Comments Add Comment

सवारी साधन नियमित चल्ने, बढी भाडा नलिन आग्रह

yatayat

१४ वैशाख, काठमाडौं । नेपाल सरकार र यातायात व्यवसायीले सोमबार बेलुकादेखि सवारी साधनहरु नियमितरुपमा सञ्चालन गर्ने सहमति गरेका छन् । भूकम्पको बहानामा गाडीभाडा विगतको भन्दा बढी लिन नपाइने समेत सहमति भएको छ ।

सरकारी अधिकारी, यातायात व्यवसायी र यातायात मजदुर प्रतिनिधिवीच भएको सहमति अनुसार काठमाडौंमा रहेका सर्वसाधारणहरु ठूलो संख्यामा गाउँ र्फकन लागेकाले उनीहरुलाई गाउँ जाने सहज वातावरण बनाउने बताइएको छ ।

भूकम्पको विपत्तिलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा एक सातासम्म रुट परमिट नभएका सवारी साधनले पनि यात्रु ओसार-पसार गर्न पाउने भएका छन् ।

राजधानीमा बढीभन्दा बढी संख्यामा सवारी साधन भित्र्याउने सहमति भएको स्वतन्त्र यातायात मजदुर संगठनका महासचिव भीम राई ज्वालाले बताए । महाविपत्तिको बाहना बनाएर बढी भाडा लिने सवारी साधन सञ्चालकलाई कडा कारवाही गरिने निर्णय गरिएको राईले बताए ।

यातायात व्यवस्था विभागमा सोमबार अपरान्ह बसेको बैठकले यातायातका साधनहरु नियमित रुपमा सञ्चालन गर्ने निर्णय भएको हो । बैठकमा यातायात व्यवस्था विभागका महानिर्देशक मधुसुधन अधिकारी, उपमहानिर्देशक ध्रुवराज जोशीसमेतको सहभागिता थियो ।

बैठकमा ट्राफिक प्रहरी महाशाखाका एसएसपी गणेशबहादुर गुरुङका साथै यातायात व्यवसायी र यातायात मजदुर संगठनका पदाधिकारीहरु सहभागिता थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment