२२ वैशाख, काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपाललाई २६ मिलियन डलर अर्थात करिब २ अर्ब ६० करोड रुपैयाँ सहयोग गर्ने भएको छ । भूकम्प पीडितलाई तत्काल राहत वितरण गर्न र भत्किएका संरचनाको पुनर्निमाणका लागि अमेरीकाले उक्त सहयोग गर्ने भएको हो ।
अमेरिकी सहयोग नियोग (यूएसएआईडी)का कार्यबाहक प्रशासक अल्फन्जो लेन्हार्टले प्रधानमन्त्री सुशील कोइरालासँग भेट गरी सहयोगबारे जानकारी गराएका हुन् । अमेरिकाले तत्कालका लागि ११ मिलियन डलर उपलब्ध गराएकाे बताउँदै उनले दोस्रो चरणमा १५ मिलियन डलर थप सहयोग गर्ने जानकारी दिए ।
लेन्हार्टले नेपालमा परेको विपत्तिको व्यवस्थापन गर्न तथा राहत र पुर्निमाणलाई सघाउन सक्षम टोलीसहित नेपालमा आएको बताए । उनले भूकम्प पीडितलाई राहत, पुर्नस्थापना र पुर्निमाणको काम अन्य देशका सेनासँग सँगसँगै मिलेर गर्न अमेरिकी सेना पनि तयार रहेको जानकारी दिए ।
अमेरिकाबाट आएका विमानहरु राहत सामग्री पुर्याउनका लागि उपयोगी हुने उल्लेख गर्दै विपत्ति पछि जनजीवनलाई सामान्य अवस्थामा ल्याउन आफूहरु तयार रहेको लेन्हार्टले प्रधानमन्त्री कोइरालालाई जानकारी दिए ।