Comments Add Comment

‘गोदाम बन्द गरेर व्यापारीहरु मधेसतिर भागे’

बाबुराम हुमागाईं, महासचिव, उपभोक्ता संरक्षण मञ्च  

baburam humagainभूकम्पपछि अहिले बजारमा दुई खालका समस्या छन् : आम उपभोक्तामा सामान नपाइने पो हो कि भन्ने भय छ । उपभोक्ताको मनोदशा बुझेका ब्यापारीहरु चाहिँ ‘मौका यही हो’ भनेर बसेका छन् ।

यस्तो अवस्थामा सरकारले आफ्नो भूमिका प्रभावकारी बनाउन जरुरी छ । तर, सकेन । महाभूकम्पको विपत्तिमा पनि सरकार लाचार देखिएको छ ।

उपभोक्तालाई कसरी आश्वस्त तुल्याउने भन्नेमा सरकारले ध्यानै दिन सकेन । सामान्य उदहारण हेर्ने हो भने भुइँचालो आएको पहिलो र दोस्रो दिनसम्म ९ रेक्टर स्केलको भुइँचालोको धक्का धान्ने गरी घर बनाएकाहरु पनि त्रिपालमा आएर बसे ।

पटक-पटकको भूकम्पको धक्काले जसको घर केही भएको थिएन, सरकारले तिनलाई पनि आफ्नै घर जानुस् केही हुन्न भन्न सकेन । साँच्चै भन्ने हो भने अहिले सरकारले आम सर्वसाधारणलाई सरकार हुनुको अनुभुति दिनै सकेको छैन ।

मैले उद्योग वाणिज्य विभागका केही अधिकारी र केही व्यवसायीसँग  यसबारेमा कुरा पनि गरें । उनीहरुको भनाइ अनुसार हाम्रो मुलुकमा अहिले  कम्तिमा दुई महिनालाई पुग्ने खाद्यान्न छ । तत्काल उत्पादन भएन भने पनि दुई महिना चिन्ता गर्न नपर्ने भनाइ व्यवसायीहरुको छ । यति हुँदा हुँदै पनि काठमाडौ उपत्यकाकै कतिपय ठाँउमा चाउचाउ बिस्कुट लगायतका खाद्य सामाग्री सकिएको भन्दै बढी मूल्य लिएर बिक्री भएको सुन्नमा आएको छ ।

यति हुँदाहुँदै पनि कताकति अभाव भएजस्तो देखिएको छ । यसो हुनुको कारण नेपालका कतिपय ठूला ब्यापारी (होलसेलर) अहिले आफ्नो गोदाम बन्द गरेर तराई (मधेस) तिर लागेका छन् । कतिले त सीमा पार नै गरिसके ।

त्यसरी गोदाम बन्द गर्नुमा पनि दुईवटा कारण हुन्छ : एउटा त आफु सुरक्षित हुनका लागि पनि गएका हुन सक्छन् । अर्को, बजारमा हाहाकार भयो भने मूल्य बढाएर बेच्न पाइन्छ भन्ने सोच छ व्यवसायीमा ।

विगतमा पनि यस किसिमका समस्या आउँदा व्यवसायीले बढी मुनाफा लिएर सामान बिक्री गर्ने गरेका थिए । त्यसकारण यसपालि पनि केही व्यवसायीले बढी नाफा लिनकै लागि गोदाम बन्द गरेका हुन् ।

नेपालमा कुन खाद्यान्नको कस्तो गोदाम कहाँ छ ? भन्नेमा सरकारलाई राम्रो जानकारी छ । जसले खाद्यान्न भण्डारण गरेर ताला लगाएर हिँडेका छन्, सरकारले ती गोदामलाई तत्कालै नियन्त्रणमा लिनुपर्छ र उपभोक्तालाई खाद्यान्न बाँड्न सुरु गर्नुपर्छ ।

त्यसो गरेमा उपभोक्ताले संकटको बेला खाद्यान्न पाउनुका साथै सरकारप्रति सर्वसाधारणको विश्वसनियता पनि बढ्छ । हाम्रो मुलुकमा आजसम्म सरकारले जनताको हितमा हुने र देखिने कुनै काम गर्न सकेको छैन । त्यसकारण सर्वसाधारणले सरकारलाई अविश्वास गर्ने गरेका छन् ।

हामी उपभोक्तावादीको काम भनेको सरकारलाई सचेत गराउने  मात्रै हो । हामीले सरकारलाई घच्घच्याइरहेका छौं । यस्तो वेलामा उपभोक्ताले पनि अलिकति सचेतना अपनाउनुपर्ने हुन्छ ।

बजारमा सामान अभाव हुन्न भन्ने जानकारी पाइसकेपछि उपभोक्ताले पनि आफुलाई चाहिनेभन्दा बढी सामान उठाउने गर्नुहुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment