Comments Add Comment

त्रिपाल खरिद गर्ने जिम्मा शहरी विकासलाई

२१ वैशाख, काठमाडौ । भूकम्प प्रभावित क्षेत्रमा आवश्यक त्रिपाल पुग्न नसकेको गुनासो आइरहेका बेला सहरी विकास मन्त्रालयले त्रिपाल खरिदका लागि विना टेण्डर प्रस्ताव माग गरेको छ ।
Balkhu UML party office_crack after earthquake  (10)
सार्वजनिक खरिद ऐन अनुसार राष्ट्रिय विपतका बेलदा बिना टेण्डर सामान खरिद गर्ने छुट सरकारलाई छ ।

पीडित परिवारलाई तत्काल राहतका लागि उपलब्ध गराउन विभिन्न साइजका त्रिपाल आवश्यक परेकाले उत्पादक वा विक्रेताहरुलाई प्रस्ताव पेश गर्न सहरी विकास मन्त्रालयले सार्वजनिक सूचना जारी गरेको छ ।

‘मन्त्रिपरिषदले त्रिपाल खरिद गर्ने जिम्मा सहरी विकास मन्त्रालयलाई दिएको छ, गृहले यसपालि त्रिपाल खरीद गर्दैन,’ मन्त्रालयका उपसचिव होमनाथ भट्टराईले भने,’परराष्ट्रबाट पनि त्रिपाल आइरहेका छन्, अहिले विक्रेताको नाम लिष्टमात्रै लिइराखेका हौं, आवश्यक पर्नासाथ खरीद गरिने छ ।’

विक्रेताले तत्काल आपूर्ति गर्न सक्ने परिणाम, स्पेशिफिकेशन, नमुना छिटोमा आपूर्ति गर्न सक्ने समय र दररेटसमेत खुलाई दुई दिन भित्र प्रस्ताव पेश गर्न मन्त्रालयले आहृवान गरेको छ ।

एक महिना भन्सार छुट

यसैवीच भूकम्प पीडितहरुका लागि अत्यावश्यक भएको त्रिपाल खरिदमा सरकारले भन्सार छुट दिएको छ ।

सरकारले पीडितहरुको राहतमा सहयोग पुगोस् भनेर त्रिपाल एवम् पालहरुको आयातमा लाग्ने सम्पूर्ण भन्सार तथा करहरु वैशाख १९ देखि जेठ २० गतेसम्मका लागि छुट गरेको छ ।

उद्दार तथा राहतका लागि ल्याइएका सामाग्रीहरु भन्सार कार्यालयमै रोकिएको खबरहरु सार्वजनिक भइरहेका बेला भन्सार विभागले भने राहतका लागि आएका कुनै पनि सामग्री भन्सार कार्यालयमा नरोकिएको दाबी गरेको छ ।

राहत तथा उद्धारका लागि प्रक्रियासम्मत तरिकाले आएका कुनै पनि सामग्री भन्सार कार्यालयबाट निर्वाध रुपमा विना भन्सार महशुल जाँचपास भइरहेको विभागले जनाएको छ ।

राहत तथा उद्दार सामाग्रीहरु छिटो छरितो जाँचपासका लागि भन्सार विभाग तथा कार्यालयहरु विदाको दिनसमेत खुला राखिएको विभागको भनाइ छ ।

उद्दार तथा राहत कार्यका लागि प्राप्त हुन आएका सामग्रीहरुको सम्बन्धमा सिफारिस गर्न काठमाडौस्थित त्रिभुवन विमानस्थलमा गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा तथा अन्य जिल्लाको भन्सार आयात हुने जिल्लाको प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको अर्थमन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment