Comments Add Comment

रामेछापका माझीको पीडा-सिस्नो खाउँला तर ओत लाग्न कहाँ जाउँला ?

Ramechap-2

  • रामेछापको दूरागाउँमा भूकम्पबाट ध्वस्त भएको घर

नवराज पथिक

२२ वैशाख, रामेछाप । विनासकारी भूकम्पको कारण रामेछापको तामाकोसी र सुनकोसी नदी किनारको माझी समुदाय नराम्रोसँग प्रभावित भएको छ । नदी किनारका वस्तीका अधिकांस घरहरु पूर्णरुपमा भत्किएका छन् ।

मन्थली नगरपालीका १६ गाईखुराको माझी बस्तीका कुल ६० घर परिवार मध्ये ४१ घर माझीका मात्रै छन् । ४१ घर माझी बस्तीमा कुनै सग्लो छैनन् ।

माझी परिवारका अधिकांस घरहरु ढलेका छन् । नढलेका घरहरुमा पनि मानिस पस्न सक्ने अवस्था छैन । अहिले माझी समुदायका सबै मानिसहरु रुख मुनि ओत लागेर बसिरहेका छन् ।

भूकम्पको कारण सबैका घर भत्किएपछि खाने अन्न समेत निकाल्न नपाएको स्थानीय सानीकान्छी माझी बताउँछिन् । अझ ओतलाग्ने ठाउँ समेत नहुँदा उनीहरुको अवस्था दयनीय छ ।

१२ सन्तानकी मूली सानीकान्छीलाई आफ्ना सन्तानलाई ओत लगाउने पिरले अहिले निक्कै सताएको छ । ‘खान त बरु सिस्नो घोटेर भए पनि खाउँला, बनि गरेर ल्याउँला । तर कहाँ ओत लाग्ने ?’ उनले भनिन्, ‘१२ जनाको परिवार छ । शरिरमा लगाएको लुगा बाहेक केही बचेको छैन । वर्षा लाग्यो, अब यो वर्षा कसरी काट्ने ?’

सामुहिक रुपमा पिपलको रुखमुनि बसी रहेको माझी परिवारका सन्तबहादुर माझीको गुनासो पनि त्यस्तै छ । ‘टोलमा एउटा दुइटा घर बचेको भए पनि त्यही ओत लाग्न हुन्थ्यो । त्यो पनि बाँकी रहेन । ‘अब हाम्रो त उपाय नै केही भएन । हाम्रो त रुखमुनिको बास पो हुने भयो,’ सन्तबहादुरले भने ।

ऐतिहासिक साँघुटार बजार ध्वस्त

विनासकारी भुकम्पको कारण रामेछाप जिल्लाको ऐतिहासिक महत्व बोकेको साँघुटार बजार पनि ध्वस्त भएको छ । भुकम्पको कारण साँघुटार बजारका सबै घरहरु बस्न नहुने गरी विग्रिएका छन् ।

Ramechap-3
ऐतिहासिक साँघुटार बजारको एक घर

हेर्दा ठाडै देखिने घरहरु भित्र धाँजा फाटेर भत्किएका छन् । केही घरहरु बाहिबाटै ढलेका छन् । नढलेका घरहरुमा पनि भित्र पस्न सक्ने अवस्था नै छैन ।

ढुंगामाटोले बनेका साँघुटारबजारका अधिकांस घरहरु ४ तले थिए । अग्ला र ढुंगामाटोले बनेका घरहरु शिरदेखि पुछारसम्म भत्किएका छन् ।

घरहरु भत्किएपछि आफूहरु बारीको पाटोमा पाल हालेर बसेको स्थानीय बताउँछन् । ‘बजारमा ५ वटा घर थिए । सबै भत्किए । ५ वटा घर भएको हाम्रो परिवार अहिले सुकुम्बासी जस्तै भएको छ । अर्काको बारीको पाटोमा टाँगिएको पालमा गएर शरणार्थी बन्नु पर्‍यो,’ स्थानीय जयन्ती उदास बताउँछिन् ।

बजारका कुनै पनि घरमा मानिसहरु बस्न सक्ने अवस्था नरहेको स्थानीय उज्जन श्रेष्ठको भनाई छ । साँघुटार बजारको अब पुनःसंरचना नबनाई बस्न सक्ने अवस्था नै छैन ।

रामेछाप र ओखलढुंगाको सिमानामा पर्ने लिखु नदी किनारमा रहेको साँघुटार बजार सो क्षेत्रको व्यापारीक केन्द्र पनि हो । यातायात साधन नचल्दा पूर्व छिर्ने प्रमुख नाकाको रुपमा रहेको साँघुटार बजारको अस्तित्व नै अहिले संकटमा रहेको स्थानीय व्यवसायी तथा समाजसेवी राजकुमार श्रेष्ठ बताउँछन् ।

त्रिपाल चाहियो

जिल्ला दैवीप्रकोप उद्धार समितिमा राहात संकलन र वितरण कार्य चलिरहेको समितिले जनाएको छ । तर प्रभावितहरुले ओत लाग्ने पाल समेत नपाएको गुनासो गरीरहेका छन् ।

Ramechap-1
रूखमुनि अोत लागिरहेका सर्वसाधारण

२५ जना मानिसको ज्यान जाने गरी आएको भूकम्पले जिल्लामा भौतिक संरचनाको ठूलो क्षति गराएको छ । रामेछाप जिल्लाका ४५ हजार घरधुरी मध्ये ४० हजार भन्दा बढी घरहरु बस्न लायक नभएको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ ।

प्रभावितहरुको लागि राहत संकलन र वितरण कार्यलाई अहिले तिब्रता दिइएको छ ।

जिल्ला दैवीप्रकोप उद्धार समितिले उपलब्ध राहत सामागि्रहरु वितरण गरीरहेको जनाए पनि अझै पनि प्रभावितहरुले राहात सामागि्रहरु पाउन सकेका छैनन् । ओत लाग्ने त्रिपाल समेत नपाउँदा सर्वसाधारणहरु खुल्ला आकाशमुनि बस्न बाध्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment