Comments Add Comment

आफ्नै विमानस्थलमा भारतीयबाट अपमानित भएर फर्किँदा….

विष्णु रिजाल

‘तुम क्या कर सकते हो, करो, मुझे कोई फर्क नहीं पडता है । तुम जैसे लोग से बात कर्ना भी बेकार है । छोटे लोगका दिमाग भी छोटा होता है ।’

मैले जीवनमा पहिलोपटक नेपाली भएका कारण कसैबाट यसरी हेपिनुपर्ला भन्ने कल्पना गरेको थिइँन । एकपटक दिल्ली विमानस्थलमा नेपाली नागरिकता बोकेवापत अपमानित हुनुपर्दा अर्काको भूमिमा जति मन रोएको थियो, आज मध्यान्ह आफ्नै देशको विमानस्थलमा एकजना भारतीय सैनिक अधिकारीका मुखबाट यस्ता शब्द सुन्दा त्यसभन्दा बढी व्यथित हुन पुगेको छु ।

हुन पनि हो, नेपालमै आएर उनले हामीलाई जति हेपे पनि, हामी जति रोई कराई पनि उनलाई के नै फरक पर्ला र ? तर, मनभित्रको स्वाभिमान चाहिँ नराम्ररी बिथोलिँदोरहेछ ।

bishnu-rijal
विष्णु रिजाल

हिजो साँझ भूकम्प प्रभावित क्षेत्रमा जानका लागि सैनिक मुख्यालयबाट आज बिहान विमानस्थलमा आउन भनिएको थियो । बिहान ९ बजे सहकर्मी उज्जल पहाडीसँग ११ नम्बर बाहिनी अड्डा पुग्दा बिहानी लटका साथीहरु उडिसकेका रहेछन् ।

फ्रेन्च टोलीलाई लिएर पुगेका भोजराज भाट, थाइल्यान्डका पत्रकारलाई लिएर गएका अनन्त अनुराग, आफूलाई फ्रान्सको कुनै अनलाइनको पत्रकार बताउने अनिश गजुरेल, फोटोपत्रकार शालिग्राम तिवारीलगायतका हामी सीमित पत्रकार त्यहाँ थियौं ।

उज्वलजी र म चिनियाँ हेलिकोप्टरमा धुञ्चे जान छानिएका रहेछौं । विमानस्थलमा भारतीय हेलिकोप्टरका कारण चिनियाँ जहाज साँझ बस्न आफ्नै भूमि केरुङ जान्छन् । विहान केरुङको मौसम सफा भएन छ र ती जहाज आउन सकेनन् । निकै ढीलो, १२ बजेतिर नेपाली सेनाको जनसम्पर्क निर्देशनालयकी क्याप्टेन मञ्जु खड्काले चिनियाँ हेलिकोप्टर आउन नसक्ने भएकाले हामीलाई भारतीय वायुसेनाको हेलिकोप्टरमा सिन्धुपाल्चोक जान भनिन् । हामीले हुन्न भन्ने कुरै थिएन ।

फ्रान्सको अनलाइनमा काम गर्छु भन्ने ती मित्र दोस्रो धमला रहेछन् । भारतीय सैनिक जनसम्पर्क अधिकारीसँग उनले अनेक कुरा गरिरहेको हामीलाई मात्र होइन, नेपाली सैनिक अधिकारीलाई पनि मन परेको थिएन । यसबीचमा चीनको सीसीटीभीका दुईजना सम्वाददाता पनि थपिए ।

सिन्धुपाल्चोक जाने हेलिकोप्टरमा ती दुईजना चढे । अर्को एउटामा शालिग्रामजी जानुभयो ।
पहिलादेखि नै भारतीय अधिकारीसँग हिमचिममा रहेका ती पत्रकार पोखरा भए पनि जान्छु भन्दै अर्को हेलिकोप्टरतिर दौडिए, तर जान पाएनन् ।

indian officerअन्तिममा हामी (उज्जल र म) लाई सिन्धुपाल्चोक लैजानका लागि क्याप्टेन मञ्जुले हेलिकोप्टरतिर लगिन् । त्यहाँ पुगेपछि बी पाण्डे नाम गरेका भारतीय सैनिक अधिकारीले पहिलादेखि नै आफूसँग रहेका पत्रकार लैजानैपर्ने र हामीमध्ये एकजना गए पुग्ने कुरा गरे ।
मलाई उनको कुरा चित्त बुझेन । मैले नम्र भाषामा अनुरोध गरे, – ‘हेलिकोप्टर तपाईंहरुको हो, सीट क्षमता दुईजनाको मात्रै छ भन्नुहोस् । तर, को जाने र को नजाने ? तपाईंले भन्ने होइन, हाम्रो सेनाले भन्छ ।’

मिस्टर पाण्डेलाई मेरो कुरा चित्त बुझेनछ । उनले ‘यहाँ कसलाई लैजाने, कसलाई नलैजाने ? मैले निर्णय गर्छु । मन लाग्छ भने जाऊ, मन लाग्दैन भने नजाऊ’ भन्दै ‘तिमी चाहिँ बसिहाल भनेर उनलाई हतारहतार भित्र हुले । कुरा यतिमै रोकिएन । मैले थपे- ‘म तपाईंको कुरा मान्नै सक्दिँन । तपाईं यहाँ सहयोग गर्न आउनुभएको हो, शासन गर्न होइन । को जाने, को नजाने भन्ने कुरा नेपाली सेनाले भन्नुपर्छ, तपाईंले होइन ।’

मिस्टर पाण्डे मेरा कुरा सुन्न तयार थिएनन् । उनले आफ्नो बखान यसरी गरे- ‘मैले तीन हजार पत्रकारलाई ह्यान्डल गरेको छु, आइआइएसीबाट मास्टर्स गरेको छु । कसरी मिडिया ह्यान्डल गर्नुपर्छ, मलाई थाहा छ, तिमी जस्ताले मलाई केही गर्न सक्दैनौ ।’

मलाई उनीसँग एउटा प्रश्न सोध्न मन लाग्यो- ‘तपाईं यहाँ किन आउनुभएको हो ?’ स्वाभाविक थियो उनले ‘सहयोग गर्न’ भन्ने उत्तर दिए । अनि ‘फलानो जाने, फलानो नजाने भनेर किन निर्णय गर्नुहुन्छ त ?’ भनेर प्रश्न गर्दा हरिबहादुर शैलीमा जवाफ दिए- ‘यो मेरो अधिकार हो ।’
मैले पनि उनलाई जवाफ फर्काएँ- ‘यो नेपाल हो, यहाँ नेपालीले भनेको कुरा हुन्छ, सरकारी जागिरमा रहेकाले तपाईं यहाँ आउनुभएको हो, अरु केही कारण होइन ।’

यति सम्वाद हुँदा विमानस्थलमा स-सानो भीड नै जम्मा भइसकेको थियो । मैले भनेका कुरा नेपाली सैनिक अधिकारीलाई पनि मन नपरेका थिएनन् होला । तर, कसैले बोल्ने आँट गर्न सकेनन् ।

त्यसपछि हामी हेलिकोप्टर चढेनौं र फर्रक्याैं ।

विमानस्थलमा भारतीय पक्षको दादागिरीका बारेमा निरन्तर समाचार सार्वजनिक नभएका होइनन् । तर, यति स-साना कुरामा पनि भारतीय पक्षबाट दादागिरी चल्ला भन्ने अनुमान आफैंले नभोग्दासम्म थाहा पाएको थिइँन ।

यति घटना उल्लेख गरिसक्दा फेरि पनि म एउटा कुरामा स्पष्ट छु- नेपालमा भूकम्प आउँदा नेपाली प्रधानमन्त्रीले भन्दा पहिला थाहा पाएर ट्वीट गर्ने भारतीय प्रधानमन्त्री र उनको सरकारले नेपालीमाथि अपमानजनक व्यवहार गर्नु भनेर पक्कै पनि यिनीहरुलाई तलब दिएर पठाएको होइन ।

भारतका आफ्नै प्राथमिकता छन्, आफ्नै सीमा छन् । मुख्य कुरा नेपाल गरिब छ, सानो छ, हामीमा निर्भर छ भन्ने जुन भारतीय मानसिकता छ, त्यसको प्रतिबिम्ब कहिले दूताबासका कर्मचारीमार्फत प्रकट हुन्छ, कहिले यस्ता सैनिक अधिकारीहरुबाट प्रकट हुन्छ ।

शनिवार मात्रै अन्नपूर्ण पोस्ट दैनिकका सम्पादक युवराज घिमिरेलाई दूताबासका प्रवक्ता अभय कुमारले फोन गरेर ‘पीत पत्रकारिता गरेको’ आरोप लगाएको प्रकरण सेलाइसकेको छैन । पत्रकार महासंघले यसबारे विज्ञप्ति निकालेको छ ।

भारतीय मिडियामा जसरी नेपाललाई चित्रित गरियो, त्यसको आलोचना नेपालमा भन्दा भारतमा बढी भइरहेको छ । ट्वीटरमा सुरु गरिएको ‘गो होम इन्डियन मिडिया’ ह्यासट्याग ट्वीटरको मुख्य टे्रन्ड यत्तिकै बनेको होइन ।

संकटका बेला भारतले नेपाललाई ठूलो सहयोग गरेको छ । भारतीय सेनाका सवारी साधन, उपकरणदेखि जनशक्तिसम्म अहोरात्र उद्धार र राहतमा जुटेका छन् । यस प्रसंगमा संकटको साथीका रुपमा भारतलाई हृदयदेखि नै धन्यवाद नदिइरहन सकिँदैन ।

तर, यसको मतलब यो होइन- हामी भारतसँग आश्रति छौं, ऊ मालिक र हामी नोकर हौं । दशौं हजार मानिस भूकम्पमा परी मरेका छन् । हामी दुःखमा छौं । तर, यही दुःखका बेला हामीलाई कमजोर पार्ने, सहयोग गर्दागर्दै उत्तरी छिमेकी चीनलाई चिढ्याउने र हाम्रो स्वाभिमानमाथि खेलवाड गर्ने जुन आभाष भइरहेको छ, हामी यसलाई सर्वथा अस्वीकार गर्दछौं ।

स्वयम् भारतीय नीति-निर्माताहरुले पनि बुझ्नुपर्छ, यति धेरै सहयोग गर्दागर्दै नेपालमा किन आफ्नो आलोचना भइरहेको छ ? किन उनीहरुले बेलाबेलामा चिन्ता गरे जस्तो नेपालमा ‘भारतविरोधी भावना’ प्रवल छ ? यसको उत्तर खोज्न कुनै विश्वविद्यालय हो वा कुटनीतिक पाठशालामा जानुपर्दैन, अभय कुमार वा मिस्टर पाण्डे जस्ता भारतीय अधिकारीहरुले आफ्नो क्षुद्र व्यवहारलाई नियाले पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment