Comments Add Comment

दाताहरुको अर्बौं सहयोग नगदमा शुन्य हुनसक्छ : सरकार

Ramsaran-mahat-Final

२३ वैशाख, काठमाडौं । भूकम्पपछि विदेशी मुलुक र दाताहरुले घोषणा गरेको सहयोग नगदमा शुन्य हुन सक्ने सरकारले बताएको छ ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. रामशरण महतले भने-‘भूकम्प पीडितका लागि विदेशीहरुले अर्बौ रुपैयाँ सहयोग दिएका छन्, त्यसैले राहतको कुनै अभाव हुँदैन भनेर ढुक्क नहुनुहोस् । उनीहरुले घोषनणा गरेको अर्बौं रकम नगदमा शुन्य पनि हुनसक्छ ।’

अधिकाशं दातृ निकायहरुले घोषणा गरेको सहयोग नगद होइन । उनीहरुले उद्दारका लागि पठाइएको हेलिकप्ट, सुरक्षा फोर्स, डाक्टर, परामर्शदाता, अन्य राहत सामाग्री सबैको भ्यालु -मुल्य)समेत समावेश गरेर अबौर्ं रुपैयाँ घोषणा गरेको महतले जानकारी दिए ।

अब नगद माग्छौं

सरकारले दातृ निकायहरुसँग नगद सहायता माग्ने तयारी गरिरहेको महतले जानकारी दिए । ‘अब हामीलाई नगद सहयोगको आवश्यकता छ, त्यसैले भरेभोलिनै दातृ निकायहरुसँग भेटेर नगद सहयोगका लागि आहृवान गर्छौं’-उनले भने । सरकारले आफ्नो क्षमताले भ्याएसम्म उद्दार र राहतको काम गरिरहेको उनले दाबी गरे ।

चाँडै १० वर्षे योजना

मन्त्री महतले अब उद्दार र राहत सँगसँगै पुनःनिर्माण सरकारको प्राथमिकतामा रहेको बताए । ‘निजी सम्पत्ति, सरकारी सम्पत्ति र सार्वजानिक सम्पत्तिमा क्षति भएको छ’ उनले भने-‘क्षतिको यकिन तथ्यांक आएपछि १० वर्षे दीर्घकालीन योजना बनाएर पुनःनिर्माणमा जुट्छौं ।’

पुनःनिर्माणका लागि अन्तराष्ट्रिय समुदायसँग मोटो रकम सहयोग माग्ने अर्थमन्त्रीले जानकारी दिए । ‘जापानले नेपालको पुनःनिर्माणमा सहयोग जुटाउने उद्देश्यले आगामी एक डेढ महिनामा सम्मेलन गर्छु भनेको छ’ मन्त्री महतले भने-‘सरकारले अन्य देशहरुसँग पनि पहल गर्छ ।’

राहत र पुनःनिर्माणका लागि सरकारले २ अर्ब परिचालन गर्ने मन्त्रिपरिषदले निर्णय गरिसकेको उनले जानकारी दिए ।

राहतको रकम राहतमा मात्रै खर्च

प्रधानमन्त्री राहत कोषमा जम्मा भएको एक रुपैयाँ पनि अन्यत्र खर्च नगरिने सरकारले बताको छ । ‘राहतका लागि जम्मा भएको रकम प्रशासनिक, तलभत्तामा खर्च गरिने छैन’-उनले भने ।

उनले सहयोग दुरुपयोग हुन्छ भन्ने आशंका नगर्न सबैलाई आग्रह गरे । ‘उद्दार कोषले अत्यन्तै पारदर्शी रुपमा काम गरेको छ’ अर्थमन्त्री महतले भने-‘दुरुपयोग हुने सम्भावना छैन ।’

राहतका लागि चार अर्ब निकासा

अर्थ मन्त्रालयबाट महाभूकम्प पीडितको उद्दार तथा राहतका लागि अहिलेसम्म अर्ब रुपैयाँ निकासा भइसकको छ । ‘पहिलो चरणमा ५० करोड, दोस्रो चरणमा ५० करोड, तेस्रो चरणमा १ अर्ब र चौथो चरणमा (मंगलबार) २ अर्ब रुपैयाँ निकासा गरिसकेका छौं’ महतले भने- ‘उद्दार र राहतका लागि सरकारले रकमको अभाव हुन दिँदैन ।’

प्रधानमन्त्री राहतकोषमा पनि अर्बौ रकम जम्मा भएको र विभिन्न संससंस्थाहरुले खोलेको खातामार्फत पनि रकम आइरहेको उनले बताए । ‘आवश्यकताअनुसार अर्थ मन्त्रालयले बजेट थप गर्दै जानेछ’ महतले भने ।

चालू आर्थिक वर्षको नौ महिनामा ५४ प्रतिशत साधारण खर्च र ३० प्रतिशत मात्रै विकास खर्च भएको भन्दै उनले राहतका लागि रकमको अभाव नभएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment