Comments Add Comment

भूूकम्पभन्दा खतरानाक दलाल पुँजीपतिवर्ग

खेम थपलिया

जनता खुला आकासमुनि भोक, शोक, प्यास, छटपटी र अनिंदोका साथ काला रातहरूसित जुधिरहेको बेला संसद्भवनमा जनताकै प्रतिनिधि भनिएका सभासद्हरूले त्रिपालको हारालुछ गरे । अर्थमन्त्री रामशरण महतले नुवाकोटमा आफ्नो निर्वाचन क्षेत्रमा छानीछानी काङ्ग्रेसीजनलाई राहत बितरण गराए । अर्की एक सभासद्ले त्रिपाल आफ्नो घरमा लुकाएर राखिन् ।

खेम थपलिया
खेम थपलिया

यो प्रकरणले नेपालका सभासद्हरूका अनैतिकता, लुब्धता, दरिद्रता, लापरबाही, गैर-जिम्मेदारिता, गैर-जवाफदेहिता, संवेदनहीनता, जनताको जीवनप्रति पूर्णतः बेवास्ताजस्ता धेरै प्रवृत्तिहरूलाई एकैचोटि सतहमा ल्याइदिएको छ । बाहृय हस्तक्षेप पनि नयाँ नयाँ शैलीमा प्रस्तुत भएको छ । यसले दलाल पुँजीपतिवर्गको चरित्रलाई राम्ररी उजागर गरेको छ ।

यतिखेर राष्ट्र र जनताको जीवन बचाउने कुरा प्राथमिकताको विषय हो । यही सन्दर्भमा प्रस्तुत कथा सान्दर्भिक हुने ठान्दछुः– एकजना डाक्टर बिदाको समय मिलाएर आफू जन्मेहुर्केको गाउँमा पुगेछन् । उनी गाउँमा पुग्दा साँझ परिसकेको रहेछ । त्यही रात गाउँमा ठूलो असिना पानी परेछ । भीषण वर्षाका कारण गाउँमा ठूलो सङ्कट आइलागेकाे छ । गाउँका थुप्रै घरहरू बाढीले बगाएछ । थुप्रै मानिसहरू बेपत्ता भएछन् । थुप्रै घाइते भएछन् ।

थुप्रैमध्ये एकजना गम्भीर घाइतेको उपचार गर्नुपर्ने परिस्थिति ती डाक्टरको अगाडि आइपरेछ । उनी गाउँमा जाँदा रित्तै हात गएका रहेछन् । उपचार गर्ने कुनै साधन उनीसित रहेनछ । त्यस्तो अवस्थामा ती घाइतेलाई जसरी पनि बचाउनुपर्ने अवस्थामा ती डाक्टरले गाउँमा पाइने घाँस दाउरा काट्ने गरेको हँसियाले पेट चिरेर अपरेसन गरेछन् । अपरेसन सफल भएछ । त्यसपछि उनले गाउँमा बोरा सिउने सियोले चिरेको पेट सिलाएर ती गम्भीर बिरामीको जीवन बचाएछन् ।

ती डाक्टरको सो कार्य राष्ट्रिय-अन्तर्राष्ट्रिय रूपमा चर्चाको विषय बनेछ । ती डाक्टरले ‘मेडिकल इथिक्स’ को आधारमा उपचार नगरेको भनेर आलोचना पनि भएछ । साथै, उनले अत्यन्त प्रतिकूल परिस्थितिमा पनि मानिसको जीवन बचाएकोमा प्रशंसा पनि भएछ । अन्तिममा त्यो विषय अदालतसम्म पुगेछ । अदालतले उक्त डाक्टरले ‘मेडिकल इथिक्स’ को पालना नगरेकोेले दण्डित गर्नुपर्ने फैसला गरेछ । साथै, अत्यन्त प्रतिकूल परिस्थितिमा पनि मानिसको जीवन बचाएकोले पुरस्कृत गर्न सम्बन्धित पक्षलाई सुझाव पनि दिएछ । अन्ततः ती डाक्टरलाई सरकारले राष्ट्रिय पुरस्कारद्वारा पुरस्कृत गरेछ ।

अहिले नेपालको परिस्थिति असमान्य छ । वैशाख १२ गते आएको ७.८ रेक्टरस्केलको भूकम्प र त्यसपछि पटक पटक आएका विभिन्नस्तरका पराकम्पनले जनधनको व्यापक क्षति गरेको छ । यसले नेपालको आन्तरिक जीवनमा पुर्‍याएको क्षति अपूरणीय छ । यो भूकम्पले नेपालको झन्डै आधा हिस्साका भौतिक संरचनालाई जति हल्लाएको छ, त्योभन्दा कैयौँगुणा बढी मानिसभित्रको मुटु हल्लाएको छ । यतिखेर नेपाली तन, मन पूरै हल्लिएको छ ।

संसद्वादी दलहरूका असक्षमता र अलोकतान्त्रिक चिन्तन र चरित्रका कारण सङ्कटग्रस्त बनेको नेपालमा अहिले यो प्राकृतिक सङ्कट थपिएको हो । देशमा राजनीतिक सङ्कट चुलिएको बेला थपिएको प्राकृृतिक सङ्कटले ससद्वादी दलहरू अर्थात् दलाल पुँजीपतिवर्गलाई एक किसिमले आनन्दको अनुभूति गराएको कुरा तिनका भनाइ र गराइले प्रमाणित गरैकै छ । यसपटकको भूकम्प त निमित्त मात्र हुन् ।

राष्ट्रिय सङ्कटको नायक त संसद्वादी दलहरू नै हुन् । अहिले नेपालमा भूकम्पको निहुँमा दलाल पुँजीपतिवर्गलाई लुटको स्वर्ग भएको छ । उनीहरूको कमाउधन्दा सुरु भइसकेको छ । हामीलाई महाभूकम्पमा परी निधन भएकामा गहिरो पीडा छ, घाइते र बेपत्ताजनप्रति गहिरो दुःख छ । यतिखेर उद्धार, राहत वितरण, पुनस्र्थापना तथा पुनर्निर्माणमा सम्पूर्ण जनपक्षीय शक्तिहरू एकजुट हुन आवश्यक छ । भूकम्पपीडितलाई तत्काल राहत उपलब्ध गराउनु, घाइतेको तत्काल निःशुल्क उपचार गर्नु र वैकल्पिक बसोवासको व्यवस्था गर्न राज्य असफल भएको छ ।

यस्तो बेलामा पनि अलमल, ढिलासुस्ती र मनोमानी गर्नु हददर्जाका अनैतिकता हो । राज्यका सम्पूर्ण एकाइहरू परिचालन गर्ने र बिनाभेदभाव तत्काल राहत सामग्री उपलब्ध गर्न सरकार असफल भएको छ । क्षति भएका सांस्कृतिक सम्पदाहरूको तत्काल पुनर्निर्माण थाल्न र राहतका नामामा भएका सबैखाले वैदेशिक हस्तक्षेप बन्द गर्न पनि राज्य सफल देखिएन ।

नेपालको राष्ट्रिय अस्मितामाथि आँच आउनेखालका काम हामीलाई अस्वीकार्य छ । भारतीय सेना, पुलिस र पत्रकारको ज्यादतीले सीमा नाघेको छ । भूकम्पपीडित संस्कृतिकर्मी-स्रष्टाहरूलाई विशेष राहतको व्यवस्था गर्नु तथा महाविपद्को घडीमा उद्धार र राहतमा जुट्नुको कुनै विकल्प छैन । राष्ट्र सङ्कटको घडीबाट गुज्रिरहेको यतिबेला बाहृय शक्तिहरू चलखेल गर्नु उनीहरूको अनैतिकताको पराकाष्ठा हो । त्यसकारण राष्ट्र, राष्ट्रियता र जनताका पक्षमा एकताबद्ध हुनु हामी सबैको पहिलो कार्यभार हो ।

सरकारले अमेरिकी सैनिक तथा अन्तर्राष्ट्रिय आईएनजीओ कर्मचारीका नाममा आएका विदेशी दूतहरू फिर्ता पठाउन र राहत वितरणका नाममा अन्तर्राष्ट्रिय आईएनजीओका नामबाट नेपालमा भएको हस्तक्षेपलाई रोक्न सकेन । नेपालमा भारतीय दादागिरी पुरानै परम्परा हो । उसले नेपालमा राहत तथा उद्धारका नाममा गुप्तचरी गरिरहेको छ । स्वार्थ र शर्तसहित तथाकथित सहयोगका नाममा हुने सार्वभौमिकतामाथि हस्तक्षेप हामीलाई अमान्य छ ।

हामीलाई हाम्रो राष्ट्र, हाम्रो राष्ट्रिय जीवन सर्वप्रिय छ । भारतीय सेनाले विमानस्थलको क्याम्प खडा गरेर बसेको र सरकारका प्रतिनिधिको निर्देशनको अवज्ञा गरेको कुराले नेपालीको मन असाध्यै दुःखेको छ । यतिखेर हामी सबैले एक स्वरमा भन्नुपरेको छ- भारतीय सरकार राहतका नाममा आहत नदेऊ, गुप्तचरी नगर, आफ्नो विस्तारवादी नीति बन्द गर ।

सबैतिरबाट नाङ्गिएको, असफलसिद्ध भएको सरकार र संसद्वादी दलहरू यो भूकम्पको निहुँमा आफ्नो आयु बढाउन चाहिरहेका छन् । यही कुरालाई बल पुग्नेगरी माओवादीको एउटा हिस्साले पनि राष्ट्रिय सरकारको डम्फू बजाउनु उदेकलाग्दो भएको छ । राष्ट्रिय सरकारको डम्फू सरकार तथा संसद्वादी दलहरूप्रति जनताको आक्रोश मत्थर पार्ने षड्यन्त्रबाहेक अरू केही होइन । दलालहरूका यस्ता षड्यन्त्रलाई बेलैमा चिर्न जरुरी छ ।

कुनै पनि असली माओवादी दलाल पुँजीपतिवर्गको सेवक हुनै सक्तैन । पहिलो संविधानसभा त असफल भयो भयो, दोस्रो संविधानसभा पनि असफलताको सन्निकट पुगिसकेको यतिबेला नेपालको राजनीतिक मुद्दाहरू जस्ताको तस्तै छन् । वास्तवमा नेपालको समस्या यो भूकम्पले पैदा गरेका समस्याहरूभन्दा निकै भयावह छन् ।

सत्तामा दलाल पुँजीपतिवर्गको हालीमुहाली छ । यो वर्गलाई हटाएर राज्यसत्तामा जनतालाई पुर्‍याउनु र नेपालीहरू आफ्नो समस्या आफैँ समाधान गर्न सक्षम छन् भन्ने कुरा प्रमाणित गरेर देखाउने बेला पनि यो हो । नेपालको सरकार, संसद्वादी दलहरू र ब्युरोक्रेसीप्रति अन्तर्राष्ट्रिय जगत्को नकारात्मक धारणा यसपटक छर्लङ्ग भएको छ । यो उनीहरूको इथिक्समाथि ठूलो प्रश्नचिन्ह हो ।

संसद्वादी दलहरूको अवस्था ‘१२ वर्ष बाइबल पढायो, भूकम्प आउँदा राम राम’ भनेजस्तै भएको छ । भारत र अमेरिकाले नेपालको उत्तरी सिमानामा दिएको चासोलाई सरकारले प्रस्ट पार्नुपर्छ । यस्तो पीडाका बेलामा पनि धर्म परिवर्तन गराउन खोज्ने पश्चिमाहरू कति पाखण्डी रहेछन् भन्ने कुरा पनि यसपटक जनताले बुझ्ने अवसर पाएका छन् । राष्ट्रमाथि आइपरेको यति ठूलो विपत्को घडीमा पनि मानवीय समवेदना र मानवीय इथिक्स अर्थात् नैतिकता देखाउन नसक्नुले दलाल पुँजीपतिवर्गको अन्त्यको अवश्यम्भावितालाई थप पुष्टि नै गरेको छ ।

राजनीतिक, वैचारिक, सैद्धान्तिक, दार्शनिक र व्यावहारिक रूपमा इथिक्सविहीन भइसकेका संसद्वादी दलहरू अर्थात् दलाल पुँजीपतिवर्गले अब नेपालको सङ्कट समाधान गर्न सक्छन् भनेर सोच्नु जस्तो विडम्बना अरू के हुन सक्छ ? यिनीहरूले विगतमा माओवादीसित गरेको सहमति र सम्झौताको कुन धाराको पालना गरे ? समानान्तर सत्ता सञ्चालन गरेर आएको माओवादीलाई यिनीहरूले कहिले सत्तामा पहुँच दिनुपर्ने कुरा गरे ?

नेपालको दलाल पुँजीपतिवर्गलाई पराजित नगरीकन जनताले मुक्तिको सास फेर्न असम्भव छ । भूकम्पबाट पैदा भएका समस्यासित लड्दै गर्दा दलाल पुँजीपतिवर्गसितको लडाइँलाई पनि तीब्रता दिन आवश्यक छ ।

महान् जनयुद्धलाई अवमूल्यन गर्ने तिनीहरू को हुन् ? बाहृयशक्तिको सहयोग र इशारामा माओवादीलाई घेराबन्दी गर्नु यिनीहरूको कस्तो इथिक्स हो ? त्यसैले अहिले परिस्थिति भनेको संसद्वादी दलहरूले माओवादीसित गरेको सहमति र सम्झौताको इमानदारीपूर्वक कार्यान्वयन गर्ने बेला हो । अन्यथा, भूकम्पबाट भएको आहात त केही समयपछि मत्थर हुँदै जाला, जनताले आˆना पीडा विस्तारै बिर्संदै जालान् तर संसद्दवादी दलहरू अर्थात् दलाल पुँजीपतिवर्गद्वारा पैदा गरिएको सङ्कटले अर्को राजनीतिक भूकम्प आउने कुरा निश्चित छ ।

यो भूकम्पबाट पैदा भएका समस्याहरूको व्यवस्थापन मात्र होइन, राजनीतिक व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने बेला हो । यतिखेर माथिको कथाको डाक्टरजस्तै सबैले आ-आफ्नो क्षमता, सीप र इमानदारिता प्रस्तुत गरेर राष्ट्र र जनताको जीवन बचाउने बेला हो । राष्ट्र र जनताको जीवन बचाउने कुराभन्दा ठूलो इथिक्स संसारमा अरू केही हुन सक्दैन । भूूकम्पभन्दा खतरानाक छ- दलाल पुँजीपतिवर्ग । यो वर्गलाई आफ्नो र आफ्नो प्रभुभन्दा बाहेक अरूको कसैको सरोकार नै हुँदैन । यो वर्गसित लड्ने शक्ति भनेको माओवादी मात्रै हो ।

नेपालको दलाल पुँजीपतिवर्गलाई पराजित नगरीकन जनताले मुक्तिको सास फेर्न असम्भव छ । भूकम्पबाट पैदा भएका समस्यासित लड्दै गर्दा दलाल पुँजीपतिवर्गसितको लडाइँलाई पनि तीब्रता दिन आवश्यक छ । असली माओवादीबिना नेपालको कुनै पनि शक्तिले महासङ्कटसित लड्छु भन्नु सोम शर्माको कथासिवाय केही होइन । दलाल पुँजीपतिवर्गको ढाडमा टेकेर टाउकोमा हान्ने बेला यही हो ।

जेठ २०७२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment