Comments Add Comment

अंंकल भोक ला’छ, मलाई पनि चाउचाउ दिनुस् न !

सलमान खान, (गोरखाबाट फर्केर)

२१ वैशाख, काठमाडौं । गत साता आएको विनासकारी भूकम्पमा परी हजारौँ नागरिकले ज्यान गुमाए । हजारौँ नागरिक घरविहीन भए ।

गाँस, बाँस, कपास सबै गुमाए । देश शोकमा डुब्यो । यसैबिच मानवताको धर्मले सबै नेपलाी नागरिकले सहयोगको हात बढाए । विभिन्न स्थानबाट राहतका लागि खाद्यन्न तथा जिन्सी साम्रगी विभिन्न प्रभावित जिल्लामा वितरण भइरहेको छ ।

Gorkha-2
यस्तै भैरहवावासीले पनि एक अर्का हात जोड्दै राहात संकलन गरी विभिन्न प्रभावित जिल्लामा वितरण गरिरहेका छन् । यसैवीच भैरहवाको सिद्धार्थनगर उद्योग वाणिज्य संघ रुपन्देहीले सहयोगी हात अगाडि बढाएको छ । संघले भैरहवा क्षेत्रको विभिन्न स्थानबाट राहत सामाग्री संकलन गरी भूकम्पबाट प्रभावित गोर्खा जिल्लामा राहत सामाग्री वितरण गरेको छ ।

भैरहवाबाट ट्रकमा लोड गरेर गोरखा ल्याइएको राहत सामाग्री गाउँगाउँसम्म पुर्याउनका लागि गोरखाको सदरमुकाममा रहेको रङ्गशालामा टेक्टर, बस, सानो पिकअप गाडीमा लोड हुँदै थियो । जिल्लाको नारेश्वर, ताकुकोट गाविस, वर्कान गाविस लगायतका स्थानका लागि करिब १२ लाख मुख्य बराबरको राहत सामाग्री एकत्रित गरिएको थियो ।

मैले समाचारका लागि विभिन्न कोणबाट तस्वीरहरु लिँदै थिएँ । त्यसपछि हामी सञ्चारकर्मी साथीहरु ट्रकमा चढ्यौँ र काम सघाउन थाल्यौं ।

सिद्धार्थनगर उद्योग वाणिज्य संघको टोली र हामी सञ्चारकर्मीहरु मिलेर ट्रकका सामान ट्याक्टर, बस र पीकअपमा रहेका स्थानीयलाई दिँदै थियौँ ।
Gorkha-3
त्यसको रङ्गशालामा राहत सामाग्री बाडिँदैछ भन्ने हल्ला चलेपछि केहीवेरपछि वरिपरिका भूकम्पपीडितहरु आफ्ना स-साना बालबालिकाहरुलाई अगाडि लगाएर आए । एक महिलाले काखमा बच्चा लिएर सञ्चारकर्मी नरेश केसीलाई केही पाइन्छ भनेर सोधपछि उनी अगाडि गइन् । उनलाई व्यापारीको टोलीले एक बोरा चामल, चाउचाउ, तेल, बिस्कुट लगायतका सामाग्रीहरु दिएपछि उनी गइन् ।

त्यसपछि जम्मा भएको भीडले माग्न थालेपछि सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले सबैले पाउनुहुन्छ, यो सबै तपाईहरुका लागि नै हामीले ल्याएका हौँ भनेपछि सबै एकछिन चुप लागे । केहीबेरपछि पुनः राहत माग्न थाले ।

फेरि राहत सामाग्रीहरु वितरण गर्दै गाडीमा लोडमा हुँदै थियो । म ट्रकमै बसेर तस्वीरहरु लिँदै थिएँ ।

तस्वीर लिदाँलिँदै कानमा अंकल, अंकल भनेर कसैले बोलाएको अवाज आयो । त्यसपछि मैले तल हेरें । एक बालकले मलाई नै बोलाउँदै थिए । मैले के भो बाबु भनेर सोधेपछि अंकल भोक लागेको छ, मलाई पनि चाउचाउ दिनुस् न भने । मन कस्तो कस्तो भयो । एकछिन मैले सरकारलाई मनमनै गाली गरें । र, तस्वीर खिच्न छाडेर ती बालकलाई भनें, ल एकैछिन पर्ख है त बाबु ।

मैले ट्रकबाट चाउचाउ ल्याएर ती बालकलाई दिएँ । उनी त्यहाँबाट मुस्कुराउँदै गए । चौरमा बास बस्न बाध्य भएका ती बालकाले खुल्ला आकाशमुनि प्रचण्ड घाममा बसेर चाउचाउ खान थाले ।
Gorkha-1
ती बालकलाई मैले चाउचाउ दिएको अन्य बालबालिका देखेपछि सबै मतिर आए । त्यसपछि सबैले अंकल मलाई पनि दिनुस न, मलाई पनि भन्दै एकै स्वरमा माग्न थाले । र, सबैलाई चाउचाउ दिएपछि उनीहरुले एकै स्थानमा गएर खान थाले ।

केही बेरपछि ती बालबालिका बसेको स्थानमा म क्यामेरा लिएर पुगें । उनीहरुले चाउचाउ खाँदै एकअर्कामा गफ गर्दै थिए । उनीहरुले चाउचाउ खाइरहेको तस्वीर क्यामेरा कैद गरें । त्यसपछि अन्त्यमा एक बुढीआमा आएर बाबु, मैले केही पाइँन भनिन् र उनलाई पनि खाद्यान्न सामाग्रीहरु प्रदान गरियो ।

खाद्यान्न सामाग्री पाएपछि भूकम्प पीडितहरु सरकार र नेतालाई गाली गर्दै थिए । तर उनीहरुले सिद्धार्थनगर उद्योग वाणिज्य संघको टोलीलाई भने भगवानसरह भन्दै गुणगान गाए ।

हामी सबैजना केही खाद्यान्न तथा जिन्सी सामाग्रीहरु वितरण गरी टुँडीखेलबाट निस्किएर भूकम्प प्रभावित गाउँतिर लाग्यौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment