Comments Add Comment

नेपाली हुनुमा गर्व गरौं ! तीन दिनमा गाउँ बन्न सक्छ

अनिल केशरी शाह

मेरो सोच्ने प्रक्रिया पनि धेरै नेपालीहरुको जस्तै छ । हत्तेरिका यो भूकम्प किन आयो ? यसले हाम्रोजस्तो गरीब देशमा झन पीडा थपिदियो भन्ने सोच छ । यो सोचमै बसिरहने हो भने हामी कहिल्यै पनि अगाडि बढ्न सक्दैनौं ।
Anil-Saha
भूकम्प आउँदा त्यो दिनमा कति धुलो उडेको थियो, कति हामी रोएका थियौं, कराएका थियौं । त्यहाँबाट आज १४ दिनमा छौं । यसो आफैं विचार गरौं न, त्यो बेलामा कस्तो मनस्थिति थियो र अहिले कस्तो छ । त्यही भएर त्यो भूकम्प किन आयो र कसरी आयो, कसरीले सराप्यो भन्नेतिर छाडेर अगाडि बढ्नुपर्छ । हामीले के बुझ्नुपर्छ भने भूकम्पले हामी सबैको दिमागमा, सोचमा एउटा प्रभाव त पारेको छ । तर, त्यससँगै हरेक नेपालीलाई केही फरक पनि प्रभाव छ ।

कसैको घरबार गएको छ र परिवारका सदस्यहरु पनि गुमाउनुभएको छ । सबैभन्दा बढी प्रभाव उहाँहरुलाई परेको छ । दोस्रो घर ठिकै छ तर, कसरी हो परिवारका सदस्य गुमाउनुपरेको छ । तेस्रो, परिवार सबै सुरक्षित छ तर, घर गएको छ । र चौथो, केही पनि भएन । डर लाग्यो, आत्तिएर दौडियौं । तर, घर पनि ठिकै छ, मानवीय क्षति पनि छैन । अब हामी सबै नेपालकै छोराछोरी हौं । यो भूकम्पले जे जसरी छोए पनि कसरी अगाडि जाने भनेर सोच्नुपर्छ ।

सुरुवात धरहराबाट

सुरुवात धरहराबाट गरौं । यो कसैको घर होइन, व्यवसाय होइन । एउटा इमारत थियो र ढल्यो । तर, त्यो ढल्दा जसरी चकनाचुर भयो, त्योसँगै नेपालीको आत्वविश्वास पनि ढलेको छ । सबैलाई सोध्नुस् न, अरु मन्दिरहरु भत्किएका छन्, घरहरु भत्किएका छन् । तर भन्नुहुन्छ, धरहरा त ढल्यो ।

एउटा कम्पनीले हामी बनाउँछौं भनेर घोषणा गरेको छ । म उहाँहरुलाई धन्यवाद भन्न चाहन्छु । यस्तो बेला पनि आँट गरेर भन्नुभएको छ । तर, योसँगै हामीले धरहरा कसरी बनाउने भनेर विचार गर्नुपर्छ । एउटा कम्पनीले मात्र बनाउने हो कि सबैले ? किनकि हामीले के बुझ्यौैं, त्यो धरहराले त सबै नेपालीको मनोबल पनि समातेको रहेछ ।

त्यसैले म भन्छु, सबै नेपालीले आफूले जति सक्छौं ५ रुपैयाँ, १० रुपैयाँ हजार रुपैयाँ जति हुन्छ र उहाँहरुको कसैको पनि नाम नराखी बनाऔं ।

नेपाली डिजाइनरले यस्तो डिजाइन बनाओस् कि त्यो नेपाल मोनिमेन्ट होस् र त्यसमा २०७२ सालको भूकम्पमा जसजसले ज्यान गुमाउनुभयो, उहाँहरुको नाम होस् । ताकि आउने पुस्ताले कस्तो भन्दा मेरो धरहरा, हाम्रो धरहरा भन्न सकोस् । यसरी पो बनाउने हो कि ?

हो, अहिले जो घाइते भएको उहाँहरुलाई औषधी उपचार चाहिएको छ । घर गुमाएकाहरुलाई अस्थायी रुपमै भएपनि आवास चाहिएको छ । तर, अब अगाडि बढ्ने भन्नेमा हतार नगरौं । हतारिँदै गयो भने जति राम्रो गर्छौं भन्दा पनि नकारात्मक प्रभाव हुन सक्छ ।

नेपाली भएकोमा गर्व गरौं

मानौं हामीले छिटो गर्ने भनेर एउटा गाउँ एउटा देशलाई, अर्को गाउँ अर्कोलाई बनाउन दियौं । सबैले आफ्नो आफ्नो किसिमले बनाउँछन् । पछि गाउँले हेर्छन्, ए त्यो घरमा त्यस्तो छ, मेरोमा त छैन । त्यो विकसित मुलुकले बनाएको भए राम्रो भयो, मेरो कम विकसित मुलुकले बनाएको भएर यस्तो भयो ।

हाम्रो देश अरुलाई दिने स्थिति आइसकेको छैन । तर, भ्रष्टाचार बढेकाले उहाँहरुले मदत गर्न चाहे पनि उहाँहरुको मन शंका छ कि हामीले दिएको पैसा तथा सहयोगको सही सदुयोग हुन्छ कि हुँदैन

मेरो सरकारले के हेर्‍यो त ? म कम नेपाली हुँ ? ममा के कम छ ? भन्छन् । हाम्रो मनस्थिति कस्तो पनि छ भने पनि जस्तो भए पनि आफ्नो भन्दा पल्लो गाउँको घर राम्रो लाग्छ । भनेपछि एउटा मापदण्ड त हुनुपर्छ, सरकारले सबैलाई समान व्यवहार गर्नुपर्‍यो ।

किनभने जे जसो भए पनि हामी सबै नेपाली हौं । हामी अमेरिकन, जर्मन, चाइनिज होइनौं, नेपाली हौं । हामीले हाम्रो स्थिति बुझ्नुपर्छ । हामी धनी मुलुक होइनौं । जे छ यही हो र नेपाली भएकोमा म गर्व गर्छु । दोस्रो, हाम्रा सभासद, नेताहरु हाम्रै हो । सरकार हाम्रै हो । हो, त्यो भन्दा राम्रो हुन सक्थ्यो वा अझ नराम्रो हुनसक्थ्यो । तर, जे छ, यहीँ छ र यसलाई हाम्रो भन्नुपर्छ ।

यो कुनै तानाशाही सरकार होइन, कसैले बनाइदिएको होइन । हामीले नै चुनेर पठाएका हौं र भ्रष्ट छन्, गर्न सक्दैनन् भनेर गाली गरेर बस्ने समय होइन यो । हाम्रो कर्मचारीतन्त्रमा कमी कमजोरी होला, भ्रष्टाचार होला । तर, जे छ त्यो हाम्रै हो । त्यसैले जे छ, यो हाम्रो हो भनेर त्यसलाई अपनाउनुपर्छ ।

हो, अवसर कहाँ आउँछ भने अब अगाडि बढ्दा जे छ त्यसलाई राम्रो कसरी बनाएर जाने ? म हेरिरहेको छु, यसो भयो, उसो भयो, हामीले केहि पाएनौं… । उहाँहरुको सबै गएको छ भन्नु स्वभाविक हो । तर, जो हामी यहाँ छौं, अब हामीले उहाँहरुलाई कसरी राहत दिने भन्नेतिर लाग्नुपर्छ । आलोचना मात्र गरेर केही हुँदैन ।

हाम्रो भाग्य नै भन्छु म संसारमा हाम्रा मित्रहरु धेरै रहेछन् । प्रवासी नेपाल र उतैका नागरिक पनि । यस्तो धेरै कमको मात्र हुन्छ । नेपाल र नेपाली प्रति माया कति रहेछ भन्ने यसले देखाउँछ । तर, यो भनेको उहाँहरुको माया हो, गर्नु पर्ने हामीले नै हो ।

नेपाली सरकार, कर्मचारीतन्त्र र नेपाली नागरिकले नै हो । हाम्रो देश अरुलाई दिने स्थिति आइसकेको छैन । तर, भ्रष्टाचार बढेकाले उहाँहरुले मदत गर्न चाहे पनि उहाँहरुको मन शंका छ कि हामीले दिएको पैसा तथा सहयोगको सही सदुयोग हुन्छ कि हुँदैन । स्वभाविक हो, भ्रष्टाचारको सचकांकले त्यस्तो देखाउँछ । तर, यसमा लिने मात्र होइन, दिने हात पनि हेरौं । एक हातले मात्र ताली बज्दैन ।

अब कसरी अगाडि बढ्ने ?

त्यसैले मेरो विचारमा अगाडि बढ्दा प्रधानमन्त्री, उपप्रधानमन्त्री वा मुख्य सचिवको नेतृत्वमा राष्ट्र निर्माण योजना तयार गर्ने एउटा कमिटी बनाउनुपर्छ । जसको नेतृत्वमा भएपनि मुख्य सचिव र सचिवहरु हुनैपर्छ, किनभने काम गर्ने कर्मचारी प्रशासनले नै हो ।

त्यस्तो कमिटीले बैंकिङ, स्वास्थ्य, गैरसरकारी, विदेशी दातृ निकायसहितका सबै सबै निकायलाई एउटा मिटिङमा बोलाउनुपर्‍यो । उहाँहरुले अहिलेको अवस्था प्रष्ट रुपमा भन्नुपर्छ । यति मान्छे मरे, यतिवटा घर भत्किए । सबै तथ्य ल्याउनुपर्छ । त्यसमा यहाँहरुले के के गर्नु सक्नुहुन्छ एउटा हृवाइट पेपरमा ल्याउनुस् भनेर भन्नुपर्छ । त्यसका लागि वर्किङ कमिटी बनोस् । त्यसमा सबैले आ-आफ्नो प्रस्ताव लिएर जानसक्छ र छलफल गर्छ । यो के हो भने ‘जिक्स स पज्जल’ हुन्छ कि टुक्रा-टुक्रा गरेर एउटा तस्वीर बन्छ ।

हाम्रो के भएको छ भने मैले एउटा टुक्रा पाएको छु, बोकेर दौडिएको छु । अर्कोले तीनवटा पाएर दौडिएको छ । सबैले एउटा टेबलमा राम्रोसँग राख्यो भने पो पूर्ण तस्वीर देखिन्छ । आ-आफ्नो टुक्रा लिएर दौडिने हो भने हुन्छ घर बन्लान् । तर, जसरी हुन सक्थ्यो त्यस्तो हुँदैन ।

मलाई लाग्छ, अहिलेको स्थितिमा राजनीतिक दलहरुको पनि इन्पुट हुनुपर्छ । तर, कस्तो स्वास्थ्य भन्ने विषय न राजनीतिक नेतृत्वले भनेर हुन्छ न मैले न इन्जिनियरले । स्वास्थ्यको विज्ञ चाहिन्छ । इकोनोमी कसरी रिभाइभ कसरी गर्ने भनेर उद्योग बाणिज्य महासंघ, बैंकर हामीले भन्न सक्छौं । इन्जिनियर, डाक्टरले सक्दैन । त्यो स्किल नेपालमा छ । हामीसँग जनशक्ति छ । इन्जिनिरयर छ, डाक्टर छ, एनआरएनसँग अन्तराष्ट्रिय अनुभव छ । त्यसलाई अब एउटा संगठनमा ल्याएर उपयोग गर्नुपर्छ ।

यो गर्‍यो भने एउटा सबैभन्दा राम्रो योजना बन्छ । अर्को सबैको वनरसिप हुन्छ । नत्र सरकारले २५ अर्ब खर्चको योजना लिएर आयो भने यो भ्रष्टहरुले सबै खान लिएर आए भन्छन् । बैंकरलाई मात्र गर भन्यो भने हामी सक्दैनौं । त्यसैले अब सरकारले सबैसँग समन्वय गर्नुपर्छ । कुनै दाताले म यसो गर्छु भनेर आयो भने हृवाइट पेपरमा ल हाम्रो यस्तो योजना छ, हामीलाई यहाँ पैसा चाहिएको छ । केमा लगानी गर्नुपर्छ भन्न सक्नुपर्छ । यसरी अगाडि बढ्यौं भने निर्माण मात्र होइन, सही निर्माण गर्न सक्छौं ।

अहिले चाहिएको भनेको आलोचना होइन, सहकार्य हो । म सबैलाई भन्न चाहन्छु र मैले आफूलाई पनि सोध्नुपर्ने म के गर्न सक्छु ? कसले के गरेन भन्ने होइन ।

युवाहरुले गर्छन्

यसमा म युवाहरुप्रति धेरै आशावादी छु । म जहिले पनि भन्थेँ, म किन यो देशमा छु भने युवाहरुका कारण हो । मैले यो देश बनाउन नसके पनि युवाहरुले गर्छन् । आज मेरो विश्वास हजार गुणा बढेको छ ।

हामीले सबैको सहकार्यमा गरौं र कुनै गाउँ बनाउने भन्यौं भने मलाई विश्वास छ त्यहाँ पाँच हजार युवा पुग्छन् । तीन दिनमा गाउँ बन्न सक्छ

भूकम्पपछि हेर्नुस्, युवाहरु कहाँ कहाँ पुगेका छैनन् । जति सकेको आफूले सहयोग गरेका छन् । कसले गरेन भनेर बसेनन्, कसैलाई पर्खिएको छैन । वाह् भन्छु म । नेपाली हुनुमा गर्व मलाई किन छ भने उहाँहरुलाई हेरेर । त्यो युवाशक्तिलाई राम्रोसँग परिचालन गर्न पनि यो कोअर्डिनेटिक इफोर्टबाट नै हो । उहाँहरुलाई पनि लाग्छ हामी पनि लागौं ।

यदि हामीले सबैको सहकार्यमा गरौं र कुनै गाउँ बनाउने भन्यौं भने मलाई विश्वास छ त्यहाँ पाँच हजार युवा पुग्छन् । तीन दिनमा गाउँ बन्न सक्छ।

यो भूकम्पले इमारत मात्र होइन, हाम्रो विश्वासको पुलसमेत कमजोर भएको छ । सरकार र जनताको विश्वास, अन्तराष्ट्रिय मित्रको विश्वास डग्मगाएको छ । उहाँहरुप्रति हाम्रो विश्वास पनि डग्मगाएको छ । यति घोषणा त भयो तर, खानामा नै यति खर्च भयो भनेर पढ्छु म । त्यो पुल पनि डग्मगाएको छ । त्यसैले हाम्रो विश्वासको पुल बलियो बनाउन पनि सहकार्य गरेर अघि बढ्नुपर्छ । जब विश्वासको पुल मजवुत हुन्छ, अनि काम गर्न जाँगर आउँछ र शक्ति आउँछ ।
यसका लागि सुरुवात कसले गर्ने हो भने सरकारले हो । ब्युरोक्रेसी हो । हामीले भोट गरेर पठाएको राजनीतिज्ञहरुले हो ।

उहाँहरुमा के विश्वास हुनुपर्‍यो भने यो मोडलमा गरौं भने हाम्रो नियन्त्रण कम हुँदैन । बरु, झन् बढीसँग कोअर्डिनेटिक कन्ट्रोल हुन्छ । किनभने अहिले अगाडि बढ्न काम सबैले गरोस् । तर, काम मेरो सरकारले गरोस् । मलाई मेरो देशप्रति, झण्डाप्रति र राष्ट्रगानप्रति धेरै माया छ । अरुको मदत लिनुपर्छ । तर, वुद्धि हामीले चलाउनुपर्छ र पसीना हामीले बगाउनुपर्छ ।

यसले ०७२ साल भनेको विनाशकारी भूकम्प मात्र होइन । नयाँ नेपाल निर्माणको सोच पनि यही भुइँचालोले लिएर आयो है भन्ने होस् । (कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment