Comments Add Comment

स्वस्तिमाको अनुभव :’बेलुकी के खाने थाहा छैन, तर हामीलाई नखाई जानै दिएनन्’

केही दिन अगाडि भक्तपुरमा पुगेका सीएनएनका एक पत्रकारले ट्विटरमा नेपालीको स्वागतको प्रशंसा गर्दै घरबार केही नभएकी एक महिलाले आफूलाई खानाको अफर गरेको कुरालाई ट्विट गरे । नेपालीको मन कतीसम्म स्वच्छ छ भन्ने कुरा उनको ट्विटरले प्रष्ट भयो ।

swostima with earthquake victimयस्तै, मन भेटिन् चलचित्र ‘होस्टेल रिटर्नस्’बाट नेपाली रजतपटमा डेब्यू गरेकी नव-कलाकार स्वस्तिमा खड्काले । २ दिन हिँडेर उनी सिन्धुपाल्चोकको भोताङ गाउँ पुगेकी थिइन् ।

संभवत, यती भित्र सरकारको राहत पनि पुगेको छैन होला । भूकम्प प्रभावितलाई भनेर बाँडिएका राहत सदरमुकाम र सीमित क्षेत्रमा केन्द्रित भएको गुनासो आइरहँदा स्वस्तिमाले आँट बटुलिन् र भूकम्प आएको एक सातापछि अर्थात शुक्रबार त्यता लागिन् । उनले आफ्नो भोगाई यसरी अनलाइनखबरसँग साटिन् :

जब गिरिश दाइले मलाई त्यो गाउँको बारेमा भन्नुभयो, मलाई जाने त आँट नै आएन । तर, पनि आफूले सक्दो सहयोग गर्छु भन्ने लागेको थियो । शुक्रबार बेलुकी परिवारलाई यो कुरा सुनाउँदा, उहाँहरुले जाने अनुमती दिनुभयो । यसपछि शुक्रबार हामी सिन्धुपाल्चोकको भोताङ गाउँ तर्फ निस्कियौं ।

हामीले केही समय गाडीबाटै यात्रा गर्‍यौं । तर, हामी चढेको हाइस गाडीले अगाडि जान नसक्ने बताएपछि हिँडेर जाने निर्णय गरियो । हामीले भूकम्प प्रभावितहरुका लागि बाँड्ने भनिएको खानेकुराको गाडी भने अगाडि जान सक्ने रहेछ । केही साथीहरु सोही गाडीमा गए तर हामी केही हिँडेर नै अगाडि बढ्ने सोचमा पुग्यौं ।

खानाका लागि हामीसँग शक्ती दिने खानेकुरा थिए । ३ घन्टा हिँडेपछि हामीले सामान ल्याएको गाडीलाई छोड्यौं । सामान झारेपनि गाउँसम्म जाने सोंचका कारण हामी अगाडि बढ्यौं । जसलाई सोधेपनि अब ६ घन्टा लाग्छ भन्थे, तर हिँड्दै गयो, ६ घन्टामा गाउँ आउँदै आएन ।

बाटोमा भत्किएका खोला, बिग्रिएका पूल तर्दै अगाडि बढ्दै थियौं । एक्कासी डाँडाको बिचमा पुग्दा ठूलो भूकम्प आयो । अब मलाई लागेको थिएन कि म बाँच्छु । बिच बाटोमा एउटा स्कुल थियो, जुन पूर्णरुपमा ध्वस्त भएको रहेछ । रातको ९ बजे स्कुलमा टेन्ट ओच्छ्याएर आकाशमुनी सुत्यौं हामी ।

भोलीपल्ट अर्थात शनिबार बिहान पनि ६ बजे उठेर हामी हिँड्यौ । एउटा गाउँमा पुगियो, जहाँ २५ घर रहेछन् । त्यहाँका कुनै पनि घर बचेका थिएनन् । तर पनि मानिसहरु विचलित थिएनन् । उनीहरु एकै ठाउँमा बसेर खाना पकाउँदै थिए ।

मानिस आफूसँग प्रशस्त खानेकुरा भएपनि अरुलाई दिन हिचकिच्याउँछ । तर, यो गाउँमा पुगेपछि मलाई लाग्यो, हामी नेपालीको मन कती पवित्र छ । गाउँलेहरुले हामीलाई खाना, दूध, भुजा खुवाएर मात्र जान दिएँ । साँच्चै, त्यतीबेला मलाई लाग्यो, हामीसँग धन नभए पनि मन छ । हामी दु:खमा पनि अरुको मद्दत गर्न अगाडि सर्छौ ।

swostima with earthquake victim_4
हामीले उनीहरुका लागि राहत लगेका थिएनौं । त्यहाँ केही पनि दिन नपाउँदा मन खिन्न भयो । मानिसहरुमा एक प्रकारको नैराश्यता छ । कोही चामल आउँछ भन्ने कुरा सुन्दा पनि खुशी हुन्छन् । भोताङ गाउँमा पुग्दा त्यहाँ अधिकांश घर भत्किएका थिए । चोट लागेर एक जना बृद्धको टाउकोमा ठूलो खाल्डो परेको रहेछ ।

तर, अझै पनि उहाँहरु फुकेर बसिरहनु भएको छ । हाम्रो मेडिकल टिमले उहाँलाई हेर्दा घाउ भित्र चामल नै चामल थियो । बेलुकी टेन्ट लगाएर त्यही बस्यौं हामी । तर, राती पहिरोले ढुंगा झार्दा झन्डै मरिएन । हामी त सकुशल रह्यौ, तर टेन्ट उड्यो । भोलीपल्ट स्थानियलाई हामीले लगेको सामान बाँडेर फर्कियौं ।

३ दिनसम्म लगातार हिँड्दा मेरो खुट्टा थाकेको होला, हौसला थाकेको छैन । अब त काठमाण्डौ आएपछि मलाई भूकम्पसँग डर लागेकै छैन । मलाई खुशी लागेको छ, एकदमै कम मानिस मात्र पुग्न सक्ने त्यो क्षेत्रमा पुगेर मैले धेरै कुरा त दिन सकिन । तर, मानिसहरु हामीलाई देख्दा पनि खुशी देखिए । मैले थोरै भएपनि मुस्कान छरेकी छु ।

समाचारमा सुन्दा काठमाण्डौं पुरै भत्किएको जस्तो लाग्थ्यो । तर, सिन्धुपाल्चोकको निक्कै भित्री गाउँमा पुगेर फर्कँदा मलाई लाग्यो, साच्चै हामीलाई केही भएको रहनेछ । देश त काठमाण्डौं बाहिर पनि दुखेको छ, कुरा महसुश गर्नेको मात्र हो ।

swostima with earthquake victim_1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment