Comments Add Comment

राहत र उद्दारमा समन्वय गर्न एमालेको हाइ कमाण्ड

१५ वैशाख, काठमाडौं । नेकपा एमालेले भूकम्पको विपत्तिमा परेका पीडितहरुलाई राहत, उद्दार र सहयोगको समन्वय गर्न महासचिव ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेको छ ।

यो समितिले भूकम्प प्रभावित जिल्लाहरुमा सम्पर्क समन्वय गरी गुनासाहरु सुन्ने र आवश्यकताका बारेमा सरकारसँग समन्वय गरी तत्काल राहत तथा उद्दारको पहल गर्ने सचिव योगेश भट्टराईले बताए ।

फाइल फोटो
फाइल फोटो

भूकम्प प्रभावित अधिकांश ग्रामीण जनताको उद्दार हुन नसकेको, कतिपय गाउँहरु सम्पर्कमै नरहेको र ठूलो संख्यामा जनताले बास र गाँस नपाएको भन्दै एमालेले पार्टीगत तहबाट पनि राहत वितरण गर्ने योजना एमालेले बनाएको छ ।

‘हामी हाम्रो पार्टीका सबै सदस्य, समर्थक शुभचिन्तकरु परिचालन गरेर राहत र उद्दारको काम अघि बढाउछौं’ सचिव भट्टराईले भने ‘जिल्लाबाट यथार्थ विवरण लिएर प्राथमिकताका आधारमा सरकारसँग समन्वय गर्छौं’ ।

एमालेको मंगलबार बसेको केन्द्रीय सचिवालयको बैठकले प्रवासस्थित सबै पार्टी कमिटीहरुलाई राहत संकलनमा जुट्न निर्देशन पनि दिएको छ । पार्टी कमिटीहरुबाट संकलन गरिएको रकम कृषि विकास वैंकमा खाता खोलेर संकलन गरि पीडितसम्म पुर्‍याउने योजना एमालेले बनाएको छ ।

अहिले पनि देशभर एमालेका कार्यकर्ता उद्दारमा खटिएको र बुधवार भूकम्प प्रभावित जिल्लाका सभासदहरुको बैठक गरी सम्बन्धित जिल्लामै गएर राहत वितरणको समन्वय गर्न निर्देशन दिइने सचिव भट्टराईले बताए ।

‘सभासदहरु जिल्लामा गएर प्रमुख जिल्ला अधिकारीसँगै बसेपछि कुन गाउँका जनताको के समस्या छ भन्ने बुझ्न र केन्द्रमा समन्वय गर्न सजिलो हुन्छ’ उनले भने । अहिले सभासदहरु आ आफ्नो जिल्लामा हेलिकोप्टर र राहत सामाग्री माग्दै गृहमन्त्रालयमा दौडिरहेका छन् ।

महासचिव पोखरेलको नेतृत्वमा गठन भएको भूकम्प पीडित उद्धार तथा राहत केन्द्रीय समन्वय समितिमा उपमहासचिवहरु बिष्णु पौडेल, घनश्याम भुसाल सदस्य छन् । त्यस्तै सचिवहरु प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, भीम आचार्य,गोकर्ण विष्ट, योगेश भट्टराई समितिका सदस्य छन् ।

जिल्ला जिल्लामा समन्वय गर्ने र उपचारलगायतका राहतमा समेत कार्यकर्ता र विशेषज्ञ परिचालन गर्ने सो समितिमा बिष्णु रिमाल, कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल, सुजिता शाक्य, रचना खड्का, गंगालाल तुलाधर, छविलाल विश्वकर्मा, सूर्य थापा, विजय गुरुङ पनि सदस्य छन् ।

एमालेले भूकम्पीडितका लागि खोलेको खाता नम्बर कृषि विकास वैंकमा ०२१०३००७१७९७०१० रहेको छ ।

अखिलले बस उपलब्ध गराउने

यसैबीच एमाले निकट अनेरास्ववियुले सवारी साधन नपाएर राजधानीबाट बाहिर आफ्नो घर जान नपाएकाहरुलाई ५ सय बसको व्यवस्था गरेको छ ।

उच्च माध्यमिक विद्यालय संघ हिसानसँगको समन्वयमा ती बस उपलव्ध गराउने अखिलका कार्यवाहक अध्यक्ष ऐन महरले बताए । बस हिसानले उपलव्ध गराएको हो ।

विशेष गरी तराई र पश्चिम तथा सुदूरपश्चिमका जिल्लाहरुमा जाने यात्रुका लागि हिसानको सहयोगमा बसको व्यवस्था गराइएको उनले बताए ।
त्यस्तै अखिलले कालो बजारी विरुद्ध अभियान शुरु गरेको छ । गृहमन्त्रालयसँग समन्वय गरेर कालोबजारीको अनुगमन थालिएको र तत्काल खबर गर्दा सरकारले कारवाही नगरे अखिलले नै ठाउँको ठाउँ कारवाही गर्ने चेतावनी महरले दिए ।

उनले बस नपाएर अलपत्र हुने र कालोबजारी खेप्नेहरुले सम्पर्क गर्नका लागि आफ्नो मोबाइल नम्बर ९८५१०३४५६२ उपलव्ध गराएका छन् । अखिल महासचिव नविना लामाका अनुसार रगतको कमी हुन नदिन उपत्यकाभित्र अखिलका २ सय सदस्यको टोली ‘स्ट्यान्डबाइ’ राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment