Comments Add Comment

सरकारी विद्यालयमा विद्यार्थीको ओइरो

school
११ बैशाख, कास्की । कास्कीको लेखनाथ नगरपालिका–१७, भरतपोखरीकी विष्णु नेपाली नयाँ शैक्षिक सत्र सुरु भएको पहिलो दिन बुधबार दुई छोरी विपाशा र दियालाई लिएर स्थानीय सरस्वती टीका उच्चमावि पुगिन्। मर्निङ ग्लोरी एकेडेमी नामक अंग्रेजी स्कुलबाट झिकेर आफ्ना छोरीलाई उनले यही सरकारी स्कुलमा भर्ना गरिन्।

स्थानीय लक्ष्मी कार्की र पार्वती थापाले पनि विष्णुकै सिको गरे। यसपालि अंग्रेजी माध्यमका निजी बोर्डिङबाट आफ्ना सन्तान झिकेर यस स्कुलमा भर्ना गर्ने अभिभावक संख्या पहिलो सातामै १ सय ६२ पुगेको छ। भरतपोखरी गाउँमा मात्रै त्यस्ता अभिभावक सयभन्दा बढी  रहेको नागरिक दैनिकमा खबर छ ।

१० वर्षदेखि निरन्तर विद्यार्थी घटिरहेको यो स्कुलमा यसपालि किन यस्तो आकर्षण देखियो त?

त्यसका मुख्य दुई कारण छन् :  सरकारी भए पनि यसपालिदेखि अंग्रेजी माध्यममै पढाउने व्यवस्था र प्राचार्य, शिक्षक तथा व्यवस्थापन पदाधिकारी स्वयंले आफ्ना छोराछोरी निजीबाट झिकेर आफू संलग्न स्कुलमै ल्याउने अभियान।

वैदेशिक रोजगारीमा गएका आफ्ना पतिको कमाइले छोराछोरीको पढाइ खर्च धान्दै आएकी विष्णुका अनुसार बोर्डिङ स्कुलमा छोराछोरी पढाउने अभिभावकको एउटै इच्छा हुन्छ– सन्तानले अंग्रेजी फरर्र बोल्न र लेख्न जानून्। ‘अब त्यस्तो अंग्रेजी त यही सरस्वती स्कुलमै हुने भएछ,’ पार्वतीले भनिन्, ‘त्यसैले बोर्डिङबाट झिकेर बच्चालाई यता राखेँ, बोर्डिङमा जस्तो चर्काे शुल्क पनि तिर्नुपर्दैन।’

विद्यालयका प्राचार्य लालप्रसाद भण्डारी आफैंले यस शैक्षिक सत्रदेखि छोरालाई आफूले पढाउने स्कुलमै भर्ना गरेका छन्। ‘आफ्ना छोराछोरी अन्यत्र बोर्डिङमा पढाउँदा हामीले पढाउने स्कुलमा अरूका छोराछोरी पनि आउन छाडे,’ उनले कारण खुलाए।

यति मात्र होइन, भर्ना अभियान सुरु हुनुअघि नै शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले घरघरै गएर अंग्रेजी माध्यममा राम्ररी पढाउने विश्वास दिलाउँदा निजीबाट निकाल्ने होड नै चल्यो।

कास्कीमा सबैभन्दा धेरै जनसंख्या भएको गाउँको यस स्कुलमा १० वर्षयता विद्यार्थी घटेका थिए। त्यसको कारण गाउँको जनसंख्या घट्नु भने थिएन। बरु केही महिनायता मात्र लेखनाथ नगरपालिकामा गाभिएको यो ठाउँ नयाँ बसाइँले भरिँदो नै छ। वरपरिका अंग्रेजी माध्यमका निजी स्कुलमा विद्यार्थी बढ्न थालेपछि भण्डारीले नयाँ तरिका अपनाए जसले अभिभावकको सोचमा ‘यु टर्न’ ल्याइदियो।

एक दशकअघिसम्म १ हजार विद्यार्थीबाट घटेर ४ सय ५० तिर आइपुगेपछि प्राचार्य भण्डारी र शिक्षकलाई आफ्नो अस्तित्वको खोजी हुन थाल्यो। चैतमा एउटा भेला डाकेर सबै शिक्षकले आफ्ना छोराछोरीलाई आफूले पढाउने स्कुलमै भर्ना गर्ने कसम खाए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्य र अन्य पदाधिकारी एवं सदस्यले पनि त्यही प्रतिबद्धता जनाए। त्यसैअनुरुप ऋषिले छोरी कृतिकालाई सरस्वती टीकाकै कक्षा ७ मा भर्ना गरेका छन्। समितिका पूर्वअध्यक्ष धर्मराज अधिकारीले त झन् ४ नातिनी र २ नातिलाई निजीबाट निकालेर त्यही स्कुल ल्याए।

‘हामीलाई नाफा कमाउनु छैन, शिक्षक पाल्ने समस्या मात्रै हो,’ प्राचार्य भण्डारीले भने, ‘अभिभावकसँग बोर्डिङका जसरी पैसा चुस्नुपरेको पनि छैन, उनीहरूको सानो सहयोग नै काफी छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment