Comments Add Comment

अमेरिकी हेलिकोप्टर सिन्दूरेडाँडामा दुर्घटनाग्रस्त भेटियो

१ जेठ, काठमाडौं । मंगलबारदेखि हराइरहेको अमेरिकी सेनाको हेलिकोप्टर दोलखा र सिन्धुपाल्चोकको सीमानामा पर्ने घोर्थलीको सिन्दूरे डाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

कालिन्चोकका एक स्थानीयको सूचनाका आधारमा गएको नेपाली सेनाको हेलिकोप्टरले दुर्घटनाग्रस्त अमेरिकी हेलिकोप्टर शुक्रबार फेला पारेको हो । घोर्थलीको सिन्दूरे डाँडामा हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाको चौतारास्थित गोरखनाथ गणका गणपति सुरेशकुमार कार्कीले अनलाइनखबरलाई जानकारी दिए ।

सोमबार सिन्धुलीमा उद्धार कार्यमा खटिएको UH-1Y हेलिकोप्टर
सोमबार सिन्धुलीमा उद्धार कार्यमा खटिएको UH-1Y हेलिकोप्टर

कालिन्चोक डाँडाको उत्तरपूर्वी दिशातर्फ झण्डै ११ हजार २०० फिटको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा हेलिकोप्टर भेटिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

यो ठाउँ सिन्धुपाल्चोक र दोलखाको सीमानामा पर्छ । घोर्थली बाह्रबिसेबाट माथि सिन्धुपाल्चोक जिल्लामा पर्छ भने दोलखाको बिगु गाविस जोडिएको छ ।

मंगलबार भूकम्प प्रभावितहरुको उद्धारका लागि गएको अमेरिकी सेनाको हेलिकोप्टर सुनखानी क्षेत्रबाट सम्पर्कविहीन भएको थियो । हेलिकोप्टरमा नेपाली सेनाका २ र अमेरिकी सेनाका ६ गरी ८ जना सैनिक थिए ।

हराइरहेको अमेरिकी हेलिकोप्टरको खोजीका लागि नेपालका साथै अमेरिकी ओस्प्रो विमान समेत प्रयोग गरिएको थियो । साथै ४०० पैदली फौज र नेपाली सेना, भारत र अमेरिकाका हवाइ साधनलाई समेत प्रयोग गरिएको थियो ।

अनुसन्धान सुरू 

अहिले नेपाली सेना र अमेरिकी सेेनाको टोलीले घटनास्थल क्षेत्रको सुरक्षा प्रदान गरेको छ । अमेरिकी टीभी सीएनएनका अनुसार तीनजनाको शव भेटिएको छ । अन्यको शव भेटिएको छैन ।

मौसमले साथ दिएमा छिट्टै विस्तृत अनुसन्धान गरी प्रतिवेदन पेश गरिने सेनाले ननाएको छ । हाल अनुसन्धान प्रारम्भिक तहमा छ । अमेरिकाले पनि अनुसन्धान गर्ने बताएको छ ।

सीएनएनले भने चरिकोट नजिकैबाट हेलिकोप्टर सम्पर्कविहीन हुनुअघि चालक दलका सदस्यहरुले इन्धनमा समस्या पाएको रेडियो ट्रान्समिसनले संकेत गरेको बताएको छ ।

यो पनि पढ्नुहोस्

अमेरिकी हेलिकोप्टर हराउँदा तीनथरि आशंका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment