Comments Add Comment

कलाकार महोदय, कहाँ हुनुहुन्छ ? वास्तविक हिरो बन्ने अवसर नगुमाउनुस्

विजय आवाज

हाइटीमा गएको भूकम्पबाट एक लाख मान्छेले ज्यान गुमाउँदा हलिउडका चर्चित जोडी एन्जेलिना जोली र ब्राड पिटले १ मिलियन डलर सहयोग गरेका थिए । उनीहरुले सहयोगका लागि आफ्ना करोडौं फ्यानलाई आग्रह मात्रै गरेनन्, आफैं त्यसको नेतृत्व पनि गरे ।
Hari-Bansha
हाम्रो मातृभूमि नेपाल यतिबेला हाइटीको जस्तै पीडा भोगिरहेको छ । तर, दुःखको कुरा, जोअन्ना लुम्लेदेखि, सेलेना गोमेजसम्म सहयोगका लागि अग्रसर भइरहँदा नेपाली सेलिबि्रटीहरु भने रमिते बनेर बसिरहेका छन् ।

नेपाल र नेपालीको पीडा देखेर बलिउडदेखि हलिउडका कलाकारले अर्थ संकलनका लागि अग्रसरता देखाइरहँदा नेपाली कलाकार भने फेसबुकका भित्तामा सीमित देखिएका छन् ।

संसारभरका कलाकारसँग एउटा यस्तो शक्ति हुन्छ, जसले आम मानिसको ध्यान खिच्न सक्छन् र एउटा विशेष अभियान परिचालन गर्ने हैसियत राख्छन् ।

साहरुख खानलाई बीएमडब्लु गाडी र महंगो घरमा बसेकै कारण जनताले अटोग्राफ मागेका होइनन् । सलमान खानलाई चलचित्र खेलेको र ह्यान्डसम भएकै कारणले मात्रै दर्शकले पत्याएका होइनन् । बलिउडदेखि हलिउडका कलाकारको समाजसेवा र यसप्रतिको अग्रसरताले नै उनीहरु लोकप्रिय र सर्वस्वीकार्य भएका हुन्, समाजका हिरो भएका हुन् ।

देशमा आएको विपत्तिले जनता हायल-कायल भैरहेको समयमा नेपाली कलाकार र चलचित्रकर्मी फेसबुकका भित्तामा तस्बिर पोष्ट गर्न र सामान्य कुदाइलाई ठूलो काम गरेको देखाउँदै रमाइरहेका छन् । साँच्चै, एक सेलिब्रेटीले गर्ने काम यो मात्र हो र ?

यतिबेला पेरिसमा रहेका नायक राजेश हमालले आफू नेपाल फर्कदैछु भनेर लेखिएका स्टाटसभन्दा बाहेक अन्य कुनै चमत्कार गर्न सकेका छैनन् । उनले पेरिसमा रहेका नेपाली र दुतावासको अग्रसरतामा केही रकम जम्मा भएको जानकारी फेसबुकमा दिएका छन् ।

हमाल नेपाली समाजका यस्ता कलाकार हुन्, जसलाई हामीले ‘महानायक’ भनेर उपाधि दिएका छौं । कम्तिमा नेपाली समाजले यस्तो विपत्तिका बेला ‘महानायक’बाट यस्तो लाचारी हैन, महान कार्यको अपेक्षा गरेको थियो ।

कलाकारले कसरी सहयोग गर्न सक्छन् ?

कम्तिमा राजेश हमालले यस्तोबेला आफ्नो तर्फबाट केही रकम घोषणा गर्दै त्यसमा साथ दिन आफ्ना फ्यानलाई आह्वान गर्न सक्थे । पैसा जुटाउन उनका लागि त्यति ठूलो कुरा किन पनि हैन भने केही कार्यक्रममा उनी निःशुल्क पुगिदिए मात्रै पनि हुन्छ । उनी जहाँ पुग्छन्, त्यहाँ केही लाख रुपैयाँ जम्मा गर्न कुनै समस्या छैन ।

तर, हमाल यतिबेला आफ्नो टिकट फेर्न नमिलेकाले ७ मेमा मात्रै नेपाल र्फकदैछु भनेर स्टाटस लेखेर लाचारी देखाइरहेका छन् ।

त्यतिमात्र हैन, दर्शकलाई हँसाउन उद्यम भएका धेरै कलाकारले अहिले राम्रै लोकपि्रयता पाइरहेका छन् । उनीहरु नेपाली जनमानसमा स्थापित छन् । तर, त्यस्ता स्थापित हास्य कलाकारहरु जसको कुरा दुनियाँले पत्याउँछ, जसले दिएको सन्देश सबैले सुन्छन्, ती चर्चित हास्य कलाकारहरु नेपाली जनतालाई सहानुभूति दिने बेलामा कता गएका होलान् ?

चलचित्रले लाखौं रुपैयाँ कमायो भनेर मिडियामा खोक्ने निर्माता र मेरो पारिश्रमिक लाखाैं छ भनेर छाती फुलाउने चलचित्रकर्मीहरु यतिबेला पीडित जनताभन्दा मुर्छित छन्, उनीहरुले आफ्नो हिरोइज्म देखाउन चुकिरहेका छन् ।

नेपाल कलाकार संघले गोंगबु बसपार्कमा आज सरसफाइ कार्यक्रम गरेर नाक बचाउने काम मात्र गर्दैछ । तर, दर्शकले सर्वाधीक धेरै पत्याउने कलाकारको जिम्मेवारी सामान्य कामभन्दा पनि नेतृत्व लिनु हो, जुनमा हाम्रा कलाकार धेरै पछाडि परेका छन् । यहाँ पनि विदेशी कलाकारको दवदबा कम गर्न हाम्रा कलाकर्मी चुके ।

नेपालमा दर्जन बढी यस्ता कलाकार छन् जसले चलचित्र, गीत, स्टेज कार्यक्रमबाट लाखौं रकम कमाउँछन् । उनीहरु वर्षभर सर्वाधीक व्यस्त भएको बताउँछन् । तर, उनीहरुको व्यस्तताको प्रतिफल देशले ठूलो विपत्त भोग्दा पाएको छैन ।

नेपालभन्दा विदेशमा धेरै बस्ने कलाकारले आफ्नो प्रस्तुतिलाई निःशुल्क बनाएर, नेपाल पीडितहरुलाई सहयोग गर्ने गरी च्यारिटी कार्यक्रम आयोजना गरेर वा आफ्नो खल्तीबाट केही रकम सहयोग गरेर पनि यो राष्ट्रिय दुःखमा सहभागी हुन सक्छन् ।

थुप्रै चलेका लोकगायकहरुले यस्तो दुःखका बेला सन्देशमूलक गीत, सीआरवीटी वा भिडियो सन्देशहरु तयार गरेर धनी र हुनेखानेहरुलाई केही रकम दान दिन प्रेरित गर्न सक्छन् । जनस्वास्थ्यसँग सम्बन्धित विभिन्न सन्देशमूलक सामाग्री बनाई पीडितलाई सचेत बनाउन सक्छन्, सरसफाइ, उद्दार वा पुनः निर्माण अभियानको नेतृत्व गर्न सक्छन् ।

कसले के गरे ?

सानो रुपमा नै सही, केही कलाकारले भने यो विपतमा आफूलाई विभिन्न तवरले सक्रिय बनाएको देखिन्छ । कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले सिन्धुपाल्चोकको चौताराका भूकम्प पीडितका लागि विभिन्न राहत सामाग्री हस्तान्तरण गरेका छन् ।

महसञ्चार र सीएनआइद्वारा स्थापित नागरिक राहत कोष मार्फत उनीहरुले ४० हजार प्याकेट चाउचाउ, ७९ थान पाल, ८० थान माटे्रस्स, ३ सय थान बाक्लो ब्लान्केट, ५ सय थान पातलो ब्ल्यान्केट, १५० काटूर्न मिनिरल वाटर, २५० केजीका ५ बोरा साता र विभिन्न सामाग्री सीडीओ र नेपाली सेनालाई हस्तान्तरण गरेका छन् ।

नायिका प्रियंका कार्कीले पनि यो आपत्तमा केही जागरुकता देखाएकी छिन्, उनी स्वयंसेवी बनेर बीर अस्पतालमा खटिएकी छिन भने यस्तै अभियानका लागि काभ्रे जान लागेकी छिन् । उनले न्यानो संसार नामक संस्थामार्फत् नुवाकोटका लागि पठाउन तयारी गरेको चिउरा, पानी, औषधी त्यता पठाउन सहयोग गरेको बताएकी छिन् । उनले आफ्नो क्षमताले जे जति सहयोग गर्न सकिन्छ, त्यति गर्न सबैलाई अपीलसमेत गरेकी छिन् ।

नायिका रेखा थापा हातमा क्यामेरा बोकेर काठमाण्डौका विभिन्न स्थानमा घुमिरहेकी छिन् । वीर अस्पतालमा रहेका घाइतेहरुलाई उनले भेटेर शान्त्वना दिएकी छिन् । पशुपति आर्यघाटमा आर्थिक अभावका कारण दाहासंकार नभएका शवलाई नायिका रेखा थापा र निर्देशक हिमग्याप टाँसीले मिलेर आर्थिक सहयोग गरेका छन् । उनीहरुको सहयोगमा दर्जन शवको दाहासंकार भएको छ ।

नायिका केकी अधिकारी पनि भूकम्प पीडितको राहतका लागि खटिएकी छिन् । उनले विभिन्न ठाउँमा पीडित भएकाहरुलाई सहयोगका लागि अपील गर्दै आफ्नो फेसबुकमार्फत राहत संकलन गर्न आग्रह गरेकी छिन् । नायिका निशा अधिकारी पनि यो महाविपतमा अगस्रर देखिएकी छिन् ।

कलाकारले चाहने हो भने सरकारको मात्र मुख ताकिरहनु पर्दैन । तर, नेपालमा हुने गरेका यस्ता विपतीमा कलाकारको भूमिका निश्क्रिय देखिन्छ । केही कलाकारले विभिन्न तवरले सहयोग गरे पनि वर्षमा ३५ करोड लगानी हुने चलचित्र क्षेत्र भने निश्क्रिय देखिन्छ । यसैले, समय बितेको छैन । कलाकारहरु र विभिन्न संघसंस्था मिलेर व्यवस्थित नेतृत्व लिने काम गरौं ।

समाजमा स्थापित हुने, समाजको वास्तविक हिरो बन्ने यस्तो अवसर नेपाली कलारकारहरुले खेर नफालौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment