Comments Add Comment

कविता : भौतिक क्षेति भयो त के भो ?

विपतले बिरामी परेको देश
भत्किएको भित्ताको भग्नावशेषमा
भाग्य खोजिरहेका हामी नेपाली
साहस र शान्तवनाले अघाएका छौं ।
मुठीमा देशको माटो लिएर मर्ने
नेपालीलाई आज दैव लागेको छ ।
हुने हार दैव नटार भनेझै भएको छ
आफ्नो आँखा अगाडि ढलेको
घरको भिक्तामा हामी भक्कानिरहेका छौं ।
पुरिएको घरको अँगेनाको आँटीमा
बसेर विगतलाई संझदैछौं ।
चिरिएको आँगन जस्तै मन पनि चिरिएको छ ।
दलिन र दलान कामै नलाग्ने भएको छ
कुकुर र कागको क्रुर आवाजले
साह्रै क्रोधित भएका छौं ।
तर पनि हामीमा अलि पनि
साहस मरेको छैन ।
हाम्रा पुर्खाले बनाएको पर्खाल
पुरानो भएको भान भै रहेको छ ।
हाम्रा धरोहरले बनाएका धरहरा ढलेपनि
धैर्य र धिरता ढलेको छैन ।
पुर्खाले बनाएका पुराना संरचना
हामीबाट सदाको लागि सकिएको छ ।
नयाँ नेपाल बनाउने जिम्मा हाम्रो
काँधमा आएको छ ।
माटोलाई मैन बनाएर मैदानमा
मिलाउनु पर्ने बेला आएको छ ।
हरेस नखाऔ हिक्मत बटुलौं
आँशु र डरलाई तिलाञ्जली दिँदै
अघि बढौं ।
हामी मरेका होइनौं
हामी मारिएका पनि होइनौं
कालजयी मात्र भएका हौं
हाम्रो घर भत्किएको होइन
नव निर्माण हुन लागेको हो ।
हामीले आँशु बगाएका पनि होइन
हाम्रो तत्परतालाई
शक्तिमा बदलेका मात्र हौं
भौतिक क्षेति भयो त के भो ?
हामी सकिएका पनि त छैनौं
हाम्रो पाखुरीमा बल छँदैछ
मागेर खादैनौं हामी
बरु माग्न आउनेलाई जति
सक्दो दिएर पठाउँछौ
किनकी हामी विर नेपाली
जय नेपाल ।

– मुकुन्द रिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment