Comments Add Comment

भूकम्पमा मृतकको संख्या ७ हजार २ सय नाघ्यो

Nuwakot Earth queck 1 (19)२० वैशाख, काठमाडौं । विनाशकारी भूकम्पमा परेर मृत्यु हुनेको संख्या ७ हजार २५० पुगेको छ । ७ हजार १ सय २० जनाको शव आफन्तलाई जिम्मा लगाइएको छ ।

भूकम्पबाट सबैभन्दा धेरै मानवीय क्षेत्र सिन्धुपाल्चोकमा भएको छ । सिन्धुपाल्चोकमा २ हजार ८२९ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । काठमाडौंमा १ हजार १८५, भक्तपुरमा २७७ र ललितपुरमा १७३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १४ विदेशी नागरिक छन् । ५१ जना घाइते छन् । १०९ जना विदेशी नागरिक अझै बेपत्ता रहेको अनुमान छ ।

भूकम्पमा परेर १४ हजार २६७ जना घाइते भएका छन् । ति घाइतेहरुको काठमाडौं उपत्यकासहित बिभिन्न अस्पताल र अस्थायी स्वास्थ्य शिविरहरुमा उपचार भैरहेको छ ।

भग्नावशेषमा पुरिएकाहरुको खोजी जारी रहेकाले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने प्रहरीको भनाई छ ।

भूकम्पमा पुरिएर नेपाली सेनाका ९, नेपाल प्रहरीका ४ र सशस्त्र प्रहरीका १ जनाको मृत्यु भएको छ । निजामती कर्मचारीतर्फ ४ जनाको ज्यान गुमेको छ ।

हालसम्म मृत्यु भएकामध्ये ७ हजार १ सय २० जनाको शव आफन्तलाई बुझाइएको छ । प्रहरीले हराएका तथा खोजीमा रहेका व्यक्तिका आफन्तले पहिचानका लागि नजिकका अस्पताल वा प्रहरी कार्यालयमा गई सूचना दिन आग्रहसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment