Comments Add Comment

भूकम्पसँगै सिद्धियो राणाकालीन युग !

Rana

नविन अर्याल/श्रीधर पौडेल
१ जेठ, काठमाडौं । नेपालमा ००७ सालको क्रान्तिले राणा शासन ढालेको थियो । राणाकालमा निर्मित भौतिक संरचनालाई ०७२ सालको भूकम्पले ढालेको छ । प्रधानमन्त्री कार्यालयसमेत रहेको सिंहदरबारको मुख्य भवनसमेत अब बस्न लायक रहेन । यो भूकम्पसँगै अब राणाकालीन भौतिक संरचनाको युग समाप्त भएको छ ।

वैशाख १२ गते गएको भूकम्पले राजधानीमा रहेका अधिकांश राणाकालीन दरबारहरु क्षतिग्रस्त भएका छन् । ऐतिहासिक महत्व बोकेका अधिकांश दरबार प्रवेश गर्नै नसकिने अवस्थामा पुगेका छन् ।

राणाहरुले निर्माण गरेका यी दरबारहरुकै भरमा अहिलेसम्म ठूला सरकारी कार्यालय टिकेका थिए । राष्ट्रपति निवास र प्रधानमन्त्री कार्यालयदेखि सरकारको केन्द्रीय ढुकुटी रहेको राष्ट्र बैंकसमेत अब नयाँ बनाउनुपर्ने भएको छ ।

पुरानो वास्तुकलाको प्रतिनिधित्व गर्नुका साथै नेपाल सरकारको मुख्य प्रशासनिक निकायका रुपमा रहेका राणाकालीन भवनहरु उपत्यकामा कस्तो हालतमा पुगेका छन् भन्नेबारे अनलाइनखवरको रिपोर्ट :

सिंहदरबार मुख्य भवन

Singha Dhubar
चन्द्र समसेरले बनाएको सिंहदरबारको मुख्य प्रशासकीय भवन भूकम्पले भत्किएको छ । रक्षा मन्त्रालयसमेत रहेको यो भवन भत्किएपछि नजिक जान सूचना टाँसेर रोक लगाइएको छ । रेड स्टिकर पाएको यो भवनबाट रक्षा मन्त्रालयलाई सारिँदैछ ।

सिंहदरबारको मुख्य भवनको छाना खसेको छ । वालहरु भत्किएका छन्, टाढैबाट चिरिएको छ । मुलुककै ‘शो केस’ का रुपमा लिइने यो भवन पुनर्निर्माण समेत गर्न नमिल्ने गरी भत्किएको त्यहाँ कार्यरत कर्मचारी बताउँछन् ।

भवनबाट भुँईमा ईंटा खसेका छन् । भित्र जानै नसकिने गरी वाल र सिलिङहरु भत्किएको कर्मचारीले बताए । अगाडिको भाग खसेपछि यो भवनको सुन्दरता समेत बिग्रिएको छ ।

बबर महल

Babar Mahal

सडक विभाग र महालेखा परीक्षकको कार्यालय रहेको बबरमहल भूकम्पले लगभग ध्वस्त भएको भन्दा फरक पर्दैन ।

चन्द्र समसेरका पालामा बनेको बबर महलको ईंटामा इस्वी संवत् १९०९ लेखिएको भेटिएको छ । बबर समशेरको निवास भएकाले यसको नाम बबरमहल भएको हो । महलकै कारण यो ठाउँको नामलाई नै बबरमहल भनिन्थ्यो । तर, अब यस्तो अस्थित्व लोप हुने स्थिति देखिएको छ ।
सडक विभागका कर्मचारीका अनुसार भवन भित्र-बाहिर दुबैतिरबाट छियाछिया भएको छ । सिलिङ झरेको छ, वालहरु खसेका छन्, आर्क स्टाइलमा रहेका झ्यालहरुमा पनि भर्टिकल क्र्याक भएका छन्, ढोकाहरु भाँचिएका छन् ।

तीन तला रहेको बबहर महलको दोस्रो तला झरेर काम नलाग्ने अवस्थामा पुगेको छ । महालेखा परीक्षकको कार्यालय पनि कामै नलाग्ने गरी भत्किएको छ । त्यहाँ कार्यरत कर्मचारी डराएर भित्र पस्न सकेका छैनन् ।

यो भवन पुरै भत्काएर नयाँ बनाउनुपर्ने अवस्थामा पुगेको कर्मचारीको भनाइ छ । कार्यालयको काम नजिकै रहेका नयाँ भवनमा सारेर गर्न थालिएको छ ।

पुतली बँगैचा, सिंहदरबार

Putali Bagaicha
युवा तथा खेलकुद मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालय रहेको यो भवन भूकम्पले क्षतिग्रस्त बनाएको छ । रातो स्टिकर टाँसिएको यो भवनमा भित्र बसेर काम गर्न नसकिने भएपछि कर्मचारी बाहिरै टेन्ट टाँगेर बसेका छन् ।

भवनको छानो खसेको छ, ईंट्टाहरु खसेका छन्, भित्ताहरु फुटेका छन्, समग्रमा भन्नुपर्दा भवन पूर्णरुपमा ड्यामेज भएको छ । भवन भत्काएर नयाँ बनाउनुपर्ने अवस्थामा पुगेको एक कर्मचारी अनलाइनखबरलाई बताए ।

सिंह महल, थापाथली

Simha Mahal

थापाथलीस्थित नेपाल राष्ट्र बैंकको कार्यालयको अगाडिको भाग भत्किएर भुँईमा खसेको छ । यो भवन सिंहसमशेरले बनाएको हुनाले यसको नाम सिंह महल रहेको हो । भत्किएको इँट्टामा १९८४ लेखिएको हुँदा सोही सालमा भवन निर्माण भएको अनुमान गर्न सकिन्छ ।

चारतले यो भवन भूकम्पको ठूलै प्रभाव परेको छ । ‘चौथो तला खसेको छ, भित्र भित्ताहरु पुरै भत्किएका चिरिएका छन्’ एक कर्मचारीले भने- ‘भवन बिजोग अवस्थामा पुगेको छ, अफिस पनि सारिएको छ ।’

कर्मचारीहरु नयाँ भवन र अन्यत्र सरेका छन् । भवन बाहिरबाटै हेर्दा पनि क्षतविक्षत अवस्थामा देखिन्छ । ‘भवनको अवस्था विजोग छ, भित्र गएर हेरिसक्नु छैन’ कर्मचारीले भने । भवन पूर्ण रुपमा क्षतिग्रस्त भएपछि सरकारले रातो स्टिकर टाँसिदिएको छ ।

राष्ट्र बैंक, बालुवाटार

Nepal Rasta Bank Baluwatar

नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित प्रशासनिक भवन सूवर्ण समशेरले बनाएका हुन् । बाहिरबाट हेर्दा निकै आकर्षक देखिने यो भवन भूकम्पपछि कुरुप बनेको छ । भूकम्पले अगाडिको आकर्षक भाग पूरै खसेको छ । भित्र पनि भित्ताहरु भत्किएको कर्मचारीले बताए ।

यो भवनका तलाहरु समेत खसेका छन् । पुरै भवन क्षतिग्रस्त भएको बाहिरबाटै प्रष्टै देखिन्छ । भवनको छत खसेपछि भुइँभरि ईंटा छरिएका छन् । भित्र बसेर काम गर्न सक्ने अवस्था नभएपछि बाहिरै टेन्ट टाँगेर कर्मचारी बसेका छन् ।

हरिहर भवन पुल्चोक

Harihar Bhawan
हरिहर भवनमा भूकम्पबाट ठूलो क्षति पुगेको छ । वहालवाला तथा अवकाशप्राप्त कर्मचारीहरुको अभिलेख र पुरातात्विक महत्वका अति महत्वपूर्ण हस्तलिखित ग्रन्थसहितका पुस्तकहरु रहेको हरिहर भवनमा सरकारी निरीक्षण टोलीले रातो स्टिकर टाँसेको छ ।

यो भवन चन्द्र समसेरका छोरा शंकर समसेरले बनाएका हुन् । उनी १९८६ सालदेखि यो भवनमा बस्न सुरु गरेका थिए । हरिहरको मूर्ति राखिएको हुँदा यस भवनको नाम हरिहर भवन राखिएको छ ।

निजामति किताव खाना, नेपाल राष्ट्रिय पुस्कालय र मानवअधिकार आयोगको कार्यालय रहेको यो भवनमा कार्यरत कर्मचारीहरु बाहिरै टेन्ट टाँगेर बसिरहेका छन् । किताब खानाका शाखा अधिकृत कृष्णमणि फुँयालका अनुसार भवन पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

बाहिरबाट हेर्दा भवनमा चिरैचिरा देखिन्छ । ‘दक्षिण र उत्तरपट्टिको भाग तल्लो तलामा खसेको छ, दक्षिणतिरको भाग न्यायिक प्रतिष्ठानतर्फ खसेको छ’ फुँयालले भने- ‘भित्र ५ सेन्टिमिटरका चिराहरु कति छन् कति, भित्ता र भुँईं च्यातिएर कागजजस्तो बनेको छ ।’

प्राविधिकहरुले भूकम्प आउनु अघि नै यो भवनलाई खतराको सूचीमा राखे पनि सरकारी कार्यालयहरु जबरजस्ती सञ्चालन गरिँदै आएको थियो । तर, अब बस्नै नहुने भएको छ ।

त्रिभुवन-चन्द्र मिलिटरी अस्पताल, महांकाल

Tribhuwan Military Hospital

यो भवन भूकम्पमा परी काम नलाग्ने भएको छ । बाहिरबाटै हेर्दा भत्किएको र चर्किएको अवस्थामा देखिने यो भवनभित्र गइनसक्नु भएको एक सिपाहीले अनलाइनखबरलाई बताए ।

लडाईँमा ज्यान गुमाउने सपुतहरुको सम्झनामा १९८२ सालमा चन्द्र समसेरले यो भवन निर्माण गरेका हुन् ।

‘भवनका भित्ता चर्किएका छन् । ठाउँठाउँमा ईंटा खसेका छन्’ ती सिपाहीले भने- ‘बस्न त परै जाओस्, हिँड्नसमेत मिल्दैन ।’

बहादुर भवन, कान्तिपथ

Bhadur Bhawan

निर्वाचन आयोग र उपराष्ट्रपतिको कार्यालय रहेको बहादुर भवनमा सरकारी निरीक्षण टोलीले पहेंलो स्टिकर टाँसिदिएको छ । अन्य भवनहरुको तुलनामा कम क्षति पुगेको यस भवनमा कर्मचारीहरु डराई-डराई काम गरिरहेका छन् ।

भवनको अगाडि भाग ठाउँठाउँमा चिरिएको छ । पछाडिको भाग त्यहाँ निर्माणाधीन १५ तले अग्लो होटलका कारण भासिएको एक कर्मचारीले बताए । उनले भने, ‘पछाडि बस्नै नमिल्ने गरी भत्किएको छ ।’

भवनको माथिल्लो तलामा रहेको युएनडीपीको कार्यालय बस्न नमिल्ने भन्दै भागेको कर्मचारीले बताए । भवनका कतिपय ठाउँमा भित्ता चर्किएका छन् भने जोइन्टहरु छुट्टएिका छन् । आयोगका कर्मचारीहरु भित्र बसेर काम गरे पनि उपराष्ट्रपति कार्यालयका कर्मचारी भने बाहिर निस्किएका छन् ।

केशर महल

Keshar Mahal

चन्द्र समसेरका साइँला छोरा केशर समसेरले करिव १ सय १५ वर्ष अगाडि निर्माण गरेको केशर महल पनि भूकम्पबाट क्षतिग्रस्त भएको छ । केशर महलमा रहेको पुस्तकालय भत्किएपछि कर्मचारी बाहिरै बसेका छन् ।

केही वर्ष अगाडि शिक्षा मन्त्रालय रहेको यस भवनमा अहिले केशर पुस्तकालय, सम्पत्ती शुद्धीकरणको कार्यालय, युनेस्कोको निमित्त कार्यालय, शिप विकास परियोजनाका कार्यालय छन् ।

पहेंलो स्टिकर टाँसिएको यस भवनमा भित्ताहरु चर्किएका छन्, कतिपय ठाउँमा वाल तथा सिलिङ झरेको छ, तला भासिएको छ । तीन तलाको यो भवन बस्न नमिल्ने अवस्थामा पुगेको छ ।

पुराना किताबहरु रहेको भवन भत्किएपछि वर्षामा पानीबाट जोगाउन मुस्किल हुने देखिन्छ । केशरसमशेर इंग्लैन्डको लाइब्रेरीबाट प्रभावित भएर यहाँ पुस्तकालय खोलेका थिए । राणाकालपछि सरकारी नियन्त्रमा आएको यो भवनमा सरकारले पनि पुस्तकालयलाई निरन्तरता दिएको हो ।

भवन पुननिर्माण नगरीभित्र पस्न सक्ने अवस्था नरहेको कर्मचारीहरु बताउँछन् । यो भवनको पछाडिको भाग खसेको छ । छानासमेत चुहिने भएपछि वर्षाको पानी पसेर पुरै भवन ढल्ने सम्भवना रहेको कर्मचारी बताउँछन् ।

सेतो दरबार, लाजिम्पाट

Seto Dhubar

चारतारे शंकर होटल र आन्तरिक राजश्व कार्यालय रहेको सेतो दरबारको छतको तला पुरै भत्किएको छ । यो दरबारमा जुद्ध समसेरका नातिहरु बसोबास गर्थे ।

सेतो दरबार बाहिरबाट हेर्दा पुरै चर्किएको देखिन्छ भने भित्रपट्ट िसबै कोठाहरु चर्किएको एक कर्मचारीले बताए ।

आन्तरिक राजश्व कार्यालयका कागजपत्र सारिसकिएको छ । चार तलाको यो भवन चर्किएर बसी नसक्नु भएको छ ।

तर, शंकर होटल भने भवन पुनर्निमाणमा जुटिरहेको छ । शंकर होटल भवन पुनर्निर्माणमा जुटे पनि धेरै खर्च लाग्ने र भवन पनि बलियो नहुने जानकारहरुले बताए ।

बालमन्दिर (सीता महल), नक्साल

Sita Mahal Balmandir

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान रहेको सीता महलले भूकम्पपछि रेड स्टिकर पाएको छ । भवन भत्किएर खसेपछि सरकारी निरीक्षण टोलीले रेड स्टिकर लगाइदिएका हुन् ।

सीता महल भीम समसेरले बनाएका हुन् । यो भवनमा भारतीय सांस्कृतिक केन्द्र र नेपाल वाल संगठन समेत रहेको छ । यहाँ रहेका अनाथ बालबालिकालाई स्थानान्तरण गरिएको छ ।

तीन तले यो महलमा अगाडि र छेउको भाग खसेको छ । भित्ताहरु पुरै चर्किएका छन् । भवन काम नलाग्ने अवस्थामा पुगेको त्यहाँ कार्यरत कर्मचारी पुष्पराम अधिकारीले बताए । कर्मचारीहरु बाहिरै बसेर काम गरिरहेका छन् । भित्रको गाह्रोसमेत भत्किएको, चर्किएको र ईंटाहरु खसेको अधिकारीले बताए । यो भवन पुरै भत्काएर नयाँ बनाउनुपर्ने अवस्थामा पुगेको छ ।

श्रीमहल, पुल्चोक

Shree Mahal

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग र राष्ट्रिय आवास कम्पनी रहेको ललितपुरको पुल्चोकस्थित श्रीमहल भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त भएको छ । अनलाइनखबरको टोली श्रीमहलमा पुग्दा सबै कर्मचारीहरु बाहिर टेन्ट टाँगेर बसिरहेका थिए ।

पाँचतले यो दरबार राणाकालमा श्री दरबारको नामले परिचित थियो । विसं. १९७६ सालमा बनाउन सुरु गरिएको यो भवन १९७८ सालमा निर्माण सम्पन्न भएको थियो । तत्कालीन श्री ३ चन्द्रसमशेरले छोराहरुका लागि यो भवन बनाइदिएका थिए । राणाकाल अन्त्यपछि यो घर सरकारीकरण भएको हो ।

भूकम्पबाट भवनको बाहिर र भित्र दुबै ठाउँमा क्षति पुगेको छ । सरकारले यो दरबारमा सरकारले रातो स्टिकर टाँसेर प्रवेशमा प्रतिबन्ध लगाएको छ । अब यो भवन भुत-बंगलाजस्तै बन्ने स्थितिमा पुगेको छ ।

श्रीमहलमा केही वर्ष अगाडि स्थानीय विकास मन्त्रालय बसेको थियो । भवनको नजिकसमेत जान डराउनुपर्ने अवस्था छ । भवन पुरै चर्किएको छ र ठाउँठाउँमा भित्ताहरु खसेको विभागका वरिष्ठ डिभिजन इञ्जिनियर जीवन गुरागाईंले जानकारी दिए । यो भवन मर्मत गर्न नसकिने अवस्थामा पुगेको उनले बताएण् ।

श्रीमहलमा विभागअन्तर्गत सञ्चालित प्रोजेक्टका विदेशी कन्सल्ट्यान्टहरुको कार्यालयसमेत थियो । भूकम्पले भवन क्षतिग्रस्त भएपछि विदेशीहरु समेत बाहिरिएका छन् ।

जावलाखेल दरबार

JawalaKhel Durbar

निजामती कर्मचारीहरुलाई प्रशिक्षण दिने स्टाफ कलेज रहेको जावलाखेल दरबार पनि भूकम्पबाट चर्किएको छ । सरकारले पहेंलो स्टिकर टाँसेको छ ।

वीरसमशेेरले आफ्ना भाइ जुद्ध समसेरका लागि इस्वी संवत १८८८ मा यो दरबार बनाइदिएका हुन् । यो दरबारको इस्वी संवत १९३२ मा पुननिर्माण गरिएको थियो ।

भूकम्पका कारण भवनको भित्र-बाहिर दुबैतिर चर्किएको छ । भित्ताहरु भत्किएका छन् । असुरक्षित महसुस गरेपछि सबै कर्मचारीलाई सुरक्षित ठाउँमा सारिएको प्रशासकीय उपनिर्देशक शिवरामकृष्ण केसीले अनलाइनखबरलाई बताए ।

नारायण भवन, जावलाखेल

Narayan Bhavan

नारायण समशेरले निर्माण गरेको यो भवन भूकम्पबाट क्षतिग्रस्त भएको छ । सरकारी निरीक्षण टोलीले पँहेलो स्टिकर टाँसेको छ ।

भत्किएको गाह्रोमा १९९२/०९२ मा बनेका ईंटा भेटिएका छन् । यसका आधारमा हेर्दा यो भवन १९९० सालको भूकम्पपछि बनेको स्पष्ट हुन्छ
यो भवन भत्किएपछि सबै कर्मचारीहरु सुरक्षित ठाउँमा सरेका छन् । ‘भवन क्षत विक्षत अवस्थामा पुगेको छ ।

तालिम हल तल झरेको छ, भित्ताहरु झरेका छन्’ केन्द्रका निर्देशक हरिकृष्ण कोइरालाले भने- ‘भवन पुनर्निर्माण हुने अवस्थामा छैन, पुरै भत्काएर नयाँ बनाउनुपर्छ ।’

यो भवनमा महिला विकास प्रशिक्षण केन्द्र, पञ्जिकरण विभाग, प्रजातन्त्र सम्बर्द्धन केन्द्रका साथै सुविधाविहीन बालबालिका एवं जियोग्राफी इन्फरमेसन सिष्टमको कार्यालय थिए ।

आनन्द निवास, पुल्चोक

Aananda Niwas

आनन्द समशेरले निर्माण गरेको आनन्द निवासमा अहिले पुल्चोक इञ्जिनियरिङ कलेजको प्रशासनिक कार्यालय छ । तर, यो भवन पनि भूकम्पको झड्काले क्षतिग्रस्त भएको छ । यो भवन यसअघि पनि पुनर्निर्माण गरिएको थियो ।

भवनभित्र पस्न लायक नभएको बताउँदै एक कर्मचारीले कार्यालय सारिसकेको जानकारी दिए । भवनको छानोका साथै कोठाहरु भत्किएका छन् । भित्तामा धाँजा फाटेका छन् । बाहिरैबाट ठाउँठाउँमा भत्किएको र चिरा परेको देखिन्छ ।

बसन्तपुर दरबार
basantapur
भूकम्पको सबैभन्दा ठूलो प्रभाव बसन्तपुर दरबारमा परेको छ । वैशाख १२ गते भुइँचालो आउँदा यो दरबार नराम्रोसित भत्किएको छ । दरबार भत्किँदा ठूलो भौतिक तथा मानवीय क्षति समेत भएको थियो ।

बसन्तपुर दरबार राजधानीका अन्य दरबारभन्दा निकै चर्चित थियो । नेपाल भ्रमणमा आउने विदेशी पर्यटक एकपटक बसन्तपुर दरबार पुग्ने गर्दथे । बसन्तपुर दरबार ढलेपछि यो क्षेत्रको सुन्दरता हराएको छ ।

शितल निवास, महाराजगञ्ज

Sital-Niwas-Final

राष्ट्रपति कार्यालय रहेको महाराजगञ्जस्थित शितल निवास पनि भूकम्पले भत्किएको छ । राणा प्रधानमन्त्री चन्द्र समशेरले आफ्नो छोरा कृष्ण समशेरका लागि यो भवन बनाइदिएका हुन् ।

भूकम्पले शितल निवास भत्किएपछि राष्ट्रपति डा. रामवरण यादव सुरक्षित भवनमा सरेका छन् । वैशाख १२ गते भूकम्प गएपछि राष्ट्रपति यादव बाहिरै सुतेका थिए । भवन ठाउँ-ठाउँमा चर्किएको छ ।

शितल निवास भूकम्पले बस्नै नमिल्ने गरी चर्किएपछि राष्ट्रपति भवन नयाँ बनाउनुपर्ने देखिएको छ । भवनमा बसेर काम गर्न असुरक्षित देखिएको त्यहाँ कार्यरत एक कर्मचारीले अनलाइनखबरलार्इ बताए ।

पुल्चोकको श्रीमहलदेखि सिंहदरबारसम्म भूकम्पले क्षतिग्रस्त भएपछि सरकारले लगभग सबैमा रातो स्टिकर टाँसिएका छन् । बाँकी केही दरबारहरुमा आंशिक क्षति पुगेपछि पहेंलो स्टिकर टाँसिएका छन् । हेर्दा सग्लोजस्ता देखिने केही भवनहरु पनि अब भूकम्पीय जोखिममा परेका छन् ।

रातो स्टिकरधारी यी दरबारहरु पुनर्निर्माण गर्न नसकिने अवस्थामा छन् । यी दरबारहरु पूर्ण रुपमा भत्काएर नयाँ बनाउनुपर्ने हुन्छ । पहेंलो स्टिकर टाँसिएका भवनहरु मर्मत गर्न सकिने भए पनि अर्को भूकम्पमा ती भवनहरु मृत्युको कारक बन्न सक्ने खतरा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment