Comments Add Comment

मेरो घर सद्दे छ, तर छिमेकीले बस्न दिएनन्….

राजकुमार श्रेष्ठ

३ जेठ, काठमाडौं । विनाशकारी भूकम्पले धेरैको घर भत्काउँदा कपन आकाशेधाराकी प्रमिला राउतको घरमा सामान्य चिरासमेत देखिएको छैन । तर, वैशाख १२ गतेदेखि उनी आफ्नो घरमा बस्न सकेकी छैनन् । वृद्ध बुबा र छोरालाई लिएर त्रिपालमा बस्दै आएकी छन् । आफ्नो घर सग्लै भए पनि उनलाई परेको पीडा बेग्लैखालको छ ।

Building collapsed After Eatrh Quake  (7)

आफ्नो घरको भन्दा पनि छिमेकीको क्षतिग्रस्त घरले कुनबेला किच्छ भन्ने डरले प्रमिलाले घर छाडेकी हुन् । उनको घरभन्दा माथिल्लो पट्टी रहेको पाँचतले घर कुनै पनि बेला ढल्ने अवस्थामा छ ।

छिमेकी किशोर बुढाथोकीको उक्त घरको पहिलो तलाको पिल्लर नै भाँचिएको छ ।’मेरो घरमा त केही भएको छैन तर, छिमेकीको घरले गर्दा आफ्नो घरमा बस्न सकेको छैन’ प्रमिलाले भनिन् ।

उनका घरका सबै सामानहरु भित्रै छन् । तर, परिवारजनमात्रै बाहिर बस्नुपरेको छ । पालमा बस्दा स्वास्थ्यमा समस्या भएपछि छोरालाई बिराटनगर पठाएकी उनलाई कहिलेसम्म यसरी पालमुनि बस्नुपर्ने हो भन्ने अन्योलले सताएको छ ।

प्रमिलामात्रै होइन, आङगोले शेर्पा, नीलहरि बास्तोलाको अवस्था यस्तै छ । कपन क्षेत्रका स्थानीयले तत्काल क्रेन ल्याएर क्षतिग्रस्त घरको संरचना सुरक्षित रुपमा हटाउन माग गरेका छन् ।

‘हामीलाई त चिमोटी चिमोटी मार्न लागेको जस्तै भएको छ’ छिमेकी नीलहरिले भने-‘प्रहरीदेखि सबैलाई भनेका छौं । तर, अहिलेसम्म केही भएको छैन, लगातार आइरहेको कम्पनले यो घर धराप थापेजस्तै भएको छ ।’

विनाशकारी भूकम्पले छिमेकीको घरमा क्षति पुगेपछि अहिले काठमाडौं उपत्यकामा धेरैको अवस्था यस्तै भएको छ । उनीहरुको घर त सुरक्षित छ । तर, छिमेकीका कारण बस्न सक्ने अवस्था छैन । आफ्नो घर सद्दे भए पनि लगातार त्रिपालमा बस्दै आएका छन् ।

सभासदको पनि उस्तै पीडा

छिमेकीलाई समेत बस्न नदिने यस्ता घरहरु राजधानीमा धेरै छन् । तर, सुरक्षित रुपमा हटाउन पहल भएको छैन । कांग्रेस सभासद अनिता देवकोटाले विकास समितिको बैठकममै आफ्नो घर सुरक्षित रहे पनि छिमेकीको घर चर्किएका कारण बस्न नसकेको गुनासो गरेकी थिइन् ।

Anita devkota

सभासद देवकोटाको भुइँतले घर ठीकै छ । तर, सँगै रहेको छिमेकी शुलोचना शर्माको घरको भुईँ तलामा धेरै क्षति भएका कारण छिमेकीहरु समेत आफ्ना सद्दे घरमा बस्न सकेका छैनन् ।

अनलाइनखबरको टोली बागडोलस्थित सभासद देवकोटाको घरमा पुग्दा छिमेकीहरु पनि जम्मा भएका थिए । उनीहरुले तत्काल भत्किएको घरको अध्ययन गर्न माग गरेका छन् ।  देवकोटाले भनिन्- ‘मंगलबार फेरि भूकम्प आएपछि बस्न गाह्रो भएको छ, प्रहरी र सिडिओलाई भनेका छौं । तर, केही भएको छैन ।’

कति दिन यसरी बाहिर बस्ने ?

अनलाइनखबरकर्मीहरु राजधानीका विभिन्न स्थानमा पुग्दा केहीले भने जोखिम मोलेरै भए पनि यस्ता संरचना नजिकै पसल चलाएको भेटियो ।

Building collapsed After Eatrh Quake  (4)

बालाजु बसपार्क क्षेत्रको मध्यपश्चिम गेष्टहाउस भएको घरको पहिलो तला कोल्याप्स भएको छ । त्यसलाई काठको टेको लगाएर अड्याइएको छ, जुन कुनै पनि बेला ढल्न सक्छ । तर, सँगै जोडिएको घरमा ऋषि कुँवरले पसल खोलेर बसेका छन् । ‘१२ गतेदेखि बन्द गरेको, अब कति दिन यसरी बस्ने भनेर केही दिनदेखि पसल खोल्न थोलेको’ धरापजस्तै घरतिर हेर्द उनले भने- ‘भूकम्प आउँदा मात्र होइन, सडकमा ठूलो गाडी आउँदा पनि दौडिनुपर्ने अवस्था छ ।’

उनीजस्तै कमलबहादुर थापाले पनि नीलोपुल नजिकै भत्किएको घर नजिकै होटल चलाइरहेका छन् । भूकम्पले भत्किएको घर मंगलबारको भूकम्पले दुईतला कोल्याप्स भएको छ । माथिको दुईतला भने चर्किएको मात्र छ । ‘पहिलाभन्दा कम जोखिम भएर पलस खोलेको हो’ उनले भने- काम त गर्नैपर्‍यो ।’

Building collapsed After Eatrh Quake  (11)

उनका अनुसार भत्किएको उक्त घर सुरुमा २ तला थियो । पछि तला थपेर साढे ४ तला बनायो । अहिले भूकम्पले पहिलो दुईतला कोल्याप्स भएको छ ।

कसले भत्काउँछ यस्ता घर ?

छिमेकीलाई समेत आफ्नो सग्लो घरमा बस्न नदिने यस्ता पिराहा घरहरु कसले भत्काउँछ ? छिमेकीहरुले सम्बन्धीत घरधनी र स्थानीय प्रशासनलाई छिटो घर भत्काउन र आफूहरुलाई घर र्फकने वातावरण बनाइदिन माग गरिरहेका छन् ।

यो पनि पढ्नुस् : घर नभत्केकालाई राज्यले कति दिन पाल्ने ?

कतिपय घरधनीहरुले त्यस्ता घर तत्कालै भत्काउँदा क्षतिपूर्ति नपाइने भन्दै भत्काउन अन्कनाएको बुझिएको छ । तर, यस सम्बन्धमा लिलितपुरका प्रमुख जिल्ला अधिकारी यादव कोइराला भन्छन्-‘अहिले त्यस्ता संरचना पन्छाउने र घरहरु भत्काउने काम गर्नोस्, पछि सरकारले क्षतिपूर्ति दिन्छ ।’

भत्केका घरहरुको विवरण सम्बिन्धित नगरपालिकाको वडा कार्यालय वा गाविसमा रेकर्ड गराएर त्यस्ता संरचना भत्काउनुपर्ने कोइरालाको सुझाव छ । सरकारको मात्रै मुख ताकेर बस्न नहुने प्रजिअ कोइरालाले अनलाइनखबरलाई बताए ।

तस्वीरः श्रीधर पौडेल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment