Comments Add Comment

गोरखाको राहत वितरणमा दलीय दलाली

सलमान खान (गोरखाबाट फर्केर)

२२वैशाख, गोरखा । गत बैशाख १२ गते गोर्खा जिल्लाको वारपाकमा केन्द्र विन्दु बनाएर गएको भूकम्पले गोर्खाका जनता धनसम्पत्ति मात्रै होइन, सन्तानविहीन पनि भएका छन् । विरताको इतिहास लेख्ने गोर्खाली जनतामा यतिबेला जोश, जाँगर र उत्साह छैन । उनीहरु परनिर्भर निरीह जस्तै छन्, कसैले देला र खान पाउँला भन्ने आशमा छन् ।

Gorkha District Development Commete

 

 

विर गोर्खालीको पीडामा मल्हम लगाउन स्वदेश तथा विदेशबाट अहिले गोरखामा राहत वितरणको ओइरो लागेको छ । भूकम्पले बढी प्रभावित भएको कारण मुलुकका अधिकांश संघसंस्था तथा विदेशीहरु राहत लिएर गोरखामै पुगेका छन् । सदरमुकाममा राहत साम्रगी लिएर पुग्ने भिड छ । हेर्दा यस्तो लाग्छ कि गोरखाका प्रत्येक नागरिकलाई महिनौं सम्म पुग्ने खाद्यान्न साम्रगी गोरखा पुगेको छ तर वास्तविकता त्यस्तो छैन ।

पहुँचवालालाई राहत, पीडितलाई आहत

विभिन्न जिल्ला तथा विदेशहरुबाट भूकम्प पीडितहरुको लागि आएको राहत सामाग्री जिल्ला विकास समिति गोर्खाको गोदाममा थन्किएको छ, तर पीडितसम्म वितरणको प्रभावकारी व्यवस्था मिलाइएको छैन । जिविसमा सर्वदलीय संयन्त्र मार्फत राहत वितरण गर्ने भन्दै फारम भर्ने, भूकम्प पीडितहरुको लगत भर्ने काम पनि पहुँचको भरमा भइरहेको जिविसमा प्रत्यक्ष देख्न सकिन्छ ।

समाचार संकलन गर्दै अनलाइनखबरकर्मी जिविस परिषद कार्यालय पुग्दा संयन्त्रका एक सदस्य पीडितसँग बम्कीदै थिए, ‘राहत सामाग्री के तिम्रो बाउको हो र ? भन्ने वित्तिकै दिने । पालो आउँछ जाउ बाहिर गएर बस ।’

Gorkha-Rahat

गोरखा सदरमुकामदेखि ३५ किलोमिटर उत्तरतर्फ पर्ने ताकुकोट गाविस १ का नयन केसी लगायतका भूकम्प पीडितहरु राहतका लागि सदरमुकाम धाएको धेरै दिन भयो । तर पाएका छैनन् । उनले गुनासो गरे, ‘राहत बाँड्ने ठाउँमा हाम्रा चिनजानका मान्छे छैनन् । बच्चाहरु भोकले कराइरहेका छन्, हाम्रो पीडा कसैले बुझेन ।’ उनले नेताहरुको चाकडी गर्नेहरुले मात्रै राहत पाउँछन् भनेर निष्कर्ष निकाले ।

राहत सामाग्रि थुप्रिएको जिविस गेट बाहिर भेटिए २२ किलोमिटर पूर्वी दक्षिणी गाउँ बर्काङका ६१ वर्षीय विर्खबहादुर आले । उनको पीडा र गुनासो पनि उस्तै छ । पुलिसको सुरक्षा घेरामा बोराका बोरा खाद्यान्न र त्रिपाल जिविसको गोदामबाट बाहिरिन्छ उनकै आँखा अगाडिबाट । तर, बिर्खबहादुरसँग त्यहि हेरेर मुख मिठ्याउने बाहेक अरु विकल्प छैन । ‘ठूला बडाले राहत लगिरहेको यही आँखाले देखिरहेको छु, तर यो गरिबलाई कसैले देखेको छैन,’ उनले भने ।

Gorkha-Rahat-Water
गोर्खा जिविसको गाेदाममा भूकम्प पीडितका लागि प्राप्त पानी असरल्ल अवस्थामा

दलको दलाली

राहत पाइने आशमा जिविसको गेटमा कुर्नेहरुको धुइरो नै छ । भित्र जिविस परिसरमा स्थानीय प्रशासनका अधिकारी र दलका नेताहरु कुर्चि बेन्च लगाएर बसेका छन् । उनीहरुमध्यै कुनै तीन जनाले कागजमा तोक आदेश लगाइदिन्छ । त्यहि तोक लागेको कागज बोकेर गोदाममा भएका सेना प्रहरीलाई देखाउनेहरुराहत लिएर फर्किन्थे । भित्र जान नपाउनेहरु हेरेको हेर्यै । पहुँच नभएकाहरु गेटबाट भित्र छिर्न नसकिरहेको देखिन्थ्यो । कसोगरी छिरिहाले भने पनि नेताहरुको चाकडी गर्न मुस्किल थियो ।

दलीय दलाली मुख्य कारण रहेकोले राहत वितरणमा समस्या भएको गोरखा उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए । ‘जिविस परिसरमा राहत सामग्री अस्तव्यस्त रुपमा थुप्रिएको छ । तर बाहिर गेटमा पीडितहरु एक छाकको लागि तड्पीरहेका छन्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment