Comments Add Comment

चाउचाउ माग्दै हिँड्ने कि चामलको भण्डार फोर्ने ?

२३ वैशाख, काठमाडौं । भूकम्पबाट आंशिक र पूर्ण रुपमा घरबार गुमाएका करीव ६ लाख घर परिवारका लागि तत्काल कति खाद्यान्न आवश्यक होला ? सरकारले यसको आँकलन गर्न सकेको छैन ।
Rahat
भूकम्पबाट करीव तीन लाख घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने पुग नपुग तीन लाख घरहरु आंशिकरुपमा क्षतिग्रस्त भएका छन् । पूर्णरुपमा क्षति भएका घरपरिवारले अन्नपात निकाल्न नसके पनि आंशिक क्षति भएकाहरुले आंशिकरुपमा भए पनि घरभित्रको खानेकुरा सुरक्षित गर्न सफल भएका छन् ।

यस हिसाबले हेर्दा खाद्यान्नभन्दा तत्कालका लागि ओत लाग्ने अस्थायी बासको समस्या विकराल देखिएको उद्योगमन्त्री महेश बस्नेत बताउँछन् । ‘खान त बारीमा पाकेको गहुँ, आलुजस्ता मौसमी बाली टिपेर खान पनि सकिन्छ’ बस्नेतले भने ‘तत्काल अस्थायी बसोबासको व्यवस्था सरकारको लागि चुनौति बनेको छ’ ।

योजना आयोग भन्छ- खाद्यान्नको अभाव छैन

राष्ट्रिय योजना आयोगले अस्थायी बसोबास, खाद्यान्न लगायतका तत्कालिन र दीर्घकालिन आवश्यकताको विषयमा अध्ययन र परामर्श गरिरहेको छ । अहिले भूकम्प प्रभावित धेरैजसो ठाउँमा सरकारी गैरसकारी संस्था र व्यक्ति तथा समूहले ठूलो मात्रामा खाद्यान्नहरु बाँडिरहेका छन् ।

सरकारसँगै अहिले करीव ८ लाख मेट्रिक टन खाद्यान्न भण्डार छ । यो खाद्यान्न भूकम्प पीडितहरुलाई बाँड्ने हो भने अन्त हात पसार्दै हिँड्नै नपर्ने योजना आयोगका सदस्य डा.प्रेम दंगाल बताउँछन् ।

खाद्य सम्प्रभूता सम्बन्धमै विद्यावारिधी गरेका दंगाल अहिले आफ्नो भण्डारको अन्न थन्क्याएर चाउचाउ र विदेशी सुख्खा खानेकुरा संकलन गर्दै हिँड्ने प्रवृत्तिसँग असहमत छन् । ‘हामी अहिले खाद्यान्नमा ‘सरप्लस’ अवस्थामा छौं,बाहिरका प्याकेट बाँडदै हिँड्नु जरुरी नै छैन’ दंगालले भने ‘भएको खाद्यान्न उचित ठाउँमा वितरण गरौं’ ।

दंगालले भनेजस्तै अहिले वास्तवमा अहिले नेपालमा खाद्यान्न पर्याप्त छ । भूकम्पले खासै प्रभावित नपारेको हाम्रो खाद्यान्न भण्डार तराईबाट व्यवस्थित ढंगले खाद्यान्न संकलन गरेर पहाडका प्रभावित बस्तीमा पुर्‍याउनेतर्फ आपूर्ति मन्त्रालयले खासै पहल नै गरेको छैन ।

पछिल्लो समय नेकपा एमालेले यो तथ्य बुझेर तराईका झापादेखि कञ्चनपुरसम्मका २२ जिल्लाका पार्टी कमिटीहरुलाई कम्तिमा एक हजार क्वीन्टल चामल दाल भूकम्प प्रभावित जिल्लामा ढुवानी गर्न निर्देशन दिइसकेको छ ।

अब चामल छाडेर चाउचाउ बटुल्न लाग्नु हुँदैन भन्ने सन्देश दिन एमालेले आफ्ना पार्टी कार्यकर्ताबाट चामल संकलन थालेको प्रचार विभागका उपप्रमुख सूर्य थापाले बताए । ‘तराईका प्रत्येक जिल्लाबाट कम्तिमा १० ट्रक खाद्यान्न हामी ल्याउँदैछौं’ उनले भने ।

अहिले काठमाडौं नजिकैका कतिपय वस्तस्हरुमा धेरै ठाउँबाट खाद्यान्न सहयोग भइरहेकाले पीडितहरु खात लगाएर बसेका छन् । बस्ने बास नभएका बेला खाद्यान्नका बोरा राख्ने ठाउँ नभएको दृष्य पनि देखिएको छ ।

तर, दुर्गम र मोटरबाटो नपुगेका गाउँहरुमा जनता भोकभोकै पनि छन् । सरकारले त्यस्ता ठाउँमा अब हेलिकोप्टर केन्द्रित गरेर अत्यावश्यक सामाग्री ढुवानी गर्नुपर्ने देखिएको योजना आयोगका सदस्य दंगालले अनलाइनखबरलाई बताए ।

पिउने पानी गाउँ गाउँमै भएकाले पानीका बोतल संकलन आवश्यक छैन । बरु पानी प्रशोधनको तरिका र शौचालय व्यवस्थापनका लागि टोली परिचालन गर्न आवश्यक देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment