Comments Add Comment

मधेसीले चित्त दुखाउँदा प्रचण्डले भने-मलाई धोका भो

30-Party-meet

राजकुमार श्रेष्ठ

११ वैशाख, काठमाडौं । आम हड्ताल सहितको आन्दोलन फिर्तासँगै एमाओवादी अध्यक्ष प्रचण्डसँग रिस र आशंका पालेर बसेका ३० दलीय मोर्चाका नेताहरुले आपसमा मन माझामाझ गरेका छन् ।

शुक्रबार बिहान बसेको ३० दलको बैठकमा मधेशी र जनाजाति पार्टीका नेताहरुले प्रचण्ड समक्ष गुनासो पुगे भने प्रचण्डले पनि उनीहरुका कतिपय अभिव्यक्तिमा मन दुखाए ।

अन्तिममा मोर्चाले अघि सारेको नौंबुँदे अडान नछाड्ने प्रतिबद्धता आएपछि मोर्चाको फुटको सम्भावना तत्कालका लागि टरेको छ ।

आन्दोलन फिर्तासँगै रिसाएका मधेसी र जनजाति नेताहरु बिहीबार विहान लाजिम्पाट पुगेपछि ३० दलको बैठक बस्ने वतावरण बनेको थियो ।

प्रचण्डलाई प्रश्न- ३० दल घाँडो भएको हो ?

बैठकको सुरुमा नै प्रचण्डले एजेण्डा राख्दै मधेसी नेताहरुलाई बोल्न समय दिएका थिए । सुरुमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बोले । उनले आन्दोलन फिर्ताको निर्णयले आफू अश्चर्यमा परेको भन्दै असन्तुष्टि जनाए । साथै बन्द फिर्ता दिन बोलाइएको बैठकमा एमाओवादीका चार युवा नेताहरुलाई चार कुनामा राखेर अन्य नेतालाई दबाव दिने काम भएको भन्दै उनले किन यसो गरियो भनी प्रश्न गरे ।

मोर्चालाई अघि बढाउने हो भने कार्यविधि, आचारसंहिता निर्माण गर्नुपर्ने उनले बताए । साथै उनले वार्ताका लागि टोली बनाउने र टोलीले नियमित रुपमा ब्रिफिङ गर्नु पर्ने समेत प्रस्ताव गरेका छन् ।

लगतै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रचण्डलाई ३० दल घाँडो भएको हो ? भन्ने प्रश्न गरे । मधेसी र जनजाति आवश्यक छैन भन्ने लागेको भए प्रष्ट हुन आग्रह गर्दै उनले भने-‘त्यस्तो हो भने आजसम्मको आन्दोलनका लागि धन्यवाद । बाँकी हामी आफैं गर्छौं ।’

उनले बन्द फिर्ताले आन्दोलन तुहाउने काम गरेको भन्दै कसैको इशारामा त होइन ? भन्ने आशंका रहेको बताए । महतोले भने-‘यसले हाम्रो चित्त दुखेको छ ।’ उनले ३० दलको नौंबुँदे साझा अडान कायम छ कि छैन ? भनेर प्रष्ट पार्न प्रचण्डलाई आग्रह गरे ।

बैठकमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले आफू सहमतिबाटै संविधान बन्नुपर्छ भन्नेमा अहिले पनि अडिग रहेको प्रष्ट पारे । तर, मोर्चामा भएको असमझदारीलाई बैठक बसेर समाधान गर्नुका साटो सञ्चार माध्यममा ल्याएकोमा उनले उपेन्द्र र राजेन्द्रप्रति अप्रत्यक्ष कटाक्ष गरे ।

प्रचण्डले भने-मलाई धोका भो

सबैको जवाफमा प्रचण्डले विगतमा मधेसी र जनजातिले आफूलाई खुट्टा नकमाउन आग्रह गरेको र साथ नछोड्ने बचन दिएको स्मरण गरे । आफूले अहिले पनि खुट्टा नकमाएको भन्दै उनले थपे-‘तर, तपाईहरुले मलाई धोका दिनुभयो । बीचमै छाड्न लाग्नुभयो ।’

एक नेताका अनुसार एमाओवादी अध्यक्ष प्रचण्डको संकेत जनजातिहरुसँग मिलेर छुट्टै आन्दोलन गर्ने उपेन्द्र र राजेन्द्र महतोको तयारीप्रति थियो ।

कांग्रेस र एमालेसँग कुनै सम्झौता नभएको भन्दै प्रचण्डले आफूले खुट्टा नकमाउने बताए । लगतै मधेसी र जनजाति नेताहरुले पनि हामी पनि धोका दिन्नौं भन्ने जवाफ फर्काउँदा बैठकको माहोल भिन्न बनेको थियो ।

संयोजक प्रचण्डले मोर्चामा आवद्ध दलहरु मिलेर अघि बढ्नु पर्नेमा जोड दिएका छन् । तर, उनले सहमति भएका विषय अघि बढाउने र संघीयतामा कांग्रेस र एमाले तथा ३० दलको प्रस्तावलाई अनुसचीमा राखेर जाने विकल्प आएको भन्दै मोर्चाका नेताहरुसँग सुझाव मागेका थिए ।

स्रोतका अनुसार मोर्चाका अधिकांश नेताले यो हार्ने बाटो भन्दै विरोध गरेका छन् । त्यसपछि प्रचण्डले कांग्रेस एमाले प्रक्रियामा गए आन्दोलन गरौंला नि भन्ने जवाफ दिएका छन् ।

छलफल जारी रहेकाले बैठकले कुनै निर्णय गरेन । बैठकबारे सोध्दा फोरम अध्यक्ष उपेन्द्र यादवले वितेका कुरा अब सकिएको भन्दै ३० दलीय मोर्चा एक भएर अघि बढ्ने सहमति भएको प्रतिक्रिया दिए ।

मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले छलफल जारी रहेकाले अर्को बैठक १४ गते बस्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment