Comments Add Comment

३६ जिल्लाका ५७५ विद्यालय भवन पूर्णरुपमा ध्वस्त

२१ वैशाख,काठमाडौँ । यही वैशाख १२ गते शनिबार गएको विनाशकारी भूकम्पका कारण ३६ जिल्लाका ५७५ विद्यालय पूर्णरुपमा ध्वस्त भएका छन् ।

शिक्षा विभागमा हालसम्म प्राप्त विवरणअनुसार भूकम्पबाट ती जिल्लामा ९६९ विद्यालयमा आंशिक रुपमा क्षति पुगेको देखिएको छ ।

कहाँ कति क्षति ?

भूकम्पका कारण सिन्धुपाल्चोकमा १२ शिक्षकको मृत्यु भएको थियो भने चार हजार ११३ कक्षाकोठा पूर्णरुपमा क्षति पुगेको थियो । यस्तै, २६० वटा विद्यालय आंशिक रुपमा क्षतिग्रस्त छन् ।

नुवाकोटमा आठ शिक्षक र ३६ विद्यार्थीको मृत्यु भएको छ भने ९७ विद्यालय पूर्णरुपमा ध्वस्त र ३९० आंशिक रुपमा भत्केको देखिएको छ ।

भूकम्पले रसुवाका १० विद्यार्थीको मृत्यु भएको छ भने ४३ विद्यालय ध्वस्त भएका छन् । धादिङमा छ विद्यार्थी र पाँच शिक्षकको मृत्यु भएको थियो । यस्तै, भूकम्पले चार हजार २२४ कक्षाकोठा पूर्ण रुपमा असर पारेको छ ।

यसैगरी, गोरखामा चार शिक्षकको मृत्यु भएको थियो र एक हजार ६५३ कक्षाकोठा पूर्ण रुपमा क्षतिग्रस्त भयो ।

यस्तै, गत साताको महाभूकम्पले काभ्रेमा दुई विद्यार्थीको मृत्यु भयो र ५९ विद्यालयमा पूर्णरुपमा र १५९ आंशिक रुपमा असर पारेको छ ।

यसैगरी, सोलुखुम्बुका ५० विद्यालय भवन पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । रामेछापका २० विद्यालय र आंशिक २४० वटा विद्यालय, दोलखामा पूर्ण रुपमा ५६ विद्यालय, लमजुङमा २० विद्यालय पूर्णरुपमा, तनहुँमा २५ विद्यालय पूर्णरुपमा र १५० आंशिक रुपमा, भोजपुरमा १० विद्यालय पूर्णरुपमा र एक सय विद्यालय आंशिक रुपमा क्षति पुगेको छ ।

काठमाडौँमा आठ विद्यालयका १०० कक्षाकोठा, ललितपुरमा ९ विद्यालयका ५०१ कक्षाकोठा र भक्तपुरको एक विद्यालय र ५० कक्षाकोठामा क्षति पुगेको थियो । अन्य विद्यालयमा समेत केही विद्यालय भवनमा क्षति पुगेको छ ।

विद्यालयहरू पीडितको आश्रय स्थल

भक्तपुर र ललितपुरका ९९ प्रतिशत विद्यालय र काठमाडौँका ९० प्रतिशत विद्यालयलाई भूकम्पपीडितका लागि ‘सेल्टर’का रुपमा प्रयोग गरिएको छ ।

नेपालका सबैजसो जिल्ला शिक्षा कार्यालयलाई आफ्नो जिल्लाका विद्यालयमा भएका क्षतिको विवरण पठाउन गरेको निर्देशनअनुसार ३६ विद्यालयको तथ्याङ्क आएको र अझै अन्य जिल्लाका समेत आउने क्रममा रहेको शिक्षा विभागका निर्देशक खगेन्द्र नेपालले बताए ।

भूकम्पका कारण बन्द गरिएका विद्यालय आगामी जेठ १ गतेदेखि सञ्चालन गरिने उनले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment