Comments Add Comment

सिंहदरवारभित्र भिआइपी भागदौडको साक्षी बन्दा …

मात्रिका पौडेल

१३ वैशाख, काठमाडौं । विज्ञहरुले चौबिस घण्टासम्म भूकम्पको धक्का दोहोरिन सक्ने भनेकाले मध्यान्ह १२ बजेसम्म स्वभाविक रुपमा कतिबेला फर्किने हो भन्ने आशंका सबैमा थियो ।

देश तहसनहस भएको यो त्रासदीको बेला देशको केन्द्रीय सचिवालय सिंहदरवारतिरै सबैको आशा केन्द्रित हुनु स्वाभाविक हो । केन्द्रिकृत सूचना र राहत तथा उद्दारको केन्द्रीय पहल कस्तो हुँदैछ भनेर बुझ्न म पनि विहान साढे दश बजेतिरै सिंहदरवार आइपुगेँ ।

Martika-paudelगृहमन्त्रालयका गृहमन्त्री बामदेव गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीको कार्यकक्षमा बसेर अनलाइनखबरको डेक्समा सूचना अपडेट गर्दै थिएँ । यत्तिकैमा सूचना बिभागका महानिर्देशक लक्ष्मीविलाश कोइरालाको फोन आयो ।

कोइरालाले प्रधानमन्त्री सुशील कोइरालाले महाविपत्तिपछिको अवस्थाका बारेमा त्रिभुवन विमानस्थलबाट सोझै गृहमन्त्रालयमा आएर मिडियामार्फत देशबासीलाई सम्बोधन गर्ने कुरा भएकाले सबैलाई खबर गरिदिनुपर्‍यो भने ।

मैले तत्कालै पत्रकारहरुलाई जानकारी होस् भनेर कोइरालाको सन्देश ट्वीट गरेँ । गृहमन्त्रालयको प्रेस संयोजक सुवेदीकै कक्षबाट करीव तीन चारओटा समाचार अपडेट गरेपछि प्रधानमन्त्री कोइरालाको लावा लस्कर गृहमा प्रवेश गर्‍यो ।

कोइरालाले उपप्रधानमन्त्री बामदेव गौतम, प्रकाशमान सिंह लगायत बरिष्ठ मन्त्रीहरुलाई छेउछाउमा राखेर आफ्नो छोटो सम्बोधन सकेपछि म हतार हतार समाचार अपडेटका लागि फेरि मिडिया संयोजक सुवेदीको डेक्समा फर्किएँ । समाचार लेख्नमात्र के बसेको थिएँ, आयो आयो भन्दै मसँगै बसेर सूचना टिपाइरहेका प्रेस संयोजक विश्वमणी मेरो जिउमा टेकेर भागे ।
कर्मचारीहरुको भागाभाग भयो ।

म भूकम्प फेरि आयो भनेर ट्वीट गर्दै बाहिर भागेँ । कर्मचारी र सुरक्षाकर्मीहरुको कोलाहल थियो । सिंहदरवार लच्किएको, गाडीहरु नाचिरहेको र रुखले भुई छोएको दृष्य आँखा अगाडि एकै निमेषमा कैद भयो ।

मेरो पत्रकारको तेस्रो आँखा भने यो बेला प्रधानमन्त्री र मन्त्रीहरु के गर्दै होलान् भन्नेतिर सोझियो । करीव एक मिनेटको यो अवधिमा म प्रधानमन्त्री र मन्त्रीहरु भएको राष्ट्रिय सूचना प्रविधि भवनतर्फ दौडिन थालेँ ।

तर पर उभिएका डिएसपी चन्द्रकुवेर खापुङले मलाई अघि नबढ्न इशारा गरे । गृहमन्त्रालयको मूल भवन र सूचना प्रविधि केन्द्रको भवनबीचको कोरिडोरमा लामो बिम छ ।

त्यो बिम कमजोर भएकाले ढल्न सक्छ भनेर उनले मलाई रोकेका रहेछन् । तर मभित्रको जिज्ञासु पत्रकारले ज्यानको पर्वाह गरेन । दौडिदै अघि बढ्दा ९ रेक्टर स्केलको भूकम्प धान्न सक्ने क्षमताको सूचना प्रविधि भवनको बाहिरपट्टी ठूलो भीड थियो ।

प्रधानमन्त्री कोइरालालाई उनका सुरक्षाकर्मीले थेगेर राखेका थिए । उपप्रधानमन्त्री बामदेव गौतम शान्त मुद्रामा बसिरहेका थिए । अर्थमन्त्री रामशरण महत दुईजना सुरक्षाकर्मीलाई समातेर बसेका थिए ।

सबै मन्त्रीहरु हरे राम हरे राम भन्दै भगवान पुकारेर बसिरहेका थिए । करीव एक सय जनाको भीड थियो । कम्पन कम भए पनि रोकिएको थियो । अपरान्ह १ बजेको यो घटना एक बजेर ३ मिनेट जाँदासम्म अशान्त नै थियो ।

मैले प्रधानमन्त्रीले महशुस गरेको प्रधानमन्त्रीको पहिलो अनुभवलाई मोबाइलबाट क्यामेरामा कैद गर्न थालेँ । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले मलाई समातेर कति रेक्टर भनेर सोधे ।

भूकम्पको धक्का खेपिरहेका प्रधानमन्त्री र मन्त्रीहरुको हालत नियाल्न व्यस्त मलाई रेक्टरको बारेमा के थाहा हुनु । करीव पाँच मिनेट बाहिर चौरमा बसेपछि थरथरी काम्दै प्रधानमन्त्री र मन्त्रीहरु बैठक कक्ष सूचना प्रबिधि भवनलाई परिवर्तन गरेर अर्को एकतले भवनतिर लागे ।

खासमा त्यो बैठक आपतकालिन उद्दारका लागि भइरहेको थियो । ओखलढुंगा क्षेत्र नम्बर १ का सभासद तथा एमाले केन्द्रीय सदस्य यज्ञराज सुनुवारले आफ्नो निर्वाचन क्षेत्रको भुसिङ्गामा ठूलो मानवीय क्षति भएकाले तत्काल हेलिकोप्टर उडाउनु पर्‍यो भन्दै त्यहि भवनमा पुगेका थिए ।

उनले च्यापिएका मान्छेलाई उद्दार गर्न हेलिकोप्टर पठाउनुपर्‍यो भन्दै गृहका मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख लक्ष्मी ढकाल लगायतलाई दबाब दिइरहेका बेला प्रधानमन्त्री अर्को कोठामा थिए ।

बैठकमा भाग लिन गृहमन्त्री बामदेव गौतम भर्‍याङ चढ्ने तरखरमा थिए । भूकम्प पीडितलाई उद्दार गर्न बसेको बैठकमै भूकम्पले प्रधानमन्त्री र मन्त्रीहरुको भागदौड मच्चिएको दृष्य हेर्न लायक थियो ।

हतार हतार प्रधानमन्त्री सहित सबै चौरतिर झरे । ‘बैठकका केही सहभागीले यो भूकम्प प्रतिरोधी भवन हो, केही हुदैन भन्दै थिए । तर कसले सुन्ने ?’ प्रत्यक्ष भुक्तभोगी सभासद सुनुवारले भूकम्पको धक्कापछि मलाई सुनाए ।

कोइराला तल झरेर स्वाँ स्वाँ गरेर जिउ हल्लाउदै गृहमन्त्री गौतमलाई सुनाए-‘यसरी हल्लायो, ठूलो पो आयो ।’ भूकम्प रोकिएपछि पनि कतिपय मन्त्रीहरु भन्दै थिए-‘यो अझै हल्लिदै छ कि हामीलाई हल्लिए जस्तोमात्रै लागेको हो ?’

यसरी महाविपत्तिको सिलसिलेवार धमाका देशकेा केन्द्रीय सचिवालय सिंहदरवारमा देश सन्चालकहरुकै सामुन्ने भोगेर कार्यक्षेत्रमा फर्किएँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment