Comments Add Comment

नाता गाँस्दै गोठमा आउलान् ! चेलीहरु होसियार !

मात्रिका पौडेल

cheli3

  • नुवाकोट थप्रेक २ का किशोरीलाई बेचबिखनबाट जोगिने उपायबारे सचेत गराउँदै शक्ति समूहकी अध्यक्ष सुनिता दनुवार

५ जेठ, घलेभन्ज्याङ, नुवाकोट । सिन्धुपाल्चोकको बाह्रबिसेका भूकम्पपीडित परिवारका दुई चेली एकाएक हराए । तीमध्येकी एक किशोरीलाई राहत बाँड्न गएका सामाजिक कार्यकर्ताले शंकास्पद अवस्थामा एक पुरुषसँग देखेपछि सोधपुछ गरे ।

सोधपुछका क्रममा भूकम्पले घरबास उठाएपछि खान बस्न समेत समस्यामा परेकी ती किशोरीलाई पैसा र पढाइको प्रलोभन देखाएर एक पुरुषले काठमाडौं लैजाँदै गरेको पाइयो । त्यसपछि उनलाई बसभित्रैबाट समातेर ती स्वयंसेवीले बनेपा प्रहरीलाई बुझाइदिए ।

यो घटना एक साताअघिको हो । बेचबिखनको उद्देश्यले किशोरीलाई प्रलोभनमा पार्ने व्यक्ति प्रहरीको फन्दामा परेका छन् । खाने बस्ने राम्रो ठाउँको प्रलोभनमा फसेकी किशोरीलाई भने बाह्रबिसेमै फर्काइएको छ ।

चेली जोगाउने चुनौती

यो घटनापछि नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक जस्ता मानव बेचबिखनका लागि बढी जोखिमपूर्ण मानिएका जिल्लामा किशोरी तथा बालवालिका जोगाउनुपर्ने अर्को चुनौती थपिएको छ ।

चेलिबेटी बेचबिखन बढी हुने जिल्लाहरु नै भूकम्पबाट अति प्रभावित बनेका छन् । प्रायः सबैका घरहरु भत्किएका छन् । बस्ने ठाउँ र खाने अन्नको अभाव भएका ठाउँमा दलालहरुले राहतका नाममा वा विभिन्न नाता लगाएर किशोरीहरुलाई प्रलोभनमा पार्ने क्रम शुरु भएको छ ।

cheli2
नुवाकोट कुलकुलेका किशोरी तथा युवतीलाई बेचबिखनका शैलीबारे जानकारी गराउदै स्थानीय सामाजिक कार्यकर्ता

नुवाकोटको थोप्राक गाउँमा पुग्दा त्यहाँ घर भत्किएर गोठमा बसिरहेका परिवारले शहरतिर बस्ने एकजना टाढाको नातेदारले १५ वर्षीया छोरीलाई पढाइदिन्छु भन्दै लिन आएको बताए ।

‘यता बस्ने घर पनि छैन, खाने अन्न पनि छैन, तपाईहरुलाई दुई चार महिना खान पुग्ने खाद्यान्न झारिदिन्छु र छोरीलाई म उतै लगेर पढाउँछु भन्दै दयालु बनेर आएका थिए,’स्थानीय सिंहबहादुर गोलेले अनलाइनखबरसँग भने,’तर हामीले दुःख सुख यतै बस्छे भन्यौं ।’

विपत र विवशताको मौका छोप्छन्

गरिवी र विपत्तिका बेला यस्ता परिवारको विवशताको फाइदा उठाउन बेचबिखनका दलालहरु राहत बाँड्ने नाममा गाउँ पस्ने सम्भावना बढेपछि शक्ति समूहले राहत तथा सचेतना अभियान एकसाथ चलाउन थालेको छ ।

मानव बेचबिखनविरुद्ध क्रियाशील संघ संस्थाहरुले भूकम्प पीडित बस्तीमा राहत र बेचबिखनको सम्भावित जोखिमका बारेमा समुदायलाई चेतना जगाउन जरुरी देखिएको शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारले बताइन् ।

‘यस्तो बेलामा हातका केही नलिई जनचेतनाका लागि मात्र बस्तीमा पस्न सकिन्न, हामी हारगुहार गरेर राहत सामाग्री र बेचबिखनबाट जोगिने उपायको बुकलेटसहित सिन्धुपाल्चोक, नुवाकोटलगायतका जिल्लामा गइरहेका छौं’ थोप्राकमा भेटिएकी दनुवारले अनलाइन भनिन् ।

दलालहरु सल्बलाए

cheli5
नुवाकोट घलेभन्ज्याङकी एक किशोरी, उनको घरबास भूकम्पले ध्वस्त पारेपछि गोठमा बसिरहेकी छन् ।

विशेष गरी सिन्धुपाल्चोक र नुवाकोटमा विगतदेखिकै दलालहरुको सञ्जाल सक्रिय हुन थालेको छ । कतिपय दलाल भूकम्पबाट जेल भत्किएपछि त्यही मौकामा जेलबाट भागेका सूचना पनि आइरहेका छन् ।

गाँसबास गुमाएर निराश भइरहेका बेला दलालले राम्रो लाउने, मीठो खाने र शहरमा गएर पढ्ने प्रलोभनमा गाउँका किशोरीलाई जालमा पार्ने खतरा बढेकाले त्यस्ताको पहिचान गर्ने र जोगिने उपाय सिकाउन आवश्यक देखिएको काभ्रेमा रहेकी अखिल महासचिव नविना लामाले बताइन् ।

विपतका बेला बेचबिखनको उच्च जोखिम बढ्ने भएकाले शक्ति समूह र महिला पुनस्र्थापना केन्द्र ओरेकले मिलेर जोखिम बढी भएका ठाउँका किशोरीहरुलाई जोगिने उपाय सिकाउन थालेका छन् ।

नाता गाँस्नेसँग होसियार

‘यस्तोबेला नाता गाँस्दै पाल र झुपडीमा आउने मान्छेलाई झट्टै विश्वास नगर्नु, राहतका नाममा आउने मान्छेले तपाईकी छोरी चेलीसँग अनावश्यक कुरा गर्न खोज्यो भने रोक्नुस्’ बेचबिखन विरुद्धका अभियन्ताहरुले यस्तै सुझाव दिँदै हिडिरहेका छन् ।

भूकम्पले घर भत्किएर वा पहिरोमा परेर अभिभावक गुमाएका बालवालिका तथा किशोरीहरु सबैभन्दा बढी जोखिममा रहेको शक्ति समूहले जनाएको छ ।

बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एजेन्सीहरुसँग मिलेर त्यस्तो जोखिममा परेका किशोरी र बालवालिकालाई सुरक्षित बसोबासको व्यवस्था गर्न लागिएको महिला वालवालिका मन्त्रालयकी उपसचिव सुनिता नेपालले बताइन् ।

cheli1
थप्रेकका किशोरीहरु राहतमा पाएको चामलको बोरामाथि बसेर आपसमा गफिदै

कुन जिल्लाका किशोरी जोखिममा ?

सरकारी र गैरसरकारी संस्थाहरुसँग यकिन तथ्यांङक नभए पनि भूकम्प अति प्रभावित जिल्लाका करीव १० हजार किशोरी बढि जोखिममा रहेको अनौपचारिक अध्ययनहरुले देखाएका छन् ।

विशेष गरी नुवाकोट, रसुवा, धादिङ,मकवानपूर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापका स्कूले किशोरीहरु र स्कूल जान नपाएका किशोरीलाई जोगाउनुपर्ने बिभिन्न तथ्यहरुले देखाएको छ ।

भूकम्प पीडितमाथि यौन हिंसाको खतरा

बेचबिखन र विभिन्नखाले यौन हिंसाको जोखिमसमेत यही बेलामा देखिने गरेको दनुवार बताउँछिन् । ‘विवशता, बाध्यता र खुला आकाशमुनि बस्नुपर्ने मौका छोपेर यौनशोषण र बलात्कारका घटना समेत हुने गरेका छन्’ उनले भनिन् ।

सिन्धुपाल्चोकबाट भक्तपुरको थलीमा अाएर बसेका पीडित
सिन्धुपाल्चोकबाट काठमाडाैंको थलीमा अाएर बसेका पीडित

भूकम्पका कारण विस्थापित हुन पुगेका महिला तथा बालबालिकाहरू विभिन्न किसिमका हिंसा एवम् बेचबिखन तथा ओसार पसारमा पर्ने जोखिम रहन सक्ने भएकाले यसतर्फ सचेत रहन मन्त्रालयले आग्रह गरेको छ ।

अघिल्लो साता मात्रै धादिङबाट बावबालिकाहरु उठाएर काठमाडौं ल्याउँदै गरेका एक व्यक्ति समातिएका थिए । यो घटनाले भूकम्प पीडित वालवालिका बेचबिखनको जोखिममा पर्न थालेको स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment