Comments Add Comment

लोकतन्त्रमा कसलाई चाहिएको छ जातीय राज्य ?

रामकुमारी झाँक्री, युवा नेतृ

२०६२/६३ को आन्दोलनपछि नेपालमा संस्थागत परिवर्तन भयो । राजतन्त्रात्मक एकात्मक राज्य ब्यवस्था थियो । अन्तरिम संविधानमा संघात्मक लेखियो । राजतन्त्रको ठाउँमा गणतन्त्र भयो । बंशजको परम्पराबाट राज्य शक्तिको स्रोत प्राप्त हुन्थ्यो, त्यो जनताबाट प्राप्त भयो । जनताको छोरो राष्ट्रपति बन्न सक्यो । जनताको छोरा या छोरी राष्ट्रपति बन्ने ढोका खुल्यो ।

त्यही हिसावले ‘इन्स्टिच्यूटल चेन्ज’ ठूलो भयो । अर्को तर्फ समाज खुला पनि भयो । दरबारको छेउछाउमा चार तलाको घर बन्न गणतन्त्र नै आउन पर्‍यो । त्यहाँ मान्छेको आवासहरु त थियो । तर काठमाडौंमा त्यसले पनि छेकेको रहेछ । अलि ठूलो ८/१० तला १४ तलाको घर बन्ने परिकल्पना पनि गणतन्त्र आएपछि नै भयो । परिवर्तन भयो । त्यतिबेला दरबारको वरपर दुई तीन तलाको घर बनाउन पनि पाइदैँनथ्यो नि त । केही केही निश्चित नियमहरु थिए । अग्लो टावरकै कुरा गर्दा सवैभन्दा ठूलो नौ तलाको धरहरा त हो नि । अहिले त नौ तलाको घरै बन्यो । त्यो हिसावले देखिने परिवर्तन त यस्तै हो ।

Ramkumari-Jhakri-photo-by-m

  • जनआन्दोलन ०६२/६३ लाई सम्वोधन गर्दै रामकुमारी झाँक्री । तस्वीर : माइकल धुन्हमको ब्लगबाट

आर्थिक सामाजिक पाटोमा हेर्दा अधिकारका कुराजस्ता केही केही परिवर्तनहरु भएका छन् । हामीले ग्रामीण सामन्तवादको कुरा गर्दथ्यौं, तर जमीनको स्रोत र शक्तिका आधारमा शासन ब्यवस्था त थिएन ।

२०/२५ वर्ष अगाडि सानोतिनो सामन्तवादको थिचोमिचो थियो । छुवाछुत जस्तो अपराध त अहिले पनि छ नै । अलिअलि जातीय विभेद पनि समाजमा छ । तर जातीय विभेद भन्दा वर्गीय विभेदनै ठूलो हो । कसैले विभेद गरें भनेर नभइ वर्गको बीचको माथिल्लोले तल्लोलाई शोषण गर्ने त आज पनि छ । आफ्नो श्रमको पनि मूल्य नपाउने अवस्था छ । यी सवै कुराले गर्दा ०६२/६३ सालको ऐतिहासिक जनक्रान्तिले लिने उपलब्धी त्यति नै थिए ।

गणतन्त्र घोषणा भयो । शान्तिपूर्ण बाटोबाट राजाले बक्तब्य निकालेर राजनीतिक परिवर्तनलाई स्वीकारेर दरबार छाडेर हिँडे । राजाले स्वीकारेर नेपाली जनताको दया मायाँले ब्यवस्था दिन्छु भनेर होइन । त्यो आन्दोलनको तागतले गराएको हो । हाम्रो जीवनकालमा ०६२/६३ को जनक्रान्ति परिवर्तनको ठूलो क्रान्ति नै हो ।

अब संरचनामा परिवर्तन भएपछि ती कुराहरुको समायोजन र विकासको कुरा जरुरी हो । समायोजन र विकासको कुरामा हाम्रो नेतृत्वले त्यो भन्दा परको सपना नै देखेको थिएन । फूलचोकी भन्दा उता पनि त्यत्रो भूभाग छ नि त । काठमाडौको खाल्डोलाई फूलचोकीलाई छेक्यो नि । त्यस्तै, राजनीतिक दलले पार्टी बनाए, घोषणापत्र लेखे, पञ्चायतसँग अन्तरविरोध थिएन, अन्तरविरोध सिर्जना गरे ।

पञ्चायतलाई हावा, पानी र माटो सुहाउँदो भनेका थिए तर होइन भन्ने जनताको जनमत बनाए । आन्दोलन सञ्चालन गरे, सवैथोक गरे । त्यतिका पार्टीहरुलाई पनि संरचनागत हिसाबले विकास गरे ।

गर्दै गर्दै गएर अधिकतम गर्ने सपना नै त्यति नै थियो । राजनीतिक परिवर्तनपछि मान्छेको जिन्दगी कसरी फेर्छौं ? समाज कसरी फेर्छौं अब ? यो राजनीतिक परिवर्तनले समाज फेरिने तरिकाहरु के के छन् ? र तिनलाई हामी कसरी एड्जस्ट गर्छौं ? भन्ने कुरामा आजका मितिमा समाज फेरिने तरिका के हो भनेर सुशील कोइरालादेखि हामीसम्म ल्याएर कसैलाई सोध्ने हो राजनीतिशास्त्र पढेकोले पढेको आधारमा दुई लाइन भन्ला, समाजशास्त्र पढेकोले पढेकै आधारमा दुई लाइन भन्ला । अर्थशास्त्र पढेकोले पनि पढेकै आधारमा दुई चार लाइन भनिहाल्ला । नत्र अरु मान्छेले त त्यति पनि भन्न जान्दैनन् ।

अहिले संविधान बन्छ कि बन्दैन भन्दा संविधान त बनिहाल्छ नि भनेर भन्नु हुन्छ उहाँहरु । त्यो त हामीले क्षणभरमै मिलाइदिन्छौं पनि भन्नु हुन्छ । यी तीन, चार, पाँच मान्छे बस्दा मिल्ने पनि रहेछ । कुरो बुझि हालियो । तर किन संविधान बनाउँदैनन् भन्दा संविधान बनाएपछि दिने चिज नै छैन यिनीहरुसँग । त्यो खालको भिजन विहिनता छ ।

मुलकले बाटो त पक्रिन्छ भन्नेमा म विश्वस्त छु । किनभने संविधान बनाउन कहीँ न कर्हीँ सम्झौता गर्छन् । हामी पनि रेपि|mले सिठ्ठी बजाएपछि हान्ने, नहान्ने खेलाडी जस्ता भयौं । हाम्रो हालत पनि पनि त्यही भयो । राम्रो ब्याट्सम्यानले त एक्लै खेलेर हुन्न नि । नियम भित्र रहेर टिममा खेल्नु परेजस्तै हामी पनि नेतृत्वले जे भन्छ, त्यही मान्ने स्थितिमा छौं । यो नेतृत्वलाई छाड्ने स्थितिमा छैनौं । हुनु पर्ने के हो र यसरी गर्नुपर्छ भन्ने पनि थाहा छ तर गरौं भनेर गर्ने ठाउँमा हामी छैनौं । राम्रो खेलाडीलाई सवै कुरा थाहा भएर पनि एक्लै राम्रो खेल्न सक्दैन, टिम चाहिन्छ, हाम्रो हकमा पनि त्यही हो ।

नेतृत्वमाथिको दोष ‘फेस सेभिङ’

म मगरको छोरी हुँ तर कुनै क्षेत्रमा हुने मगराँत राज्य मलाई चाहिएको छैन

हाम्रो फेस सेभिङ (जोगिन) गर्न त राम्रै उपाय छ नि । हामीप्रति पनि मान्छेले आशा गरिरहने ठाउँ छ । पार्टीभित्र खडा भएको संरचनामाथि हामीले च्यालेन्ज गर्न नसक्नु हाम्रो पनि हाम्रो पनि फेस सेभिङ हो । पाँच वर्षसम्म संगठनमा विभिन्न हिसावले काम गरेपछि फाइनली महाधिवेशनमा गएर ढ्याक्क हान्ने हो । हाम्रो पार्टीमा त्यो हिसावले अलिअलि ढ्याकढुक भएको छ ।

कांग्रेस पार्टीमा पनि त्यो किसिमको सिमटर्म देखिँदैछ । युवा पुस्ता कांग्रेसभित्र पनि छन् । माओवादीमा त लगभग युवा पुस्तानै हो । तर उहाँहरुमा अर्कै किसिमको समस्या होला । हाम्रो पार्टीजस्तो डेमोक्रेटिक भएको छैन । कांग्रेस जति डेमोक्रेसीको कुरा गर्छ, त्यो संगठन त्यति डेमोक्रेसी भा’छैन । एमाले पार्टी कम्युनिष्ट पार्टी हो तर संगठन समाजसँगसँगै अन्तरघुलन भइसकेको छ । त्यसकारण हाम्रो शक्ति त्यहाँनेर छ । यो दलहरुको नेतृत्वलाई पनि यी जेजे मुद्दामा अल्झिएका छन्, यी कसैको प्रतिष्ठाको विषय बनाउनु हुँदैन । यो कसैको निजी मामिला होइन ।

जनजातिलाई जातीय भूभाग आवश्यक छैन

हामी साँच्चै मुलुक बनाउने हो, कसैको गोटी नबनौं । कसैको निर्देशनमा काम गरिरहेका छैनौं भने हाम्रो विकासको मोडेलको लागि कस्तो संघीयता भन्ने साझा अवधारण किन नबनाउने ? के ब्यवहारिक छ भन्ने किन नसक्ने ? मधेसीहरु पहाडे मिसिएको बस्तीमा बस्न चाहँदैनन् होला त ? जनजातिको कुरा गर्नुहुन्छ भने कुनै पनि जनजातिलाई आफ्नो जातीय भूभाग चाहिएकै छैन । म मगरको छोरी हुँ तर कुनै क्षेत्रमा हुने मगराँत क्षेत्र मलाई चाहिएको छैन ।

मगराँत नाम दिएर हाम्रो पहिचान हुन्छ भन्ने भन्ने कुरा हुँदै होइन । त्यसकारण यस्ता विषयमा पनि छलफल गर्नुपर्छ । ०६२/६३ को जनआन्दोलनमा भएका सम्झौताअनुसार संघीयतामा जाने नै हो, गणतन्त्र नै हो, धर्म निरपेक्षता नै हो । तर कस्तो संघीयतामा जाने, शासकीय मोडेल कस्तो हुने भन्नेमा भावनामा बग्न जरुरी छैन ।

  किन संविधान बनाउँदैनन् भन्दा संविधान बनाएपछि दिने चिज नै छैन यिनीहरुसँग ।

हामी कम्युनिस्ट हौं र ?

हाम्रै पार्टीले पनि पटक पटक सम्झौता गरेको छ । घोषणापत्रमा एउटा कुरा लेखेर गएको छ । निणर्ायक ठाउँमा भोट हाल्दा चाहिँ अर्कै ठाउँमा भोट हाल्छ । हाम्रो नेतृत्वमा पनि के भ्रम छ भने पपुलर भोटको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीले हाम्रो अनुहारले त प्रधानमन्त्री कहिले भइँदैन भन्ने मनमा ला’छ । अनि लोलापोता के गरिरहेका छन् भने कम्युनिष्ट पार्टी हामीलाई संसारभरीका प्रतिक्रियावादीहरुले निर्वाचित भएर प्रधानमन्त्री हुनै दिँदैनन् नि, भनेर अफवाह फैलाएका छन् ।

भरतमोहनले त महाधिवेशनमा एउटा किताव छापेर नै बाँड्नु भयो । त्यतिबेलै हामीले प्रतिवाद गरेका थियौं । एमाले कम्युनिष्ट पार्टी हो भन्ने कुरा त न ती कम्युनिष्ट हुँ भन्नेहरुले पत्याउनेवाला छन् न दुनियाँका साम्राज्यवादीले यो कम्युनिष्ट पार्टी हो भनेर आइसुलेसनमा राख्नेवाला छन् । त्यसकारण हाम्रो यो हाम्रो यो झण्डा र ब्यानर राखेको भरमा हाम्रो नेेतृत्वलाई हराउन र जिताउन, प्रधानमन्त्री हुन दिन र नदिन कसैले केही गर्नेवालै छैन ।

(०६२/६३ को जनआन्दोलनकी एक अगुवा योद्धा एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीसँग अनलाइनखबरले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment