Comments Add Comment

मुलुकमा संकटकाल घोषणा गरेर अन्तर्राष्ट्रिय समुदाय गुहार्ने तयारी

मात्रिका पौडेल

१२ वैशाख, काठमाडौं । विनाशकारी भूकम्पबाट भएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिको सम्पूर्ण विवरण आउन अझै केही दिन लाग्ने देखिएको छ । कार्यवाहक प्रधानमन्त्री बामदेव गौतमले यो विपतको घडीमा धैर्य गर्न र उद्दारका हरसम्भव उपाय अपनाउन अपिल गरेका छन् ।

basantapur

रामेछाप,दोलखा, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट लगायत मध्य तथा पूर्वी पहाडी जिल्लाका अधिकांश बस्तिका घरहरु भत्किएका कारण लाखौं मान्छेलाई ओत लाग्ने ठाउँ समेत नभएको प्रारम्भिक विवरणहरु आइरहेका छन् । अघिकांश घरहरु भत्किएकाले गोठ बनाएर बस्ने प्रयास भइरहेको रामेछापको दुरागाउँका स्थानीय राजन पौडेलले अनलाइनखबरको टेलिफोन सम्पर्कमा बताए । ती क्षेत्रहरुमा तत्काल राहत र वैकल्पिक व्यवस्थाको पहल गर्नुपर्ने देखिएको छ ।

उपत्यकाका ऐतिहासिक र सांस्कृतिक धरोहरहरु ध्वस्त भएका छन् । मृतक र घाइतेहरुको संख्या अनगिन्ती भएकाले अस्पतालहरुमा उपचार गर्ने ठाउँ नभएर चौरमा आपकालिन उपचार भइरहेको छ । यसैबीच तत्काल मुलुकमा संकटकाल घोषणा गरेर अन्तर्राष्ट्रिय सहयोग आह्वान गर्न सरकारलाई दलहरुले सुझाव दिएका छन् ।

मन्त्रिपरिषदको आपतकालिन बैठक बस्ने तयारी भइरहेको छ । यसैबीच एमाले अध्यक्ष केपी ओलीले संकटको यो अकल्पनीय घडीमा पार्टीका सबै कार्यकर्तालाई आ आफ्नो गाउँ ठाउँमा उद्धार तथा राहतको कार्यमा जुट्न र पार्टीका सबै कार्यक्रम स्थगित गर्न निर्देशन दिएका छन् ।

मोदी, अमिताभ र शाहरुखको साथ

नेपालमा भएको विनाशकारी भूकम्पको क्षतिप्रति भारतीय प्रधानमन्त्रीले चिन्ता व्यक्त गर्दै राष्ट्रपति रामवरण यादवलाई टेलिफोन सम्पर्क गरेका छन् । उनले प्रधानमन्त्री सुशील कोइरालासँग पनि सम्पर्क गर्न खोजिरहेको तर प्रधानमन्त्री नेपाल बाहिर रहेकाले सम्पर्क हुन नसकेको मोदीको सचिवालयले जनाएको छ ।

मोदीले नेपाली जनतामाथि भएको यो संकटको घडीमा भारत साथमा रहेको आश्वासन दिएका छन् । यसैबीच भारतका बलिउड सुपरस्टार अमिताभ बच्चन र शाहरुख खानले पनि ट्वीटरमार्फत नेपालमा भएको मानवीय र भौतिक विनाशप्रति दुःख व्यक्त गर्दै नेपाली जनतालाई सघाउने काममा जुट्न आफ्ना समर्थकहरुलाई आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment