Comments Add Comment

विपत्तिको मिलेर सामना गरौं : प्रधानमन्त्री कोइराला

nepal.quake.ap

  • भारतीय वायु सेना र नेपाली सेनाको टोलीद्वारा उद्धार गरी काठमाडौं ल्याइएकी महिला र उनको बच्चा । तस्वीर : एपी

१४ वैशाख, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले ८२ बर्षपछि नेपालमा आएको शनिबार आएको महाभूकम्पले भएको विनास पछिको व्यवस्थापन ठूलो चुनौतिको रुपमा रहेको बताएका छन् । उनले हाल भैरहेको उद्धार, राहत र पुनःस्थापनाको काम प्रभावकारी नभएको स्वीकार समेत गरे ।

संविधानसभा अध्यक्ष सुभाषचन्द्र नेम्वाङले व्यवस्थापिका संसद सचिवालय सिंहदरबारमा सोमबार आयोजना गरेको संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलहरुको सामूहिक बैठकमा प्रधानमन्त्री कोइरालाले सो धारणा राखेका हुन् ।

अध्यक्ष नेम्वाङले मुलुकमा महाविपत्ति आएको बेलामा यसको व्यवस्थापन गरी पीडितहरुको उद्धार, राहत, पुनःस्थापना र पुनर्निमाणलाई गतिदिन विधायीकालाई पनि सक्रिय पार्ने उद्देश्यले बैठक आयोजना गरेका थिए ।

सो बैठकमा प्रधानमन्त्री कोइरालाले भने, ‘यो ठूलो चुनौति हो, लरतरो हैन,’ उनले भने, ‘सबै ठाँउबाट उद्धारको अनुरोध आएको छ । तर पर्याप्त उपकरण र उद्धार विशेषज्ञहरुको अभावमा एक साथ धेरै स्थानमा उद्धारकार्य अगाडि बढाउन सकिएको छैन ।’

प्रधानमन्त्री कोइरालाले यो महाविपत्तिबाट पीडित नेपाली नागरिकको उद्धार, राहत र पुनस्थापनाको कार्यमा सरकार संवेदनशील भएको पनि बताए । यो दुःखद घडीमा सबै नेपालीले मन बचन र कर्मले सहयोग गर्नुपर्नेमा जोड दिए ।

यो आकस्मिक चुनौतिको सामनाका सम्बन्धमा सरकारले सर्वदलीय बैठक गरेर समन्वित ढंगले काम गरिरहेको जानकारी उनले गराएका थिए । प्रधानमन्त्री कोइरालाले प्रभावित क्षेत्रमा टेण्ट, खानेपानी, खाद्यान्न, औषधी, चिकित्सक एवं स्वयंसेवकहरु पठाउने काम भैरहेको जानकारी दिए ।

घाइतेहरुको स्वास्थउपचारको लागि रगत अभाव हुन नदिन रक्त संकलनका लागि सबै राजनीतिक दलहरुबाट आह्वान भएको र राष्ट्रिय विपत्तिकोबेला विदेशी मित्र राष्ट्रहरुले आर्थिक, भौतिक र स्वयसेवी एवं उद्धारकार्यमा दक्ष जनशक्ति पठाएर सहयोग गरिरहेकोमा प्रधानमन्त्रीले सन्तोष व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment