Comments Add Comment

बिहेको दिन बेहुलाको मनमा उठ्ने ८ प्रश्न

vivhaबिवाह भनेको महिला र पुरुष दुबैका लागि नयाँ जिन्दगीको सुरुवात हो । विवाहका कथा कहानी तथा मान्यता र सपनाहरुको बारेमा प्रसस्तै आलेख, विचार तथा अनुभवहरु पढ्न र सुन्न पाइन्छ । यद्यपि धेरैजसो लेखाइहरु बेहुलीकै कल्पना तथा सपनाहरुका बारेमा रहेका छन् । बेहुलाले आफ्नो विवाहलाई कसरी लिन्छन् ? विवाहपछिको जिवनका बारेमा कस्तो योजना बनाउँछन् ? भन्ने लगायतका विषयमा कमैमात्र ध्यान दिइन्छ । विवाहको समयमा बेहुलाको मनमा पनि चिन्ता, डर, उमंग तथा काउकुतीको हुण्डरी चलिरहेको हुन्छ । बिहेको बेला बेहुलाको मनमा उठ्ने केही प्रश्नहरु यस्ता हुन्छन्-

१. के मैले बिहे गर्न लागेको केटी मेरो लागि सही हो ?- विवाह मण्डपमा बसिरहेको समयमा धेरै बेहुलाहरुको मनमा यो प्रश्न उठ्छ की जसको साथमा उसले आफ्नो पूरै जिन्दगी बिताउन गइरहेको हुन्छ त्यो युवती उसका लागि उपयुक्त जिवनसाथी हुनेहो वा होइन । विवाहको दिनमा मात्र होइन त्यसपछिका हप्तौँ, महिनौँ तथा वर्षौँ सम्म पनि पुरुषको मनमा आफ्नो जिवनसाथीको सम्बन्धमा यो विचार आइनै रहेको हुन्छ । विवाह सम्बन्धी आफ्नो अन्तिम निर्णयको विश्लेषण युवकले सधै गरिरहेको हुन्छ ।

२. के मैले आफ्नो परम्परालाई राम्रोसँग धान्न सकेको छु ?- विवाह एउटा परम्परा पनि हो । आफ्ना सन्तानको विवाहसँग परिवार तथा आफन्तको पनि प्रतिष्ठा गाँसिएको हुन्छ । त्यसैले आफ्नो परिवार तथा समाजको मूल्य, मान्यता तथा परम्परालाई सम्मान गर्दै सबैको मन राखेर आफ्नो जिन्दगीको यो विशेष उत्सव सम्पन्न होस् भन्ने सबै युवकहरुको चाहना हुन्छ ।

३. सालीहरुलाई कति पैसा दिनुपर्ला ? – यद्यपि विवाहमा साली भेनाका प्रसँगहरु सबै समुदायमा समान नहोला । तथापि परम्परागत हिन्दु विवाहमा सालीले भेनाको जुत्ता लुकाउने र भेनाले सालीलाई पैसा तिरेर आफ्ना जुत्ता फिर्ता लिने संस्कार नै हुन्छ । पछिल्लो समयमा यो संस्कार महंगो बन्दै जानुका साथै फेसनको रुपमा समेत विकशित हुन पुगेको छ । यो परम्परामा आफु कमजोर तथा कन्जुस सावित नहोइयोस् र सालीहरुलाई राम्रै भेटीघाटी दिएर खुसी बनाउन सकियोस् भन्ने चाहना हरेक बेहुलाहरुको हुन्छ । त्यसैले विवाह मण्डपमा बसिरहँदा उनीहरु जुत्ता लुकाउने सालीलाई दिनुपर्ने रकमका विषयमा सोँचरिहेका हुन्छन् ।

४. म कत्तिको ह्याण्डसम देखिन्छु ? -विवाहको दिन केवल बेहुलीका लागि मात्र होइन बेहुलाका लागि पनि निकै ठूलो तथा महत्वपूर्ण दिन हेा । त्यसैले त्यो विशेष दिनमा आफु पनि सुन्दर देखिन पाइयोस् भन्ने चाहना हुन्छ सबैको । बिहेको दिन दुलहीप्रति मात्र होइन आफुप्रति पनि मानिसहरुको आँखा परोस् भनेर बेहुलो निकै सचेत भएको हुन्छ ।

५. खर्चपर्चको व्यवस्था कसरी गर्ने ?- विवाहपछि आर्थिक जिम्मेवारी बढ्छ, अर्थात् खर्च बढ्छ । हुनेवाला श्रीमतीको जागिर वा व्यवसाय नै किन नहोस् तर विवाहपछि परिवारको आर्थिक जिम्मेवारी अधिकांसतः पुरुषकै काँधमा हुन्छ । अझ आफ्नो पनि राम्रो कमाइ नभएको र श्रीमतीको पनि कुनै कमाइको बाटो नभएको अवस्थामा बेहुलाका लागि आर्थिक चिन्ताले बिहेकै दिनदेखि सताउन थाल्छ ।

६. परिवारसँगको सम्बन्ध के होला ?– आम मान्यता के छ भने विवाहपछि पुरुषको आफ्ना परिवारसँगको सम्बन्ध पहिलोजस्तो राम्रो रहन सक्दैन । आमा र श्रीमतीबीच समन्वय गर्न अप्ठेरो पर्छ धेरै हदसम्म । वास्तवमा आमाहरुले छोराको बिहेपछि छोरा आफुबाट गुमेको अनुभुति गर्दछन् भलै यथार्थमा त्यस्तो नहोस् । फरक संस्कार तथा सामाजिक, आर्थिक अवस्थामा हुर्किएकी बेहुलीलाई घरमा भित्राएर आफ्नो हैसियत अनुसार एडजस्ट गराउनु निकै कठीन काम हो ।

७. असल पति बन्न सक्छु ?– सबैको चाहना हुन्छ, असल जिन्दगी जिउन सकुँ । पुरुषले आफ्नो जिवनमा एकसाथ छोरा, साथी, दाजुभाइ तथा पतिको भूमिका निर्वाह गर्नुपर्छ र सबै सम्बन्धमा खरो उत्रिन सक्ने पुरुषको जिवन सफल तथा सुखी हुन्छ । विवाहपछि श्रीमतीसँगको सम्बन्ध सुमधुर बनोस् र दाम्पत्य जिवन सुखमय होस् भन्ने चाहना सबैको हुन्छ । त्यसैले विवाहको दिन बेहुलाको मनमा आउने एउटा सबैभन्दा अहम् प्रश्न भनेको के म उनको असल पति बन्न सक्छु ? भन्ने रहन्छ । बेहुलाले आफ्नी भावी श्रीमतीलाई हरेक सुख तथा सन्तुष्टि दिने सपना बुनिरहेको हुन्छ ।

८. हनिमुनको रात कस्तो रहला ?– विवाहपछि श्रीमतीसँगको पहिलो रात कस्तो होला ? भन्ने कल्पना सबै बेहुलाहरुको रहन्छ । फिल्महरुमा हेरेजस्तो, अरु कसैले भनेर सुनेजस्तो होला की बेग्लै होला ? यो उत्कण्ठाले सताइरहेको हुन्छ उनीहरुलाई । अझ यदि हुनेवाला श्रीमतीसँग हनिमुनकै रात जिवनमै पहिलोपटक यौन सम्पर्क हुँदैछ भने त त्यसको पर्खाइ झनै विशेष हुन्छ । -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment