि आउन थालेका छन् । त्यसैले हामीले नयाँ र सम्भावित रिस्क भएका ठाउँमा स्वास्थ्यकर्मीको टोली पठाउन थालेका छौं ।

गाउँ गाउँमा स्वास्थ्यकर्मी गएको मौकामा जनताले आफ्ना अरु रोगको पनि उपचार गराउन पाएका छन् । हामीले जुनसुकै रोगको पनि उपचार गरिदिनु भनेका छौं । जाजरकोटमा मात्र केन्द्रित हुँदा अन्त महामारी नफैलियोस् भनेर सचेतना पनि अपनाएका छौं । तर, हाम्रो कामको मूल्यांकन भन्दा पनि बुझ्दै नबुझी आलोचनामात्रै गर्दा फिल्डमा काम गर्ने मान्छेको मनोबल खस्किएको छ ।

तपाई बारम्बार स्वास्थ्यकर्मीको मनोबलको कुरा गर्दै हुनुहुन्छ, सरकारको आलोचना गर्दा स्वास्थ्यकर्मीको कुरा किन आयो ?

ती स्वास्थ्यकर्मी पनि सरकारका सदस्य हुन् । राष्ट्रसेवक कर्मचारीहरु आफूलाई जोखिममा राखेर स्वाइनफ्लूका विरामीको उपचारमा छन् । तपाईहरुको अनलाइनखबरमै देखेको थिएँ, एकजना स्वास्थ्यकर्मी आफैं फ्लू संक्रमण भएर अहिले काठमाडौंमा उपचार गराइरहेका छन् ।

डाक्टर दीपक पुन १५ दिनभन्दा बढी दुर्गम महामारीग्रस्त गाउँमा आफैं खटिएर उपचार गर्नुभयो । उहाँ थाकेपछि पालो दिन अर्को टोली गएको छ । तर, यता सोसल मिडिया र सञ्चारमाध्यममा उहाँहरुको योगदानको कुरै हुँदैन, एकोहोरो सरकारले केही गरेन मात्रै भन्दा मनोबल खस्किँदो रहेछ ।

कुनै डाक्टर महामारीग्रस्त क्षेत्रमा जान नमानेका पनि छन् ?

त्यस्तो कोही निस्किएका छैनन् । सरकारले आग्रह गरेको ठाउँमा सबैजना गएका छन् ।

Khagraj Adhikari Health Minister

महामारी पीडित जनतालाई राहत दिनेबारे सरकारसँग कुनै योजना छ ?

अहिले हाम्रो पहिलो प्राथमिकता यो महामारी नियन्त्रण गर्ने र जनताको ज्यान बचाउनेतर्फ केन्द्रित छ । उपचार निःशुल्क छ, औषधी निःशुल्क छ । त्योबाहेक राहत केही दिनुपर्छ भन्ने मैले सोचेर प्रस्ताव पनि अघि बढाएको छु ।

तर ,स्वाइन फ्लूबाट मर्नेको संख्या यकिन छैन । कुन कुन रोगबाट मर्नेलाई राहत दिने भन्ने निर्देशिका र मापदण्ड बनेपछिमात्रै यसबारे भन्न सकिन्छ ।

प्रधानमन्त्री सुशील कोइराला जाजरकोट नगएर जकार्ता गएकोमा पनि आलोचना भइरहेको छ, तपाई पनि जाजरकोटमै बसे हुन्थ्यो भन्ने कुरा पनि आयो, के भन्नु हुन्छ ?

प्रधानमन्त्री जाजरकोटमा गएर, म यो विपत्तिका बेला तपाईहरुसँग छु भन्ने सन्देश दिनुबाहेक अरु त के हुने हो र ? उपचारको काम डाक्टरले गर्ने हो, प्रधानमन्त्रीले होइन ।

सरकारका तर्फबाट म जाजरकोटमा पुगेर सबै स्याम्पल समेत लिएर आएको हुँ । म महामारीग्रस्त प्रायः सबै गाउँमा गएको छु । अहिले पनि समन्वय र योजना बनाउन यहाँ लागिरहेको छु । यदि म जाजरकोटमै गएर बस्दा समाधान हुने हो भने एक दिन होइन, महिनौंसम्म जाजरकोटमै बस्न तयार छु । तर, समन्वयको काम त मन्त्रालयबाटै हुने हो । आवश्यक पर्नासाथ कुनै पनि बेला म सम्बन्धित ठाउँमा जान स्टाण्डबाइ नै छु ।

सरकारले केही गरेन, मन्त्रीले केही गरेनन् भन्ने गुनासो त आइरहेका छन् नि होइन ?

त्यो गुनासो कहाँबाट आएका छन् भन्ने पनि मलाई थाहा छ । जाजरकोटका जनतासँग सरकार छ । जुम्ला र कालिकोटका जनतासँग हामी छौं । सिंगो मुलुकका जनताका बारेमा हामी सचेत छौं । जहाँसम्म आलोचना, गुनासो र आक्रोशका कुरा छन्, यो संवेदनशील बेला भएकाले अहिले कुनै टिप्पणी गर्न चाहान्न । उपयुक्त समयमा यी टिप्पणीहरुको जवाफ दिनेछु । अहिले मेरो दायित्व भनेको महामारी नियन्त्रण र जनताको ज्यान जोगाउनु हो ।

यो पनि पढ्नुहोस्

महामारीबाट जाजरकोटमा थप ३ को मृत्यु, मृतकको संख्या २७ पुग्यो

जाजरकोटमा २४ घन्टाभित्र चिकित्सक पठाउन सरकारलाई सर्वोच्चको आदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment