Comments Add Comment

वीपीपछि भिजन भएका नेता बाबुराम हुन् : रामेश्वर खनाल

१० वैशाख, काठमाडौं । आर्थिक विश्लेषकसमेत रहेका पूर्वअर्थसचिव रामेश्वर खनालले वीपी कोइरालापछि डा. बाबुराम भट्टराईलाई आफूले भिजन भएको नेताका रुपमा पाएको बताएका छन् ।

BP-Koirala-and-Baburam-Bhat

वीपी र बाबुरामबाहेक अन्य प्रधानमन्त्रीहरुमा आफूले भिजन नदेखेको खनालको तर्क छ । नेपालमा लोकतन्त्रको पुनस्थापनापछि पनि किन विकासले फड्को मार्न सकेन भन्ने विषयमा विश्लेषण गर्ने क्रममा खनालले नेपालमा सिंगापुर र दक्षिण कोरियामाजस्तो ‘भिजनरी’ नेतृत्वको खााचो औंल्याए । चाहने हो भने प्रधानमन्त्रीले देशमा कायापलट गर्न सक्ने खनाल बताउँछन् ।

नेपालको राजनीतिक नेतृत्वबारे खनालको विश्लेषण :

हाम्रो राजनीतिक नेतृत्वमा गम्भीरता पनि छैन । सोच पनि छैन । ठूलो खडेरी के हो भने सोच नै छैन । पाँच-पाँच पटक मुलुकको प्रधानमन्त्री भइसकेको व्यक्तिले म कुनै दिन बिरामी परौंला, मेरो उपचार गर्नका निम्ति भए पनि राम्रो अस्पताल चाहिन्छ भन्ने मात्रै सोच लिएको भए पनि पुग्थ्यो । त्यही भिजन भएको भए पुग्थ्यो ।

नेपालमा ‘टर्न एराउण्ड’ एक व्यक्तिले मात्रै गर्न सक्छ । तर, हामी कहाँ नेतृत्वमा भिजन नहुनु ठूलो समस्या हो ।

राजनीतिक नेतृत्वले भिजन लिने हो । चीनमा आर्थिक वृद्धि भएको कर्मचारी र प्राविधिकले गर्दा होइन नि । नेतृत्वले के भन्यो भने मलाई यो चाहिन्छ, तपाईले डेलिभरी गरेर देखाउनुस् ।

ल्हासासम्मको रेल्वे ट्रयाक कुन आर्थिक विश्लेषकले, कुन प्राविधिकले यो आर्थिकरुपमा सम्भव छ भनेर भनेका थिए र ? ल्हासा सानो बस्ती, त्यत्रो खर्च गरेर रेलवे ल्याउनुपर्ने । कसैले पनि सम्भव भन्दै भन्दैन ।

राजनीतिक नेतृत्वले के गर्ने हो भने मलाई सम्भाव्यको मतलब छैन, मलाई यो चाहिन्छ । राजनीतिज्ञले टाढाको देख्न सक्नुपर्छ । पहिलोपटक प्रधानमन्त्री हुँदा नै मलाई उपचार गर्न अस्पताल चाहिन्छ भनेर देख्न सक्नुपर्थ्यो  नि । पाँच पटक प्रधानमन्त्री हुँदा पनि उहाँले देख्न सक्नुभएन । प्रत्येकपटक विदेशमा गइरहनु भयो । भिजनको कमी ।

भिजन भएका नेता वीपीपछि बाबुराम

मैले देखेको त अहिलेसम्म बीपी कोइराला र अहिले आएर बाबुराम भट्टराईमात्र हो । आग्रह पूर्वाग्रह, माया गरेको भनेको होइन । उहाँले चाहिँ कम से कम यो चाहिन्छ है भनेर अलिकति हेर्न सक्नुभएको छ । अरु कसैको भिजन नै छैन । थुप्रै प्रधानमन्त्रीसँग मैले काम गरेँ । उहाँहरुकै अन्तरगत काम नगरे पनि कामको शिलसिलामा विकासको मुद्दामा, नीतिगत कुरामा उहाँहरुसँग पटक-पटक भेट र बैठक भए । कसैले पनि भिजनरी कुरा गरेनन् ।

यदि आफूले भिजनरी कुरा गर्न सकिन्न भने अरु कसैले भनेको भिजन पनि मानिदिन सकिन्थ्यो । अलिकति भिजन भएको मान्छेले अरुको भिजन पनि बुझ्न सक्छ । आफ्नो भिजन नै नभएपछि के बुझ्ने ?

विकास सम्वन्धी भिजन त सबैमाथि माथिल्लो नेतृत्व (प्रधानमन्त्री) बाट आउने हो । भारतको गुजरातमा थुप्रै मुख्यमन्त्री भएका थिए नि । तर, भिजनरी आएपछि त ‘टर्न अराउन्ड’ हुँदो रहेछ त । गुजरातमा कर्मचारीतन्त्र त्यही थियो । मोदी पहिलोपटक जाँदा कर्मचारीतन्त्रमा आमूल परिवर्तन पनि गरेका होइनन् ।

गिरिजाबाबुले ०४८ मा माथिल्लो तहलाई धपाएर फ्रेसब्लड ल्याउने कोसिस गर्नुभयो । तर, मोदीले त्यसो पनि गरेनन् । यसले के देखाउँछ भने नेतत्व तहमा रहेको एक व्यक्तिले ड्राइभ र भिजन दियो भने सबैतिर काम हुन्छ । यस्तो भिजन र ड्राइभ मन्त्रीहरुबाट आउँदैन । मन्त्री जतिसुकै भिजनरी भए पनि आफ्नै मन्त्रालयको काम गर्न पनि गाह्रो हुन्छ । किनभने सचिव त प्रधानमन्त्रीले खटाउने हो नि ।

RAMESHOR KHANAL (16)

नेपालमा ‘टर्न एराउण्ड’ एक व्यक्तिले मात्रै गर्न सक्छ । विश्वमा जुन देशको ‘टर्न एराउण्ड’ भएको छ, त्यो देशमा आइन्स्टाइन वा कुनै ठूलो वैज्ञानिक जन्मिएका कारणले टर्न एराउण्ड भएको होइन ।

चीनमा तेङ स्याओ पिङ पावरमा आउँदा माओका पालाका राजनीतिज्ञहरु पनि त्यहीँ थिए । चाटुकारहरु । उनले भिजन लिए र मलाई यो चाहिन्छ, भने । इफ यु कान्ट डेलिभरी, तपाई जानुस्, म अर्को ल्याउँछु ।

हाम्रा कुनै पनि प्रधानमन्त्रीले मैले यो भिजन लिएको छु, तपाईले यो यो काम गर्नुपर्छ, गर्न सक्नुहुन्न भने तपाई जानुहोस् भनेर कसैलाई भन्न सके ? बरु त्यस्ता (काम नगर्ने) व्यक्तिलाई नियुक्तिको समयावधि थप गरिदिए ।

हामी कहाँ नेतृत्वमा भिजन नहुनु ठूलो समस्या हो । यो समस्याबाट हामी अझै केही वर्ष गुज्रन्छौं । किनभने, भिजनरी मान्छे देखिएका छैनन् । कुनै दलको गर्भमा लुकेर बसेको होला । जसलाई हामीले अहिले भिजनरी होला कि भनेका छौं, गगन थापा, गोकर्ण विष्टहरु । बाहिर बस्दा पो भिजनरी देखिएको हो, पदमा बस्दा हुनुपर्‍यो नि । पदमा गएर ड्राइभ गर्न सक्ने हुनुपर्छ ।

धेरै प्रधानमन्त्रीहरु पदमा गएपछि सानो कुरा गर्नुबाहेक ठूलो कुरा गर्ने क्षमता छैन ।

राजनीतिक भिजनले समाजको व्यवहारमा परिर्वतन ल्यायो भने विकास पनि तीव्र गतिले अघि बढ्छ । विकास भएपछि समानता आउँछ । आजको मितिसम्म पनि ४० प्रतिशत घरहरुमा शौचालय छैन । सही तरिकाले हाम्रो दिशा पिसाबलाई व्यपस्थापन गर्नुपर्छ, यो भयो भने हाम्रो स्वाथ्य राम्रो हुन्छ, हामीलाई रोग लाग्दैन भन्ने सन्देशसमेत पुर्‍याउन सकेका छैनौं । यो हाम्रो समाजको संरचनात्कगत समस्या हो । त्यो वर्गको मान्छे र अत्याधुनिक सेवा सुविधा प्रयोग गर्न जान्ने मान्छेको आर्थिक हैसियत पनि फरक हुन्छ । किनभने यसको उत्पादकत्व बढी हुन्छ । अर्कोको कम हुन्छ किनकि उसले त एक महिना झापाडखाला लागेर काम गर्न सक्दैन ।

हाम्रो समाजमा परम्परागत र आदिम युगीन बस्तीहरु भएका ठाउँ अझै पनि छन् । ०४६ सालसम्म कम गर्ने प्रयास गरेनौं । त्यसबेला ३६/३७ जिल्लामा सडक नै पुगेको थिएन । यो अवधिमा सक्दो प्रयास गर्दा पनि तीन जिल्लामा पुग्न सकेको छैन, गाविसको त कुरा छाडौं तर, पछिल्लो अवधिमा सदरमुकाममा नपुगे पनि गाविसहरुमा भने पुगेका छन् ।

जब समाज चेतनशील हुँदैन, उसले दाबी गर्न सक्दैन । विकासका लागि क्लेम पनि गर्नुपर्छ । हामीले वीचमा विकास भनेको ‘राइट्स बेस अप्रोच’ अर्थात अधिकारमा आधारित विकासको धारणा भन्यौं । जसको अधिकार हो, उसकहाँ विकास पुग्नुपर्छ भनेको हो । त्यो अधिकार दिएर कसैको निगाहले पुग्ने होइन, माग्ने हो । म कर तिर्छु भने मेरो घरको ढोकामा सडक पुग्नुपर्छ भन्ने हाम्रो अधिकार हो । हामीकहाँ त घर बनाएर बाटो पुग्दैन । किनकि घर बनाउनेले कर पनि तिरेको हुँदैन ।

हाम्रो सामाजिक संरचनाले नै विभेद बनाइरहन्छ र यो अझै २० वर्ष भइरहन्छ । यो विभेद कम गर्न समाजिक संरचनामा रहेको समस्या समाधान गर्नुपर्छ भन्ने मान्छे सम्भवतः एकजना बाबुराम भट्टराई होला । अरु मैले देखेको छैन । केको राजनीतिक तहबाट सुधारको कुरा गर्ने ? त्यसले ०६२/०६३ पछि सामाजिक असमानता कम भयो होला भनेर कल्पना गर्न हुँदैन । त्यसले अबको १०/१५ वर्ष रहन्छ ।

यदि राजनीतिक नेतृत्वले त्यो जेहाद छोड्ने हो भने फेरि सम्भव छ । यो भनेेको के हो भने सन्देश दिने हो । भारतमा मोदीले गरे, भारत सफा करो । त्यो सन्देश हो । जस्तो चीनमा राजाले कसैले पनि आजको मितिदेखि नउमालेको पानी खान पाउँदैनौं भनेर भनेका रहेछन् । अहिलेसम्म पनि कुनै चिनियाँले चिसो पानी खाएको देख्नु भएको छ ? छैन । उमालेको पानी खाँदा मात्र पनि उनीहरुको रोग आधा कम भयो । त्यो राजाको उर्दी थाइ राजाले थाहा पाए । उनले घरमा चिसो पानी खान पाइँदैन भनेर उर्दी जारी गरेका छन् । अहिले नेपालमा सबैले उमालेको पानी खानेको हो भने झाडा पखालाको समस्या ९० प्रतिशत घट्छ ।

कति विश्वविद्यालय बने, कति अस्पताल बने जस्ता कुराहरु क्षेत्रगत विकासको कुरा हुन् । क्षेत्रगतको छाड्नुस्, सिंगल भिजन, ब्रोड भिजन हुन्छ नि म मेरो देशलाई यस्तो बनाउँछु । उल्लु नै भएपनि राजा वीरेन्द्रले एसियाली मापदण्डमा पुर्‍याउँछु भनेको जस्तो । कृष्णप्रसाद भट्टराईले सिंगापुर जस्तो बनाउँछु भनेको जस्तो । त्यतिको भिजन पनि भइदिए हुन्थ्यो । त्यो केही छैन । कसैको पनि छैन । सानो कुरा गर्नुहुन्छ ।

अहिलेसम्मका प्रधानमन्त्रीले कति आर्थिक सहायता बाँडेका छन्, त्यो सूची हेर्नुस् । जसले बाँड्यो त्यो प्रधानमन्त्रीको भिजन छैन भनेर बुझेहुन्छ ।

लोकेन्द्रबहादुर चन्दले, बैतडीको मान्छे, विरामी भएछ, ५ लाख रुपैयाँ भनेर आए । अर्थमन्त्री डा. बद्रीप्रसाद श्रेष्ठ । सँधै पास हुने भएपछि एकदिन म आफैं गएँ । श्रेष्ठजतिको इमान्दार मान्छे कोही थिएनन् । मन्त्रालयको पैसाबाट चिया नखाने । सरकारको पैसा खर्च हुन्छ भनेर एसियाली विकास बैंकको साधारण सभामा समेत जानुभएन । त्यस्तो भन्ने उहाँ, उहाँकै प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द । उनले चिर्कटोमा लिएर आएर ५ लाख रुपैयाँ फलानोलाई, २ लाख रुपैयाँ फलानोलाई । भिजन भनेको यस्तो छ । प्रत्येक प्रधानमन्त्रीले पैसा बाँड्ने बाहेक भिजन बनाएनन् ।

मुलुकको कार्यकारी प्रमुखले त पैसा बाँड्नुपर्ने अवस्था आउन नदिन पो सोच्नुपर्ने हो त । उसलाई किन पैसा चाहियो भन्दा उपचार गर्न हो नि । सबैलाई उपचारमा सहज पहुँच हुने अवस्था बनाउनेतिर काम सुरु गरौं न । क्यान्सर फ्री गरौं । एउटा व्यक्तिलाई सुविधा दिन प्रधानमन्त्री बन्ने होइन नि ।

यदि एउटा व्यक्तिलाई संकट परेका कारण सरकारले ५ लाख रुपैयाँ दिनु परेको छ भने यस्तो संकट त अरुलाई पनि परेको होला । सबैलाई संकट नआउने नीति पो सोच्ने हो । अहिलेसम्मका प्रधानमन्त्रीले कति आर्थिक सहायता बाँडेका छन्, त्यो सूची हेर्नुस् । जसले बाँड्यो त्यो प्रधानमन्त्रीको भिजन छैन भनेर बुझेहुन्छ ।

नेपालमा अहिलेको समस्या भनेको दिर्घकालीन सोचको हो । राजनेताले यस्तो कुरा देख्छ, जुन कुरा आम मानिस र बुद्धिजिवीले पनि देख्न सक्दैन ।

यो पनि पढ्नुस् – राजनीतिले गति लिएन, तर समाज कहाँ पुग्यो ?

यसको उदाहरण के हो भने, हा जुन चाङ भन्ने कोरियन अर्थशास्त्री छन् । उनले ४/५ वटा पुस्तक लेखेका छन् । एउटामा के लेखेका छन् भने कोरियामा १९६५ मा पार्क चुङ ही सत्तामा आएपछि उनले ५ वर्षभित्र मैले मेरो देशको वर्षमा प्रतिव्यक्ति डलर हजार रुपैयाँ पुर्‍याउँछु भनेर भिजन बनाए । जुनबेला कोरियाको प्रतिव्यक्ति आय ८० डलर थियो । तर, उनले केही हेरेनन् । भिजन भनेको कतिपय बेलामा पागलजस्तो पनि लाग्छ । ८० बाट १००० पुर्‍याउन असम्भव भनेर आलोचना भयो । पढ्दै नपढेको, अर्थशास्त्र नबुझेको पनि भने । तर, १९७० मा १२०० डलर पुग्यो ।

त्यसपछि पार्कलाई के लाग्यो भने देशलाई विकास गर्ने हो भने स्टील फ्याक्ट्री चाहिन्छ । युरोपको विकासका पछाडि स्टिल र कोइला हो । पार्कले विश्व बैंकलाई लोनका लागि आग्रह गरे । तर, फलाम पनि छैन, बजार पनि छैन । आईआरआर निकाल्यो, त्यो त एकदमै कम । विश्व बैंकले भन्यो, सम्भव छैन ।

पार्क चुङ हीले नगरी हुँदैन भने । जापान उसको उपनिवेशमा बसेको भएकाले केही दिन्छ कि भनेर गए । त्यसबेला जापान स्टीलको पावर हाउस थियो । जापानले हुन्छ ,सहयोग गर्छु त भन्यो तर, टोली गएर हेर्दा विश्व बैंकले जस्तै सम्भव छैन भन्यो ।

प्रधानमन्त्रीले पटक-पटक मलाई काठमाडौ सफा चाहिन्छ, एकजना मान्छेले पनि फोहोर पारेको म देख्न चाहन्न भनेर आर्मी, पुलिस, नागरिकलाई भन्ने हो भने सम्भव छ ।

त्यसपछि पार्क चुङ हीले हामीले जसरी पनि बनाउने र हाम्रै पैसाले बनाउने भनेर आर्मीको रिटायर कमाण्डरलाई कार्यकारी प्रमुख बनाएर पोस्को स्टिल कम्पनी स्थापना गरे । आर्मीको मान्छेलाई ल्याएर सीइओ बनाएको भनेर विश्व बैंकले उल्लीबिल्ली बनायो । तर, पाँच वर्षमा पोस्को सफल एवं नाफमुखी कम्पनीमा परिणत भयो । अहिले पोस्को संसारको सबैभन्दा ठूलो र नाफामा भएको स्टील फ्याक्ट्री हो । कोरियामा फलाम खानी थिएन, स्टिलको बजार पनि थिएन ।

यस्तो भिजन अरुबाट आउँदैन । प्रधानमन्त्रीले सक्छन् । एउटा सफल भएपछि अरुमा त लहर लाग्छ ।

प्रधानमन्त्रीले पटक-पटक मलाई काठमाडौं सफा चाहिन्छ, एकजना मान्छेले पनि फोहोर पारेको म देख्न चाहन्न भनेर आर्मी, पुलिस, नागरिकलाई भन्ने हो भने सम्भव छ । तर, त्यो भिजन मुख्य सचिव वा अरु कसैले दिएर हुँदैन । उसलाई कतिजनाले टेर्ने ? प्रधानमन्त्रीले भन्ने हो भने त कार्यकर्ता दौडिन्छन् ।

मैले एकपटक डा. बाबुराम भट्टराईलाई भनेको थिएँ कि तपाईहरुले द्वन्द्वकालमा हाम्रो जहाँ आधार इलाका छ, त्यहाँका कुनै पनि बालबालिका घरमा बस्न पाइँदैन भनेको भए जम्मै एसएलसी गर्ने अवस्थामा पुग्थे, सबै पढ्थे । शिक्षकले विहान ८ बजेदेखि साँझ ६ बजेसम्म पढाउनुपर्छ भनेको भए त्यहाँका बालबालिका बोर्डफस्ट हुन सक्थे । त्यो एउटा उर्दीले हुन्छ । राजनीतिक नेतृत्वले भिजन दिने हो भने उर्दी पालना गर्ने मान्छे हुन्छ । सिंगापुरमा गरेको ड्राइभ त्यही हो ।

त्यस्तो भिजन टेक्नोक्र्याट, विदेशीबाट आउँदैछ । राजनीतिक नेतृत्वले दिने हो । टप लेभलले नदिएसम्म हुँदै हुँदैन ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment