Comments Add Comment

सत्तारुढ दलकै सभासदबाट सरकारको आलोचना

फाइल तस्वीर
फाइल तस्वीर

२७ वैशाख, काठमाडौं । भूकम्प पीडितको उद्धार, राहत र पुनःस्थापनाको काम चित्तबुझ्दो नभएको भन्दै सत्ता साझेदार दलकै सभासदहरुले सरकारको विरोध गरेका छन् ।

संकल्प प्रस्तावमाथिको छलफलमा आइतबार धारणा राख्ने सभासदहरुले भूकम्प पीडितहरुले राहत नपाएको भन्दै सरकारप्रति आक्रोश पोखे ।

वर्षा सुरु हुनु अघि नै सुरक्षित आवासको व्यवस्था गर्न, पर्याप्त राहत पुर्‍याउन र संकल्प प्रस्तावमा उल्लेख भएका विषय कार्यान्वयनमा जोड दिन सभासदहरुले सरकारको ध्यानाकर्षण गराए ।

काँग्रेसका अर्जुन नरसिंह केसीले भूकम्प पीडितहरुले राहत महसुस गर्ने गरी सरकारले योजना नबनाएको आरोप लगाए । उनले रकमान्तर गरेर भए पनि भूकम्प पीडितलाई राहत र पुनर्निर्माणको काममा खर्च गर्न माग गरे ।

पुस्ता सकिने चिन्ता

एमालेका शेरबहादुर तामाङले अब केन्दि्रकृत बस्ती निर्माणमा जोड दिए । अहिले भत्किएकै घरको जगमा नै फेरि घर ठड्याउने तयारी भैरहेको भन्दै उनले त्यसलाई रोक्नुपर्नेमा जोड दिए ।

‘शनिबारको दिन राति भूकम्प गएको भए हामीहरु सिद्धिने थियौं । शनिबार बाहेक अरु दिन भूकम्प गएको भए विद्यालय गएका हाम्रा छोराछोरी परेर पुस्ता सिद्धिने थियो,’ उनले भने, ‘अब नयाँ ढंगले बस्ती बनाउन लागौं ।’

एकीकृत नेकपा माओवादीका अग्निप्रसाद सापकोटाले मृतक परिवारलाई तीन लाख, घर भत्किएका परिवारलाई पाँच लाख र सबै प्रभावितहरुलाई दश लाख उपलब्ध गराउन माग गरे ।

यस्तै हितराज पाण्डेले विद्यालयहरुमा तत्काल पढाइ सन्चालनको व्यवस्था गर्न, हरेक वडामामा स्वास्थ्य चौकी बनाएर औषधि उपचार गर्न, भूकम्पबाट संकटग्रस्त जिल्लासँग सीमा जोडिएका अरु जिल्लालाई पनि संकटग्रस्त सूचीमा राख्न, ऐतिहासिक धरोहरको सामानको संरक्षण तथा पुनर्निर्माण गर्दा नेपाली मौलिकतालाई ध्यान दिन माग गरे ।

राप्रपाकी राज्यलक्ष्मी श्रेष्ठले भूकम्पले प्रभावित अधिकांश क्षेत्रमा अझै पनि पर्याप्त राहत नपुगेको भन्दै सरकारको आलोचना गरिन् ।

राप्रपा नेपालका विक्रमबहादुर थापाले विपत्तीकोबेला सबै राजनीतिक दल मिलेकोले जनतामा सकारात्मक सन्देश गएको भन्दै खुसी व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment