Comments Add Comment

साँखुको भग्नावशेषमा पुग्दा यस्तो देखियो (फोटो फिचर)

Sakhu After Eatrh-Quick   (21)

राजकुमार श्रेष्ठ/श्रीधर पौडेल

१४ वैशाख, काठमाडौं । हामी साँखु पुग्दा घाम डुब्दै थियो । तर, सालीनदी नजिकैको साँझ शून्य थियो ।

बसपार्क नजिकै नेपाली सेनाको एउटा ट्रक रोकिएको थियो । नजिकैको खाली चौरमा केही मानिस आश्रय लिइरहेका थिए । एक स्थानीयलाई हामीले अनलाइनखबरबाट आएको यहाँ बढी क्षति भएको ठाउँ कहाँ हो भनेपछि उनले देखाए ।

बसपार्कबाट दुई मिनेट जति अघि बढ्नासाथ साँखुको दर्दनाक दृश्यहरु देखिए । हजार घर नामले चिनिने साँखु क्षेत्रका अधिकांश पुराना घरहरु भत्किएका छन् । बाँकी भएका एकाध घरहरुमा पनि बस्न सक्ने अवस्था छैन । प्रहरीका अनुुसार साँखु क्षेत्रमा ३ हजार घरहरु क्षतिग्रस्त भएका छन् । पाँच प्रतिशत मात्र बाँकी छन् ।

घरहरु भएको स्थानमा एकाध मानिसहरु मात्र भेटिए । उनीहरु कोही बस्नका लागि प्लास्टिकको पाल हाल्दै थिए भने कोही खाना पकाउने तयारीमा थिए । तर, अधिकांश स्थान शुन्य थियो । स्थानीय एक युवकले घरको भग्नावशेष देखाउँदै भने-‘भाग्दै थियौं । एक जना बच्चालाई त्यही पुरेको छ । तर, निकाल्न सकिएको छैन् ।’

Sakhu After Eatrh-Quick   (2)

शनिबार र आइतबार पटक-पटक भूकम्पको धक्का महसुस भएका कारण भवनहरुको भग्नावशेषले पुरिएका अधिकांशलाई जिवितै उद्दार गर्न नसकिएको स्थानीयले बताए ।

साँझ ढल्कँदै थियो । तर, जति बजार क्षेत्रतर्फ अघि बढ्यो, दृश्यहरु त्यति नै भयावह देखियो । गल्लीहरुमा पस्न आँट कसेको थिएन । अधिकांश घरहरु केही पूर्ण रुपमा भत्किएका थिए त केही आधा भत्किएर धराप थापेको जस्तो थियो ।

हामीले स्थानीय माधव श्रेष्ठलाई भेट्यौं । उनको घर पनि भूकम्पले बस्न नहुने गरी भत्काएको रहेछ । उनले हामीलाई केही स्थानहरु देखाए, जहाँ घरहरु भत्किएका छन् । तर, भेटेजति सबै स्थानीयले हामीलाई पनि गल्लीहरुमा नपस्न सचेत गराए ।

हामी केही भत्किएको घरको सिडीमा चढेर केही तस्वीरहरु लिँदै थियौं । धेरै घरहरु भत्किएको भग्नावशेषबाट कुकुर रोइरहेका आवाज आयो । कस्तो मानिसकै पो आवाज पनि हो कि भन्ने पनि लाग्यो तर, त्यहाँ जान कसैले साहस थिएन ।

स्थानीयका अनुसार आइतबार नेपाली सेनाको एक टोलीले केही स्थानमा खोजीको प्रयास गरेको थियो । तर, भूकम्पको धक्का महसुस भएपछि उनीहरु फर्किएर गएनन् ।

सोमबार नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय प्रहरीका साथै टर्किस टोली पुगेको छ । तर, भित्र गल्ली-गल्ली परेर खोजी तथा उद्दारको प्रयास गर्न सम्भव भएको छैन ।

अघि बढ्ने अवस्था नभएपछि हामी मुख्य बजारमा जान खोज्यौं तर, स्थानीयले रोके । स्थानीयबासी शैलेन्द्रराज उपाध्यायले हामीलाई भने-‘दुबैतर्फका घरहरु ढलेका छन् । अहिलेको अवस्थामा मुख्य बजार क्षेत्रमा नजानु नै राम्रो ।’

हामीले बैंकल्पिक बाटो खोज्यौं । तर, रात परिसकेको थियो । खाली ठाउँ खोजेर बसेकाहरु खाजाको जोरजाम गर्दै थिए । हामी पनि अघि बढ्न सम्भव भएन ।

बसपार्क नजिकैको प्रहरी चौकीमा एमाले क्षेत्रीय अध्यक्ष सुवर्ण श्रेष्ठ विवरणहरु टिप्दै थिए । उनले साँखुमा तत्काल त्रिपालको आवश्यकता रहेको भन्दै यसलाई लेखिदिन आग्रह गरे ।

प्रहरीका अनुुसार अहिलेसम्म साँखुमा ६४ र नाङ्ग्लेमा ३१ जनाको शव भेटिएको छ ।

Sakhu After Eatrh-Quick   (12)

राजधानीको छेवैमा रहेको यो ठाउँमा उद्दार टोली पुगेर धेरै जनालाई जिवितै उद्दार गर्ने सम्भावना हुँदाहुँदै पनि त्यसो हुन सकेन् । यतिबेला साँखुको हजार घर बजार चिहानमा परिणत भइसकेको छ ।

अझै पनि भन्न सक्ने अबस्था छैन- सरकारको उद्दार राहत टोली कहिले पुग्ने हो, भागेर जीउ जोगाएका साँखुबासीलाई मनमा मल्हम कसले लगाइदिने हो ?

Sakhu After Eatrh-Quick   (1) Sakhu After Eatrh-Quick   (3) Sakhu After Eatrh-Quick   (4) Sakhu After Eatrh-Quick   (5) Sakhu After Eatrh-Quick   (6) Sakhu After Eatrh-Quick   (7) Sakhu After Eatrh-Quick   (8) Sakhu After Eatrh-Quick   (9) Sakhu After Eatrh-Quick   (10) Sakhu After Eatrh-Quick   (11) Sakhu After Eatrh-Quick   (16) Sakhu After Eatrh-Quick   (19) Sakhu After Eatrh-Quick   (20) Sakhu After Eatrh-Quick   (22) Sakhu After Eatrh-Quick   (23) Sakhu After Eatrh-Quick   (24) Sakhu After Eatrh-Quick   (25) Sakhu After Eatrh-Quick   (27)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment