Comments Add Comment

स्मार्टफोन पानीमा खस्यो ? यसो गर्नुस्

water
आफ्ना ग्याजेट, खासगरी स्मार्टफोनहरु पानीमा खस्ने समस्या धेरैले भोग्ने समस्या हो । पानीमा खसेको स्मार्टफोनलाई झिक्न मिलेसम्म तत्कालै झिकेपछि त्यसमा पसेको पानी फ्याँकेर पुनः चल्ने बनाउनका लागि हडबडाउँदै झट्कारेर खोतलखातल पार्ने लगायतका सकेजतिका हरेक काम गर्नुभएकै छ होला । तर असावधानीवस यसो गर्दा स्मार्टफोन पूरानै सद्दे अवस्थामा फर्किने होइन, झनै कामै नलाग्ने गरी बिगि्रन सक्छ । स्मार्टफोन पानीमा खस्यो भने यी पाँच उपाय अपनाउनुपर्छ-

· स्विच अफ गर्नुहोस्- गोजीमा राखेको वा हातमै चलाउँदा चलाउँदैको स्मार्टफोन पानीमा खस्दा त्यो खुल्लै हुने नै भयो । त्यसैले पानीबाट निकाल्ने बित्तिकै स्मार्टफोनको स्विच अफ गर्नुपर्छ । स्विच अफ गरेपछि स्मार्टफोनको भित्री सर्किट सट हुने डर हुँदैन, करेन्ट सट सर्किट भएर महत्वपूर्ण भित्री भाग नष्ट हुनबाट जोगिन्छ ।

· सबै चिज हटाउनुहोस्- फेान स्विचअफ गरेपछि त्यसका हरेक चिज हटाउनुपर्छ । ब्याट्री, सिमकार्ड, मेमोरी कार्ड, फोनको कभर तथा एयरफोन भएमा पनि त्यसलाई विस्तारै झिक्नुपर्छ । त्यसरी बाहिर झिकेको वस्तुहरुलाई कपडाले पुछेर पानी हटाई ओभानु बनाउनुपर्छ ।

· झट्कार्नुहोस्- स्मार्टफोनको हेडफोनको ज्याक छिराउने प्वाल, चार्जिङ पोर्ट तथा थिच्ने बटन भित्र रहेको पानी बाहिर निकाल्नका लागि स्मार्टफोनलाई विस्तारै झट्कार्नुपर्छ । त्यसपछि स्मार्टफोनलाई सुख्खा कपडाले पुछ्नुपर्छ । ट्वाइलेट पेपर तथा नेपकिनले राम्रोसँग पुछेर बाहिरी भागमा रहेको पानी पूरै हटाउन सकिन्छ ।

· चामलमा पुर्नुहोस्- यो सबैभन्दा चलन चल्तीको विधि हो । हावा नछिर्नेगरी बिर्को लगाउन मिल्ने एउटा बट्टामा चामल भरेर उक्त चामलभित्र आफ्नो स्मार्टफोन घुसाएर राख्नुहोस् । अनि बिर्को लगाएर उक्त बट्टालाई सुख्खा ठाउँमा राख्नुहोस् । कम्तिमा २४ देखि ४८ घण्टासम्म फोनलाई यसरी चामलभित्र रहन दिनुपर्छ । बीचबीचमा निकाल्ने गर्नुहुँदैन । ४८ घण्टासम्म चामलभित्र राखेपछि स्मार्टफोन बाहिर निकाल्नुहोस् । त्यसपछि ब्याट्री लगायतका पाटपुर्जा राखेर स्विच अन गर्नुहोस् । यदि पानीका कारण भित्री पाटपुर्जामा गम्भीर क्षति पुगेको रहेनछ भने स्मार्टफोनले काम गर्न थाल्नेछ ।

· यदि यसो गर्दापनि फोनले काम गरेन भने त्यसलाई आफै खोलखाल पार्नु हुँदैन, सिधै स्मार्टफोन मर्मत गर्ने आधिकारिक ठाउँमा लग्नुपर्छ । यद्यपि पानीले भिजेर बिगि्रएको स्मार्टफोनमा धेरै ब्राण्डहरुले वारेन्टी भने दिएका हुँदैनन् । तर कुन पाटपुर्जा बिगि्रएको छ भन्ने कुरा पत्ता लगाएपछि स्मार्टफोनको वास्तविक मूल्य र मर्मत खर्चबीच तुलना गरी मर्मत गर्ने वा नगर्ने कुराको निर्णय गर्ने जिम्मा तपाइँको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment