- अन्तरक्रियामा नेपालका लागि भारतीय राजदूत रन्जित रे (रातो खादामा) ।
सलमान खान
११ वैशाख, भैरहवा । नेपालका लागि भारतीय राजदूत रन्जित रेले रुपन्देहीको भैरहवा पुगेर आफ्ना असन्तुष्टि सार्बजनिक गरेका छन् । भैरहवाका उद्योग व्यवसायीहरुसामू उनले नेपाल सरकारप्रतिका असन्तुष्टि सार्बजनिक गरे ।
भारतीय गाडी लिलाम
सिद्धार्थ उद्योग बाणिज्य संघले शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राजदुत रेले भारतबाट नेपाल आउने सवारी साधनलाई नेपाल सरकारले नियन्त्रणमा लिएर लिलामीमा हाल्ने गरेकोमा असन्तुष्टि जनाए । भारतीय गाडीहरु कहिलेकाँही भुलबस नेपाली भुभागमा प्रवेश गर्दा पनि त्यस्ता गाडीहरुलाई नेपाल सरकारले भन्सार चलान गरी लिलामीमा हाल्ने गरेको उनले गुनासो गरे ।
‘५ हजार रुपैयाँ जरिवानाका लागि नेपाल सरकारले ५५ लाख रुपैयाँको सवारी साधन लिलामको लागि भन्सार चलान गर्नु न्यायोचित हुँदैन,’ राजदूत रेले भने ।
टेलिफोन महसुल
कार्यक्रममा राजदूत रेले नेपालबाट भारतमा गरिने टेलिफोन शुल्क घटाउनुपर्ने बताए । यसअघि नेपाल भ्रमणमा आएकाबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शुल्क घटाउन नेपाल सरकारलाई सुझाव दिएका थिए ।
राजदूत रेले भारतको सरकारी टेलिकम कम्पनीले भारतबाट नेपालमा हुने टेलिफोन शुल्क निकै न्युन राखेको तर नेपालका टेलिकम कम्पनीहरुले भारतबाट आएको कलको कम्तिमा १० रुपैयाँ शुल्कको ५ रुपैयाँ आफैले लिने गरेकाले नेपाली नागरिकहरु चर्को शुल्क तिर्न बाध्य रहेको बताए ।
कार्यक्रममा उद्योगी व्यवसायीको तर्फबाट उठेको जिज्ञासाको जवाफ दिँदै राजदुत रेले मुजफ्फरपुर-ढल्कबेर प्रसारण लाइनको काम भइरहेको कारण केही महिनामा नेपालले भारतबाट २ सय ५० मेगावाट विजुली सजिलै ल्याउन सक्ने बताए । उनले नेपाल-भारतका मुख्य प्रवेश नाकाहरुलाई व्यवस्थित गर्ने प्रयास जारी रहेको पनि बताए ।
भैरहवाका उद्योगी व्यवसायीको सुझाव
अन्तरक्रियामा भैरहवाका उद्योगी ब्यवसायीहरुले भारतीय रेललाईन बिस्तार गरी नेपालको सिमानाका सम्म ल्याउने ब्यवस्था मिलाउन सुझाव दिएका थिए ।
यस्तै भारत सरकारको क्वारेन्टाईन चेकपोस्ट सिमानाका भन्दा अढाई सय किलोमिटर टाढा लखनउमा भएकाले नेपाली कृषीजन्य तथा जडीबुटी उत्पादनको पैठारीमा परेको समस्या समाधान गर्न पनि उनीहरुले आग्रह गरेका थिए ।
लुम्विनी भ्रमणमा आउन मोदीलाई निम्तो
कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुद्ध जन्मस्थल लुम्विनी भ्रमणको निम्तो दिएको थियो । संघका अध्यक्ष रामकुमार शर्माले मोदीलाई लुम्विनी भ्रमण गराउन निम्तो सहितको आग्रह पत्र दिएका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गत बर्ष दुई पटक नेपाल आए पनि लुम्विनी जाने इच्छा पूरा हुन सकेको थिएन । सार्क सम्मेलनको क्रममा नेपाल आएकाबेला लुम्विनी जाने मोदीको कार्यक्रम अन्तिम समयमा स्थगित भएको थियो । पछि उपयुक्त समय मिलाएर बुद्ध जन्मस्थल लुम्विनीको भ्रमण गर्ने बाचा उनले गरेका थिए ।
‘भारतीय प्रधानमन्त्रीले गरेको बाचा अनुसार लुम्विनी भ्रमणका लागि आग्रह गर्दै पत्र दिएका हौं,’ संघका अध्यक्ष शर्माले अनलाइनखबरसँग भने, ‘ आशा छ छिट्टै मोदीको लुम्विनी भ्रमण हुनेछ ।
मोदी लुम्विनी आए पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने र बुद्ध जन्मस्थलबारे फैलाइएको भ्रम पनि अन्त्य हुने उनले विश्वास व्यक्त गरे ।