Comments Add Comment

एसिडको पीडाले मोडियो सीमाको सपना (भिडियोसहित)

मात्रिका पाैडेल

१० वैशाख, काठमाडौं । एसएसली परीक्षा दिएका अधिकांश शहरिया विद्यार्थी ब्रिजकोर्षको कक्षा लिँदैछन् । तर, यसैपालि एसएलसी दिएकी एक चर्चित विद्यार्थी सीमा बस्नेत भने ब्रिजकोर्षको साटो ‘पोलिटिकल कोर्ष’ तिर लागेकी छिन् ।

Sima Basnet_650_1
काठमाडौंको वसन्तपुरमा भएको एसिड आक्रमणमा परेकी सीमाले नवौं लोकतन्त्र दिवसकै अवसर पारेर आफ्नो गायिका बन्ने सपना त्याग्दै नेता बन्ने बाटो तय गरेकी छन् ।

सीमालाई थाहा छ, उनको पुस्ताका ९९ प्रतिशत किशोर किशोरीले राजनीतिप्रति गर्ने साझा टिप्पणी हो-आई हेट पोलिटिक्स । यो थाहा पाउँदा पाउँदै र राजनीति विकृत छ भन्ने बुझ्दा बुझ्दै पनि यी एसिड आक्रमणबाट घाइते किशोरीले राजनीतिमा लाग्ने संकल्प गरिन् ।

गायिका होइन, नेता बन्ने

अनुहारमा एसिडको दाग राताम्य छ । एसिडको घाउ अझै निको भएको छैन । एसिड आक्रमणकारी जीवन विक पुर्पक्षका लागि जेल गए पनि यी किशोरीको मनभित्रको घाउ भने झनै ताजै छ ।

मलाई थाहा छ मैले राजनीति गर्छुभन्दा धेरैले उडाउन सक्छन्, म त राजनीतिको क, ख सिक्न अघि बढेकी छु

गायिका बन्ने कोमल फूलको बाटो त्यागेर, नेता बन्ने काँडाको बाटो नै किन रोजिन् त यी घाइते किशोरीले ?

अनलाइनखबरको कार्यालयमै आइपुगेकी सीमाले भनिन्- एसिड आक्रमणपछि अस्पतालमा बस्दा मलाई लाग्यो कि, समाजमा परिवर्तन ल्याउन र महिला वालिकाको अधिकारका लागि लड्न राजनीतिभन्दा सशक्त माध्यम अरु छैन ।

नेतालाई सरापेर देश बन्दैन

सीमाको उमेरका साथीहरु अझ भनौं युवा पुस्ताका नेपालीले राजनीति र नेतालाई धेरै गाली गर्छन् । उनलाई थाहा छ कि भविष्यमा राजनीति गर्ने उनको घोषणालाई त्यो उमेर समूहका धेरैले खिल्ली उडाउन सक्छन् । तर, सीमाको अन्तरमनले भनिसकेको छ-समाजलाई परिवर्तन गर्ने हो भने राजनीतिको विकल्प राजनीति नै हो ।

‘मलाई थाहा छ मैले राजनीति गर्छुभन्दा धेरैले उडाउन सक्छन्, म त राजनीतिको क, ख सिक्न अघि बढेकी छु’ सीमा भन्छिन् ‘नेतालाई गाली गरेर वा घृणा गरेर राजनीति सप्रिँदैन, राम्रा मान्छे राजनीतिमा लागेपछि नराम्रा स्वतः पाखा लाग्छन्’ ।

नेतालाई गाली गरेरमात्रै नागरिक दायित्व पूरा हुँदैन भन्ने उनले अस्पताल बसाइकै क्रममा बुझि्न । त्यसैले भन्छिन्- सबै नेता खराब छैनन् । किनारामा बसेर राजनीतिलाई गाली गर्नेहरुले नदीमा पस्ने आँट गर्नुपर्छ । होइन भने राजनीतिलाई घृणा गरेर नागरिक दायित्व पूरा हुँदैन ।

पहिलो लडाइँ संगीताका लागि

गाउँको वडाध्यक्षदेखि प्रधानमन्त्रीसम्म बन्ने हरेक राजनीतिकर्मीको इच्छा हुन्छ, म प्रधानमन्त्रीसम्म बन्छु भन्ने लाग्छ

सीमाको लागि अहिले सबैभन्दा पीडा भनेको सहपाठी संगीता पुलामी मगरको अवस्था बनेको छ । जीवन विकको प्रमुख निशाना संगीता थिइन्, जो अहिले पनि अस्पतालमा कठीन संघर्ष गर्दैछिन् ।

सीमा भन्छिन्- मेरो राजनीतिमा लाग्ने पहिलो लक्ष्य भनेको संगीताका लागि लड्नु पनि हो । अहिले त्यो अपराधीले जातको सहारा लिएर सहानुभूति बटुल्न खोज्दैछ, उसले गरेको अपराधलाई हिरोइज्म बनाउन खोज्दैछन् केही मान्छेहरु । मैले त्यस्तो प्रवृति विरुद्ध लड्न पनि राजनीति सिक्न खोजेको हो ।
Sima Basnet (2)
१७ वर्षीया सीमाले राजनीतिको कोर्ष सिक्न खोज्दा उनका हजुरबुबा र हजुरआमाले पनि स्वीकृति दिएका छन् । ६ महिनाको उमेरदेखि यिनै अविभावकको काखमा हुर्किएकी सीमा भन्छिन्- गायिका बनेर भन्दा राजनीतिकर्मी बनेर गरीब दुःखी, महिला वालवालिकका लागि लड्न सकिन्छ भन्ने सिकेँ, त्यसैले बाटो बदलियो ।

वडाध्यक्षदेखि प्रधानमन्त्रीको सपना

राजनीति गरेर के बन्ने ? अनलाइनखबरको प्रश्नमा उनले नढाँटी भनिन्-अहिले त म क ख सिक्दै राजनीतिको । गाउँको वडाध्यक्षदेखि प्रधानमन्त्रीसम्म बन्ने हरेक राजनीतिकर्मीको इच्छा हुन्छ । म प्रधानमन्त्रीसम्म बन्छु भन्ने लाग्छ ।

‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक’ भने जस्तै सीमाले राजनीतिको प्रारम्भिक अक्षर सिक्दै गर्दा प्रधानमन्त्रीसम्म बन्ने लक्ष्य राख्नु तत्कालका लागि मजाकको विषय पनि बन्न सक्छ । तर, उनी भन्छिन्- नेतालाई सरापेर देश बन्दैन, हाम्रो पुस्ताले राजनीतिलाई बुझ्नुपर्छ, नबुझी घृणा गर्दा हामी जहाँको त्यहीँ हुन्छौं ।

अर्थशास्त्र पढ्ने धोको

अस्पतालबाटै एसएलसी परीक्षा दिएकी सीमा अहिले खाली समयमा राजनीतिक सभा समारोह, प्रशिक्षणहरुमा सहभागी भएर राजनीतिको प्रारम्भिक कोर्ष सिक्दै छिन् ।

संगीता मगर र उनको पढाइको जिम्मा नयाँ बानेश्वरस्थित नोबेल एकेडेमीले लिइसकेको छ । उच्च शिक्षामा अर्थशास्त्र लिएर पढ्ने लक्ष्य राखेकी सीमा भन्छिन्-पढाइमा कुनै कम्प्रोमाइज गर्दिँन, तर पढाइसँगै विद्यार्थी आन्दोलनमा लाग्छु ।

रोजाइमा एमाले

सीमालाई थाहा छ, राजनीति गर्न कुनै न कुनै संगठन वा राजनीतिक दलमा आवद्ध हुनैपर्छ । त्यसैले उनले अस्पताल बसाइकै क्रममा निधो गरिन्- समाजका आफूले चिनेका र बुझेका राम्रा मान्छेहरुको मूल्यांकन गर्दा एमाले पार्टीमा लागेर राजनीति गर्ने ।

रौतहटकी सीमालाई एमालेका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको विकासमा गरेको योगदानले पनि प्रभाव पारेको रहेछ । उनलाई अस्पतालमै भेट्न समेत गएका थिए माधव नेपाल र वामदेव गौतम ।

Sima-with-Bidya-Bhandary

माधव नेपालले रौतहटका राम्रो विकासका बाम गरेको सीमाले बताइन् । ‘माधव नेपाल, वामदेव गौतम लगायतका नेताहरु अस्पतालमा आएर पनि मलाई साथ दिनुभयो, सीमाले भनिन् ‘मेरा हजुरबा हजुरआमाले पनि एमालेलाई भोट हाल्नुभएको थियो ।’

अखिलको प्रशिक्षण

सीमाले यसबीचमा एमाले सम्बद्ध अनेरास्ववियुको प्रशिक्षण कार्यक्रममा भाग लिएर विद्यार्थी राजनीतिबारे धेरथोर ज्ञान लिइन् । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा एमालेले आयोजना गरेको कार्यक्रममा भाग लिएर कम्युनिस्ट पार्टीका बारेमा पनि बुझिन् ।

अनेरास्ववियुकी महासचिव नविना लामाको साथमा अनलाइनखबरको कार्यालय आइपुगेकी सीमाले भनिन्- अखिलको साधारण सदस्यबाट राजनीति शुरु गर्छु, भविष्यमा नविना दिदीजस्तै चर्चित नेता बन्न चाहान्छु ।

अब हामी लड्नु नपरोस्

नविनाले लोकतान्त्रिक आन्दोलनमा रगत बगाएको, जेलनेल खाएको जानकारी सीमालाई छ । अब फेरि नेपालमा लोकतन्त्रका लागि आफ्नो पुस्ताले लडाइँ लड्नु नपरोस् भन्ने उनलाई लागेको छ ।

Sima Basnet_650 (1)

‘हामीभन्दा पुरानो पुस्ताले लोकतन्त्र र अधिकारका लागि धेरै दुःख गरे, अब हाम्रो पुस्ताले फेरि लड्न नपरोस् भन्ने हो । तर, आवश्यक पर्‍यो भने अधिकार प्राप्तिका लागि ज्यान दिन पनि तयार छु’ सीमा भन्छिन् ‘देशले अब संविधान पाओस्, उद्योग कलबारखानाहरु खुलुन्, देश विकास र सम्बृद्धिको बाटोमा अघि बढोस्, नेताहरुले हाम्रो नयाँ पुस्तालाई यति गरिदिए भने पुग्छ’ ।

काँडाको बाटो

सीमाले रोजेको राजनीतिको बाटो उनले सोचेजस्तो सहज छैन । अझ उनको पुस्ताले पटक्कै नरुचाउने बाटो रोजेर सीमाले एउटा नयाँ सन्देश त दिन खोजेकी छन् । तर, राजनीति दुई चार दिनको रहर वा भावनाले चल्दैन, यसमा दबाव, अपमान र तिरस्कारका धेरै जँघार तर्नुपर्छ भन्ने प्रशिक्षण उनका नेताले अवश्य देलान् ।

एउटा अप्रिय एसिड आक्रमणमा परेर पीडा र चर्चा दुबै बटुलेकी सीमा जुन बाटोमा हिँड्न खोजेकी छन्, यो. बाटो हिँड्दा उनले अहिले पाइरहेको सहानुभूति र समर्थन विभाजित हुन पनि सक्छ । तर, पनि उनी भन्छिन्-मलाई थाहा छ, तर राजनीतिमा लाग्न एउटा दल रोज्नैपर्छ, भावनात्मक कुरा गरेरमात्र हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment