Comments Add Comment

उपरखुट्टी लगाएर सरकारलाई गाली नगरौं

सुमन लम्साल, जर्मनी

शनिबारको मध्य दिन धरहराबाट कोही एकाएक भुँइमा खस्यो । कहाँ दुख्यो बताउन सक्ने कुनै ठाउँ थिएन । अझ भनौं, जिउँदो छ भन्ने प्रमाणका लागि पनि थिचिनबाट जोगिएका खुट्टाहरु छाम्नुपर्ने अवस्था थियो । त्यो अरु कोही नभएर मेरो देश थियो ।

darahara (4)

उसै पनि रोग लागेर धोद्रो भएको मेरो देश अचानक त्यति माथिबाट भुँइमा पछारिन पुग्यो । पीडाको आजसम्म पनि कसैले अनुमान लगाउन सकेको छैन । ७/८ म्याग्निज्युडमा आएको सिस्मिक वेभले करोडौं म्याग्निच्युडको दुःखका तरंगहरु छोडेर गयो । जुन मेरो देशको भारवहन भन्दा ज्यादै बाहिरको थियो ।

यो दुखका बेला धेरै साहित्य मिसाएर म यहाँहरुलाई अझ बढी दुखी बनाउन चाहदिँन । यो बेला कसैको मन दुखाउन साहित्य जरुरी नै छैन । आजसम्म कतैबाट पनि भूकम्पको एकिन विवरण प्राप्त भएको छैन । र, लाग्छ यो विवरण आउन अझै केही महिना लाग्नेछ ।

वर्षौं अगाडि निस्क्रिय बनिसकेको स्थानीय निकाय र आफ्नै उद्दार गर्न नसकेको केन्ऽको कारण पनि यसको बिस्तृत विवरण लम्बिने आँकलन गर्न सकिन्छ । विवरण जे सुकै होस् यो कुराचाँहि पक्का हो, वास्तविक क्षती सरकारले अहिले दिएको तथ्यांक भन्दा धेरै बढी भएको छ ।

यो विपतका बेला धेरै घरबारबिहीन भएकाहरु अहिले सडकमा छन् । घर भएकाहरु पनि मरिने डरले सडक, चौरतिरै छन् । अहिले चिन्ता घरबारविहीन भएकाहरुसँगै घरबारविहीन नभएकाहरुको पनि गर्नुपर्ने बेला भएको छ । जो किस्ता किस्तामा मृत्युसँग लडिरहेछ छन् ।

जाजरकोटमा २६ जनाको मृत्यु हुँदा पनि जोगाउन नसक्ने प्राबिधिक अबस्था बोकेर बाँचेको हाम्रो सरकारलाई अहिले यो माहाबिपत्ति उसको क्षमता भन्दा धेरै बाहिरको कुरा हो । यस्तो अबस्था भएको सरकारको आश र भरोशा गरेर बस्नु बीरबलको खिचडी पकाइ भन्दा कम हुँदैन । देशको यो विषम परिस्थितिमा देशमा बाँचेका प्रत्येक नागरिकहरु सरकार हुन् । देशको नागरिकता भएका प्रत्येक ब्यक्ति सुरक्षाकर्मी हुन् भन्ने कुरा भुल्नु हुँदैन । घरमा आनन्दसँग खुट्टा खापेर सरकारलाई धारे हात लगाउनेहरुको अहिले ज्यादै बिगबिगी बढेको देखिन्छ । उनीहरुले त्योभन्दा अगाडि आफू पनि सरकार नै भएको कुरा भुल्नुहुँदैन ।

फोटो खिच्नका लागि र सरकारलाई गाली गर्नकै लागि २/४ वटा कम्मल बाँडेर गमक्क पर्नेहरु पनि प्रशस्तै छन् । देशका चर्चित लेखकहरु त घाइतेहरुको शरीरमाथि कुल्चदै कुल्चँदै सरकार खोज्न झण्डा बोकेर बालुवाटार पनि पुगेछन् ।उनीहरुमाथि अहिले दयाभन्दा बढी केही गर्न सक्ने अवस्था छैन ।

मेरो सरकारको तल्लो तहसँग कुनै गुनासो छैन । तर, माथिल्लो मन्त्री तहका नेताहरु बोल्दा भने अलि विचार पुर्‍याउनु हुन अनुरोध छ । गृहमन्त्री लगायत उच्च ओहोदाका मन्त्रीहरु जनतासामु प्रस्तुत हुँदा रीस र आवेगभन्दा पनि नरम र सहज ढंगबाट प्रस्तुत हुन जरुरी छ । उहाँहरुको सानो साहनुभूतिको शब्दले पनि घाउ शीतल हुन सक्छ । अहिले पहिलो चरणको सरकारले क्रमश यसरी उद्दारको प्रक्रिया अगाडि बढाउनु पर्छ भन्ने मेरो धारणा हो ।

१. सबै भन्दा पहिला आधा सास लिएर कसैको हातको प्रतीक्षामा बसेका घाइतेहरुको उद्दार महत्वपूर्ण हुन्छ ।

२. बिस्तारै घाइतेको उद्दारसँगसँगै शवहरुको खोजतलास गरेर दाहासंस्कार गरिनुपर्छ, जसले गर्दा महामारी निम्त्याउनबाट जोगाउन सकिन्छ ।

३. बाँचेर पनि मरेको अनुभव गरिरहेका प्रत्येक नागरिकको गास बास र कपासका लागि विभिन्न योजनाहरु ल्याइनुपर्छ । जसअन्तर्गत त्रिपाल, खानेपानी र शौचालय प्रथामिकतामा राख्दा महामारी नियन्त्रणमा ठूलो सकारात्मक असर पुग्ने गर्दछ ।

४. माथिका सबै कुरा पूर्ण भइसकेपछि पुर्नवास र पुनःनिर्माणका प्रक्रियाहरु अगाडि बढाउन आवश्यक छ । यो सरकारले गर्न सक्ने कामको क्रमागत सूची भयो । यसबीच सरकारको प्रत्येक कदम सँगसँगै हामीहरु पनि अगाडि बढ्नुपर्ने हाम्रो दायित्व हो । सरकारले सिन्धुपाल्चोकमा घाइते उद्दार गर्दै गर्दा काठमाडौं खानादेखि प्रत्येक कुराको वितरण हामीहरु समानान्तर रुपमा पनि गर्न सक्छौं ।

यो के गर्नु पर्ने भन्ने कुराको सामान्य आंकलन भयो अब के भैराखेको छ भन्ने कुरातिर जाउँ ।

अरुबेला जे भए पनि यो विपतको घडीमा सरकारलाई गाली र नारा बाजी गरेर बस्नु एउटा नालाकीपनको हदभन्दा बढी मचाँहि अरु केही देख्दिँन । अहिले सरकारलेआफूले सकेको गरेको नै छ । यो अहिलेको बिपत्ति हाम्रो सरकारको क्षमताभन्दा धेरै बाहिरको भएको कारण हामीले सरकारको एकदम कम अनुभूति गरिरहेका छौं ।

सरकारले काम नै नगरी निदाएर बस्यो भन्नु मूर्खता शिवाय अरु केही हुन सक्दैन । धेरै विकटका गाउँहरुमा हाम्रो क्षमताभन्दा बाहिर भएका कारण नै सहयोग पुगेको छैन । तर, हामी खुशी हुन सक्ने थुप्रै कारणहरु पनि बनेका छन् ।

गोरखाका धेरै सरकारी अधिकारीहरु नपुगेको गाउँहरुमा पनि अन्य ठाँउबाट सिर्जनशील युवाहरु पुगेर राहत वितरण गरेका खबरहरु आइरहेका छन् । यसकारण केही भएकै छैन, सरकारले केही गरेन भन्ने जस्ता नकारात्मक समाचारहरु फैलाउँदा हाम्रा अनलाइन समाचारहरुको पाठक त बढ्लान, तर त्यसले दिएको असर कदापी सकारात्मक हुन् सक्दैन । समाचार दिनु उनीहरुको कर्तब्य हो, तर अतिरन्जित गरेर दुखमाथि दुख थपिदिनु एउटा अत्याचार हो । यहाँबाट पनि एउटा भूकम्पको परकम्पन महसुस गर्न सकिन्छ ।

जहाँसम्म बिदेशी सहयोग अस्वीकृतिको कुरा छ, पहिलो कुरा त हामीसँग एउटा मात्र अन्तराष्ट्रिय विमानस्थल छ । त्यसकारण पनि ब्यबस्थापन गर्न गाह्रो परिरहेको छ । दोश्रो कुरा, यतिबेला अरु सामाग्रीभन्दा पनि देशमा उद्दार गर्न सक्ने जनशक्ति र ट्रान्सपोर्टको साधन बढी चाहिएको छ, यसकारण अनावश्यक पुनर्संरचनाको सामानलाई अहिले मगाउनु आवश्यक छैन । पहिला मान्छे बच्यो भने न घर चाहिने हो । त्यस्तै प्रतिकूल हावापानीका बीच रहन गाह्रो पर्ने उद्दार टोली पर्‍यो भने उद्दार उसैको गर्नुपर्ने आवश्यक हुन्छ ।

विपतका बेला हाम्रा पुराना पुरातात्विक र बहुमूल्य संरचनाका अवशेषहरु जहाँ त्यहीँ छरिएका छन् । सहयोगीका रुपमा आएका जो कोहीबाट ती हाम्रा सम्पतिमाथि गिद्दे नजर लाग्ने सम्भावनाका कारण पनि बिदेशी सहयोग नियन्त्रण जरुरी छ । अहिले भावनामा बगेर सबैलाई छोड्दा भोलि यो भन्दा ठूलो अर्काे भुइँचालो नजाला भन्न सकिँदैन ।

सहयोग गर्ने क्रममा व्यक्तिभन्दा बढी संस्थागत हिसाबका सहयोगहरु बढी प्रभावकारी हुन्छन् त्यो स्वाभाविक हो । केही विश्लेषकहरुले दलहरुलाई आफ्ना जत्था तयार गरेर संगठित हुन आह्वान पनि गर्नुभएको छ । तर, मलाई यो अलिक अप्ठेरो महसुस भैराखेको छ । भोलि यही कारण राहत र सहयोगमा पनि राजनीति सुरु भएर, यो फलानो पार्टीको मान्छे, त्यसलाई उसैले सहयोग गर्छ भन्नेखालको परिस्थिति आयो भने सायद त्यो भूकम्प आएको भन्दा बढी नमीठो क्षण बन्न सक्छ । त्यसकारण पनि संगठित हुँदा कुनै जात धर्म र दल विशेष भन्दा पनि मानवताको नाताले एउटा सहयोगी संगठन विशेष भयो भने राहत प्रभावकारी हुन्थ्यो कि भन्ने मेरो अनुमान हो ।

जस्तो, रेडक्रस, स्काउट जस्ता संस्थाहरुबाट वा आफ्नै कुनै सहयोगी संस्थाको नाम राखेर संगठित हुन् सकियो भने त्यो प्रभावकारी हुनसक्छ होला ।
अहिले हामी चरम संक्रमणकालीन अवस्थामा गुज्रिरहेका छौं । रेडक्रसले सित्तैमा बाँडेको, टीन ब्यापारीहरुले पैसा लिएर दिएको, १५ को चाउचाउलाई ५० भनेको, भाडामा अत्यधिक महंगी गरेको र घर फोरेर चोरी गरेको खबरले यो आलो घाउमाथि नुनचुक छर्ने काम गरेको छ । यस्तो सुन्दा लाग्छ, मेरो देशबाट मानवता पनि भुइँचालो सँगसँगै लागेछ ।

यो विपतको घडीमा यसरी धेरै मानवता गिरेका मूर्दा आत्माहरु भडि्कने प्रवल सम्भावना हुन्छ । स्थानीयस्तरमा यस्ता साना दोषी आत्माहरु सक्रिय हुन्छन् भने माथिल्लो निकायमा ठूलाखाले दोषी आत्माहरु सक्रिय हुन्छन् जसले आधा बिदेशी राहत आफ्नो भुँडीमा फिल्टर गरेर मात्र बाँकी अरु निकाल्ने गर्छन् । यहाँ त्यस्ता दोषी आत्माहरु धेरै छन्, जो हिजोबाटै कसैको रगत चुसेर आफ्नो बोसो बढाइरहेका छन् ।

एउटा भुइँचालो गइसकेको अवस्थामा अब हामी जोगिनुपर्ने यस्ता दुष्ट आत्माहरुको अर्को महाभुइचालोबाट हो । यसका लागि सरकारले राहत वितरणको एउटा संयन्त्र बनाउनु पर्छ र प्रत्येक वितरण प्रक्रियाको हरहिसाब राख्नु आबश्यक छ । यदि कसैले अनिमितता गरेको पाइएमा उसलाई गोली हानेर भूकम्पले मर्नेहरुको सुचिमा नाम चदाउँदा पनि कम्तिमा पाप लाग्दैन ।

अन्त्यमा, यसरी एउटा महाभूकम्प गइसके पछाडि देशमा त्यसको पराकम्पन सँगसँगै अरु क्षेत्रमा पनि भूकम्प गइरहने सम्भावना धेरै हुन्छ । ढुङ्गामाटोका घरहरुमा गएको भूकम्पले दुखाउन छुटेका ठाँउहरु आस्थाको घरमा जाने राहतको भूकम्पले दुखाउन नपरोस् । मैले देशसँग अहिले राखेको सबैभन्दा ठूलो आशा यही नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment