Comments Add Comment

लोकतन्त्रमा लगानी : अस्पतालदेखि होटलसम्म

नविन अर्याल
१० वैशाख, काठमाडौं । एक दशक लामो सशस्त्रद्वन्द्वका बेलामा मुलुकभित्र नयाँ उद्योग खुल्ने कुरा त परै जाओस्, भएका उद्योगधन्दासमेत बन्द भए । तर, जब ०६२/०६३ सालको जनआन्दोलनपछि मुलुकमा लोकतन्त्र आयो, तब लगानीकर्ताहरुमा आशाको किरण देखा पर्न थालेको छ ।

investment on project1
उद्योग विभागमा आव ०६२/६३ देखि ०७१/७२ सम्म आएको विदेशी लगानी प्रस्ताव । आव ०७१/७२ को डाटा ८ महिनाको मात्र हो ।

लोकतन्त्रको ९ वर्षे यात्रामा आम जनताले अनुभव गर्नेखालका परिवर्तनहरु हुन नसके पनि लगानीका लागि भने यो अवधि निकै फलदायी बन्न पुग्यो । नेपालमा पर्यटन, जलविद्युत, सिमेन्ट उद्योग, कृषि, पूर्वाधार लगायतका क्षेत्रहरुमा लगानी बढ्न थालेको छ ।

मुलुकमा स्वदेशी लगानीकर्तादेखि विदेशी बहुराष्ट्रिय कम्पनीसम्म लगानी गर्ने होडबाजीमा उत्रिएका छन् । पुराना उद्योगहरु क्षमता विस्तारमा जुटेका छन् भने नयाँ उद्योगहरु थपिने क्रम रहेको छ ।

अहिले मुलुक १५/१६ घण्टा लामो लोडसेडिङबाट आक्रान्त हुँदा पनि नयाँ लगानी थपिनु सकारात्मक हो । लोकतन्त्रको ९ वर्षे अवधिमा लगानीका विभिन्न ८ वटा क्षेत्रमा आएको सुधार यस्तो छ :

१. उर्जामा सबैभन्दा बढी लगानी

लगानीका लागि निकै आकर्षक मानिएको उर्जा क्षेत्रमा लगानीकर्ताको सबैभन्दा बढी आकर्षण देखिएको छ । प्रस्तावित तथा निर्माणाधीन जलविद्युत परियोजनामा करिव २० खर्ब रुपैयाँ लगानी हुन लागेको छ ।

विद्युत विकास विभागबाट २ हजार १५६ मेगावाट जलविद्युत उत्पादनका लागि अनुमति लिइसकेको अवस्था छ । जसमध्ये १ हजार २ सय मेगावाट क्षमताका परियोजना निर्माणाधीन अवस्थामा रहेका छन् । यी परियोजनामा २ खर्ब बढीको लगानी हुँदैछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणसँगै ६ हजार ४८० मेगावाट क्षमताको पञ्चेश्वर परियोजनाको कामले गति लिने अनुमान गरिएको छ । महाकाली नदीमा निर्माण हुने यस परियोजनामा ३ खर्ब बढी लगानी हुने अनुमान छ ।

Tamakoshi-Hydropower
अपर तामाकोशी जलविद्युत आयोजना ।

गत वर्ष भारतसँग विद्युत व्यापार सम्झौता हुन भयो । नेपालमा उत्पादित विद्युत भारतले किन्ने सम्झौता भएपछि विदेशी लगानीकर्तासमेत यसमा लगानीका लागि उत्सुक देखिएका छन् ।

यही अवधिमा ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली र ९०० मेगावाटकै अरुण तेस्रो आयोजनाका लागि भारतीय कम्पनी जीएमआर र सतलज पावरसँग आयोजना विकास सम्झौता (पीडीए) भयो । जुन परियोजनामा २ खर्ब २२ अर्ब लगानी हुँदैछ ।

अन्तर्राष्ट्रिय वित्त निगमका कार्यकारी उपाध्यक्ष जिन योङले जलविद्युतमा ६ खर्ब लगानी गर्ने प्रतिवद्धता जनाएका छन् ।

जनआन्दोलनदेखि अहिलेसम्म उद्योग विभागमा जलविद्युत क्षेत्रमा ८२ अर्ब २० करोड ८७ लाख रुपैयाँ लगानी गर्ने प्रस्ताव पेश भएको छ । यही आर्थिक वर्षमा भारतीय कम्पनीबाट जलविद्युतमा ३३ अर्ब बढी लगानी गर्ने प्रस्ताव आएको उद्योग विभागले जनाएको छ ।

लोकतन्त्र आएपछि नेपाल सरकारको लगानीमा ४५६ मेगावाट क्षमताको अपर तमाकोशी जलविद्युत आयोजना निर्माण भइरहेको छ । केही वर्षभित्रमा सञ्चालनमा आउने यो परियोजना नेपालको जलविद्युत क्षेत्रकै नमुना परियोजना हो ।

२. सिमेन्ट उद्योगमा उत्साह

सिमेन्टमा नेपाल केही वर्षभित्र पूर्ण रुपमा आत्मनिर्भर बन्दैछ । यस क्षेत्रमा भएको निजी क्षेत्रको लगानीले मुलुकलाई सिमेन्टमा आत्मनिर्भर बनाउन लागेको हो । लोकतन्त्र आएपछिको यो अर्को सबैभन्दा ठूलो उपलब्धी हो ।

मुरारका अर्गनाइजेसनले ३ अर्ब रुपैयाँ लगानीमा भैरहवामा भर्खरै सिमेन्ट उत्पादन सुरु गरेको छ । अर्घाखाँची सिमेन्ट उद्योगमा पुनः २ अर्ब रुपैयाँ थपेर क्षमता विस्तार गर्ने पशुपति मुरारकाले बताए ।

सौरभ समूहले ६ अर्ब ५० करोड लगानीमा नवलपरासीको सुनवलबाट सिमेन्ट उत्प्ादन सुरु गरेको छ । यो उद्योगमा हङकङको कृष्ण इन्टरनेशनल होल्डिङ्सको ४५ प्रतिशत लगानी रहेको छ ।

Arghakhanchi-Cement-Industry
भैरहवामा रहेको अर्घाखाँची सिमेन्ट उद्योग ।

केएल दुगडले ४ अर्ब लगानीमा धादिङमा युनाइटेड सिमेन्ट उत्पादन सुरु गरिसकेको छ । प्रदीपजंग पाण्डेको जनकपुरमा रहेको कसमस सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरिसकेको छ । यो उद्योगमा ३ अर्ब लगानी थपेर क्षमता विस्तार गर्ने तयारीमा कम्पनी रहेको छ ।

चौधरी समुहले पाल्पामा ८ अर्ब ५० करोड लगानीमा क्लिङ्कर उत्पादन गर्दै छ भने नवलपरासीबाट सिजी ब्रान्डमा सिमेन्ट उत्पादन सुरु गरिसकेको छ ।

अफि्रकाको डंगोटे कम्पनीले नेपालममा सिमेन्ट उद्योगमा ५५ अर्ब रुपैयाँ लगानी गर्न लागेको छ । अग्नी सिमेन्टले ५ अर्ब लगानीमा भैरहवामा क्लिङ्कर उद्योग निर्माण गरिरहेको छ भने भारतीय उद्योगपति अनिल अम्बानीको रिलायन्स लाफार्ज, मारुती सिमेन्ट लगायतका उद्योगहरुले पनि उद्योगको क्षमता विस्तारमा ठूलो लगानी गर्दैछन् ।

यी परियोजना कार्यान्वयनमा आएपछि नेपाल सिमेन्टमा पूर्ण रुपमा आत्मनिर्भर बन्ने मुरारका बताउँछन् । पछिल्लो समय श्रम क्षेत्रमा देखिएको सुधार, दलहरुको लगानी बढाउने प्रतिवद्धता लगायतका कारणले लगानी बढ्दै गइरहेको उनको भनाइ छ ।

३. सुविधासम्पन्न अस्पताल

लोकतन्त्रको आगमनसँगै नेपालको निजी क्षेत्र र गैरआवासीय नेपालीको लगानीमा मुलुकभित्र सुविधासम्पन्न अस्पताल निर्माण हुँदैछन् । केही समय अगाडिमात्र काठमाडौंको धापासीमा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न ग्रान्डी हस्पिटल सञ्चालनमा आएको छ ।

ग्रान्डीमा मुलुकको प्रतिष्ठित औद्योगिक घरना ज्योति ग्रुप र एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो लगायतको लगानी छ । त्यस्तै, महताको लगानीमा ललितपुरको नख्खुमा ८ अर्ब लगानीमा अर्को सुविधासम्पन्न अस्पताल निर्माण हुँदैछ ।

Grandy-Hospital
राजधानीको धापासीमा खुलेको ग्रान्डी इन्टरनेशनल हस्पिटल ।

उद्योगी प्रदीपजंग पाण्डेले पनि आयुर्वेद औषधि उद्योग खोल्ने योजनामा रहेका छन् । पछिल्लो समय आयुर्वेदिक औषधि प्रयोग बढ्दै जान थालेपछि औषधि उत्पादकहरु यसतर्फ केन्दि्रत हुन थालेका छन् । एनआरएन अध्यक्ष महतोले बारामा पनि जडीबुटी उत्पादन तथा प्रशोधन उद्योगमा २ अर्बको हाराहारीमा लगानी गर्दैछन् ।

गोल्छा समूहको लगानीमा काभ्रेमा भ्याक्सिन उद्योग सञ्चानमा आउने तयारीमा छ । यस उद्योगमा भारतीय हेस्टर बायोसाइन्सको पनि लगानी रहने बताइएको छ ।

४. पूर्वाधार विकास

लोकतन्त्र आएपछि पूर्वाधार विकासले पनि गति लिन थालेको छ । अहिलेसम्म ७३ जिल्लाहरु सडक सञ्जालमा आवद्ध भइसकेका छन् । बहुचर्चित काठमाडौं-कुलेखानी-हेटौंडा सडक निर्माण भइरहेको छ ।

भैरहवामा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माण कार्य सुरु भएको छ । सन् २०१८ को पहिलो महिनाभित्रमा सञ्चालनमा ल्याइसक्ने लक्ष्य राखिएको यस एयरपोर्टमा सवा ८ अर्ब रुपैयाँ लगानी हुँदैछ । एशियाली विकास बैंकको ऋण सहयोगमा चिनियाँ कम्पनीले यो एयरपोर्ट स्तरोन्नती गरिहेको छ ।

पोखरामा बनाउने भनिएको अन्तर्राष्ट्रिय स्तरको क्षेत्रीय विमानस्थलको काम पनि अगाडि बढिसकेको छ । यी दुई एयरपोर्ट सञ्चालनमा आएपछि पर्यटनमा नयाँ आयाम थपिने विश्वासमा पर्यटन व्यवसायी रहेका छन् ।

Goutam-Buddha-Intl-Airport-9
निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नदी डाइभर्सन गरिँदै ।

त्यस्तै, बाराको निजगढमा बनाउने भनिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको डीपीआर तयार भइसकेको छ । सरकार अहिले यो परियोजना निर्मााणका लागि लगानीकर्ता खोजिरहेको छ । यही आर्थिक वर्षदेखि नागरिक उड्डयन प्राधिकरणले यसको काम औपचारिक रुपमा सुरुवात गर्दैछ ।

यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नती गर्ने काम पनि तिब्र गतिमा भइरहेको छ । यो विमानस्थलको स्तरोन्नती गर्नका लागि सरकारले ६० अर्ब भन्दा बढी रकम खर्च गर्दै छ । जिल्लामा रहेका साना विमानस्थल निर्माण तथा स्तरोन्तीको काम पनि तिब्र रुपमा भइरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

काठमाडौं-निजगढ द्रुतमार्गको डीपीआर तयार गर्नका लागि भारतीय कम्पनी छनौट गरिसकिएको छ । यो कम्पनीले अबको दुई महिनाभित्रमा डीपीआर प्रतिवेदन भौतिक योजना तथा निर्माण मन्त्रालयलाई बुझाउने छ । डीपीआर तयार भएपछि लगानीकर्ता छनौट गरी काम अगाडि बढाउने योजनामा सरकार छ ।

यही अवधिमा राजधानीको सडक फराकिलो बनेको छ भने तराईका विभिन्न ठाउँको सडक ६ लेनको बनाउने काम भइरहेको छ । राजधानीको चक्रपथ विस्तार गर्ने काम तिब्र गतिमा भइरहेको छ ।

५. खाद्यान्न उद्योग थपिँदै

अत्यावश्यक वस्तुमा पर्ने खाद्यान्न उद्योग पनि धमाधम थपिरहेका छन् । चौधरी समूहले वाइवाइ चाउचाउको उद्योग पश्चिम क्षेत्रमा विस्तार गर्दैछ । अहिले धमाधम उद्योगको भौतिक संरचना निर्माणको काम भइरहेको बताइएको छ ।

नवलपरासीपछि चौधरी समूहले बर्दिया र इटहरीमा नयाँ चौधरी ग्राम स्थापना गर्दैछ । उद्योगी मोती दुगडले सेन्चुरी चिप्स उद्योग स्थापना गर्दै छन् । शारदा समूह, निम्बस समूह, जगदम्बा समूह, लगायतले पनि थप उद्योग विस्तार गर्नुका साथै सञ्चालनमा रहेका उद्योगहरुको क्षमता विस्तारमा जोड दिइरहेका छन् ।

६. होटलमा लगानीको होडबाजी

जनयुद्धकालमा सञ्चालनमा रहेका राम्रा तारे होटलसमेत बन्द हुन पुगेका थिए । तर, लोकतन्त्रको आगमनसँगै होटलमा लगानी गर्ने होडबाजी सुरु भएको छ । नेपालको होटल उद्योगमा स्वदेश तथा विदेशबाट ठूलो लगानी हुँदैछ । अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएका बहुराष्ट्रिय कम्पनीहरु होटलमा लगानी गर्दैछन् ।

कतिपय होटल निर्माण सुरु भइसकेका छन् भने कतिपय होटल निर्माण सुरु गर्ने तयारीमा छन् । केही होटलहरु सञ्चालनमा आइसकेका छन् ।

SHERATON-KATHMANDU_FRONT-FACE-Final
राजधानीको कान्तिपथमा निर्माणाधिन शेराटन होटल ।

काठमाडौंको कान्तिपथमा गैरआवासीय नेपाली शेष घलेको लगानीमा पाँचतारे डिलक्स शेराटन होटल निर्माण भइरहेको छ । २०११८ सम्म सञ्चालनमा ल्याउने तयारीका साथ निर्माण भइरहेको होटलमा २१८ रुमहरु रहनेछन् । जुन होटलमा ८ अर्ब लगानी गरिँदैछ । शेराटन अमेरिकी कम्पनी स्टारउडको प्रख्यात बहुराष्ट्रिय होटल ब्रान्ड हो ।

तीन अर्ब लगानीमा ठमेलमा पाँचतारे काठमाडौं अलफ्ट होटल निर्माण भइरहेको छ । बैंकर पृथ्वीबहादुर पाण्डे, पर्यटन व्यवसायी सुमन पाण्डेलगायतको लगानी रहेको उक्त होटल निर्माणाधीन छायाँ सेन्टरमा रहनेछ । अलफ्ट पनि स्टारउडको प्रख्यात बहुराष्ट्रिय ब्रान्ड हो ।

सुमार्गी ग्रुपले ५ अर्ब लगानीमा २२० रुम भएको पाँचतारे होटल बनाउने घोषणा गरिसकेको छ भने एनआरएन समुहले होटलमा ४ अर्ब लगानी गर्दै छ । त्यस्तै, एमएस ग्रुपले ५ अर्बमा पाँचतारे होटल निर्माण गरिरहेको छ ।

होटल समिटले होटलमा ६ अर्ब लगानी गर्ने अघिल्लो महिना घोषणा गरेको छ । वैद्यज अर्गनाइजेसन, सिल्भर हेरिटेज ग्रुप, नेपाल नागरिक उड्डयन प्राधिकरण, सांग्रिला होटल ग्रुप लगायतले पनि विभिन्न ठाउँमा पाँचतारे होटल निर्माणको तयारीमा जुटेका छन् ।

काठमाडौंको लैनचौरमा १० तलाको ‘होटल लि शेर्पा’ सञ्चालनमा आउने भएको छ । पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको करी ३ अर्ब लगानी रहने उक्त होटल सन् २०१८ सम्म सञ्चालनमा आइसक्ने बताइएको छ ।

सोल्टी होटलले नेपालगञ्ज, पोखरा लगायतका ठाउँमा चारतारे होटल निर्माण सुरु गरेको छ भने लक्ष्मी ग्रुपले पनि काठमाडौं र पोखरामा चारतारे स्तरको होटल खोल्ने घोषणा गरिसकेको छ । सुर्य नेपाल र जगदम्बा समूहले पनि पाँचतारे होटल निर्माण गर्ने घोषणा गरिसकेका छन् ।

Chhaya-Center-5
ठमेलमा निर्माणाधिन सपिङ कम्प्लेक्स छायाँ सेन्टर । यही सेन्टरमा अलफ्ट लक्जरी होटल सञ्चालन हुँदै छ ।

यस्तै, चर्चित औद्योगिक घरना चौधरी ग्रुपले अन्तर्राष्ट्रिय होटल ब्रान्ड जिंकलाई नेपाल प्रवेश गराउँदैछ । जिंकको नामबाट मेघौली र झम्सीखेलमा लक्जरी होटल तथा रिसोर्ट निर्माण भइरहेको छ । मेघौलीमा २७ करोड र झम्सीखेलमा एक अर्ब लगानी हुने समूहले जनाएको छ ।

काठमाडौं उपत्यकालगायत पोखरा, सौराहा, मेघौली, नेपालगञ्ज, धनगढी, कोहलपुर, नगरकोट, धुलीखेल, बिराटनगर, झापा, जनकपुर लगायतका स्थानहरुमा तारे होटल निर्माण भइरहेका छन् । कतिपय होटलहरु त निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् ।

पछिल्लो समय सञ्चालनमा रहेका तथा निर्माणाधीन साना ठूला होटलहरुले विदेशी चेन भित्राउने होडबाजी चल्न थालेको छ । दर्जनबढी विदेशी होटल चेनहरु नेपाली होटलको व्यवस्थापन सम्हाल्न आउँदैछन् ।  कतिपय सञ्चालनमा रहेका पाँचतारे होटलको व्यवस्थापन अहिले पनि विदेशी चेनले सम्हालिरहेका छन् ।

खासगरी नेपाल भित्रिन लागेका चेन होटलहरुमा स्टार उडको सेराटन, मेरियट, अलफ्ट, भारतको दुषित इन्टरनेशनल, क्र्लक्स ग्रुप, लर्डस् मिरेज, लीला, थाइल्यान्डको दुषित थानी, पगदुन्दी सफारी समूह, सिग्नेट इन, जिंक जर्नी लगायतका चेन नेपाल आउने पक्का भइसकेको छ ।

त्यस्तै, नागरिक उड्डयन प्राधिकरण, यति ग्रुप, लक्ष्मी ग्रुप, शेखर ग्रुपले पनि विदेशी ब्रान्ड भित्राएर लक्जरी होटल खोल्ने तयारीमा रहेका छन् ।

७. साहसिक पर्यटन प्रवर्द्धन

यसवीचमा होटलमा मात्र नभएर साहसिक पर्यटकीय गतिविधिहरुमा पनि ठूलो लगानी भएको छ । लोकतन्त्रको ल्याउँदाको संघर्षदेखि अहिलेसम्म उद्योग विभागमा पर्यटन उद्योगका विभिन्न क्षेत्रमा १३ अर्ब ६२ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव आएको छ ।

Chandragiri Cable Car 03-TOP-STATION
निर्माणाधिन चन्द्रागिरी केवलकारको स्केच ।

आइएमई समूहले ठूलो लगानी गरेर चन्द्रागिरीमा केवलकार, लक्जरी होटलसहितको पार्क निर्माण गरिरहेको छ । यस्तै, बञ्जी, प्याराग्लाइडिङ, जीप फ्लाई, अल्ट्रालाइट, र्‍याफि्टङ लगायतका क्षेत्रमा पनि ठूलो लगानी भइरहेको प्यासिफिक एशियन ट्राभल एजेन्टस् (पाटा) नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डे बताउँछन् ।

८. हवाइ उडानमा विस्तार

त्यसो त यस अवधिमा विदेशी एयरलाइन्सको नेपाल उडान पनि उल्लेख्य मात्रामा बढ्यो । स्वदेशी वायुसेवा कम्पनीहरुले पनि जहाज बढाउने काम गरेका छन् ।

हिमालयन एयरलाइन्सले नेपाललाई आधार बनाएर अन्तर्राष्ट्रिय उडान गर्दैैछ । यो एयरलाइन्समा २ अर्ब ५० करोड लगानी हुँदैछ । यसमा नेपालको निजी क्षेत्र र तिब्बत एयरलाइन्सको लगानी रहनेछ ।

Nepal-Airlines-New-plane-Sagarmatha  (2)
नेपाल एयरलाइन्सले गत माघमा भित्राएको एयरबस ‘ए ३२०-२००’ जहाज ।

नेपाल एयरलाइन्सले आन्तरिक उडानका लागि ६ वटा विमान र अन्तर्राष्ट्रिय उडानका लागि २ वटा विमान थप्दै छ । यसैगरी, गोमा एयरले आन्तरिक उडानका लागि दुईवटा लेट विमान ल्याइसको छ भने दुईवटा निकट भविष्यमा ल्याउँदैछ ।

यसबीचमा सौर्य एयरलाइन्सले उडान सुरु गरेको छ । एउटा जेट विमानबाट उडान सुरु गरेको सौर्यले यसै महिनाभित्र अर्को जहाज ल्याउने जनाएको छ ।

सिम्रिक एयरलाइन्सले पनि अग्नी एयरका जहाज भाडामा ल्याएर उडाइरहेको छ । सिम्रिक पनि थप जहाज थप्ने योजनामा रहेको छ ।

उद्योग विभागमा डेढ खर्बको प्रस्ताव

करिब एक दशकको यो अवधिमा उद्योग विभागमा सबैभन्दा बढी लगानी प्रस्ताव उर्जा क्षेत्रमा आएको देखिएको छ । यस क्षेत्रमा ८२ अर्ब २० करोड लगानी प्रस्ताव आएको छ भने उत्पादनमुलुक क्षेत्रमा २२ अर्ब १५ करोड, पर्यटनमा १३ अर्ब ६२ करोड, सेवा क्षेत्रमा २५ अर्ब १० करोड, खनिजमा ४ अर्ब १० करोड, निर्माण क्षेत्रमा २ अर्ब ३३ करोड र कृषि तथा बनजन्य उद्योगमा ३ अर्ब ४३ करोड रुपैयाँ लगानी प्रस्ताव आएको छ ।

उद्योग विभागमा आएको कुल लगानी प्रस्तावमध्ये १३८ ठूला परियोजनामा १ खर्ब १४ अर्ब ३६ करोड, १८४ मध्यस्तरका परियोजनामा १८ अर्ब १८ करोड र १ हजार ९ सय ३ वटा साना परियोजनामा २० अर्ब ४१ करोड रुपैयाँ प्रस्ताव आएको विभागले जनाएको छ ।

१० वर्षमा अाएको परियोजनागत विदेशी लगानी

परियोजना लगानी (दश लाखमा)
कृषि तथा बनजन्य ३,४३६.०२
निर्माण २,३३७.१३
उर्जा ८२,२०८.७६
उत्पादन २२,१५०.२२
खनिज ४,१००.६५
सेवा २५,१०२.०४
पर्यटन १३,६२२.००
कुल १५२,९५६.८१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment