Comments Add Comment

सरकारसँग जनताको विश्वास गुमेको छ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला यतिबेला आफ्नै पार्टीले नेतृत्व गरेको सरकारसँग सन्तुष्ट छैनन् । सरकारको कामप्रति सन्तुष्ट नभएकैले उनी प्रधानमन्त्री राहत कोषमा सहयोग जुटाउनुको साटो आफ्नै व्यक्तिगत पहलमा भूकम्पपीडितलाई सहयोग जुटाउनेतिर लागेका छन् ।

सरकारले संघसंस्थाहरुलाई छुट्टै राहत संकलन गर्न नदिने र आफ्नै नियन्त्रणमा काम गर्ने निर्णय गरेको छ नि भन्ने प्रश्नमा कोइरालाले भने- ‘यो त एकदमै गलत डिसिजन सरकारले गरेको छ । अहिले सरकारसँग जनताको विश्वास गुमेको छ ।’

डा. कोइरालाले भीआइपीहरु हेलिकोप्टर चढेर हिँडेकोमा आफूलाई दुख लागेको बताए । ‘अस्ति मलाई पनि चित्त दुख्यो, बाबुराम भट्टराईजी घुम्नलाई गोरखा जानुभयो,’ कोइरलाले अनलाइनखबरसँगको अन्तरवार्तामा भने-‘अर्थमन्त्रीले सरकारको कोषको किन दुरुपयोग गर्नुभयो भनेर लेख्नुस् न ।’

sekher-koirala-1

तपाईहरुजस्ता सभासद, सरकार र दलका नेताहरुप्रति यतिबेला जनतामा तीब्र आक्रोश बढेको तपाईलाई थाहा छ ?

– नेताहरुप्रति पक्कै पनि जनताको आक्रोश बढेको छ । नेताहरुको पनि यसमा लिमिटेशन हुन्छ । आक्रोश छ, जनतामा आक्रोश हुनु पनि स्वभाविक हो । घर भत्किएको छ, मानिसहरु मरेका छन्, थुप्रै घाइते छन् । हामीले मलमपट्टी लगाउन सकेनौं भने त गाह्रो हुन्छ । हामीले तुरुन्तै राहत दिन सक्नुपर्‍यो । राहत कहाँबाट ल्याउने भन्ने उनीहरुले बुझ्दैनन् । बुझ्ने कुरा पनि भएन । पानी, खाने सामान, टेन्ट, बस्ने ठाउँ चाहियो । भएको छैन, म भन्दिँन । यस्तोखाले म्याग्नेच्युटलाई नेपाल सरकारले गर्न सक्ने क्षमता नै छैन ।

सरकार आफू पनि काम गर्दैन, अरुलाई पनि काम गर्न दिँदैन भन्ने गैर सरकारी क्षेत्रको गुनासो छ । जस्तो- संघ संस्थाहरुले राहत संकलनका लागि बैंक खाता खोलेका छन् भने सिधै ‘इयरमार्क’ गरेर आफ्नो नियन्त्रणमा लिने मन्त्रिपरिषदले निर्णय गरेको छ, तपाईलाई यो निर्णय कस्तो लाग्यो ?

– यो त एकदमै गलत डिसिजन सरकारले गरेको छ । त्यसमा हामीले भन्न डराउनुपर्दैन । सरकारको गलत डिसिजन छ । अहिले सरकारसँग जनताको विश्वास गुमेको छ । अहिले सरकारले विश्वास कमाउने बेला हो ।

सरकारले विश्वास कमाउने बेलामा यस्तो गर्दाखेरि पैसा उठाएका एनजीओ/आईएनजीओको पैसा सरकारको खातामा नजाओस् भन्ने उनीहरुको देखिन्छ । सरकारले के गर्न सक्नुपर्छ भने जुन पैसा एनजीओ आएनजीओको खातामा आउँछ, त्यो पैसा सही ठाउँमा प्रयोग भएको छ कि छैन ? त्यो पैसा कहाँ पठाउने, के गर्ने भन्ने कुरा सरकारले रेगुलेसन गर्नुपर्‍यो ।

जस्तै मैले सिन्धुपाल्चोकको तातोपानीमा मैले काम गर्न खोजेँ भने सरकारले भन्नसक्छ र भन्नु पनि पर्छ कि तातोपानीमा मानिसहरु गइ सके, संस्थाहरु गइसकेका छन्, त्यसैले तपाईँ अर्को ठाउँ जानुस् । तर, तैँले सहयोगै गर्न पाउँदैनस् भन्नचाँहि मिल्दैन । त्यसैले यो गलत निर्णय हो भन्छु मैले ।

नेताहरु यतिबेला के गर्दैछन् भन्ने जनतालाई थाहा छैन, तपाई आफूले चाँहि भूकम्पपीडितका लागि के गर्दैहुनुहुन्छ ?

– मैले केही सहयोगहरु गर्दैछु । ठूलो सहयोग गर्न सकेको छैन । अहिलेको ठूलो विपतमा सानो सहयोगको के कुरा भयो र । ओखलढुंगामा केही सहयोग गरें, नवीन्द्रराज जोशीको क्षेत्रमा अलिकति गरेँ । केही सहयोग सिन्धुपाल्चोक पठाउँदैछु । हुँदै जान्छ । कतैकतै, जे गर्न सकिन्छ, हरेकले अलिअलि गर्ने त हो । केही गर्दै गर्‍यौँ भने थोरै भए पनि राहत हुन्छ कि भन्ने न हो ।

मैले अहिलेसम्म संकलन गरेको साढे सात हजार प्याकेट चाउचाउहरु पठाइसकेको छु । अझै अलिकता मसँग बाँकी छ । साढे सात हजारजति प्याकेट मैले भोलि सिन्धुपाल्चोक पठाउँछु । दुई सयजति त्रिपालहरु छन् । त्यसलाई कता कता दिने भन्ने अन्योल छ । धादिङमा पनि र जताततै चाहिएको छ ।

तपाईँले तलबबाट पनि केही सहयोगको घोषणा गर्नुभयो कि ?

संसदको तलबबाट हामी सभासदले एक महिनाको सहयोग गर्ने घोषणा गरिसकेका छौं । अरु सहयोगको कुरा केन्द्रीय समिति बैठक बसेर गर्छौं ।

सहयोगका लागि कांग्रेसको संस्थापक भूमिकाचाहिँ के रह्यो ? सरकारको भूमिका प्रभावकारी भएन भन्ने सुनिन्छ नि ?

– सरकारको भूमिका त भइ नै रहेको छ । सरकारले कोशिश गर्दैछ । तर, जतिसुकै गरे पनि कमै हुन्छ । सरकारले अहिले पुर्‍याउने भनेको अरु कुरा केही पनि होइन, विभिन्न संघ/संस्थाहरुलाई भनिकन पीडितलाई खान दिनुपर्‍यो । अरुसँग माग्नुहुँदैन भन्ने लाग्छ मलाई । डुप्लिकेशन र वर्क नभएर समस्या भएको छ । अहिले तत्काल त्रिपाल र खानाको आवश्यक छ ।

तपाईको पार्टीले संस्थापक रुपमा अहिलेसम्म केही गरेको छैन त ?

पार्टीको संस्थागत हिसाबले हामीले गरेका छैनौं । हामी सबै अनुगमनमै लागिराखेका छौं । त्यसरी संस्थागतरुपमा अहिले पार्टीले गरेको छैन । अब फेरि केन्द्रीय समितिको बैठक बसेर हामीले गर्नुपर्छ ।

यतिबेला एनआरएन लगायतका संस्थाहरुले पीडितलाई सहयोग गर्न खोजेको देखिन्छ । तर, सरकारले हेलिकोप्टर होल्ड गरेर राखिदिने, सामानहरु लैजान नदिने जस्ता गुनासा सुनिन्छन् सरकारले यस्तो किन गरेको ?

– निजी हेलिकोप्टरहरु त अहिले यस्तो संकटग्रस्त अवस्थामा होल्ड गर्नैपर्छ । अस्ति मलाई पनि चित्त दुख्यो, बाबुराम भट्टराईजी घुम्नलाई गोरखा जानुभयो । अहिले हेलिकोप्टरबाट अवलोकन गर्ने बेला होइन । अहिले त रेस्क्यू गर्ने बेला हो । जसको हेलिकोप्टर छ, उसले रेस्क्यू गर्ने हो नि । अहिले भीआईपीहरु हेलिकोप्टर चढ्ने बेला होइन ।

तर, चीनकाजी श्रेष्ठ र कमला पन्तले हेलिकोप्टर प्रयोग गरेर गोरखाबाट कांग्रेस कार्यकर्ता मात्रै ल्याउनुभयो रे, माओवादी कार्यकर्तालाई त्यतिकै छाडेकाले मरे भन्ने गुनासो छ नि एमाओवादी नेताको ?

– त्यस्तो भएको हो भने त गलत हो । मलाई त्यो थाहा छैन । तर, हेलिकोप्टर मन्त्रीे, सभासद कसैले पनि प्रयोग गर्नुहुँदैन । जनतालाई उद्दार गरेर निकाल्ने काम गर्नु नै महत्वपूर्ण कुरा हो ।

अर्थमन्त्री डा. रामशरण महत पनि नुवाकोटमा हेलिकोप्टरै लिएर पुगेको सुनियो…

– अर्थमन्त्रीले त्यसरी चढेको हो भने पनि त गलत गर्नुभयो भन्दै छु त म । भोलि प्रधानमन्त्रीले चढेर जानुहुन्छ भने त्यो पनि गलत हो । अहिले हेलिकोप्टर जनतालाई जरुरत छ । अर्थमन्त्रीलाई जरुरत छैन । प्रधानमन्त्रीलाई जरुरत छैन, बाबुरामजीलाई जरुरत छैन । हामीलाई जरुरत छैन । गलत गरेकालाई त हामीले भन्न सक्नुपर्‍यो नि । अर्थमन्त्रीले सरकारको कोषको किन दुरुपयोग गर्नुभयो भनेर लेख्नुस् न ।

निजी क्षेत्रले इण्डियाबाट हेलिकोप्टर ल्यायो भने त्यो आफ्नो कुरा हो । तर, यहाँको हेलिकोप्टर निजी क्षेत्रले चढ्न पाउँदैनन् । त्यही कारणले नै त संकटग्रस्त लगाएको नि त ।

विदेशीले सहयोग गर्छुभन्दा पनि एयरपोर्ट खाली छैन भनेर फर्काइयो भन्ने सुनिन्छ नि ?

– विदेशीहरुले जुन सहयोग गर्छु भन्या छ, तर केखाले सहयोग हो ? के कति क्षति भएको छ भन्ने कुरा उहाँहरुले लेखाजोखा गर्नुपर्छ । विदेशीहरुले गर्नुभएको छ, हामीहरुले पनि हाम्रो क्षमता देखाउनुपर्यो । हामीहरु खाना त दिन सक्छौं भन्नुपर्‍यो । हामी पनि त्रिपाल, टेन्टहरु दिनसक्छौं भन्नुपर्‍यो ।

भूकम्पले गर्दा देशको विकास अब पछि परेको हो ?

– विकासका कुराहरुलाई दुई चार वर्ष धकेलदिनुपर्छ । अहिले पुनःनिर्माण, पुनःस्थापनामा ध्यान दिनुपर्छ । उद्दार त लगभग सकिइसक्यो भने पनि हुन्छ । उद्दारको काम भइरहेको छ, तर टाइम सकिसक्यो । रिलिफ दिने कुरा हो । रिलिफ दिने भनेको सेल्टर दिनुपर्‍यो, टेन्ट दिनुपर्‍यो ।

बस्न लायक नै नभएका घरहरु छन् भने उनीहरुलाई एक वर्षसम्म बस्ने हिसावले टेन्टहरु त बनाइदिनुपर्‍यो नि । वर्षाको बेला आउन थाल्यो, यो काम त सरकारको हो नि । मैले कहाँबाट गर्ने भनेर सरकारले टक्टकिनु पर्दैन । विदेशीसँग यस्ता कुरा माग्ने होइन । हामी नेपालीले नै गर्न सक्नुपर्‍यो, नेपाल सरकारले नै गर्न सक्नु पर्‍यो । खाना खुवाउन सक्नुपर्‍यो नि । हामी यस्तो कुरामा विदेशीको भर पर्नु हुँदैन ।

पुनःस्थापना र पुनःनिर्माणका लागि मात्रै विदेशीको भर पर्ने हो । त्यस्ता कुरामा विदेशीहरुको सहयोग चाहिन्छ । उहाँहरुले अहिले पनि गर्नुभएको छ । तर, हामी नेपालीहरुले अझ बढी गर्नुपर्‍यो ।

अहिले नेपालमा आएका विदेशीको भूमिकामाथि पनि प्रश्न उठन् थालेको छ । जस्तै, हाम्रोजस्तो देशमा पाकिस्तानले बिफको मसला ल्यायो भनेर भारतीय मिडियाले सनसनी फैलाएको तपाईले सुन्नुभयो ?

– पाकिस्तानी पठाएको राहतमा केही प्याकेटहरु बिफ पर्‍यो । जानेर पारेको होइन, पाकिस्तानीले । त्यो बुझ्नुपर्छ, उनीहरु पनि सेन्सेटिभ छन् । यसलाई इण्डियाको मिडियाले उचाल्ने काम गर्‍यो । यो गलत भयो । यसो गर्नु हुँदैनथ्यो ।

यसमा सरकारले निगरानी गर्नुपर्दैनथ्यो ?

सरकारले हटाइसकेको थियो । बिफ मसला एउटाले पनि पाएको थिएन, हामीले गएर अनुगमन पनि गरिसक्यौं ।

यस्तो प्रचार गर्ने विदेशीहरुलाई नेपाल सरकारले केही गर्न सक्दैन ?

– यस्ता गलत कुरामा सरकारले पनि कन्ट्रोल गर्नुपर्‍यो ।

चीनको सीमानातिर भारतले विमान उडाएको चिनियाँ गुनासो सुनिन्छ, यसमा हाम्रो सरकार चुकेको हो ?

– जहाज उडाएको भन्ने कुरा मैले सुनेको हो । त्यो त एउटाले अर्कोलाई भन्छ, अर्कोले अर्कोलाई भन्छ । त्योचाँहि म भन्न सक्दिँन ।

यो विपतिका बेलामा काठमाडौबाट धेरै मान्छे घर फर्किए । पीडित क्षेत्रमा जाने, उद्दार कार्यमा जुट्ने कार्यतिर नलागेर घर जाने र रमिते बन्ने मात्रै देखिए । के युवापुस्तामा संवेदनशीलताको कमी भएको हो ?

– मलाई पनि त्यस्तो लागेको थियो । तर, युवा पुस्ताप्रति म खुशी के भएँ भने युवाहरुले जुन भोलिन्टियर कामहरु गरिरहेका छन्, त्यो स्रहानीय छ । अहिले सरसफाइको काम निकै महत्वपूर्ण छ । सडकहरुमा पनि सफाइका कामहरु भएका छन्, त्यसले निकै राम्रो काम गरेको छ । युवाहरुले नगरेको चाँही होइन । अस्पतालमा भोलिन्टियरहरु चाहिँदाखेरि युवाहरुले गएर काम गरिरहेको मैले देखेको छु । मेरी छोरीले पनि भोलेन्टियर गरिरहेकी छन् ।

भूकम्पपछिको काठमाडौंलाई हेर्दा तपाईलाई कस्तो लाग्यो ? काठमाडौं शहर बलियो रहेछ कि कमजोर ?

– होइन, होइन । काठमाडौको हाइलाइटिङ लुकिङ सेट पनि त गएको छ नि । ७.९ रेक्टर स्केलको भूकम्पले धेरै क्षति होला भन्ने मलाई पनि लागेको थियो । तर, क्षति त भएकै छ । घरहरु भत्किए, भत्किएका घरहरुको त क्षति भयो नि त विचराहरुको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment