Comments Add Comment

भूकम्पको डायरी : काठमाडौंमा जे देखियो

पुष्प दुलाल

शनिबार साप्ताहिक विदा भएकाले ११ बजेतिर खाना खाएर मोवाइलमा फेसबुक चलाउँदै ओछ्यानमा पल्टिरहेको थिएँ । बिहान मात्रै मलेसिया भ्रमणमा जाँदा खिचिएका केही सेल्फी तस्बीर अपलोड गरकाले लाइक र कमेन्टको प्रतिक्षामा थिएँ ।

Pushpa-Dulalअचानक सुतिरहेको पलङ हल्लियो । आबुई, भूकम्प भन्दै घरको ढोका अँठ्याएर बसेँ । घरले पिङ खेल्यो, आफू बाँच्छु भन्ने कल्पना पनि गरिँन । छोटै समयमा सम्झिनुपर्ने सबै आफन्तलाई सम्झिएँ ।

जब, भूकम्पको धक्का अलि कम भयो, घर बाहिर निस्किएँ । टोलका सबै चिच्याउँदै बाहिर निस्के । मेरो दाइ (रमेश) पनि अत्तालिँदै बाहिर निस्क्यो । घर अगाडि रहेको पाँच फिट गहिरो पोखरीबाट पानी छल्किएर गेटसम्मै आइपुगेको रहेछ । भनभनी रिंगटा चल्यो ।

हातमा भएको मोवाइलमा ७.८ रेक्टरको भूकम्प आयो भनेर अन्दाजमा स्टाटस अपलोड गरेँ । अनि दाजुलाई भनें- ‘अब म अफिस जान्छु ।’

‘यस्तो विपत्तिका बेला, त्यो पनि बिदाको दिन अफिस जाने कुरा नगर् ‘ दाइले भन्यो ।

‘शनिबार भएकाले आज अफिसका धेरै साथीहरुको विदा छ, भूकम्पको रिपोर्टिङ गर्ने मान्छे हुँदैनन् । त्यसैले, मैले विदा भनेर घर बस्नुहुँदैन । जब अरु लुक्छन्, तब बाहिर निस्कनु हामी पत्रकारहरुको गुण हो,’ मैले भने ।

मलाई अफिस जाने स्वीकृति दिन दाइ अन्कनाउँदै थियो । त्यतिकैमा एक छिमेकीले लोकन्थली कौशलटार क्षेत्रको सडकखण्ड पूरै भासिएको सुनाए । दाजुभाइ त्यतै हानियौं ।

मुलुककै बलियो मानिने यो सडकखण्डको ७ सय मिटर सडक १० फिटभन्दा बढी भासिएछ । बीचबीचमा ठूला भ्वाङ परेछन् । मोवाइलबाटै फोटो खिचेँ । दाइलाई लिएर हतार-हतार घर गएँ । मोटरसाइकल स्टार्ट गरेँ र अफिस हुइँकिनु अघि दाइलाई भनें- ‘घरभित्र नबस्नु है, आफ्नो केयर गर नि ।’

पुलिस, एम्बुलेन्स र प्रेसबाहेक बाटामा गाडीहरु थिएनन् । अत्तालिएका हजारौं सर्वसाधारणहरु सडकमा थिए ।

बुद्धनगरमा रहेको अनलाइनखबरको कार्यालय पुग्दा छिनछिनमै भूकम्पको धक्का आउँथ्यो । भूकम्पको महसुस हुनासाथ हामी बाहिर निस्कन्थ्यौं । डेढ घण्टामा ६ पटक ज्यान जोगाउन अफिस बाहिर निस्क्यौं ।

साथीहरुले सुन्धारा, बसन्तपुरलगायतका ठाउँका तस्बीरहरु ल्याइसकेका रहेछन् । बाँकी थियो, पाटन । बाक्लो बस्ती भएकाले भूकम्प आएका बेला पाटन क्षेत्र प्रवेश गर्नु निकै जोखिमपूर्ण मानिन्छ । तर, मैले हिम्मत गरेँ । गोपाल महतले मोटरसाइकल चलाए म क्यामेरा बोकेर बाइकको पछि बसेँ । हाम्रो बाइक युएनपार्क हुँदै पाटनतर्फ अघि बढ्यो ।

अग्ला घरका बीचको साँघुरो बाटो हुँदै हामी पाटन दरबार क्षेत्र पुग्यौं । पाटन दरबार क्षेत्र तहस नहस थियो । धुलाम्यै थियो । नेपाली सेना र प्रहरीले उद्दार गरिरहेका थिए । मुख्य कृष्ण मन्दिरको टुप्पोमात्रै ढले पनि छेउमै रहेका ऐतिहासिक दुईवटा मन्दिर ध्वस्त भएका रहेछन् । तस्बीर खिच्यौं । अनि के- कति हताहत भए भनेर प्रहरीलाई सोध्दा पाँचजनाको शव भेटिएको र अरुको खोजी कार्य भइरहेको जानकारी दिए । शवहरुको तस्वीर लिइरहेको थिएँ । त्यहीबेला शवको गोजीमा भएको मोवाइलमा निरन्तर फोन आइरहेको देखेँ र सुनेँ । भक्कानो फुटेर आयो ।

प्रहरीले पाटन दरबारदेखि दायाँपट्टि अढाइसय मिटरभित्र पाँच मान्छेहरु पुरिएका छन् भनेपछि प्रहरीसँगै हामी त्यता लाग्यौं । तर, गल्लीको बाटो डेढ सय मिटर अघि बढेपछि डर लाग्यो र पाटन दरबारतिरै फर्कियौं । दरबार क्षेत्रबाट वरिपरिका केही तस्वीर खिच्यौं । र, सुन्धारातर्फ हिँड्यौं ।

प्रहरीले त्रिपुरेश्वर चोकदेखि सुन्धारातिर मोटरसाइकल जान दिएन । त्यसबेलासम्म हाम्रो क्यामेराको मेमोरीकार्ड भरिइसकेको थियो । अफिस गएँ । खिचेका फोटोहरु समाचार कक्षमा बुझाएर सुन्धारा, बसन्तपुर, बीर अस्पताल र टुँडीखेलको अवस्था बुझ्न निस्कएँ । मित्र प्रकाश बस्नेतले यो यात्रामा साथ दिए ।

सर्वसाधारणहरु हृवारह्वार्ती सिंहदरबार प्रवेश गरिरहेका थिए । केही फोटो लिएँ र अघि बढेँ । सैनिक मञ्चमा बाइक राखेँ, एकैछिन अवलोकन गरेँ । अनि बीर अस्पताल छिरेँ । भुइँमै राखेर घाइतेहरुको उपचार गरिँदै थियो । अस्पताल खचाखच थियो । रुवावासी थियो । अस्पतालको एक कुनामा मृतकका ८८ वटा शवहरु राखिएको रहेछ, ठूलो क्यामेरा लान दिइएको थिएन । साथीलाई क्यामेरा थमाएर म एक्लै शव राखेको ठाउँमा गएँ । छेउमै गएर मोवाइलबाट शवहरुको तस्वीर लिइरहेको थिएँ । त्यहीबेला शवको गोजीमा भएको मोवाइलमा निरन्तर फोन आइरहेको देखेँ र सुनेँ । भक्कानो फुटेर आयो । आँखा रसाए । घुँक्क, घुँक्क गरेँ । अनि आशुँ पुछ्दै छेउमा भएका प्रहरीलाई भनें यो फोन उठाएर उहाँ बीर अस्पतालमा सिकिस्त अवस्थामा हुनुहुन्छ भन्दिनुहोस् न भनेर आग्रह गरेँ । ती प्रहरीले मिल्दैन भने ।

रातको ७ बजिसकेको थियो । बीर अस्पतालबाट ध्वस्त भएको धरहरा लागेँ । स्वयंसेवक र प्रहरीले धरहरातर्फ जान दिइरहेका थिएनन् । तर, जिद्दी गरेरै गएँ । ध्वस्त भएको धरहराबाट प्रहरीले शवहरु निकालिरहेका थिए । परिस्थिति भयावय थियो । तस्बीर र भिडियो खिचेँ । त्यो एरिया धुलाम्यै थियो । अफिस फर्किँदा ८ बजेको थियो । समाचार कक्षमा फोटोहरु बुझाएँ । अफिसमै खाना खाएँ अनि लोकन्थलीस्थित बासस्थान गएँ ।

राति १० बजे फेरि भूकम्प गयो । घरमा बस्नु असुरक्षित लाग्यो र दाजुभाइ दुबैजना स्लिपिङ व्याग र कम्बल बोकेर मोटरसाइकलमा बानेश्वरस्थित संविधानसभाको भवन आयौं । बानेश्वर एरिया पूरै खचाखच थियो । चौरमा बस्यौं । १२ बजेतिर फेरि भूकम्पको धक्का आयो । चिसो बढ्दै गयो । साथीभाइ टाँसिएर बस्यौं । भीडभाड, होहल्ला, चिसो र त्रासका कारण निदाउन सकिएन । १ बजेपछि पानी बिर्बिराउन थाल्यो । केही समय बसेँ । र, पछि रुझ्दै-रुझ्दै कोठामै गएँ । साढे तीन बजेतिर अर्को धक्का आयो । डराउँदै डराउँदै बिछ्यौनामा पल्टिएँ । थकाइका कारण निदाइएछ ।

भूकम्पको अर्को धक्काले बिहान पाँच बजे ब्युँझायो, दौडिएर दाजुभाइ नै गेट बाहिर गयौं । बिहानभर त्रासमै बित्यो । घरतिर सम्पर्क हुँदा ठीकै भएको खबर आयो । आफन्तहरुले पनि ठीकै भएको जानकारी दिए ।

खाना खाएर ११ बजे अफिस पुगेँ । क्यामेरा बोकेर तस्बीर खिच्न सहकर्मी नवीन अर्याल र म हिँड्यौं । बानेश्वर, तीनकुने, सिनामंगल हुँदै पशुपति गयौं । पशुपति आर्यघाटमा शव जलाउने ठाउँ थिएन । रुवावासीले पशुपति क्षेत्र गुञ्जिएको थियो । बागमती किनाराभरि शव जलाइँदै थिए । पशुपतिमा धुवाँको कुहिरो लागेको थियो । यस्तो दृश्य देख्दा लाग्यो, मानव जीवन केही रहेनछ ।

पशुपतिबाट निस्कनलाई बाइक स्टार्ट गर्न के खोजेका मात्रै थियौं । फेरि ६.८ रेक्टर स्केलको भूकम्प आयो । बाइक छाडेर एकले अर्कालाई समातेर उभियौं । मनमा त्रास भरियो ।अस्पताल बाहिरै घाइतेहरुको उपचार भइरहेको दर्दनाक अवस्थाको फोटो खिच्न लाग्दा घाइतेका आफन्त र नर्सले झपारे । हामी केही नबोली सुकेधारातर्फ लाग्यौं ।

पशुपतिबाट गौशाला हुँदै चावहिलतर्फ लाग्यौं । मैले मोटरसाइकल चलाइरहेको थिएँ । नविनले फोटोहरु खिचिरहेका थिए । गौशाला र चावहिलमा पनि भूकम्पले ठूलै क्षति गरेको रहेछ ।

आफन्त, शुभचिन्तक र साथीभाइले निरन्तर फोन गरिरहेका थिए । त्यसैबला मेरा जेठा दाजु प्रकाशको फोन आयो । मैले आफू चावहिलमा भएको बताएँ । उहाँले ‘बाँचिस भने न पत्रकारिता गर्न पाउँछस्, त्यसैले तत्काल घर फर्किएर सुरक्षित स्थानमा बस्’ भन्नुभयो । तर, म रोकिइँन । घरबाट बुबाले फोन गरेर नहिँड्न भन्नुभयो । म आफू सुरक्षित रहेको जिकिर गरेँ । जोखिमपूर्ण पत्रकारिता गर्ने मेरो रहरले बुबा, दाजु, दिदी भिनाजु, आफन्त र शुभचिन्तकहरुको सुझाव मानिँन । मलाई केही बैंकर र व्यवसायहरुले पनि बाहिर नहिँड्न आग्रह गरेका थिए ।

चावहिलको मेडिकेयर अस्पताल बाहिरै घाइतेहरुको उपचार भइरहेको थियो । त्यो दर्दनाक अवस्थाको फोटो खिच्न लाग्दा घाइतेका आफन्तले हामीलाई नराम्रोसँग झपारे । घाइतेका आफन्तले गाली गर्नु त ठीकै थियो, तर नर्सले समेत नराम्ररी गाली गरेँ । दुई सर्ट लिएका थियौं । हामी केही नबोली सुकेधारातर्फ लाग्यौं ।

सडक छेउमा एउटाघर ढल्न लागेको थियो । सयौंको संख्यामा उपस्थित सर्वसाधारणहरु त्यही घरलाई हेरिरहेका थिए । हामी महाराजगञ्ज हुँदै टिचिङ अस्पताल पुग्यौं । अस्पतालमा छिर्नसक्ने अवस्था थिएन । भीडभाडका बीच प्रवेश गर्‍यौं । अस्पतालले बाहिरै राखेर सयौं बिरामीहरुको उपचार गरिरहेको थियो । एम्बुलेन्सले बिरामी ओसारिरहेका थिए । शववाहनले शवहरु आर्यघाट लगिरहेका थिए । हामी आधा घण्टाजति त्यहाँ भुल्यौं ।

हामीले कान्तिपुर अस्पतालका अध्यक्षलाई भेट्यौं । उनको अस्पतालमा दुईवटा बेबारिसे शव रहेछन, प्रहरीले उठाएन भन्दै गुनासो गरे । उनले हामीलाई आफ्नो अस्पतालमा बोलाए । बसुन्धरास्थित कान्तिपुर अस्पताल गयौं । त्यहाँ पनि कम्पाउन्डमा राखेर घाइतेहरुको उपचार भइरहेको रहेछ । अस्पतालको तल्लो भाग पनि भूकम्पले भत्काएछ । हामी हतारमा भएकाले नयाँ बसपार्कतिर लाग्यौं ।

बसपार्क एरियामा पनि भूकम्पले ठूलो क्षति पुर्‍याएको रहेछ । सेना र प्रहरीले उद्दार गरिरहेका थिए । घाइते र शवहरु निकालिरहेका थिए । तस्वीर खिच्यौं । गोंगबु र बालाजु एरिया पनि उस्तै क्षतिग्रस्त ।

सानो भर्‍याङ हुँदै हामी स्वयम्भूतर्फ अघि बढ्यौं । स्यवंभूलाई भित्रबाट पनि एक फन्का लगायौं । स्वयम्भू मन्दिर एरियामा खासै असर थिएन । तर, डल्लुतर्फ घरहरु ढलेका थिए । सीतापाइलामा पाँचवटा घरहरु ध्वस्त भएका थिए । त्यहाँ २०/२५ जना हताहत भएको र दर्जनौ जानकारी पायौं । भावुक हुँदै तस्बीर खिच्यौं । कलंकीतर्फ अघि बढ्यौं ।

नेपाली सेनाको छाउनी व्यारेकको गेट पनि ढलेछ । कलंकी एरियामा पनि भूकम्पको क्षतिबारे तस्बीर खिच्यौं । सडकमा गाडी गुडेका छैनन् । मान्छेहरु सडक किनारा र खुल्ला ठाउँमा भेला भएका थिए । अधिकांश रातिको व्यवस्था मिलाउन त्रिपाल गाडिरहेका थिए । बल्खु, एकान्तकुना, सातदोबाटो, ग्वार्को हुँदै कोटेश्वरसम्म आउँदा सडकबाट भूकम्पले खासै ठूलो क्षति गरेको देख्न पाइएन । तर, अत्तालिएका सर्वसाधारणहरु देख्दा हामी निकै भावुक बनिसकेका थियौं ।  मैले त्यसको कुनै प्रवाह गरिँन । पत्रकारको जिन्दगी यस्तै हो, हजुरले चिन्ता नगरे हुन्छ, मलाई केही हुँदैन भन्ने उत्तर दिएँ ।

कोटेश्वर चोकमा ठूलो भीड देख्यौं । प्रहरीले त्रिपाल बाँडेको रहेछ, मान्छेहरु हारालुछ गरिरहेका थिए । धेरैले त्रिपाल नपाएको गुनासो गरे । कोटेश्वरबाट हामी कौशलटारसम्म गयौं । लोकन्थली-कौशलटार क्षेत्रको सडकखण्ड राजधानीमै सबैभन्दा बढी क्षतिग्रस्त सडक हो । तस्बीर खिच्यौं । र, अफिस फर्कियौं ।

यो दिन हामीले काठमाडौंको २७ किलोमिटर लामो रिङरोडमा मोटरसाइकलमा यात्रा गरेका थियौं । अफिस आएर समाचार कक्षमा फोटोहरु बुझायौं । समाचार लेख्यौं । पाँच बजिसकेको थियो । बिहान खाएको खानाबाहेक मुखमा केही परेको थिएन । त्यसपछि सहकर्मी विजय आवाजसँग संविधानसभाभवन गयौं । साँझ निकै ठूलो भूकम्प जान सक्ने हल्ला फैलिएको थियो । दिनभर स-साना धक्काहरु आइरहेका थिए । भोक, तिर्खा र त्रासले हाम्रो अनुहार निकै अँध्यारो भइसकेको थियो ।

संविधानसभाभित्रको चौरमा साथी यज्ञ कार्कीले गाडेको त्रिपालमा गएर आराम गरेँ । ज्वरो आएजस्तो भयो । कार्कीजीलाई मैले पैसा दिएँ । उनले एक दर्जन विस्कुट र एउटा मिनरल वाटर ल्याए । सबै मिलेर खायौं । राति अबेरसम्म बिस्कुटकै भरमा बसियो । पानी पर्‍यो, हामीले गाडेको त्रिपालमा धेरै मान्छे भयौं । ठाउँ पुगेन । भिज्न थालियो । १० बजेतिर फेरि भूकम्पको धक्का आयो । सबै मान्छे भाग्नलाई उठे । हामी उठ्यौं । नउठे किचिएर मरिने डर । केही छिनमा जिउ लल्याकलुलुक भयो । आँट गरेर घर गएँ । भूकम्पले फेरि धक्का दियो । भागेँ । फेरि ओछ्यानमा गएँ । भुसुक्कै निदाएछु ।

सोमबार बिहान ६ बजे ब्यूँझिएँ । नित्यकर्म सकेर खाना पकाएँ । साथीभाइ शुभचिन्तकसँग फोनमा कुराकानी भयो । पत्रकार भएकाले धेरै थाहा हुन्छ भनेर जान्नकै लागि भए पनि साथीभाइ, आफन्त, उद्योगी-व्यवसायी बैंकरहरुले फोन गरिरहन्थे । बिहान नौबजेतिर भूकम्पले फेरि धक्का दियो । भाग्यौं । अनि पकाएको खाना खाएर फेरि अफिस हानिएँ । घरबेटी दाइ (बिपुल न्यौपाने)ले यस्तो अवस्थामा नहिँड्न अनुरोध गरिरहनुभएको थियो । मैले त्यसको कुनै प्रवाह गरिँन । पत्रकारको जिन्दगी यस्तै हो, हजुरले चिन्ता नगरे हुन्छ, मलाई केही हुँदैन भन्ने उत्तर दिएँ ।

पुरानो काठमाडौं अर्थात असन, इन्द्रचोक, ठमेल एरियामा त्रासका कारण पत्रकारहरु खासै जान सकिरहेका थिएनन् । म र सहकर्मी क्यामेरा बोकेर असन, इन्द्रचोकको अवस्थाका बारेमा जनतालाई जानकारी गराउन हिँड्यौं । असन-इन्द्रचोक ध्वस्त भएको होला भन्ने हाम्रो आँकलन थियो । त्यस क्षेत्रका गल्ली-गल्ली फन्को मार्‍यौं । असन-इन्द्रचोक र ठमेल एरियामा हामीले कल्पना गरेजस्तो  केही भएको रहेनछ ।

त्यहाँ भएका घरहरुलाई हेरेर भएको दुर्घटनाको विश्लेषण गर्दा हामीले सामान्य ठान्यौं । केही घरहरुमात्रै ढलेका थिए । डल्लु गयौं । डल्लु पुलमा एउटा साततले घर ध्वस्त भएछ । त्यहाँ नेपाली सेना र भारतीय सेनाको टोलीले उद्दार गरिरहेको थियो । हामी त्यहाँ रहँदासम्म पाँच टा लास भेटिएका थिए । ५०/६० वटा लास पुरिएको हुन सक्ने स्थानीयको आँकलन थियो । तस्बीरहरु खिच्यौं ।

डल्लु पुलवारि ढल्के पेट्रोलपम्प नजिकै दुईवटा घर ध्वस्त भएका रहेछन् । त्यहाँ पनि चारजनाको शव निकालिएको प्रहरीले जानकारी दियो । अनि हामी, बालाजु चोक, स्वयम्यू, सीतापाई, छाउनी, ताहचल हुँदै गल्लीको बाटो बसन्तपुरको पछाडि निस्क्यौं । बसन्तपुरमा भएको विनासले बाटो अवरुद्ध थियो । अनि फर्किएर टेकु हुँदै अफिस आयौं ।

त्यसपछि सहकर्मी नविन र म राहत संकलनको समाचार संकलन गर्न युएनपार्क, शंखमूल र बाग्मती किनारामा गयौं । पीडितहरुले सरकारी राहत नपाएको गुनासो गरे ।

त्यसपछि दशरथ रंगशाला र टुँडिखेल गयौं । त्यहाँ भने सरकार र विभिन्न संघ संस्थाले राहत बाँडेका रहेछन् । हामी रंगशाला पुग्दा त्यहाँ नेपाली सेनाले चिया बिस्कुट बाँडिरहेको थियो भने स्वास्थ्य शिविर पनि सञ्चालन गरिरहेको थियो । खानेपानी संस्थानले खानेपानी पनि बाँडिरहेको थियो । टुँडिखेलमा माडवारी समाजले खाना बाँडिरहेको थियो । पशुपति आर्यघाटमा शव जलाउने ठाउँ थिएन । बागमती किनाराभरि शव जलाइँदै थिए । पशुपतिमा धुवाँको कुहिरो लागेको थियो । यस्तो दृश्य देख्दा लाग्यो, मानव जीवन केही रहेनछ ।

काठमाडौंमा सबैभन्दा बढी साँखुमा क्षति भएको छ भन्ने खबर सुनेको थिएँ । मलाई साँखु जान रहर थियो । त्यसैले क्यामेरा बोकेँ । अनि साँखुतिर गएँ भन्दै एक्लै हिँडे । पुरानो बानेश्वर पुग्दै पानी पर्न थाल्यो ।  एकजना मित्रलाई फोन गर्दा बाटो अवरुद्ध भएकाले साँखु जानसक्ने अवस्था छैन भने । अनि म गन्तव्यहीन यात्री बने । त्यसैबेला महाराजगञ्ज बस्ने नवपरिचित मित्र अस्मिता भन्डारीसँग टेलिफोन सम्पर्क भयो । नवपरिचित भएपनि हाम्रो सम्बन्ध निकै पुरानोजस्तो प्रगाढ भइसकेको छ ।  उनले आफूलाई पनि भूकम्पको क्षति पुर्‍याएको ठाउँ हेर्ने रहर भएको बताउँदै एक्लै भए आफूलाई पनि लिएर हिँड्न आग्रह गरें । म उनलार्इ लिन महाराजगञ्ज गएँ । उनलाई मोटरसाइकलको पछाडि राखेर रिङरोडको बाटो हुँदै अघि बढेँ । स्वयम्भू सीतापाइला ताहाचल, डल्लु, टेकु, सुन्धारा, टुँडीखेल, वीर अस्पताल, वसन्तपुर, असन इन्द्रचोक, ठमेल, लैनचौर, नारायणहिटी, दरबारमार्ग, रत्नपार्क, भृकुटीमण्डप, सिंहदरबार, अनामनगर, बानेश्वर, पुरानो बानेश्वर, गौशाला हुँदै पशुपति सबै दृश्यहरू दखाएँ ।  निकै अतालिए पनि उनी मप्रति विश्वस्त थिइन । म भने भगवानप्रति ।

असन, इन्द्रचोका गल्ली प्रवेस गर्ने मेलामा मैले उनलार्इ भने -तिमीलार्इ डर लागेको भए गल्लीभित्र नजाउँ । केही भै हाल्यो भने तिम्रो मम्मी ड्याडीले जीबनभर मलार्इ सराप्नुहुने छ। उनले भनिन- ‘मलार्इ तपार्इप्रति विश्वास छ, अघि बढ्नुहोस म साथमा छु ।’ उनको त्यो भनार्इले मेरो अात्मवल अझ उँचो बनायो ।

अफिसमा आएर दिनभर खिचेका फोटोमध्येबाट केही फोटो जिम्मा लगाएँ । राति घर पुगेर खाना खाइसक्ने वित्तिकै फेरि भूकम्पको झड्का आयो । शरीर थकित भएकाले र पानी परिरहेकाले बाहिर ननिस्कने सोच बनाएँ । भाग्नलाई तयारी अवस्थामा बसेर ओछ्यानमा पल्टिएँ ।

Bhukumpa77मंगलबार बिहान उठ्दा शरीर अलि असहज भएको थियो । हल्का ज्वरो आएजस्तो । सायद खानपिन नमिलेर, पानीमा भिजेर र त्रासका कारण होला । अस्मिताले फोन गरेर अाफू गाउँ नेपालगञ्ज जान लागेको जानकारी गरार्इन । मैले सुभयात्रा र टेक केयर भने । उनले पनि भनिन् ।

खाना खाएर पशुपति आर्यघाट गएँ । भूकम्पबाट मृत्यु भएका कति शवहरु जलाइए ? भन्ने मेरो समाचारको विषय थियो । घाटका कार्यलाय सहायकले सूचना दिएअनुसार मंगलबार ११ बजेसम्म ४ सय शवहरु पशुपतिमा जलाइए । अफिस फर्किएँ । समाचार लेखेँ । त्यसपछि पनि भुकम्पसँग सम्बन्धित केही समाचारहरु लेखेँ । जीउ आलस्य भएको र पानी परेकाले मंगलबार भने अफिस बाहिर निस्किँन ।

वास्तवमा भन्नुपर्दा पत्रकारका हैसियतमा यस्तो जोखिम मैले आजसम्म मोलेको थिइँन । यसअघि मैले मोलेको जोखिम भनेको ०६२/०६३ को जनआन्दोलनमा मोलिएको थियो । त्यो मानव निर्मित जोखिम थियो, यो प्राकृतिक जोखिम । त्यहाँ लुकेर वा प्रहरीसँग आत्मासर्मपण गरेर बच्न सकिन्थ्यो । तर, अहिले बच्नका लागि खुल्ला ठाउँ चाहिन्थ्यो ।

यो महाविपत्तिबाट अहिलेसम्म ६१ हजार बढी घरमा क्षति भएको, करिब पाँच हजारले ज्यान गुमाएको र सयौं बेपत्ता भएको र हजारौं घाइते भएको गृहमन्त्रालयले जनाएको छ । भूकम्पले करिब एक करोड जनता प्रभावित भएका छन् । यो संख्या अझै बढ्ने सम्भावना छ । अहिले भत्किएका संरचना पुननिर्माण गर्न ४ खर्ब बढी लाग्ने अनुमान गरिएको छ । यो रकम झन्डै देशको एक वर्षको कूल बजेट जति हो ।

यो महाविपत्तिले हामी नेपालीलाई कम्तिमा १० वर्षपछि धकेलेको छ । यस अवधिको रिपोटिङका क्रममा जे-जस्ता कहालीलाग्दा र भावुक दृश्यहरु देखेँ, वास्तवमै त्यसले मलाई निकै भावुक बनाएको छ । यस्तो महाविपत्ति अब कहिल्यै नदोहोरिस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment