Comments Add Comment

जनआन्दोलनका सहीद परिवारले भने-बलिदान खेर गयो

११ वैशाख, काठमाडौं । प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनका सहीद परिवार तथा घाइतेहरुले मुलुकमा शान्ति स्थापना र संविधान बन्न नसक्दा आफूहरुको योगदान खेर गएको महसुस गरेका छन् । उनीहरुले मुलुकमा महान परिवर्तन ल्याएको दिनलाई राज्यले बेवास्ता गरेर लोकतन्त्र दिवस समेत नमनाएको भन्दै दुःख ब्यक्त गरे ।

DSC_0679

शुक्रबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा ०६२/६३ को जनआन्दोलनका सहीद सगुन ताम्राकारकी आमा जया ताम्राकारले शान्ति र समृद्धि हुन्छ भनेर आन्दोलनमा होमिएको आफ्नो छोराको बलिदान खेर गएको भन्दै देशले निकास पाउन नसकेकोमा दुःख ब्यक्त गरिन् । अब कसैको पनि छोराले अधिकारको लागि मृत्युवरण गर्न नपरोस् भन्दै उनले रायमाझी आयोगले दोषी ठहर गरेकाहरुलाई कारवाही गर्नु पर्ने माग गरिन् ।

कोही फेरि सहीद हुन नपरोस्

सहीद हेमलाल लामिछानेका छोरा द्रोणप्रसाद लामिछानेले आन्दोलनको उद्देश्य पूरा हुन नसकेकोमा खिन्नता प्रकट गरे । उनले दलहरुले शान्ति र संविधान दिन नसकिरहेको अवस्थामा सहीद परिवारले गौरब महसुस गर्न नसकिरहेको उल्लेख गर्दै दल र नेताहरुले संक्रमणकाललाई देखाएर आफूहरु उम्किन खोजिरहेको आरोप लगाए ।

उनले भने, ‘हामीहरुलाई अहिलेको यो अस्तब्यस्तता आउँछ भन्ने अनुमान समेत थिएन । अब फेरि लोकतन्त्रको लागि आन्दोलन गर्न नपरोस्, कोही फेरि सहीद हुन नपरोस् ।’

सहीद प्रधुम्न खड्काकी श्रीमती प्रभा खड्काले नौं बर्ष वित्दा समेत जनताको अधिकार स्थापित गर्ने संविधान नेताहरुले दिन नसकेकोमा आक्रोश ब्यक्त गर्दै सहीदहरुले किन बलिदान दिएको भनि प्रश्न गरिन् ।

जनआन्दोलनकी घाईते एवम सहीद पत्नी यमुना देवी श्रेष्ठले जनआन्दोलनका सहीद र घाईतेहरुलाई मर्माहत बनाएर विदा मोज मनाउन दिएको भनि प्रश्न गर्दै सबैले शान्ति पाउलान् भनेर आफूहरु आन्दोलनमा होमिए पनि यति लामो समयसम्म पनि केही हुन नसक्दा पीडा बोध भईरहेको बताईन् ।

बोल्दा बोल्दै बारम्बार गला अवरुद्ध भएकी उनले गहभरी आँशु पार्दै भनिन्, ‘हामी पैसा पाईएला भनेर लडेका होईनौं सबै नेपालीहरुले सुख पाउलान्, शान्ति समृद्धि र विकास होला भनेर लडेका थियौं तर राज्यले लोकतन्त्रलाई आत्मसाथ गर्न सकेको छैन । भोजको लागि मात्रै विदा दिएको छ ।’

आत्मदाह गर्ने चेतावनी

घाईते मेघराज आचार्यले संविधान नआई मुलुकमा लोकतन्त्र आउन नसक्ने भन्दै आफूहरुकै छातिमा गोली हान्नेहरुले लोकतन्त्र दिवस मनाएको देख्दा लज्जाबोध हुने गरेको सुनाए ।

राज्यले रायमाझी आयोगले दोषी ठहर्याएकाहरुलाई पुरस्कृत गरेको आरोप लगाउँदै उनले अब पनि सहीदको भावना अनुसार राज्य नचले आफूहरु आत्मदाह गर्न तयार रहेको चेतावनी दिए ।

०१८ सालमा सहीद भएका बलमान मोक्तानकी १०० वर्षीया श्रीमती लक्ष्मीमाया मोक्तान, ०३६ सालको जनमत संग्रहमा सुर्खेतमा सहिद भएका हस्तबहादुर धौलाकोटीका छोरा जेवी धौलाकोटी, ०३६ सालको जनमत संग्रहमा सहिद भएका लालवीर टमाटाका छोरा यामबहादुर टमाटा, सहीद ताहिर अन्सारीका छोरा असगर अलि अन्सारी लगायतले दलहरुलाई लोकतन्त्र दिवस मनाउने हौसियत नै नभएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment