Comments Add Comment

मन्त्रीज्यू ! काठमाडौं असुरक्षित भएकै हो त ?

प्रा.डा. सूर्यराज आचार्य, पूर्वाधार विकास विज्ञ

अब भूकम्प जान्छ कि जाँदैन ? कत्रो आउने हो ? कहिलेसम्म आउने हो ? भूकम्पको कहिल्यै पनि पूर्वानुमान हुँदैन । तर, विज्ञानले हामीलाई केही दिशा निर्देश गरेको छ । जस्तो-पहिले ठूलो गयो, त्यसपछि सानो सानो घट्दै गएको छ । तर, यस्तो संवेदनशील बेलामा विज्ञका रुपमा वा व्यक्तिगत रुपमा मिडियामा जानुभन्दा पनि सरकारको आधिकारिक प्रवक्ताबाट जानुपर्छ ।

Dr-Suryalal-Aacharyaसरकारलाई आवश्यक छ भने हामीजस्ता पचासौंसँग राय लियोस् । तर, योचाँहि सरकारको आधिकारिक ठाउँबाट जानुपर्‍यो । योबेलामा प्राविधिक पक्षसँगै सूचना व्यवस्थापन पनि सबैभन्दा ठूलो पक्ष हो । सुनामीका बेला म जापानमा थिएँ, त्यहाँ सरकारले धेरै राम्रो व्यवस्थापन गरेको थियो ।

म अस्ति कपन एरियामा डुल्न गएँ । घरबाट हिँड्नुभन्दा पहिला मैले मिडियाका आधारमा जे कल्पना गरेको थिएँ, त्यस्तो ड्यामेज आधुनिक घरहरुमा छैन । जहाँ सात तले बिल्डिङ ड्यामेज भयो, त्यो डेडढ आनामा बनेको सात तले भवन थियो । त्यो अर्को धरहरा थियो, त्यसको डिजाइन ‘नन इञ्जिनियर्ड’ थियो ।

कसैले भर्खरै दुई/तीन करोड खर्च गरेर घर बनाएका छन्, सानो क्र्याक भएको छ भने पनि त्यसले तनाब बढाएको छ । मेरो त सर्वस्वै गयो, अब बैंकको ऋण कसरी तिर्ने, अब घर फेरि भत्काउनुपर्ने भयो भन्ने तनाव बढेको छ ।

केही साथीहरुले भन्नुभयो, सरकारले पसल खोल भन्नुपर्‍यो । म के भन्छु भने सरकारले पसल बन्द गर भन्नलाई पनि प्राविधिक सूचना चाहिन्छ, खोल भन्दा पनि चाहिन्छ । त्यसैले घरहरुका बारेमा हामी छलफल गरौं । एकजना विज्ञले भनेका आधारमा सरकारले निर्णय लिनु हुँदैन । आवश्यक परे हामी दुई/चार घण्टा ब्रेन स्टोमिङ गरौं । र, स्पष्टीकरण सरकारले देओस् ।

काठमाडौं सुरक्षित छ

हाम्रा पूर्वाधार तथा यातायात मन्त्रीले खाली बस भए पनि ल्याउनु, यातायातको व्यवस्था सरकारले गर्दिन्छ भन्ने समाचार आयो । के नेपाल सरकारको निर्णय काठमाडौंमा बस्न असुरक्षित छ भन्ने हो ? मैले अघि नै भनें सूचनाको व्यवस्थापन, यो अति नै महत्वपूर्ण छ ।

अहिले काठमाण्डौंमा एकदमै र्‍युमर फैलिएको छ, काठमाडौं सुरक्षित छैन भन्ने कुरा त राष्ट्रिय सुरक्षाजतिकै सम्वेदनशील हो, यो कुरा सरकारी निकायबाटै आउनुपर्‍यो ।

काठमाडौंमा मैले धेरै ठाउँमा हेरें, थोरैमात्रै घरहरु ड्यामेज भएका छन् । ५० वर्ष अघि बनेका सिमेन्ट, कंक्रिट नभएका घरहरु ड्यामेज भएका छन् । जुन घरहरु पछि बनेका छन्, ती एकदमै बलिया छन् । मलाई त अचम्मै के लाग्यो भने छेउको घर लडेको छ, छेउको घर चर्केको पनि छैन । यो एउटा प्राविधिक अनुसन्धानको विषय हो ।

यत्रो भूकम्प जाँदा पनि म तीन दिनदेखि मेरो घरमै सुतेको छु । मेरो छिमेकी डाक्टरसाहेब हुनुहुन्थ्यो, उहाँले हप्काउनुभयो, ‘के गरेको ? तपाई त बहुलाउनुभयो कि क्या हो, यस्तो बेलामा पनि घरमै सुत्ने ?’

मैले उहाँलाई भनें- ‘डा. साप मोटरसाइकलबाट लडेर मेरो कोट च्यातियो भने के गुर्नहुन्छ ? एकैचोटि मेरो टाउको चिर्नुहुन्छ ? एक्स रे गर्नुहुन्छ कि ? एमआरआई गर्नुहुन्छ कि ?’

मानिसको शरीरको जस्तै बिल्डिङको पनि त्यही हुन्छ । बिल्डिङको एक्स रे गर्ने, एमआरआई गर्ने त्यो मेरो विषय हो, तपाई मेडिकल डाक्टरले मलाई सल्लाह दिने होइन, मेरो सल्लाह लिनोस् । तपाई पनि मजस्तै आफ्नै घरमा सुते हुन्छ ।’

अहिले काठमाण्डौंमा एकदमै र्‍युमर फैलिएको छ । यसमा म मिडियालाई कुनै दोष दिन्न । सडकमा हिँड्दा हिँड्दै मिडियाका साथीहरुले फोन गर्नुभएको छ । मैले भनें, माफ गर्नोस्, म सिभिल इञ्जिनियर हुँ, म भूकम्पविद होइन । तर, घरमा बस्नु हुँदैन, काठमाडौं सुरक्षित छैन भन्ने कुरा त राष्ट्रिय सुरक्षाजतिकै सम्वेदनशील कुरा हो । यो कुरा सरकारी निकायबाटै आउनुपर्‍यो ।

हाम्रा कुनै तारे होटल भत्किएनन् । ५० वर्ष अगाडि बनेका घर भत्किए । काठमाडौंका मोर्डन घरहरु २० वटा पनि भत्किएका छैनन्

कुनै पनि सभ्य मुलकमा यस्तो विपद आइलाग्दा उनीहरुले एक-एक घण्टामा जनतालाई सूचना दिन्छन्, मिडियालाई सूचित गराउँछन् । अहिले हरेक दूतावासमा विदेशीले सोधिरहेका छन्, तिमीहरु जिउँदै छौ ? तर, काठमाडौं हामीले सोचेभन्दा सुरक्षित छ । तर, नयाँ कंक्रिटका बिल्डिङहरुमा हामी विज्ञले सोचेजति क्षति भएन । यो सूचना सरकारले जनतासमक्ष लान जरुरी छ । बरु यो काम सरकारले एउटा कमिटीलाई छाडिदिनोस् न । एकजना सचिव या डीजीलाई जिम्मा दिए पनि हुन्छ ।
यो म्यासेज अति महत्वपूर्ण छ । काठमाडौं कति असुरक्षित हो ? मेरो विचारमा यसबारे एकदमै बढाइ चढाइ भएको छ । यो अहिलेको विपद व्यवस्थापनका लागि मात्रै नभएर हाम्रो देशको दीर्घकालीन रणनीतिमा पनि यसले असर पार्न सक्छ ।

अहिले जुन विदेशी जहाजहरु आइरहेका छन् उनीहरु राहतका लागि हैन, अर्कै उद्देश्यका लागि आएका छन् । के हाम्रा कुनै तारे होटलहरु भत्किएका छन् ? कुनै दुतावासको भवन भत्किएको छ ? हाम्रा सरकारी कार्यालयहरु भत्किएका छन् ? छैनन् । यो कुरा सरकारले स्पष्ट पाुर्नपर्‍यो । हो, ५० वर्ष अगाडि, जतिबेला काठमाडौंमा सिमेन्ट पनि आउँदैनथ्यो, त्यसबेला बनेका घरहरु भत्किए । ती घरहरुमा धेरै घटना भएको छ । तर, मेरो विचारमा मोर्डन घरहरु २० वटा पनि भत्किएका छैनन् । त्यसकारण यो सूचना सरकारले स्पष्ट पार्न सक्नुपर्‍यो । तत्कालै आज नै मिडियामा यो सूचना प्रवाह हुनुपर्‍यो ।

योबेलामा हाम्रो सरकारले सबैभन्दा पहिला स्पष्ट विज्ञान र इञ्जिनियरिङका आधारमा सूचना दिने त्यसपछि त्यसलाई नागरिकको हितमा, उनीहरुको सुरक्षा स्वास्थ्य आदिको हितमा इन्फरमेशनलाई कसरी म्यानेज गर्ने भन्ने कुरो शायद मेरो जानकारीमा अहिलेसम्म नेपाल सरकारमा यस किसिमको सोच भएन ।

एनजीओलाई ‘आउट सोर्सिङ’ नगरियोस्

म सिभिल इञ्जिनियर हुँ, भूकम्पविद होइन । तर, म गम्भीररुपमा सरकारको ध्यानाकर्षण के गर्न चाहन्छु भने भूकम्पजस्तो गम्भीर विषयमा सरकारले एनजीओलाई आउट सोर्सिङ नगरोस् । रिसर्चको काम, बेसिक कोडहरु बनाउने काम र मापदण्डा देखि लिएर अवारनेशको कामसमेत सरकारले एउटा आधिकारी निकाय बनाएर आफैं गर्नुपर्छ, एइनजीओलाई दिनुहुँदैन ।

आवश्यक पर्छ भने हामीसँग विश्वविद्यालय पनि छ । हाम्रो विभागै छ । त्यसबाट सिकेर एउटा आधिकारिक र प्राविधिक रुपमा क्षमता भएको आवश्यक साधन स्रोतसहितको बडी बनाउने विषयमा सरकारले चासो देओस् ।

याे पनि पढ्नुस् 

विज्ञ भन्छन्- भुइँचालोले नभत्केको घरमा आरामले सुते हुन्छ 

(डा. आचार्यले मंगलबार संसदको बिकाश समितिमा दिनुभएको मन्तब्यमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment