Comments Add Comment

जब रामेछापकी मनमायालाई बाँच्ने आश पलायो….

नवराज पथिक

२८ वैशाख, रामेछाप । ओत लाग्ने एक थान पाल, ओढ्ने एउटा कम्बल र सुत्ने एउटा म्याट पाएपछि मनमाया दर्जीले त्रिपुरेश्वर उच्च माविको प्राङगणमा दुई थोपा हर्षका आँशु झारिन् । अँगालोमा राहत सामाग्री च्याप्दै भनिन्-बाँच्ने आश पलायो हजुर ।

राहत लिँदै मनमाया दर्जी
राहत लिँदै मनमाया दर्जी

दुरागाउँ ८ कि मनमाया यो गाउँकी सम्भवतः सबैभन्दा विपन्न एकल महिला हुन् । उनको आफ्नो भन्ने खरको एउटा झुपडी पनि भूकम्पले भत्काएपछि बारीको पाटोमा धेरै रात बिताइन् ।

मनमायामात्र होइन, दुरागाउँका अधिकांश बासिन्दा दिनहुको मूसालधारे वर्षा छल्न रुखको ओत लाग्ने अवस्थामा छन् । कतिपय गाउँले दुःखसुख गोठ बनाउँदै ओतको व्यवस्था गरे पनि मनमाया जस्ता असहायले त्यो पनि गर्न सकेका छैनन् ।

सरकारी तहबाट पुगेको केही थान पाल पनि टाठा बाठाहरुले बाँड्न थालेपछि मनमायाहरुको पहुँच नै पुगेन । पछिल्लोपटक मापदण्ड बनाएरै मनमाया जस्ता निमुखाहरुको लिस्ट गाविसले तयार पारेपछि उनको पालो पहिलो नम्बरमै आयो ।

अनलाइनखबरकर्मी मात्रिका पौडेलले एक साताअघि दुरागाउँको भ्रमण गरेर फर्किएपछि अनलाइखबरमा लेखेको स्थलगत रिपोर्ट पढेपछि विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरुको पहलमा त्यहाँ आइतबार पहिलोपटक राहत सामाग्री पुग्यो र मनमायाहरुको मुहार हँसिलो भयो ।

हुन त यसअघि सरकारी पहलमा केही पाल र राहत सामाग्री पुगेको थियो । तर, गाउँ पूरै ध्वस्त भएकाले अधिकांश पीडित अहिले पनि कोही आएर केही दिन्छन् कि भन्ने पर्खाइमै छन् ।

भरियाको भर

रामेछाप जिल्लाका ५५ गाविसमध्ये मोटरबाटोले समेत नछोएको यो दुर्गम गाउँमा राहत सामाग्री ढुवानी गर्न पनि समस्या छ । अनलाइनखबरकर्मी पौडेलको स्थलगत रिपोर्टबाट प्रभावित भएर विभिन्न व्यक्तिले गरेको सहयोग पहिलो चरणमा त्यहाँ भरियाले बोकेर पुर्‍याएका थिए ।
Ramechap-Rahat1
भरियामार्फत सामान ढुवानी गर्नुपर्ने समस्याका कारण पनि दुरागाउँ जस्ता गाउँहरुमा राहत सामाग्री पुग्न नसकेको पूर्व सांसद देवशंकर पौडेलले बताए । सैपूसम्म झारिएको राहतको चामल लिन दुरागाउँका बासिन्दा ठूलो हूल बाँधेर नाम्लो बोक्दै गन्तव्यस्म्म पुगेका थिए ।

अमेरिका निवासी कविता कुँवर र अष्ट्रेलिया निवासी राधिका विष्टले दुरागाउँबासीका लागि फण्ड नै खडा गरेर रकम संकलन गरेका थिए । त्यस्तै सोही गाउँमा जन्मिएर बेलायतमा बसोबास गर्ने लक्ष्मी गुरुङ, सितारा पौडेल र साँघुटारमा जन्मिएर बेलायतमा बस्ने रोशन थिङले बेलायतमा रकम संकलन गरेका थिए ।

त्यस्तै अष्ट्रेलियामै बस्ने ओखलढुंगाका सानु निरौला, काभ्रेका नारायण चौलागाई र कोरियन ट्विटेको समूहले पनि दुरागाउँका लागि सहयोग जुटाएका थिए । ‘यातायात सम्पर्क समेत नरहेको र कसैको पहुँच नभएको दुरागाउँको बारेमा पढेपछि त्यहाँका जनतालाई सघाउन मन लाग्यो’ कविता कुँवरले अमेरिकाबाट भनिन् ।

आइतबार दुरागाउँमा गैरसकारी क्षेत्रबाट पहिलो पटक भूकम्प पीडितहरुलाई राहत वितरण गरिएको थियो । हालसम्म केही नपाएकाहरुको पहिचान गरी ८६ थान पाल, कम्बल र म्याट वितरण गरिएको वडा नागरिक मञ्चका अध्यक्ष दीपबहादुर गुरुङले बताए ।

त्यस्तै मृतक परिवारलाई ओत लाग्ने पाल, बस्ने म्याट र ओढ्ने कम्बल अलग्गै वितरण गरिएको थियो भने त्यस गाउँका सबैभन्दा बिपन्न, अशक्त र असहायहरु छनौट गरी नगद एक एक हजारसहित राहत सामाग्री प्रदान गरिएको थियो ।

Ramechap-Rahat9

गाविसमा रहेको सूची अनुसार प्रत्येक वडाबाट ३ जना अति विपन्न र असहायको सूची छनौट गरिएको गाविस सचिव लेखनाथ चौलागाईले बताए ।

‘जिल्लाकै उपेक्षित दुरागाउँका लागि विदेशमा बस्ने मनकारीहरुले जुन सहयोग संकलन गरेर पठाउनुभयो त्यसका लागि अनलाइनखबर र उहाँहरुप्रति यो गाउँ सधै आभारी छ’ सचिव चौलागाईले भने ।

यो समूहको सहयोगमा संकलित रकमबाट थप ५० थान पाल र एक सय थान कम्बल दुरागाउँमा लैजाने तयारी भइरहेको र केही खाद्यान्न पनि संकलन भइसकेको छ । अनलाइनखबरकर्मी पौडेलले आफ्नो तर्फबाट थप ५० थान पाल संकलन गरेका छन् ।

दंग छन् दानीहरु

आफूहरुले हात फैलाएर गरेको सहयोग वास्तविक पीडितले पाउन् भनेर सिधै दुरागाउँका लागि कोष संकलन गरेको अमेरिका निवासी कविता कुँवरले बताइन् । गायिका समेत अष्ट्रेलिया निवासी राधिका विष्टले पनि केही नपाएकाहरुलाई प्रत्यक्ष रुपमै सघाउन पाउँदा खुसी लागेको बताइन् ।

Ramechap-Rahat-10

गाउँमा विपत्ति परेका बेला आफू प्रत्यक्ष उपस्थित हुन नपाए पनि गाउँलेले थोरै भने पनि राहत पाउन् भनेर बेलायत र अमेरिकामा समेत साथीहरुमार्फत आफूले सहयोग जुटाएको बेलायत निवासी लक्ष्मी गुरुङले बताइन् ।

पशुपति फाउण्डेशनको सहयोग

अनलाइखबरमा दुरागाउँबासीले केही नपाएको कथा पढेपछि अमेरिकास्थित पशुपति फाउण्डेशनले समेत दुगाउँबासीका लागि सहयोग जुटाएको थियो । अमेरिकादेखि आएका फाउण्डेशनका गोकुल पौडेलको अगुवाइमा खाद्यान्न र राहत सामाग्री संकलन गरिएको थियो ।

Ramechap-Rahat7

फाउण्डेशनको पहलमा झापाबाट निर्माण व्यवसायी मदन अधिकारीले दुरागाउँबासीका लागि पठाएको ४५० बोरा चामल तथा नून र तेल पनि गाविस सचिव चौलागाईलाई हस्तान्तरण गरिएको छ ।

त्यस्तै पशुपति फाउण्डेशशनले दुरागाउँका लागि थप करीव एक सय थान पालसमेत पठाएको छ । यसअघि पूर्वसञ्चारमन्त्री माधव पौडेलले दुरागाउँका लागि ३० थान पाल पठाएको सचिव चौलागाईले बताए । त्यस्तै राष्ट्रिय पञ्चायतका तत्कालीन अध्यक्ष नवराज सुवेदीले पनि केही पाल र कम्बल सहयोग प्रदान गरेका छन् ।

पूर्वसभासदको आर्थिक सहयोग

यसैबीच सोही गाउँकी बासिन्दा पूर्वसभासद लक्ष्मी गुरुङले दुरागाउमा भूकम्पबाट मृत्यु हुनेका परिवारलाई आफ्नो तर्फबाट जनही ३ हजार रुपैया प्रदान गरेकी छन् ।

उनका पति स्वर्गीय नेत्रबहादुर श्रेष्ठको स्मृतिमा गुरुङले सो सहयोग प्रदान गरेकी हुन् । श्रेष्ठको माओवादी युद्धमा लाग्दा मृत्यु भएको थियो । भूकम्पमा परी दुरागाउँ गाविसबाट ९ जनाको मृत्यु भएको छ ।

Ramechap-Rahat-11
पीडितलाई औषधि

सोही अवसरमा दुरागाउँका भूकम्प पीडितका लागि वान हर्ट वर्ल्डवाइड नामक संस्थाको सहयोगमा स्वास्थ्यकर्मी भगवती राणाले दुरागाउँ उपस्वास्थ्य चौकीका इन्चार्ज वीरेन्द्र मिश्रलाई औषधी लगायत स्वास्थ्य सामाग्री प्रदान गरेकी थिइन् ।

उपस्वास्थ्य चौकीसमेत भूकम्पले भत्किएका कारण गैरआवासीय नेपालीहरुको सहयोगमा पुर्‍याइएको एक थान पाल उपचारकेन्द्र स्थापना गर्नका लागि मिश्रलाई प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment