Comments Add Comment

मानसिक स्वास्थ्यमा भूकम्पले सिर्जना गरेको विपत्ति

क्लेरी बेन्नेट

जब विपतले तहस नहस भएका ठाउँहरु सञ्चार माध्यमहरुमा छाइरहन्छन्, तब के हुन्छ ? विपतको वास्तविक असर हेर्नै असजिलो लाग्नेखालको भयो भने के हुन्छ ? नेपालमा हालैको भूकम्पले  विश्वभरका सञ्चारमाध्यमहरुको ध्यान आकृष्ट गर्‍यो । मिडियाले भूकम्पपछिको अवस्थाबारे गरेका लाइभ कभरेजहरुका कारण हामीले भत्किएका तथा क्षतिग्रस्त भएका हरेक भवनहरुलाई आफ्नै आँखा अगाडि देख्न पायौँ । भग्नावशेषबाट जिउँदै उद्धार गरिएका वा शव निकालिएका दृश्यहरु देखिए । प्रत्यक्षदर्शी तथा विज्ञहरुका अनेकथरि टिप्पणीहरु पनि प्रशस्तै देख्न र सुन्न पाइयो ।

earthquake-dhading-2
अन्तरराष्टिय सहायताको पनि बढ्दो परिमाणमा प्रतिवद्धता प्राप्त भइरहेको छ, कुनै गेम शोको दुखलाग्दो प्यारोडी जस्तैगरी । मर्नेहरुको संख्या दिनहुँ उकालो लागिरहेको छ । निकै दुखदायी अवस्था छ । निकै भयानक अवस्था छ । सबैभन्दा अँध्यारो अवस्था छ भन्दा फरक पर्दैन ।

यद्यपि कुनै समाचार स्वभावैले लामो समयसम्म नयाँ समाचार बनिरहन सक्दैन । समय बित्दै जाँदा सुरुमा निकै प्रमुखताका साथ सञ्चार माध्यममा आएको उही विपतलाई रिपोर्टिङ गर्ने थोरै मात्र शैली हुन्छन् । पहिले सबै कुरा भनिसकिएको र देखिसकिएको हुनाले सोही कुरालाई बारम्बार प्रस्तुत गरिरहन अनावश्यक हुने हुँदा सीमित कोणमात्र बाँकी रहन्छन् । समयक्रमसँगै उक्त शोक जीवन जिउने संघर्षमा परिणत हुन्छ र त्यो जीवनको संघर्ष समाचार बन्दैन ।

आफ्नो दैनिक जीवन यापनका लागि कठिन परिश्रम गरिरहेका र चरम गरिबीमा बाँचिरहेका विश्वको जनसंख्याको ठूलो हिस्सा सचारमाध्यमको कभरेजभन्दा बाहिर छ । उनीहरु चुपचाप बाँच्छन् र चुपचाप मर्छन् ।

बेलायतमा अघिल्लो हप्ताको आमचुनावमा सञ्चारकर्मीहरु देशभित्रको राजनीतिक सरगर्मी मात्र होइन, नेपालमा के भैरहेको छ भन्नेमा पनि चासो दिइरहेका थिए ।  दुर्भाग्यवस मंगलबार अर्को भयानक भूकम्प गएपछि नेपाल फेरि अन्तरराष्टिय मिडियाहरुमा पुनः छायो ।

त्रसित प्रत्यक्षदर्शीका लामहरु, ध्वस्त भएका गाउँका कथाहरु तथा रगताम्मे दृश्य सहितका भिडियो फुटेजहरु पुनः सञ्चार माध्यममा आए ।
वास्तवमा बुझ्नुपर्ने कुरा के हो भने नेपालमा दुईवटा भूकम्प गएका होइनन् । मंगलबारको भूकम्प पनि अपि्रल २५ को भूकम्पको पराकम्पन हो । अप्रिल २५ को भूकम्पपछि नेपालमा ४ म्याग्नेच्युड भन्दा ठूला धेरै भूकम्प गइसकेका छन् ।

तर, सञ्चार माध्यममा खबर प्रशारण गर्नेहरुले एक अर्काको नक्कल गर्ने आफ्नै विधिको विकास गरे । शब्दहरुले नयाँ अर्थ तथा सन्दर्भ विकशित गरे । ‘आयो’ भन्ने शब्द पहिले लोडसेडिङपछि बिजुली आउँदा वल्लो घरको बच्चाले पल्लो घरको बच्चालाई सुनाउँदा भन्ने शब्द थियो । तर, अहिले भने यो पीडाको अभिव्यक्ति बनेको छ । भूकम्पका हरेक धक्कापछि मानिसहरुले ‘आयो’ भन्ने गरेका छन् । र, यो शब्दसँगै मानिसहरु घरबाट ह्वार्र बाहिर निस्किन्छन् ।

वातावरण सामान्य बन्ला तथा स्थिरता र निश्चितता प्राप्त होला भन्ने आशा गर्नेहरुका लागि भूकम्पीय विज्ञानले खासै सन्तोष प्रदान गर्दैन

नेपालीहरु खुल्ला आकाशमुनि बस्न बाध्य हुनुका अतिरिक्त घर ढलेर त्यसमा पुरिने डरले कतिपयले घरको भुइँतलाको बाहिरपट्टि सुतेर रात गुजारिरहेका छन् । जनजीवनमा भइरहेको यो निरन्तरको  गडवडीलाई अन्तराष्ट्रिय मिडियाहरुले ठाउँ दिइरहेका छैनन् । किनकि ७ रेक्टर स्केलभन्दा तलका भूइँचालोहरुले रिपोर्टिङका लागि मसला सिर्जना गर्दैनन् भन्ने सोचाइ छ सञ्चारकर्मीहरुमा । जब वास्तविक पीडा भोग्नेहरुसँग पीडाको अनुभूति गर्नेगरी आफू पनि त्यही ठाउँमा होइँदैन, तब रिपोर्टिङ गर्न अनावश्यक ठानिएका भूकम्पहरु अदृश्य बन्दछन् ।

नेपालको निरन्तरको अस्थिरताले सिर्जना गरेका असरहरु भौतिक क्षतिभन्दा बढी पीडादायी तथा गम्भीर त्रासदीपूर्ण छन् । काठमाण्डौस्थित सिवेक हस्पिटल एण्ड ट्राभल मेडिसिन सेन्टरकी मनोविज्ञ सोनिया मार्टिनका अनुसार भूकम्पले मानसिक स्वास्थ्यमा असर पुर्‍याइसकेको देखिएको छ । उनका अनुसार भूकम्पका कारण अब के हुने हो भन्ने विषयमा मानिसहरुमा डर तथा अनिश्चितता व्याप्त छ ।

अनुसन्धानले के देखाएको छ भने विपतले सिर्जना गर्ने दीर्घकालीन संवेगात्मक प्रभावले मानिसलाई शक्तिहीन बनाउने तथा आफूलाई कमजोर महसुस गर्दै आफुभन्दा शक्तिशाली अन्य बाह्यपक्षमाथिको नियन्त्रण गुमाउने हुन्छ ।

पहिलो भूकम्पपछि सामान्यीकरण बन्दै गएको नेपाली जनजीवन मंगलबारको भूकम्पपछि फेरि असामान्य बनेको छ र यत्रतत्र त्रिपालमय बनेको छ । निरन्तरको पराकम्पनको अर्थ, मानिसहरु आफ्नो अविवेकी आक्रमणकारीको फेरि पञ्जामा परिरहेका छन् । समयक्रमसँगै पीडा तथा त्रासदी कम हुँदै जानुको साटो दिन तथा हप्ता बित्दै जाँदा चरम तनाव झनै बढिरहेको छ ।

वातावरण सामान्य बन्ला तथा स्थिरता र निश्चितता प्राप्त होला भन्ने आशा गर्नेहरुका लागि भूकम्पीय विज्ञानले खासै सन्तोष प्रदान गर्दैन । भूकम्प विज्ञान अर्थात् सेस्मोलोजी सामान्य ढाँचाको विज्ञान हो, कुनै नियम होइन र यसले सुस्पष्ट उत्तर दिन सक्दैन ।

मंगलबारको ७.३ रेक्टर स्केलको भूकम्प आउनुअघि सोसल मिडियामा दुई विरोधाभासी कुराहरु आएका थिए । कतिपयले अब ६ रेक्टर माथिको भूकम्प आउने सम्भावना ९९ प्रतिशत नरहेको बताए भने कतिपयले मुख्य भूकम्पजत्तिकै शक्तिशाली जुम्ल्याहा आएरै छाड्दछ भन्ने दाबी गरे ।

राहत र उद्धारको अग्रपंक्तिमा खटिएका धेरै मानिसहरु जसको न त दिनमा फुर्सद छ, न रातमा निद्रा, उनीहरुको आफ्नै घर तथा परिवार भूकम्पबाट नराम्रोसँग प्रभावित छ

भूकम्पले सिर्जना गर्ने अर्को अदृश्य विपद भनेको मानसिक तथा संवेगात्मक असर हो । भन्ने गरिन्छ मानसिक समस्याको विषय आफैमा अदृश्य विषय हो । बुझ्न सकिने, देखिने तथा सजिलै बोल्न वा भन्न सकिने अन्य समस्याले मानसिक समस्यालाई सधै ओझेलमा पारिरहेको हुन्छ । तर, आखिर अरबौँ डलरको भौतिक क्षतिसँग यो अदृश्य विपत कसरी तुलनायोग्य बन्यो ?

कम्तिमा नेपालको सन्दर्भमा मनोवैज्ञानिक क्षति अदृश्य छैनः यो वास्तविक छ र देखिने गरी विद्यमान छ । नेपालमा भूकम्पपीडितको राहतमा अग्रणी अन्तराष्ट्रिय संस्था फेज वल्र्डवाइडकी डाक्टर गेर्डा पोहलका अनुसार विपतको घटनापछि केही मानिसहरुले आत्महत्या गरेका र केहीले आत्महत्याको प्रयास गरेको घटना आफुले सुनेको बताउँछिन् ।

विपतले सिर्जना गरेको विनाश तथा क्षतिले सिर्जना गरेको सबैभन्दा ठूलो घाउ भनेकै बाँचेका मानिसहरुलाई जिन्दगीदेखि नै दिक्क लाग्छ र म किन बाँचेछु भनेर आफ्नै जीवनप्रति घृणा लाग्छ ।

सिन्धुपाल्चोकको फुल्पिङकोटकी देवकी नामकी एक महिला भूकम्पबाट गम्भीर घाइते भइन् । आफुसँगै रहेकी आफ्नी १६ वर्षकी छोरीलाई भने उनले बचाउन सकिनन् । छोरी मर्दा आफु किन बाँचेछुु भन्ने लागिरहेको छ अहिले उनलाई ।

विपतपछि प्रभावित क्षेत्रमा राहत तथा उद्धारमा खटिएका सहायताकर्मीहरु समेत संवेगात्मक आघातबाट अछुतो छैनन् । नेपालमा राहत र उद्धारको अग्रपंक्तिमा खटिएका धेरै मानिसहरु जसको न त दिनमा फुर्सद छ, न रातमा निद्रा छ । उनीहरुको आफ्नै घर तथा परिवार भूकम्पबाट नराम्रोसँग प्रभावित छ अनि कतिपयको जनधनको क्षति नै भएको छ ।

नेपालमा यो विपत्तिको असर लामो समयसम्म रहनेछ । भूकम्पीय धक्का रोकिएको लामो समयसम्म, क्षतिग्रस्त घर पुनर्निर्माण भएको लामो समयसम्म तथा भूकम्पीय समाचारहरु सञ्चारमाध्यममा आउन  छाडेको लामो समयसम्म पनि भूकम्पका असर कायम रहनेछन् ।
तर, यो दीर्घकालीन प्रभाव कति अदृश्य रहन्छ भन्ने कुरा हामीमै निर्भर हुन्छ । अन्तरराष्टिय समुदायले दानी भएर अहिले नेपाललाई प्रदान गरिरहेको सहयोग तथा ऐक्यवद्धता संकटका सुरुवाती दिनहरुमा मात्र नभएर दीर्घकालीन रुपमा लम्बिनु पर्छ । किनकि अदृश्यता सबैभन्दा ठूलो पीडा हो ।

स्रोतगार्जियन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment