Comments Add Comment

भूकम्प प्रभावितलाई हजार घर बनाइदिने एनआरएनको घोषणा

NRN

२३ वैशाख, काठमाडौं । गैरआवासिय नेपाली संघ (एनआरएन)ले भूकम्पबाट घरबास गुमेका पीडितलाई भूकम्प प्रतिरोधी घर बनाइदिने भएको छ । संघले भूकम्प प्रभावित ८ जिल्लामा एक हजार घर बनाइदिने भएको हो ।

हजार घर बनाउनका लागि करिव ३५ करोड रुपैयाँ लगानी हुने अनुमान गरेको एनआरएनका अध्यक्ष शेष घलेले बताए । भूकम्प प्रभावित जिल्लामा राहत वितरण गरिरहेको संघले वर्षातमा घरबारबीहिन झनै पीडित हुने ठहर गरी घर बनाइदिन जुटेको हो ।

कुन-कुन ठाउँमा कसरी घर निर्माण गर्ने भन्ने बिषयमा अध्ययन गर्न संघले समिति समेत बनाइसकेको छ । समितिले इन्जिनियर, विज्ञ तथा सरकारसँग छलफल गरी प्रतिवेदन बुझाउने छ । ‘सोही आधारमा हामीले भूकम्प प्रभावित बिपन्न तथा आय-आर्जनको व्यवस्था नभएका परिवारको छनौट गरेर घर निर्माण प्रकृया सुरु गर्नेछौं’ अध्यक्ष घलेले भने ।

अहिले भूकम्पका कारण स्थानीयबासीहरुको आत्मविश्वास गुमेको छ । यही कारण उनीहरु अबसरको खोजीमा बसाइ सराईं गर्ने सम्भावना रहेको र त्यसले दीर्घकालिन समस्या उत्पन्न गर्ने ठहर संघको छ ।

भिडियो  

घरबारबीहिन पीडितलाई सोही ठाउँमा घर बनाइदिएर उनीहरुलाई गाउँमै बस्न प्रेरित गर्नु संघको उद्देश्य रहेको छ । घर निर्माण गर्दा स्थानीयबासीको चाहना, त्यहाँको स्थानीय संस्कृति र सम्पदाको गौरवलाई सम्मान गर्दै घर तथा समुदायको दिगोपनमा जोड दिइने बताइएको छ ।

स्थानीय संस्कृतिको समेत प्रर्बद्धन हुने गरी नमुना घरहरु बनाउने संघको कोसिस रहने अध्यक्ष घलेले बताए । ‘यसका लागि हामीले अन्य संघसंस्थासँग समन्वय र सहकार्य गर्नेछौं, यो प्रकृयामा हामी गैरआवासीय नेपाली बिज्ञ र स्वयंसेवकहरु समेत परिचालन गर्नेछौं’ उनले भने- ‘जसले विदेशमा सिकेको सीप नेपालमा हस्तान्तरण गर्न र स्थानीयबासीलाई सिपयूक्त बनाउनसमेत मद्दत पुग्नेछ ।’

प्राविधिक तयारी पुरा भएपछि यथाशक्य छिटो घर निर्माण प्रकृया सुरु हुने संघले जनाएको छ । लाखौं घर नष्ट भएको अवस्थामा एक हजार घर बनाउनु ठूलो कुरा नभएपनि यो कामको सुरुवातबाट विस्थापित गाउँलेहरुलाई आफ्नै ठाउँमा पुर्नस्थापित हुन ठूलो सहयोग पुग्ने संघको विश्वास गरिएको छ ।

संघले भूकम्प गएलगत्तै आठ जिल्लाका १० हजार परिवारलाई आपतकालिन राहत बितरण गर्ने घोषणा गरेको थियो । जुन काम अहिले निरन्त जारी रहेको छ । संघले कतिपय धेरैजसो जिल्लामा राहत बितरण सकिएको छ भने केही जिल्लामा स्वयंसेवक टोली राहत बितरणमा व्यस्त छ ।

संघले सिन्धुपाल्चोक, काभ्रे, गोरखा, लमजुङ, नुवाकोट, धादिङ, रसुवा र रामेछापमा राहत बितरण गरेको जनाएको छ । भूकम्प प्रभावित जिल्लाहरुमा स्वास्थ्य शिविर समेत सञ्चालन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment