Comments Add Comment

बिरामी भन्छन्- औषधि किन्दा फेरि ढाड भाँचियो

reman bala

मात्रिका पौडेल
२० वैशाख, काठमाडौं । वसन्तपुरमा घरले थिचिएका रेमन बाला दुईपटक जिउँदै मरिसके । विनाशकारी भूकम्पले बसन्तपुर दरबार भत्काएर पुरेपछि उनले वैशाख १२ गते त्यहाँबाट पुनर्जीवन पाएका थिए । जिउँदै मरेतूल्य भएका उनलाई उद्दार गरिँदाको यो पीडादायी तस्वीर अनलाइनखबरले घटनास्थलमै पुगेर खिचेको थियो ।

तत्कालै वीर अस्पताल लगिएपछि उनले जीवन जिउने सपना साँचेकै हुन् । तर, भूकम्पपछिको विनाशले दुबै खुट्टा र शरीरको तल्लो भाग कामै नलाग्ने भइसकेका रेमन अस्पतालमै फेरि जिउँदै मरेतूल्य भएका छन् । तर, शरीर अपांग भयो भन्ने पीरले मात्रै होइन, महँगो औषधि किन्ने पैसा नभएर हो ।

लागू भएन निशुल्क उपचार

सरकारले भूकम्पमा परी घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने भनेको छ । देशभरका सबै अस्पताललाई लागु हुने यो नियम सरकारी अस्पतालमै लागु नभएपछि रेमनका आफन्तजन औषधि किन्ने पैसा खोज्दै भौंतारिन थालेका छन् ।

bir hospital bill 2

  • विरामीले तिरेको औषधिको बिल

वीर अस्पतालको आइसीयुमा उपचाररत रेमनको उपचारका सम्पूर्ण औषधि उपचार खर्च सरकारले व्यहोर्ने भने पनि डाक्टरले सिफारिस गरेका औषधि वीरका फार्मेसीमा छैनन् ।

‘औषधी नै छैन, सकियो भन्छन्’ रेमनकी मामाले बाहिर फार्मेसीमा किनेको बिल देखाउँदै भनिन् ‘सरकारले निःशुल्क उपचार भनेको थियो, तर यता औषधि नै छैन’ ।

वीर अस्पतालको ट्रमा सेन्टरमा रहेका रेमनजस्तै अन्य सैयौं भूकम्प पीडित विरामीको अवस्था उस्तै छ । सरकारले निःशुल्क उपचार गर्ने भने पनि अैषधि किन्दा पीडितको थप ढाड भाँचिएको छ ।

वीर अस्पतालमै स्वयंसेवकका रुपमा विरामीको सेवा गरिरहेका एमाओवादी सम्वद्ध अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य दीपेश पुनले बिरामीका आफन्तलाई बाहिरबाटै औषधि किन्न बाध्य पारिएको बताए ।

पुनले भने- आइसियूमा रहेको भाइको दुइवटै खुट्टा र एउटा हात पुरै फ्याक्चर भएर नचल्ने भएको छ । उहाँको परिवारसँग औषधि किन्न सक्ने पैसा छैन । अस्ति शिक्षण अस्पतालमा पनि औषधि किन्न बाध्य पारिएपछि हामीले विरोध गरेर निःशुल्क गराएका थियौं ।

उद्दारको हुँदै गरेको फोटो अनलाइनखबरमा छापिएका विरामी रेवत अहिले शिक्षण अस्पतालमा उपचार गराइरहेका छन् ।

उनको परिवारले पनि बाहिरबाट औषधि किन्नु परेपछि त्यहाँ बिरोध भएकाले अहिले शिक्षण अस्पतालमा निःशुल्क उपचार भइरहेको छ ।

देशका प्रमुख सरकारी अस्पतालमा घाइतेले औषधि किन्नु परेको सन्दर्भमा अस्पताल प्रशासनले प्रतिक्रिया नै दिन मानेका छैनन् । कतिपय औषधि सकिएकाले किन्नु परेको हुन सक्ने अस्पतालका एक अधिकारीले बताए ।

bir hospital bill icu

भूकम्पबाट घाइते भएकाहरुले राजधानीका सबैजसो अस्पतालहरु भरिएका छन् । हालैमात्र सञ्चालनमा आएको ट्रमा सेन्टरमा धेरै घाइतेहरुको उपचार भइरहेको छ । सरकारले भूकम्पका घाइतेहरु सबैलाई पूर्णरुपमै निःशुल्क उपचार गर्ने बताएको छ । तर, अस्पतालमा भर्ना भएका बिरामीका आफन्तले भने सरकारले दिने भनेको सेवा नपाएको गुनासो गरेका छन् ।

सरकारले अस्पतालको सेवादेखि आवश्यक औषधिहरुसमेत अस्पतालले नै व्यहोर्ने बताए पनि औषधिहरु नभएको भन्दै उनीहरुलाई अस्पतालभन्दा बाहिर औषधि किन्न पठाउने गरिएको छ ।

अस्पतालमा विभिन्न किसिमका औषधिहरु उपलब्ध नभएको भन्दै बाहिर पठाउने गरिएको वसन्तपुरमा भूकम्पमा परी गम्भीर घाइते रुद्रकुमारी उपाध्यायका छोरा कृष्णप्रसाद उपाध्याय बताउँछन् ।

अस्पतालको आइसीयु कक्षमा रुद्रकुमारी जस्तै ११ जना बिरामी छन् । उनीहरुको अधिकांशको गुनासो एउटै छ ।

प्रशासनको दाबी

तर, ट्रमा सेन्टरको अस्पताल प्रशासनले भने आफूहरुले भूकम्पका बिरामीहरुको पूर्ण रुपमा निःशुल्क उपचार गर्दै आएको जनाएको छ ।

राष्ट्रिय ट्रमा सेन्टर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति डा.गणेश गुरूङले सरकारले निःशुल्क उपचारको घोषणा गरेदेखि आफूहरुले पूर्णरुपमै निःशुल्क सेवा दिँदै आएको अनलाइनखबरलाई बताए ।

भिडियो हेर्नुहोस्-

अहिले क्यारामाइसिङ, बाइको माइसिङ जस्ता औषधिसमेत अस्पतालमै उपलब्ध भएकाले कुनै पनि औषधि लिन बाहिर जानु नपर्ने उनले बताए ।

अस्पतालका नर्सहरुले सुरु सुरुमा केही औषधिहरु बाहिर किन्न पठाएको गुनासो आए पनि पछि रोकिदिएको भीसी गुरुङले बताए ।

औषधि उपलब्ध छ : स्वास्थ्य मन्त्रालय

यसैबीच स्वास्थ्य मन्त्रालयले सबै अस्पतालमा पर्याप्त औषधी उपलव्ध गराइएको दाबी गरेको छ । स्वास्थ्यमन्त्री खगराज अधिकारीले औषधीको अभाव हुन नदिन पर्याप्त औषधि उपलब्ध गराइएको अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment