Comments Add Comment

जाजरकोटका अधिकांश बिरामी दमका

१२ बैशाख, जाजरकोट । जाजरकोटमा अधिकांश बिरामी दमको रोगबाट ग्रसित भएको पाइएको छ। मौसमी फ्लु लागेको आशंकामा नियन्त्रणका लागि गाउँगाउँमा खडा गरिएको स्वास्थ्य शिविरमा परीक्षण गरिएका आठ हजार बिरामीमध्य ४० देखि ६० प्रतिशत दमका बिरामी पाइएको छ।
Jajarkot,-Wikimapiya
मौसमी फ्लु (कडा रुघाखोकी र ज्वरो) संक्रमण भएको जुम्ला सिमानामा पर्ने जाजरकोटका गाविसमा स्थलगत भ्रमण गरी सोधपुछ गर्दा यो पुष्टि भएको अन्नपूर्ण पोस्टमा खबर छ ।

पजारु, अर्छानी, टालेगाउँ, चकला, नायकबाडा, मजकोट, झाप्रा, लिम्सालगायतमा ९० प्रतिशत दमका बिरामी भेटिएका छन्। दमबाट ४० वर्ष उमेरमाथिका महिला र पुरुष बराबरीको संख्यामा पीडित भएका छन्।

चिकित्सकले कतिपय किशोरकिशोरी पनि दमबाट पीडित भएको पाएका छन्। टालेगाउँमा खटिएका राष्ट्रिय स्वस्थ्यकर्मी संघ नेपालका उपाध्यक्ष डा. कृष्णगोपाल महर्जनले भने, ‘हामी त मौसमी फ्लु बढी होला भनेर स्वास्थ्य जाँच गर्न आएका थियौं तर दमबाट अधिकांश मानिस ग्रसित भएका रहेछन्।’

जँचाउन आएका अधिकांशले खोकी लाग्ने, श्वासप्रश्वासको समस्या, उकालो हिँड्न नसक्ने, पेट दुख्ने, मुटु दुख्‍ने , छाती दुख्नेलगायत समस्या चिकित्सकलाई सुनाएका थिए।

‘जाजरकोटमा अधिकांश मानिसको घरमा धुवाँरहित चुलो नहुनु, दाउरामा खाना पकाउँदा धुवाँ घरबाहिर नजानुले यस्तो समया देखिएको हो। त्यसमाथि यस क्षेत्रमा तमाखु, सुर्ती चुरोट सेवनका कारण पनि दमका रोगी बढेका छन्’, अर्छानी ९ का सर्पबहादुर शाहीले भने।

चिकित्सकहरूले जाजरकोटको खराब हावापानीका कारण पनि दमले धेरैलाई ग्रसित बनाएको बताएका छन्। धामीझाँक्रीमा विश्वास गर्ने, अस्पताल तथा स्वास्थ्यचौकीमा जँचाउन नजाने कारण यस क्षेत्रका बासिन्दा दमबाट पीडित भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment