Comments Add Comment

थलीमा यसरी बन्यो भूकम्प पीडितको पहिलो शिविर (फोटो कथा)

Thali Shibir (23)

मात्रिका पौडेल/श्रीधर पौडेल

३ जेठ, काठमाडौं । भूकम्प र पहिरोले गाउँ बस्ती नै सिध्याएपछि सिन्धुपाल्चोकको उत्तरी क्षेत्रका बासिन्दा थाथतलो छाडेर काठमाडौंको थलीमा आन्तरिक शरणार्थी बन्न आइपुगेका छन् ।

मर्नेहरुको लास घर र खेत खलियानमै छाडेर बाँचेकाहरु लालाबाला बोकेर तातोपानीमा बाँकी रहेका डम्फरभित्र बसेर काठमाडौं आइपुगेका हुन् ।
उनीहरु थलीको कान्ति भैरव माध्यमिक विद्यालयको खुला चौर र त्यही छेउछाउका व्यक्तिका खाली जग्गामा आश्रय लिएर बसेका छन् ।

पछिल्लोपटक वैशाख २९ गतेको भूकम्पपछि बाँच्ने सम्भावना नदेखेर तापोपानी,लिस्ती, गुम्बालगायतका गाउँका मृत्युबाट जोगिएका बासिन्दाहरु गाउँ नै खाली गरेर थलीमा आइपुगेका हुन् ।

Thali Shibir (9)

‘कोही आउलान् हामीलाई उद्दार गर्न भनेर पर्खिर्यौं । तर, पर्खाइमै ज्यान जाने भएपछि सबै गाउँले भेला भएर कन्टेनरलाई प्रतिव्यक्ति ५ हजार तिरेर आयौं’ तातोपानी ९ किलोकी आरती तामाङले भनिन् ‘अब फर्केर जाने ठाउँ छैन’ ।

थलीमा मात्र सिन्धुपाल्चोकका तीन गाउँका करीव एक हजार बासिन्दा शनिवार तथा आइतबारसम्ममा भित्रिएका छन् । थातथलो छाडेर रित्तो हात काठमाडौं आइपुगेकी रमला सापकोटाले भनिन्- हामी त आफ्नै मुलुकमा शरणार्थी भयौं, हाम्रो बस्ती नै धरापमा छ फर्केर जाने अवस्था छैन ।

तातोपानी र लिस्तीका बाँचेका जति प्रायः सबै काठमाडौं आइरहेका छन् । कतिपयले घरमा पालेका कुखुरासमेत ल्याएका छन् भने गाइभैंसी र चौपायालाई फुकाएर छाडिदिएको आरतीले बताइन् ।

Thali Shibir (11)

साथमा पैसा नभएका केही मान्छे भने ज्यान जोखिममा राखेर उतै बसेको लिस्तीका पासाङ शेर्पाले बताए । ‘पहराबाट ढुंगा खसिरहेका छन्, तल खोलाले असार साउनमा बस्ती बगाउने निश्चित छ, तर पनि पैसा नभएकाले उनीहरु आउन सकेनन्’ उनले भने ।

आँखै अगाडि सयौं छिमेकी र आफन्तको मृत्यु देखेका र भूकम्प तथा पहिरोको त्रासदी व्यहोरेर काठमाडौं आइपुगेकाहरु अब त्यो गाउँ फर्के जाने आँट गर्दैनन् ।

थली स्कूलको चौरमा अनलाइनखबरकर्मीसँग कुरा गर्दै रमलाले भनिन्-चाइनिजले हामीलाई लैजान खोज्दा सरकारले मानेन रे, अब हामीलाई कि बास देओस् कि सास लेओस् ।

Thali Shibir (3)

मधेस जान तयार छौं

सरकारले पुनर्वासको व्यवस्था गरे तराई मधेसमा जान पनि तयार रहेको उनीहरुले बताए । ‘कालको मुखबाट जोगिएर आएका छौं, जहाँ लगे पनि जान्छौं’ तातोपानीकै जीतबहादुर जिरेलले भने ।

कब्जा गर्ने चिन्ता

एकातिर सिन्धुपाल्चोकका बस्ती नै जोखिम परेका मान्छेहरु थलीको खुला चौरमा आश्रय लिन आइरहेका छन् । अर्कोतिर थलीका स्थानीय भने अब उनीहरु फर्केर जाने अवस्था नभएकाले यतै कब्जा गरेर बस्ने हुन् कि भन्ने आशंकामा छन् ।

आशंकाकै कारण उनीहरुलाई स्कूलको चौरभन्दा केही पर एक व्यक्तिको निजी जग्गामा पाल टाँगेर अस्थायी बसोबासको व्यवस्था गराइएको स्थानीय सूर्य केसीले बताए । ‘स्कूलको जग्गाबाट हटाउन सकिन्न, बरु व्यक्तिको जग्गामा राख्दा त हटाउन सकिन्छ भनेर हो’ उनले भने ।

Thali Shibir (18)

स्कूलको प्रांगणमा दर्जनौं कन्टेनरहरु पार्क गरिएका छन् । कतिपय कन्टेनरहरु तातोपानी र लिपिङमा ढुंगाले किचेर क्षतिग्रस्त छन् । विस्थापितहरुको बसोबास पनि कन्टेनरभित्रै छ ।

बस्ती नै सखाप हुने खतरामा रहेका सिन्धुपाल्चोकका अन्य गाउँका बासिन्दा पनि सुरक्षित बासस्थानको खोजीमा काठमाडौं आउने क्रम बढेको छ । सरकारले बेलैमा व्यवस्थापन नगर्ने हो भने यिनीहरु आन्तरिक शरणार्थी बन्ने खतरा छ ।

Thali Shibir (28)

भागेर कुन ठाउँ जाउँ ?

सर्वस्व गुमाएर ज्यान जोगाउन यहाँ आइपुगेकाहरु भने सरकारले गाउँ नै सिद्धिएर शरणार्थी बनेकाहरुका बारेमा बेग्लै निर्णय गरोस भन्नेमा छन् । ‘हामी त अब कहीँका पनि रहेनौं, भागेर जाउँ भने पनि कहाँ जाउँ ? आफ्नै जन्मथलो आफ्नो रहेन’ रमलाले अनलाइनखबरसँग भनिन् ।
उनीहरुका घर छैनन् । मकै गोडने बेला भएको बारी चिरा परेर फाटिएको छ । गाउँ बस्तीमा ढुंगा लडिरहेका छन् । गरीखाने सबै उपाय सकिएको छ । सायद प्रलय भनेकै यही होला ।

Thali Shibir (4) Thali Shibir (1) Thali Shibir (5) Thali Shibir (2) Thali Shibir (6) Thali Shibir (7) Thali Shibir (8) Thali Shibir (15) Thali Shibir (19) Thali Shibir (21) Thali Shibir (25) Thali Shibir (26) Thali Shibir (27) Thali Shibir (29)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment